Tuesday, October 16, 2012

फितलो व्यवस्थापनमा विजेतालाई नगर परिक्रमा


एसिसी ट्रफी इलिटमा आयोजक युएईसँगै संयुक्त विजेता बनेको नेपाली क्रिकेट टोलीको सम्मानमा सोमबार राजधानीमा आयोजित नगरपरिक्रमा फितलो व्यवस्थापनका कारण विवादास्पद बन्यो। शुक्रबार नेपालले युएईमा नवौं प्रयासमा पहिलोपटक एसिसी ट्रफी जितेको थियो। 
नेपाल क्रिकेट संघ (क्यान) ले विजेता नेपाली टोलीलाई जनही नगद ३० हजार प्रदान गर्ने घोषणासहित सोमबार नगर परिक्रमा कार्यक्रम गरेको थियो। तर नगर परिक्रमामा क्यानका अध्यक्ष टंक आङबुहाङदेखि उपाध्यक्ष र महासचिवसम्म उपस्थित थिएनन्। क्यानका थोरै पदाधिकारीमात्र कार्यक्रममा देखिए।
तस्विर :  विकास कार्की/नागरिक

Sunday, October 14, 2012

एसिसी ट्रफी : नेपालको सवैभन्दा ठुलो उपलब्धि


युएईसँगै एसिसी ट्रफी इलिटमा संयुक्त विजेता बन्नु नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो उपाधि हो। सन् १९९६ मा सुरु भई प्रत्येक २ वर्षमा हुँदै आएको एसिसी ट्रफी नेपालले पहिलोपटक जितेको हो। यसअघि नेपाल दुईपटक फाइनल पुगेर उपाधिविमुख भएको थियो। 
एकदिवसीय मान्यताप्राप्त अफगानिस्तान, डिभिजन २ का टोली युएई र हङकङ तथा डिभिजन ३ को टोली ओमान पनि समावेश भएकाले एसिसी ट्रफी नेपालले अहिलेसम्म जितेको सबैभन्दा ठूलो प्रतियोगिता हो। संयुक्त विजेता बन्नेक्रममा नेपालले समूह चरणमा युएईलाई ४ विकेट र हङकङलाई १ सय २५ रनले पराजित गरेको थियो।
तस्विर :  एसिसी

Saturday, October 13, 2012

जित र हार बिनैको नतिजा


खेलकुदको आकर्षण यसमा हुने जित र हार स्वीकार गर्नु हो। युएईमा भएको एसिसी ट्रफी इलिट क्रिकेटको फाइनल कुनै टोलीले जितेनन् र हारेनन् पनि। 'टाइ' भएपछि नेपाल र युएई प्रतियोगिताको संयुक्त विजेता बने। 
सारजहाँ क्रिकेट मैदानमा नेपालले टस जितेपछि ब्याटिङ गर्न आएको युएईले ६ विकेट गुमाई २ सय ४१ रन बनायो। नेपालले ९ विकेट गुमाई त्यति नै रन बनाएपछि खेल 'टाइ' बन्यो। प्रतियोगिताको नियमानुसार दुवै टोली विजेता बने। विजय लक्ष्य पछ्याउँदा नेपालले अहिलेसम्मकै ठूलो स्कोर बनाए पनि एक्लो विजेता बन्न सकेन। 

Friday, October 12, 2012

युएईसँग नेपालको अन्तिम परीक्षा


युएईसँगको फाइनल खेल्नु अगाडि प्रशिक्षक पुबुदु दासानायके नेपाली टोलीको छनोटलाई लिएर अन्योलमा छन्। युएईको शारजहाँमा नेपालले शुक्रबार घरेलु टोलीसँग एसिसी ट्रफी इलिटको फाइनल खेल्दैछ। तीब्र बलरद्वय विनोद दास र अमृत भट्टराई घाइते भएकाले दासानायकेलाई टोली छनोटमा संकट परेको हो।
युएई उड्नुअघि सामान्य चोट बोकेका विनोदको प्रतियोगिता सुरु हुने अघिल्लो दिन घुँडाको चोट बल्भि्कएको थियो। बलिङ गरेर टेक्दा विनोदको घुँडामा समस्या देखियो। छाती दुखाइका कारण अमृतले मलेसियासँग सेमिफाइनलमा ३.३ ओभर बलिङ गरेपछि नै छाडेका थिए। सोही समस्याका कारण उनले कुवेत र साउदी अरेबियासँग पनि खेलेका थिएनन्। 
नेपाली खेलाडी शरद भेषावकर। फाइल तस्विर :  विकास कार्की/नागरिक

Wednesday, October 10, 2012

नेपाल शीर्ष वरियतामा यथावत्


नेपाल लगातार दोस्रोपटक एसियाली क्रिकेट परिषद् (एसिसी) को वरियतामा शीर्ष स्थानमा यथावत् रहने भएको छ। युएईमा भइरहेको एसिसी ट्रफीको सेमिफाइनलमा पुगेसँगै २०११–१२ मा नेपाल शीर्ष टोली बन्ने पक्का भएको हो। एसिसीले अंग्रेजी क्यालेन्डरअनुसार सन् २०१२ समाप्तपछि नयाँ वरियता प्रकाशित गर्नेछ।
राष्ट्रिय टोलीले खेल्ने एसिसी ट्रफी इलिट तथा युवातर्फ एसिसी यु–१९ इलिट र एसिसी यु–१६ इलिट कपमा गरेको प्रदर्शन वरियताका मापदण्ड हुन्। सबै १८ राष्ट्रको टोली नभएकाले एसिसीले महिला प्रतियोगितालाई वरियतामा भने समेट्ने गरेको छैन। 

मलेसियासँगको सेमिफाइनल


अबुधावीस्थित शेख जायेद रंगशालामा एसिसी ट्रफी इलाइटको सेमिफाइनलमा उत्रँदा नेपाल र मलेसिया एक महिनाको अन्तरमा दोस्रोपटक जम्का भेट हुनेछन्। अघिल्लो महिना मलेसियामै सम्पन्न विश्व क्रिकेट लिग डिभिजन ४ को उपाधि जित्दा नेपालले घरेलु टोलीलाई १० विकेटले पराजित गरेको थियो। मलेसियालाई नेपालले ६९ रनमै रोक्दा शक्तिले १० ओभरमा ८ मेडन राख्दै २ रनमात्र खर्चेर ३ विकेट लिई अविस्मरणीय बलिङ गरेका थिए। 
एसिसी ट्रफीको सेमिफाइनलमा नेपाल र मलेसिया तेस्रोपटक भिड्न लागेका हुन्। यसअघि दुवै सेमिफाइनलमा नेपालले विजय पाएको थियो। २००२ मा सिंगापुरको एसिसी ट्रफीमा नेपालले मलेसियालाई २५ र कुवेतमा २०१० को पछिल्लो संस्करणमा ९ रनले पराजित गरेको थियो। दुवै टोली नेपाल फाइनलमा पुग्दा प्रशिक्षक रोय डायस थिए। झन्डै दुई वर्षअघि नेपाल छाडेका डायस पछिल्लो समय मलेसियाका प्रशिक्षक छन्। 
म्यान अफ द म्याचको ट्रफी लिदै कप्तान पारस खड्का। तस्विरः एसिसी

Tuesday, October 9, 2012

हङकङविरुद्ध प्रमाणित गर्ने अवसर


नेपाल एसिसी ट्रफी इलिटको समूह चरणको अन्तिम खेल 'गर या मर' को स्थितिमा छ। सेमिफाइनलमा पुग्न नेपालले हङकङसँग जित्नैपर्छ। हङकङको स्थिति पनि त्यही छ। त्यसैले नेपाल र हङकङबीच मंगलबार हुने खेल क्वार्टरफाइनलसरह भएको छ। 
दुवैले तीनमध्येका दुई खेल जितेका छन्। युएई तीन खेल जितेर सेमिफाइनलमा सुरक्षित भइसकेको छ। युएईलाई पहिलो खेलमा ४ विकेटले पराजित गरी सनसनी मच्चाएको नेपालले कुवेतसँग ४ विकेटको स्तब्ध पराजय बेहोर्‍यो। आइतबार साउदी अरेबियालाई ९ विकेटले पराजित गरेपछि नेपालले सेमिफाइनल प्रवेशको सम्भावना ब्युँत्याएको थियो। 
फाइल तस्विर :  विकास कार्की/नागरिक

Saturday, October 6, 2012

नेपालको उच्च मनोबल र पृथुको फर्किएको आत्मविश्वास


कुवेतसँग दोस्रो खेलमा नेपाल उच्च मनोबल बोकेर मैदानमा उत्रनेछ। युएईमा जारी एसिसी ट्रफी इलिट कपको पहिलो खेलमा आयोजकलाई ४ विकेटले पराजित गरी नेपालले स्वर्णिम सुरुआत गरेको थियो। एसिसी ट्रफीको यसअघिका ६ खेलमा युएईसँग नेपाल पराजित हुँदै आएको अवस्थामा पाएको जितले नेपाललाई ऊर्जा थपेको छ।
अघिल्लो महिना मलेसियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन ४ को उपाधि जितेको नेपालको मनोबल युएईसँगको जितले अझ वृद्धि गरेको छ। युवा ब्याट्सम्यान पृथु बाँस्कोटाले आत्मविश्वास फर्काउनु नेपालका लागि अर्को महत्वपूर्ण पक्ष हो। उनले युएईविरुद्ध बुधबार दुई चौकासहित २४ बलमा अविजित १५ रन बनाएका थिए। बिहीबार १ सय ७७ रन बनाएको कुवेत पहिलो खेलमा हङकङसँग ५ विकेटले पराजित भएको थियो।
पृथु बाँस्कोटा

Thursday, October 4, 2012

९ विजयको कीर्तिमान


युएईसँग ४ विकेटको नतिजा निकाल्दै नेपालले एकदिवसीयमा लगातार नवौं खेल जितेको छ। सन् २०१० मा इटालीको बोलोनियामा भएको विश्व क्रिकेट लिग डिभिजन ४ मा अमेरिकासँग अगस्ट १९ मा ५५ रनले हारेयता नेपालले एकदिवसीयमा सबै खेल जितेको छ। इटालीमा नेपालले अन्तिम दुई खेलमा क्यामी आइल्यान्डलाई ७ विकेट र तान्जेनियालाई १० विकेटले पराजित गरेको थियो।
एसिसी डेभलपमेन्ट अफिसर अली अनवर जाफरीबाट अनिल मण्डल म्यान अफ द म्याच ट्रफी लिदै। साथमा म्याच रेफ्री इकबाल सिकन्दर। तस्विरः एसिसी।
मलेसियामा अघिल्लो महिना सम्पन्न डिभिजन ४ को उपाधि जित्दा नेपालले सिंगापुरलाई ५ विकेट, तान्जेनियालाई ८ विकेट, मलेसियालाई १० विकेट, अमेरिकालाई ३२ रन, डेनमार्कलाई २५ रन र फाइनलमा पुनः अमेरिकालाई ८ विकेटले पराजित गरेको थियो। 

Tuesday, October 2, 2012

शारजहाँमा विनोद र जावेद


एसिसी ट्रफी इलिटको पहिलो खेलमा नेपालको सामना गर्दा युएईका प्रशिक्षक अकिब जावेदलाई प्रतिद्वन्द्वी टोलीका अनुभवी खेलाडी विनोद दासबारे राम्रै जानकारी हुनसक्छ। यी दुवै दोस्रोपटक आमनेसामने हुँदैछन्। शारजहाँको भेटले दुवैलाई उनीहरूको विगत सम्झाउने छ। 
विनोद दास र अकिव जावेद। साभार तस्विर
वर्तमान नेपाली टोलीका सबैभन्दा पाका खेलाडी विनोदले पाकिस्तानका पूर्वस्टार जावेदसँग ५ वर्षअघि थाइल्यान्डमा भेटेका थिए। एसियाली क्रिकेट परिषद् (एसिसी) द्वारा आयोजित विशेष फास्ट बलिङ कोचिङ कोर्समा दुवै सहभागी थिए। फेब्रुअरीमा युएईको प्रशिक्षक बन्नुअघि जावेद पाकिस्तानी बलिङ प्रशिक्षक थिए।