Saturday, December 22, 2012

मलाइ नेपाली 'क्याप' चाहियोः फजलुर


फजलुर रहमान खान पेप्सी स्टयान्डर्ड चाटर्ड राष्ट्रिय एकदिवसीय क्रिकेटको फाइनलमा सतक बनाउने पहिलो खेलाडी बने। एपिएफसँग शुक्रबार फाइनलमा उनले १ सय २४ रन बनाए पनि भैरहवालाई दोस्रो पटक विजेता बनाउन सकेनन्। फाइनलमा खेलेको इनिङले फजलुरलाई प्रतियोगिताको उच्च रन स्कोरमात्र बनाएन्, यसै प्रतियोगिताबाट सुरु गरिएको इमर्जिङ खेलाडीको उपाधि पनि दिलायो। उनले ६ खेलमा ६१.२० औषतमा ३ सय ६ रन बनाए।
२०११ को जनवरी–फेब्रुअरीमा नेपाली यु–१९ टोली बंगलादेश भ्रमणमा तीन अभ्यास खेल खेल्दै थाइल्यान्ड पुगेको थियो। थाइल्यान्डमा नेपालले एसिसी यु–१९ इलिट कपमा प्रतिस्पर्धा गर्दा फजलुर पहिलो दुई खेलमा म्यान अफ द म्याचमा चुनिएका थिए। दोस्रो खेलमा फजलुरले ओमानविरुद्ध १ सय १ रन बनाएका थिए। 
बंगलादेश र थाइल्यान्ड भ्रमणको पहिलो दुई खेलमा फजलुरको प्रदर्शनलाई उनकै भनाइमा उतारेको थिए। तर स्थान अभावका कारण मैले पठाएको समाचार नागरिक राष्ट्रिय दैनिकमा प्रकासित हुन सकेन्। त्यसैलाई यस ब्लगमा प्रकासित गरेको छु।
ओमानविरुद्ध सतक प्रहार गरेपछि फजलुरलाई बधाइ दिदै नेपाली टोली व्यवस्थापक अरुण सत्याल। तस्विरः विनोद पाण्डे

बढ्दैछ ब्याटिङ पावर


फजलुर रहमान खानले फाइनलमा खेलेको सानदार इनिङ शुक्रबार सम्पन्न पेप्सी स्ट्यान्डर्ड चार्टर्ड राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताभर ब्याटिङमा देखिएको पछिल्लो झलक थियो। फजलुरले एपिएफसँग फाइनलमा बनाएको सतक प्रतियोगिताको छैटौं हो।
२०५८ बाट सुरु भएयता क्षेत्रीय अवधारणाको राष्ट्रिय प्रतियोगितामा केवल तीन सतकमात्र बनेका थिए। यसपटकको एकै प्रतियोगितामा त्यसको दोब्बर सतक बन्यो। क्षेत्रीयअनुसार राष्ट्रिय क्रिकेटको फाइनलमा सतक पहिलोपटक सम्भव भयो। जनकपुरका अनिल मण्डल, एपिएफका ज्ञानेन्द्र मल्ल, भैरहवाका सागर पुन र वीरगन्जका अमित श्रेष्ठ तीन स्कोरको अंक छुने खेलाडीमा रहे। अमित एकै प्रतियोगितामा लगातार दुई सतक बनाउने पहिलो खेलाडी बने।
फाइनलमा सतक बनाएका फजलुर रहमान खान। तस्विरः रमन सिवाकोटी/क्यान

Thursday, December 13, 2012

परम्परागत ढर्रामै घरेलु क्रिकेट

तस्बिर :  विकास काकी/नागरिक

'तपाईहरू क्रिकेट प्रतियोगिता गर्नुस वर्षा आफै भइहाल्छ,' नेपाल क्रिकेट संघ (क्यान) का पूर्वपदाधिकारीका श्रीमतीले भनेको यो भनाइ स्थापित छ। पछिल्ला केही वर्षहरूमा क्यानले जेठकै साइत पारेर राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा क्रिकेट बिथोल्न स्वाभाविक वर्षा नै काफी हुन्थ्यो। 
राष्ट्रिय प्रतियोगिताको पछिल्ला दुई संस्करण जेठमै भए। वर्षाले खेल बिथोलिनुका साथै विवाद ल्याउँदा खेलाडीले क्यानको खुलेर विरोधसमेत गरे। यसपटक समय परिवर्तन गरी पेप्सी स्ट्यान्डर्ड चार्टर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ। नेपालले आगामी पाँच महिनामा एसिसी ट्वान्टी–२० कप र विश्व क्रिकेट लिग डिभिजन ३ जस्ता निकै महत्व पाएका प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ।