Saturday, December 28, 2013

विश्वकपको दबाबले थिचेको नेपाली यु–१९ टोली

भारत, पाकिस्तान जस्ता राष्ट्रसँग खेल्न पाउनुको चुनौती नेपाली टोलीका कप्तान भुवन कार्कीले राम्रोसँग बुझेका छन्। शनिबार युएईमा सुरु हुने एसिसी यु–१९ एसिया कपमा उनले अर्को चुनौती पनि देखेका छन्।
नेपाली राष्ट्रिय टोली ट्वान्टी–२० विश्वकपमा छनोट भएपछि त्यसको प्रभाव यु–१९ टोलीसम्म परेको भुवनको बुझाइ छ। 'नेपाल ट्वान्टी–२० को विश्वकपमा प्रवेश गरेको छ, एकदिवसीय विश्वकपनजिक छ, सबैले भविष्यको नेपाली टोली भनेर हामीलाई हेरिरहेका छन्। राष्ट्रिय टोलीअनुरुपकै प्रदर्शन गर्ने दबाब हामीसँग छ,' भुवन भन्छन्।
यसै वर्ष मलेसियामा भएको एसिसी यु–१९ इलिट कपमा बहराइनविरुद्ध बलिङ गर्दै नेपाली कप्तान भुवन कार्की । तस्बिरः एसिसी

Wednesday, December 18, 2013

विश्वकप पर्खंदै दासानायके

नेपाल ट्वान्टी–२० विश्वकपमा पुगेको खुसीमा मग्न छ। सोमबारमात्र नेपाली टोलीका खेलाडीलाई सरकारले १०–१० लाख प्रदान गरी सामूहिक खेलमा सबैभन्दा ठूलो नगद सम्मान गर्‍यो। टोलीको व्यस्तताले सम्मानको केही कार्यक्रम रोकिएर बसेका छन्।
प्रशिक्षक पुबुदु दासानायके ट्वान्टी–२० विश्वकपमा छनोट हुनुलाई नै ठूलो उपलब्धि मान्दैनन्, बोनसका रुपमा हेर्छन। नेपाललाई एकदिवसीय विश्वकपमा छनोट गराउनु दासानायकेको मुख्य लक्ष्य हो। न्युजिल्यान्डमा जनवरी १३ बाट एकदिवसीय विश्वकप छनोट हुँदैछ। त्यसका लागि नेपाली टोली मंगलबार १० दिने प्रशिक्षण र अभ्यास खेललाई न्युजिल्यान्ड लागेको छ।

Sunday, December 15, 2013

राजकुमारको पुनरागमन प्रयास

राजकुमार प्रधानका लागि वैदेशिक रोजगारीमा कतार जानु र नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट खेल्नु पानी पँधेरो जस्तै हो। भेट्रान लेग स्पिनरको पछिल्लो प्रयास राष्ट्रिय टोलीमा पुनरागमन गर्नु थियो।
अघिल्लो साता उनलाई एकदिवसीय विश्वकप तयारीका लागि आयोजित जर्नी टु विश्वकप प्रतियोगितामा नेपालबाट खेल्न निम्ता आयो। ३८ वर्षे राजकुमार आफैंलाई विश्वास लागेन। उनले प्रशिक्षक पुबुदु दासानायकेलाई फोन गरे। दासानायकेले खबर वास्तविकता भएको बताए। राजकुमार धरानमा बुबाको शल्यक्रियामा व्यस्त थिए। भोलिपल्टै काठमाडौं हिँडिहाले।
राजकुमार प्रधान। तस्बिरः केशव थोकर

Tuesday, December 10, 2013

बाउन्सरलाई तयार सोमपाल

नेपालले विश्व ट्वान्टी–२० छनोटको अन्तिम खेल खेल्दै थियो, युएईमा घरेलु टोलीसँगै। सोमपाल कामी होटलमा टेलिभिजनमा नेपालको खेल हेरिरहेका थिए। 'तिमीले जर्नी टु विश्वकप खेल्नुपर्छ तयार भएर बस्नू,' फोनमा आएको यो सन्देशले सोमपाललाई विश्वास गर्न गाह्रो बनायो।
ट्वान्टी–२० विश्वकपमा छनोट भएको नेपाली टोली भोलिपल्ट काठमाडौं फर्कंदै थियो। लगत्तै अर्को दिन एकदिवसीय विश्वकप तयारीलाई जर्नी टु विश्वकप प्रतियोगितामा उत्रनुपर्ने।
सोमपाल कामी । तस्बिरः विकास कार्की

Tuesday, December 3, 2013

नेपाली प्रशंसकलाई देखेपछि लक्ष्मणले सम्झे आफ्नो बाल्यकाल

नेपाल ट्वान्टी–२० विश्वकपमा छनोट भएकोमा बधाई दिने विश्व क्रिकेटका महान् सूचीमा बैंकटसाइ लक्ष्मण पनि थपिएका छन्। भारतीय स्टाइलिस ब्याट्सम्यान लक्ष्मणले आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमै गएर नेपाली खेलाडीहरूलाई बधाई दिएका हुन्।
वेस्ट इन्डिजका ब्रायन लारा र भारतका सचिन तेन्दुलकरले यसअघि नै नेपाललाई अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० मा पुगेकोमा बधाई दिइसकेका छन्। 'जर्नी टु विश्वकप' प्रतियोगितामा अतिथि बनेर आएका लक्ष्मणले भने नेपाली टोलीलाई भेटेर बधाई दिएका हुन्। उनी सोमबार काठमाडौं आएर विमानस्थलबाट सिधै मैदान पुगेका थिए।

त्रिवि मैदान कीर्तिपुरमा नेपाली क्रिकेटसँग छलफल गर्दै भारतका पूर्व ब्याट्सम्यान भिभिएस लक्ष्मण। तस्बिरः विकास कार्की/नागरिक

Monday, December 2, 2013

'छक्कै छक्का हानिन्छ, विश्वकप खेलिन्छ'

पछिल्लो २६ महिनायता नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर विरलै खाली हात फर्केको छ। आइसिसी विश्व ट्वान्टी–२० छनोटमा सहभागिता जनाएर आइतबार स्वदेश फर्केको नेपाली टोलीको हातमा भने कुनै ट्रफी थिएन। तर, यसपालि उनीहरूले जति सम्मान पाए, त्यति अहिलेसम्मको कुनै ट्रफीले दिएन।
युएईमा शनिबार सम्पन्न विश्व ट्वान्टी–२० छनोटमा तेस्रो भएकाले नेपाली टोलीले कुनै ट्रफी उचाल्न पाएन। उपाधि नपाए पनि नेपाललाई विश्वकप क्रिकेटको मैदानमा पुर्‍याएर ऐतिहासिक सफलता दिलाएको टोलीलाई आत्मैदेखि गर्वसाथ स्वागत गरे नेपाली खेलप्रेमीहरूले।

त्रिभुवन विमानस्थल बाहिर निस्कदैं पारस खड्का र नेपाली टोली। तस्बिरः विकास कार्की/नागरिक

Sunday, December 1, 2013

नेपाली क्रिकेट परिभाषित शरद

शरद भेषावकरले नेपाली क्रिकेटलाई परिभाषित गर्छन् भन्दा अतिशयोक्ति नहोला। आयोजक युएईसँग शनिबार मध्यपंक्तिका ब्याट्सम्यान शरदले लगातार २ छक्का प्रहार गर्दै नेपाललाई आइसिसी विश्व ट्वान्टी–२० छनोटमा तेस्रो स्थान दिलाउन जुन भूमिका खेले, त्यसले नै शरदको क्षमता प्रष्ट पार्छ।
नेपालले प्रतियोगितामा दोस्रो ब्याटिङ गर्दै ५ खेल जित्यो। ४ खेलमा शरदले विजयी रन बटुले। डेनमार्कसँगको पहिलो खेल छाड्ने हो भने बाँकी तीन इनिङ्स शरदकै मात्र नभएर नेपाली क्रिकेटकै स्मरणीय हुनसक्छ। केन्यासँग अन्तिम ओभरमा १७ रन आवश्यक हुँदा शरदले एक्लैले ३ छक्कासहित २० रन बनाए।
हङकङसँग अन्तिम ओभरमा निर्णायक भुमिका खेल्दै शरद भेषावकर। तस्बिरः रमन सिवाकोटी

Saturday, November 30, 2013

नेपथ्यका नायक


तस्बिर पुबुदु दासानायके फेसबुक पेजबाट
यो तस्बिर हेर्ने हो भने धेरै क्रिकेटप्रेमीले सचिन तेन्दुलकरको १ सय ४२ को इनिङ्स सम्भि्न्छन्। सन् १९९४ मा श्रीलंकाको भारत भ्रमणमा लखनउमा बनेको शतक। यो तस्बिरको विशेषता नै हो तेन्दुलकरबाहेक अरुमा ध्यान नजाने। दुई वर्षअघि नेपाली क्रिकेटप्रेमीको ध्यान यसै तस्बिरमा सचिन पछाडि उभिने खेलाडीमाथि गयो, जब पुबुदु दासानायके नेपालको प्रशिक्षक बनेर काठमाडौं आए।
हुन त, फोटो जस्तै विकेटकिपर दासानायकेले श्रीलंकाबाट आफ्नो खेलजीवनमा सम्झनलायक खासै केही प्रदर्शन गरेनन्। दासानायकेले श्रीलंकाबाट कुल ११ टेस्ट र १८ एकदिवसीय अन्तर्राष्ट्रिय खेले। २००१ मा क्यानाडा बसाइ सरेपछि उनले सफलता पाउन लागे। २००५ मा उनी क्यानाडाकै कप्तान नै बने। २००७ मा उनलाई क्यानाडाले खेल्ने सँगै प्रशिक्षण गर्ने जिम्मेवारी पनि दियो। चार वर्षपछि उनले क्यानाडालाई एउटा प्रशिक्षकको नाताले एकदिवसीय विश्वकपसम्म डोर्‍याए।

Friday, November 29, 2013

धन्न खेलेका छन् खेलाडीले

नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई भदौमा बंगलादेश गएर ढाका लिग खेल्ने प्रस्ताव आएको थियो। केहीअघि उनी क्यानाडामा समेत क्लब क्रिकेट खेलेर आएका थिए। पारिश्रमिकका हिसाबले ज्ञानेन्द्रका लागि ढाका लिग लोभलाग्दो थियो।
तर, उनी ढाका गएनन्। सशस्त्र प्रहरीमा स्थायी जागिर खाने चाहनाअनुरूप उनले ढाका लिगको प्रस्ताव त्यागे।
ज्ञानेन्द्रले आफ्नो भविष्य हेरे, क्षणिक लाभ होइन। उनै ज्ञानेन्द्रसहितको नेपाली राष्ट्रिय टोलीले बुधबार नेपाललाई ट्वान्टी–२० विश्वकप क्रिकेटमा प्रवेश दिलाएर ऐतिहासिक सफलता हासिल गरेको छ।

हङकङलाई पराजित गरी नेपाल विश्व ट्वान्टी–२० मा छनोट भएपछि अविनाश कर्ण। तस्बिरः रमन सिवाकोटी

Tuesday, November 26, 2013

'यस्तो चोट कसैलाई नलागोस्'

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको नतिजालाई लिएर नेपाली प्रशंसक जति उकुसमुकुसमा छन्, त्योभन्दा धेरै छट्पटी पूर्वकप्तान विनोद दासलाई छ। नेपाल विश्व ट्वान्टी–२० छनोटनजिक पुगेका बेला इतिहास रच्ने यो अवसरमा विनोद भने टोलीबाट अलग छन्।
उनीसँगै सञ्जम रेग्मी र पृथु बाँस्कोटा चोटका कारण युएई जानै पाएनन्। विनोद र सञ्जम पछिल्लो एक दशकभन्दा बढी समयदेखि नेपाली टोलीका नियमित सदस्य हुन्। दुई वर्षयता पृथुले पनि आफूलाई टोलीको प्रमुख सदस्यमा स्थापित गरिसकेका छन्। बुधबार हुने खेलमा हङकङलाई पराजित गरे नेपाल अर्को वर्ष बंगलादेशमा हुने ट्वान्टी–२० विश्वकपमा छानिनेछ। 
विनोद दास, पृथु बाँस्कोटा, सञ्जम रेग्मी

Saturday, November 23, 2013

संकटमा 'बुट डाक्टर'

'खेलाडीको भविष्य उज्ज्वल छ, खेलाडीकै जुत्ता बनाउनेको भविष्य छैन,' नेपाली फुटबलमा आएको ठूलो परिवर्तनले बुट बनाउने आफ्नो पेशा संकटमा ल्याएपछि सुरेश मगराती के गर्ने भन्ने अन्योलमा छन्। डेढ दशकअघि सुरु गरेको यो पेशा उनी चटक्कै छाड्न पनि सक्दैनन्।
फुटबल खेलाडीको बुट बनाउन लागेको उनले १४–१५ वर्ष भइसकेको छ। सोल आफै लिएर आउने खेलाडीलाई उनीहरूले भने जस्तै फिट बुट बनाउनु मगरातीको दैनिकी हो। खुबी पनि। मगराती छाला आफै किनेर ल्याउँछन्। त्यसमा खेलाडीले भनेअनुसार कम्पनीको नाम हालेर मगराती नयाँ बुट बनाइदिन्छन्। उनी खेलाडीको नजरमा 'बुट डाक्टर' हुन्।
आफ्नै पसलमा 'बटु डाक्ट' :  तस्बिरः विकास कार्की

Friday, November 22, 2013

अफगानिस्तानसँग सुधारिएको ब्याटिङ अपेक्षामा नेपाल

अफगानिस्तानसँग बिहीबार आइसिसी विश्व ट्वान्टी–२० छनोटमा उत्रँदा नेपालको समूह विजेता हुने आशा अझै रहनेछ। त्यही अर्को पराजयले नेपाललाई प्रतियोगिताबाटै बाहिर पनि पठाउन सक्छ।
अफगानिस्तानलाई पनि समूह विजेताको हिसाबमा अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० मा छानिन नेपालसँगको खेल निकै महत्वपूर्ण छ। नेपाल र केन्यासँग विजय हात पारे अफगानिस्तान समूह विजेता बन्न सक्छ। समूह 'बी' मा नेदरल्यान्ड्स र अफगानिस्तानको समान ८ अंक छ। अफगानिस्तानले केन्या र स्कटल्यान्डसँग अन्तिम दुई खेल खेल्नेछ। नेपालको अर्को खेल बर्मुडासँग छ। 
यसै वर्ष मार्चमा काठमाडौंमा भएको एसिसी ट्वान्टी–२० कपमा कप्तान पारस खड्काले अर्धसतक बनाए पनि नेपाल पराजित भएको थियो। तस्बिरमा अफगानिस्तानका कप्तान मोहम्मद नाबी पनि देखिन्छन्। फाइल तस्बिरः विकास कार्की

Wednesday, November 20, 2013

अमृतले समातेको लय

तीब्र बलर अमृत भट्टराईले अन्ततः आफ्नो लयमा फर्काएका छन्। युएईमा भइरहेको आइसिसी विश्व ट्वान्टी–२० छनोटमा पपुवा न्यु गिनीविरुद्धको खेलमा अमृतले आफ्नो लयमात्र फर्काएनन् २३ महिनाको विकेटको खडेरीलाई पनि तोडेका छन्।
२०११ को डिसेम्बर ४ देखि अमृतले नेपालबाट ट्वान्टी–२० मा विकेट लिन सकेका थिएनन्। यस बीचमा नेपालले २२ ट्वान्टी–२० खेल खेल्दा अमृतले ८ खेल खेलेका थिए। २०११ को एसिसी ट्वान्टी–२० कपमा उनले युएईविरुद्धको खेलमा ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिएका थिए। त्यसयता कुनै विकेट लिन सकेका थिएनन्। २ खेलमा ४ विकेट लिए पनि अस्वस्थाताका कारण उनले प्रतियोगितामा बाँकी खेल खेलेका थिएनन्।
अमृत भट्टराई बलिङ गर्दै। तस्विर रमन सिवाकोटी

Monday, November 18, 2013

टेलिभिजन लाइभ जिङ्क्सको तगारो

आइसिसी विश्व ट्वान्टी–२० छनोटमा स्कटल्यान्डविरुद्ध खेल्न मैदानमा उत्रिदा नेपालको ध्यान लगातार तेस्रो विजय हात पार्नु बाहेक 'टेलिभिजन प्रत्यक्ष प्रसारणको जिङ्क्स' को तगारो पन्छाउनु पनि हुनेछ। युएईमा भइरहेको प्रतियोगितामा यी दुई टोली तेस्रो चरणको खेलमा प्रतिस्पर्धा गर्दैछन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले प्रतियोगिताका खेलहरु आफ्नो आधिकारिक वेवसाइटबाट वेवकास्ट गरिरहेको छ। जस अनुसार नेपालको समूह चरणका बाँकी ५ मध्येको ४ खेल वेवकास्ट हुनेछन्। नेपालले खेल्ने स्कटल्यान्ड, नेदरल्यान्ड्स, अफगानिस्तान र बर्मुडासँगका खेल लाइभ स्ट्रिमिङ हुनेछन्। टेलिभिजन र वेवकास्टबाट प्रत्यक्ष प्रसारण भएका खेलमा विगतमा नेपालको प्रदर्शन राम्रो हुन सकेको छैन्। प्रत्यक्ष प्रसारण हुँदा खेलाडीको ध्यान मैदानमा भन्दा ठूला क्यामारामा केन्द्रित हुने गरेको आरोप लाग्ने गरेको छ। 
सन् २०१२ मा अस्ट्रेलियामा भएको आइसिसी यु–१९ विश्वकपको अस्ट्रेलियासँगको खेल दौरान नेपाली टोली। तस्बिर :  आइसिसी

Friday, November 15, 2013

सजिलो छैन नेपालको विश्वकप यात्रा

विश्वकप खेल्ने उद्देश्यमा रहेको नेपालका लागि पहिलो खेलमा डेनमार्क खासै ठूलो चुनौती नहोला। आइसिसी विश्व ट्वान्टी–२० छनोट यात्रामा नेपालको बाटो सहज भने छैन।
पछिल्लो दुई वर्षको प्रदर्शनका आधारमा नेपाललाई बलियो टोलीमा राखिएको छ। नेपालको आफ्नै उद्देश्य पनि अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० मा छनोट हुनु छ। त्यस विपरीत डेनमार्कलाई प्रतियोगिताको सबैभन्दा कमजोर टोलीमा राखिएको छ। गत वर्ष मार्चमा सम्पन्न यही प्रतियोगितामा डेनमार्क १६ टोलीमा पुछारमा थियो।
नेपाल समावेश समूह 'बी' का कप्तानहरु विश्व ट्वान्टी ट्रफीका साथ। नेपाली टोलीका कप्तान पारस खड्का बायाबाट चौथो ।              तस्विरः आइसिसी

Wednesday, November 13, 2013

विश्वकप यात्राको 'टर्निङ प्वाइन्ट'

आइसिसी विश्व ट्वान्टी–२० छनोट प्रतियोगिता नेपालका लागि 'टर्निङ प्वाइन्ट' हुनसक्छ। दुई वर्षअघि यही प्रतियोगितामा नेपालले प्रतिद्वन्द्वीलाई चिन्ने अवसर मात्र पाएन, भविष्यको चुनौती आँकलन गर्ने मौका पनि पाएको थियो। तिनै परिचित प्रतिद्वन्द्वीको नाडी छामेर नेपालले अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० को ढोका खोल्ने धेरैको विश्वास छ।
सन् २०१० मा नेपाल डिभिजन ४ मा रोकिएपछि अफगानिस्तानका तत्कालीन प्रशिक्षक ताज मलिकले भनेका थिए, 'नेपालको स्तर धेरै माथि छ। तर नेपाल ठूलो टोली भनेर अरुसँग डराउँछ। एकपल्ट नेपालले एउटा लेभल पार गरेर ठूलो टोलीमा गनिएका कुनै टोलीलाई हरायो भने जितको क्रम सुरु हुन्छ।'
तस्विरः विजय राई

Tuesday, November 12, 2013

पूर्वकप्तानहरूको विश्वकपमा छनोट हुने विश्वास

विश्व ट्वान्टी–२० छनोटमा सहभागिता जनाउन नेपाली टोली युएई पुगिसकेको छ। शुक्रबार सुरु हुने १६ राष्ट्र सम्मिलित प्रतियोगिताका शीर्ष ६ टोलीले अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० मा भाग लिन पाउने छन्। नेपाली टोलीको लक्ष्य ट्वान्टी–२० विश्वकपमा छनोट हुनु हो।
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानहरूको वर्तमान टोलीमाथि कस्तो अपेक्षा छ? नेपाली टोली विश्वकपमा छनोट हुन्छ? उनीहरू नेपाली टोलीको कमजोरी के देख्छन्। खेलाडीको व्यक्तिगत प्रदर्शनलाई कसरी हेरेका छन्। प्रशिक्षक र नेपाल क्रिकेट संघको भूमिकाका कस्तो देख्छन्? आदि विषयमा पूर्वकप्तानहरूको विचार : 
नेपाली टोलीका पूर्व कप्तानहरु माथी देब्रेबाट उत्तम कर्माचार्य, राजु खड्का, एलबी क्षेत्री, पवन अग्रवाल र विनोद दास। साथमा विश्व ट्वान्टी–२० छनोटको लोगो

Saturday, November 9, 2013

मिसन ट्वान्टी–२० विश्वकप

विश्व ट्वान्टी–२० छनोटमा नेपालसामु धेरै चुनौती छन्। नेपालको विश्वकप सपना यसैसँग जोडिएको छ। एसोसिएट राष्ट्रका अन्य बलिया विपक्षीसँग खेल्नुपर्ने यथार्थबीच प्रशिक्षक पुबुदु दासानायकेले प्रतियोगिता जितेर सोझै ट्वान्टी–२० विश्वकपमा छनोट हुने लक्ष्य बनाएका छन्।
'मेरो लक्ष्य उपाधि जित्नु नै हो। समूहमा शीर्ष भएर विश्वकपमा छनोट हुनु हो,' दासानायके आत्मविश्वास साथ भन्छन्। तीन महिनाअघि सिंगापुरमा नेपाल एसिसी इमर्जिङ टिम्स कपको एकदिवसीय खेलमा अफगानिस्तानमाथि विजय पाउन थोरैले चुकेको थियो। दासानायके ट्वान्टी–२० विश्वकपमा छनोट हुने आधार यसैलाई मान्छन्।
ब्याट्सम्यान शरद भेषावकर प्रशिक्षणमा। तस्विरः विजय राई/नागरिक

Saturday, November 2, 2013

राष्ट्रिय टोली बाउन्ड्री बाहिर, क्षेत्रीय क्रिकेट भित्र

दसदिने दिल्ली भ्रमणमा सात अभ्यास खेल खेलेर काठमाडौं फर्केपछि नेपाली राष्ट्रिय टोलीको बाँकी प्रशिक्षण कीर्तिपुरस्थित त्रिवि मैदानमै तय थियो। विश्व ट्वान्टी–२० छनोट खेल्न नेपाली टोली नोभेम्बर १० मा युएई जाँदैछ। दिल्लीमा पूरा नभएका रणनीतिक पक्ष उनीहरूको स्वेदशको अभ्यासमा बनाउने योजना थियो।
सोहीअनुरुप शुक्रबार बिहान मैदान पुग्दा खेलाडीहरू एक्कासि झस्किन पुगे। मैदानमा काठमाडौं क्षेत्रीय यु–१९ प्रतियोगिता भइरहेको थियो। नेट्सको अभ्यास विकेट तयारी थिएन। प्रशिक्षक पुबुदु दासानायके राष्ट्रिय खेलाडीलाई खेलाउनभन्दा पनि ललितपुर र भक्तपुर जिल्लाको यु–१९ छनोट प्रतियोगिता हेर्नै बाध्य भए। उनीसँग वर्तमानभन्दा पनि भविष्यको खेलाडी हेर्नुको विकल्प थिएन।
सामन्य स्ट्रेचिङ गरेपछि खेलाडी बाउन्ड्री लाइन बाहिरबाटै ललितपुर र भक्तपुर खेल हेर्न बाध्य थिए। त्यसपछि राष्ट्रिय टोलीका कप्तान पारस खड्काले आफूलाई सम्हाल्न सकेनन्। अघिल्लो महिना अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले क्यानलाई ८४ हजार डलर जरिवाना गराउँदाको विषयमा नेपाली क्रिकेटको सर्वोच्च निकायका जिम्मेवार व्यक्तिहरूको नैतिकतामा समेत प्रश्न उठाएका उनले दिल्ली भ्रमणको कमजोरीदेखि अभ्यासका लागि मैदान र नेट्स नपाउँदा नेपाल क्रिकेट संघ (क्यान) को खुलेर आलोचना गरे। कप्तान पारसकै शब्दमा : 

कप्तान पारस खड्का मिडियासँग आलोचना पोख्दै

Sunday, October 20, 2013

नेपाली क्रिकेट टोलीमा भारतीय एनालिस्ट

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा व्यावसायिक नयाँ टेक्निकल एनालिस्ट राखिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले भारतका श्रीराम सोमायाजुलालाई दुई महिनाका लागि टेक्निकल एनालिस्टमा नियुक्त गरेको हो।
नोभेम्बर १५ देखि युएईमा हुने विश्व ट्वान्टी–२० छनोट तयारीका लागि नेपाली टोली आइतबार दिल्ली जाँदैछ। दिल्ली डिस्ट्रिक क्रिकेट एसोसिएसनसँग दुईपक्षीय सम्बन्धअनुरुप नेपालले दिल्लीमा ७ अभ्यास खेल खेल्नेछ, त्यसमा चार खेल फिरोज शाह कोटला मैदानमा हुनेछ।


Saturday, October 5, 2013

पहिलोमै आर्मी च्याम्पियन

त्रिभुवन आर्मी क्लबले पहिलो सहभागितामै पेप्सी स्ट्यान्डर्ड चार्टर्ड ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता जितेको छ। शुक्रबार पाँचौं संस्करणको फाइनलमा आर्मीले साविक विजेता नेपाल एपिएफ क्लबलाई ५ विकेटले पराजित गर्‍यो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाका कारण १६ ओभरमा छोट्याइएको खेलमा टस जितेको एपिएफले ७ विकेट गुमाई १ सय १२ रन बनायो। कप्तान विनोद भण्डारीले अविजित ३० रन बनाएपछि आर्मीले ४ बलअघि लक्ष्य पूरा गर्‍यो। विनोदले वसन्त रेग्मीलाई स्ट्रेट चौका प्रहार गरेपछि आर्मीले १ सय १६ रन बनायो।
त्रिभुवन आर्मी क्लब उपाधि जितेपछि। तस्विरः विकास कार्की/नागरिक

Sunday, September 29, 2013

चोटमा पनि मुस्कुराउदैं पृथु

युवा अलराउन्डर पृथु बाँस्कोटाको चमक शनिबार छुट्टै थियो। नक्सालस्थित होटल क्राउन प्लाजामा नेपाली क्रिकेट टोलीका मलेसियाली फिजियो एसभी सुब्रा र डाक्टर श्रील भगतसामु उनले नयाँ जीवन नै पाएजस्तै अनुभूति गरिरहेका थिए।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणक्रममा दुई साताअघि पृथुले यस्तो चोट बोके, जसले उनी आफ्नो खेलजीवननै सकिएको महसुस गर्न बाध्य भए। कीर्तिपुरको त्रिवि मैदानमा प्रशिक्षणमा फुटबल खेल्दा उनको दाहिने घुँडामा चोट लागेको थियो। उक्त चोट पूर्णत फुटबल खेलाडीलाई मात्र पर्न सक्छ। एमआरआई रिपोर्टमा उनको लिगामेन्ट पूर्ण च्यातिएको देखियो। 

Sunday, September 22, 2013

डाक्टर–पाइलट: काठमाडौं

डाक्टर–पाइलट। 'सरकारी जागिर..' बोलका गायक क्रान्ति आलेसम्मिलित ब्यान्डको नाम हो यो। ब्यान्ड नै नभए पनि काठमाडौं जिल्ला क्रिकेट टोलीको परिचय डाक्टर–पाइलटको टोली जस्तै छ। सिनियर पाइलट प्रफुल्ल वैद्य काठमाडौं टोलीका कप्तान हुन्। डाक्टर नीरज भट्टराई टोलीका प्रमुख खेलाडी।
गत वर्ष काठमाडौं जिल्ला छनोट प्रतियोगितामा तीन पाइलट र तीन डाक्टर थिए। प्रफुल्लसहित अर्का दुई पाइलट मोनिर श्रेष्ठ र नाजिर शेख जिल्ला छनोटमै छानिए। क्लबस्तरीय प्रतियोगितामा खेल्ने डाक्टरको संख्या पनि तीन नै थियो। नीरजबाहेक धनबहादुर कार्की र निखिल आचार्यले खेले। नीरज र निखिल जिल्लामै छनोट भए।
पाइलट प्रफुल्ल बैध। तस्विरहरुः विकास कार्की

Saturday, September 21, 2013

नेपाली क्रिकेटका प्रवासी अनुहार


अर्को राम्रो पुस्ता नदेखिएका कारण नेपाली क्रिकेटको भविष्यबारे चिन्ता गर्ने धेरै छन्। दुई वर्षअघि नेपाल आएलगत्तै खेलाडी खोज्न प्रशिक्षक पुबुदु दासानायके मोफसल लागे। वर्षमा एकपटक हुने राष्ट्रिय प्रतियोगिताबाट पनि नयाँ खेलाडी निस्कन सकिरहेको अवस्था देखिँदैन। यस्तैमा भारतमा बस्दै आएका नेपालीहरू जो भारतको क्रिकेट संस्कारमा हुर्किए, अहिले नेपाली नयाँ अनुहार बनेर राष्ट्रिय प्रतियोगितामा देखा परेका छन्। यसले नेपालको घरेलु क्रिकेटको स्तर बढाउने अपेक्षा गरिएको छ। भारतमै हुर्केका सुरज केसी, अर्जुन अधिकारी र सोमपाल थापा घरेलु क्रिकेटमा देखिएका छन्। सोमपाल बन्द प्रशिक्षणमा पुगिसकेका छन् भने अन्यले त्यही लक्ष्य बनाएका छन्।

नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएका सोमपाल थापा। तस्विरहरुः विकास कार्की/नागरिक

Monday, August 26, 2013

क्यानलाई एक करोड जरिवाना

विश्व क्रिकेटको सर्वोच्च संस्था आइसिसीले 'तोकिएको समयमा आर्थिक प्रतिवेदन नबुझाएको' भन्दै नेपाल क्रिकेट संघ (क्यान) लाई झन्डै एक करोड रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ।
आइसिसीकै आर्थिक कोषबाट चल्दै आएको क्यानले प्रत्येक तीन महिनामा खर्चको हिसाबकिताब बुझाउनुपर्छ। सन् २०१२ को चौथो त्रैमासिक तथा २०१३ को पहिलो त्रैमासिकको आर्थिक प्रतिवेदन बुझाउन ढिला भएपछि आइसिसीले कारबाही गर्ने निर्णय गरेको हो।

Sunday, August 18, 2013

विश्वकप छनोट छायामा

नेपाल क्रिकेट संघको साधरण सभा
पाँच महिना भित्र ट्वान्टी–२० र एकदिवसीय विश्वकप छनोट खेल्ने जस्ता नेपाली क्रिकेटका सवैभन्दा ठुलो कार्यक्रमहरुलाई कुनै सम्बोधन नगरी नेपाल क्रिकेट संघको दुई दिने साधरण सभा शनिबार पोखरामा सकिएको छ।
ट्वान्टी–२० र एकदिवसीय विश्वकप छनोट जस्ता ठुलो प्रतियोगिता खेल्नु अगाडी कुनै कार्यक्रम नल्याएको भनेर आलोचना खेपिरहेको क्यानले साधरण सभामा पनि त्यसबारे कुनै योजना ल्याउन सकेन। कार्यसमितिबाट विश्वकप छनोटको बारेमा कुनै प्रस्ताव नराखेपछि एक सहभागीले 'जे का लागि छलफल हुनु पर्ने हो त्यो विषय नै नआएको' भन्दै आक्रोस पोखेका थिए।

Saturday, August 17, 2013

विश्वकपको बाटोमा सिंगापुरको यात्रा

विश्व ट्वान्टी–२० र एकदिवसीय विश्वकप छनोट नेपाली क्रिकेटका आगामी महत्वपूर्ण अभियान हुन्। सिंगापुरमा शनिबार सुरु हुने एसिसी इमर्जिङ टिम्स कपले ती प्रतियोगिता खेल्नु अघि नेपाली क्रिकेटको स्तर मापन गर्नेछ।
सिंगापुर पुग्नुअघि नेपालले कोलम्बोमा श्रीलंकाको यु–२३ टोलीसँग चार अभ्यास खेल खेलेको थियो। सवै ४ खेल हार्दा नेपालले ३ खेलमा सजिलै घुँडा टेकेको थियो। श्रीलंकासहित टेस्ट खेल्ने भारत, पाकिस्तान र बंगलादेशको यु–२३ टोलीले प्रतियोगितामा सहभागिता जनाउदैं छन्। नेपालको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन्।
८ देशका कप्तानहरु ट्रफीका साथ ।  तस्विरः एसिसी

Friday, August 16, 2013

स्पिनमा बढदो आशा

श्रीलंका यु–२३ क्रिकेट टोलीसँगको अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेटर सागर पुनले ६ विकेट लिए। सिंगापुरमा शनिबार सुरु हुने एसिसी इमर्जिङ टिम्स कपको तयारीलाई श्रीलंकामा खेलिएका ५ अभ्यास खेलमा नेपाली खेलाडीको यो सकरात्मक पक्ष थियो।
नेपालले श्रीलंकाको यु–२३ टोलीसँग ४ अभ्यास खेल खेलेको थियो। श्रीलंकाको टोलीमा टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय, ट्वान्टी–२० अन्तर्राष्ट्रियसहित सवै प्रथम श्रेणी खेलिसकेका खेलाडी थिए। तेस्रो खेलमा ३ रनको हार बाहेक नेपाल बाँकी तीन खेलमा सजिलै पराजित भयो। सागरले त्यही तेस्रो खेलमा ६ विकेट लिए।
राहुल विक भारतका पूर्व स्पिनर वैंकटपथी राजुका साथ । तस्विरः रमन सिवाकोटी/क्यान

शिरीषको छायाँमा क्लब च्याम्पियनसिप

काठमाडौं, साउन ३१– 'नेपाली पौडीमा हरेक प्रतियोगिता शिरीष गुरुङका लागि गरिएको जस्तै हुन्छ' पौडीमा यो भनाइ स्थापित हुदैछ। पहिलो पटक गरिएको अन्तरक्लब पौडी च्याम्पियनसिप पनि युवा पौडीबाज शिरीषको छायाँ भन्दा बाहिर रहेन्।
अघिल्लो दिन चार स्वर्ण जितेका शिरीषले बिहीबार अर्को चार स्वर्ण थप्दै सहभागी सबै इभेन्टमा रवाफ जमाए। शिरीषले २ सय मिटर ब्याकस्ट्रोकमा २ मिनेट ३९.०६ सेकेन्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाए। प्रतियोगितामा बनेको यही एक राष्ट्रिय कीर्तिमान थियो। गत वर्ष असोजमा भएको दोस्रो एनएसए प्रतियोगितामा २ मिनेट ४३.१० सेकेन्डको आफ्नै कीर्तिमान उनले सुधारेका हुन्। राष्ट्रिय कीर्तिमानका लागि शिरीषलाई नेपाल पौडी संघले नगद ५ हजार प्रदान गरेको थियो।
शिरीष गुरुङ । तस्विरः विकास कार्की/नागरिक

Saturday, August 10, 2013

हीरा सधैंका लागि

नेपाली स्क्वासका असली हीराबहादुर थापा दोस्रो एनएसआरए राष्ट्रिय खुल्ला स्क्वासमा शनिबार आफ्नै छोरा अमृत थापासँग हारेछन्। राष्ट्रिय प्रतियोगितामा हीराबहादुरको १९ वर्षपछि यो पहिलो हार हो । २०६८ को छैटौं राष्ट्रिय खेलकुदका क्रममा मैले नागरिकमा लेखेको उनको एउटा स्टोरी यस्तो थियो ..........

नेपाली स्क्वासमा एकोहोरो वर्चस्व जमाइरहेका हीराबहादुर थापाले खासै चुनौती सामना गर्नुपरेको छैन। आम नेपालीको दैनिकी नै बनेको लोडसेडिङको मार भोग्नुपर्दा हीराको १८ वर्षको अपराजित यात्रा झन्डै अँध्यारोमा हराउन पुग्यो।  
तस्विरः विकास कार्की

Thursday, August 8, 2013

अमेरिकामा चम्कँदै सागर

एक समय सागर पन्त नेपाली क्रिकेटको ठुलो आशा थिए। कलात्मक ब्याटिङका साथै विकेटकिपिङ सागरका विशेषता हुन्। यसैको उपयोग गर्दै सागरले एभरेष्ट क्रिकेट एकेडेमी, बालुवाटार क्रिकेट क्लब हुँदैं काठमाडौं जिल्ला र क्षेत्रका साथै उमेर समूहमा नेपाली टोलीको प्रतिनिधित्व गरे। सन् २००१ देखि २००४ नेपाली क्रिकेट विशेष गरी युवामा पाएको अन्तर्राष्ट्रिय सफलताका कारण उत्कर्षमा थियो। सागर पनि यसको एक हिस्सा थिए।
सागरले पहिलो पटक सन् २००० मा नेपाली यु–१७ टोलीमा परेका थिए। पाकिस्तान भ्रमणमा उनले कुवेत र बंगलादेशविरुद्ध खेलेका थिए। उनकै कप्तानीमा नेपाली यु–१९ टोलीले भारत भ्रमणमा लुधियाना, पञ्जाबमा खेलेको थियो। सिंगापुरविरुद्ध विजय पाउँदा उनले ४२ बलमा अविजित ५८ रन बनाएका थिए। बंगलादेश र भारतसँग खेल नेपालले हारेको थियो। 

Wednesday, August 7, 2013

एक्सपोजरले महिला क्रिकेटमा परिवर्तनको आशा

महिला राष्ट्रिय क्रिकेट टोलीको प्रदर्शन ओरालोलाग्दो स्थितिमा छ। जनवरीमा थाइल्यान्डमा सम्पन्न एसिसी महिला च्याम्पियनसिप उपाधिमा मात्र सीमित थिएन। विजेता टोली विश्वकप छनोटको अन्तिम दौडमा उभिन्थ्यो। नेपालको उद्देश्य पनि विजेता बन्नु नै थियो। पराजयका लागि कुनै स्थान थिएन, विशेष गरी नेपालको हकमा।
आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता कहिले हुने निश्चित नहुँदा वर्षमा एकपल्ट हुने राष्ट्रिय प्रतियोगिता खेलेकै भरमा निरन्तर खेलिरहने आधार धेरै खेलाडीसँग थिएन। दुर्भाग्य, थाइल्यान्डमा नेपाल सेमिफाइनलमै रोकियो। नेपाललाई हराएको थाइल्यान्डले उपाधि जित्दै ठूलो फड्को मार्‍यो। 
रुबिना क्षेत्री र रोशनी बोहरा । तस्विरः चन्द्रशेखर कार्की/नागरिक

Sunday, August 4, 2013

धनगढी क्रिकेटको नयाँ क्षेत्र

धनगढीले नेपाली क्रिकेटमा नयाँ क्षेत्रको मान्यता पाएको छ। नेपाल क्रिकेट संघ (क्यान) को हालै बसेको बैठकले धनगढीलाई ९ नम्बर क्षेत्रको मान्यता दिएको हो। धनगढी बैतडी (६ नम्बर) क्षेत्रबाट छुट्टिएको हो। दीपक साउदको अध्यक्षतामा धनगढीले क्षेत्रीय मान्यता पाएको छ।
क्षेत्रका अन्य पदाधिकारी भने तोकिएको छैन। साउद राष्ट्रिय खेलकुद परिषद्का सदस्य र सुदूरपश्चिम खेलकुद विकास समितिका अध्यक्ष पनि हुन्। धनगढी क्षेत्रमा कैलाली, कञ्चनपुर, डोटी र अछाम जिल्ला रहने छन्। बैतडी क्षेत्रमा डडेलधुरा, बैतडी, दार्चुला र बझाङ रहने बताइएको छ। क्षेत्रीय सीमांकन भने अझै भइसकेको छैन। 
सुदुर पश्चिम एकेडेमीले आयोजना गर्ने द होटल डिभोटी एसपिए कप देशकै सवैभन्दा ठुलो नगद पुरस्कार राशी भएको प्रतियोगिता हो। गत वर्ष उपाधि जितेको पेन्टागनका नरेश बुढाऐर प्रतियोगितामा म्यान अफ द सिरिजको पुरस्कार लिदैं।

Thursday, July 25, 2013

महेश क्षेत्रीको पुनरागमन प्रयास


महेश क्षेत्री र शक्ति गौचनका आँखा आँसुले टिलटिल परेका थिए। एसिसी ट्वान्टी–२० कपको १४ सदस्यीय अन्तिम नेपाली सूचीमा दुवैको नाम थिएन। सन् २०११ यो प्रतियोगिता नेपालले १३ वर्षपछि आयोजना गर्न लागेको पहिलो प्रतियोगिता थियो। घरेलु भूमिमा आफ्ना समर्थकमाझ खेल्ने दुवैको योजना टोलीको छनोटपछि भताभुंग भए।
नेपाली छनोटको भोलिपल्ट शक्ति आफूलाई सम्हालन सकिरहेका थिएनन्। मैदानमा एकोहोरो भएर बसेका थिए। महेशको स्थिति त्यही थियो। दह्रो मुटु बनाएर महेशले खेलाडी साथीहरूसँग भने, 'केटाहरू, तिमीहरू राम्रोसँग खेल्नू। म टेलिभिजन हेर्दै नेपाली टोलीलाई चियर गरिरहने छु। फेरि कुनै दिन म टोलीमा फर्केर आउनेछु।'
तस्विरः विजय गजमेर/नागरिक

Saturday, July 20, 2013

विज्ञापन र पारसको ब्याट

माइकल चाङको स्टामिना यस्तो थियो कि इनर्जाइजर ब्याट्री जस्तो उनी लामो समयसम्म टिकिरहन्थे। अमेरिकी टेनिस खेलाडी चाङ बेसलाइनमा दौडेर होस् वा नेटमा गएर खेल्दा कहिल्यै थाकेजस्तो देखिँदैनथे। १७ वर्षमै युएस ओपन (सन् १९८९ ) को उपाधि जितेपछि चाङको यो पाटोलाई इनर्जाइजर ब्याट्रीले विज्ञापनमार्फत देखायो।
शक्ति, आत्मविश्वास, भरोसायोग्य प्रदर्शन र आक्रामक स्वभाव नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काका खुबी हुन्। यसै साता हंशराज हुलासचन्द एन्ड कम्पनीको बजाज पल्सर मोटरसाइकलसँग पारस तीन वर्षलाई अनुबन्धन भए। उनलाई 'ब्रान्ड भ्यालु' बनाउनुको मुख्य कारण पनि यही हुनसक्छ। ब्रान्ड एम्बेसडरका रूपमा उनले यो अवधिमा पल्सरको प्रवर्द्धन गर्नेछन्।

Thursday, July 18, 2013

इन्डोर नुहँदा फुटबल खेल्दै क्रिकेटर

नियमितजसो राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू कीर्तिपुर त्रिवि मैदानमा खेल्छन्। क्रिकेट नभएर बुधबार उनीहरूको फुटबल खेल्ने तालिका बन्यो। क्रिकेट भए पनि बन्द प्रशिक्षणमा खेलाडीलाई 'फ्रेस' र फिट राख्न फुटबल, भलिबल, खोखोसहितका खेल खेलाउने गरिन्छ।
नेपाली क्रिकेट टोलीलाई अहिले फुटबल खेल्न दिनुको कारण फरक छ। सिंगापुरमा अर्को महिना हुने भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसम्मिलित एसिसी इमर्जिङ टिम्स कपलाई तयारी सुरु भएको साता बितिसक्यो। इन्डोर सुविधा नहुँदा मनसुनका कारण खेलाडीले मैदानमा बल र ब्याट समात्ने अवसर पनि पाएका छैनन्।

Saturday, July 6, 2013

'एक्सपोजर' पाउदै नेपाली क्रिकेटर

नेपालले एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताका लागि २२ सदस्यीय प्रारम्भिक टोलीको छनोट गरिसकेको छ। त्यसमध्ये ५ खेलाडी विदेशमा खेलिरहेका र प्रशिक्षण लिइरहेका छन्। सिंगापुर हुने प्रतियोगिताका लागि केही खेलाडी सोझै त्यतै पुग्ने छन् भने केही छोटो समयका लागि काठमाडौं आएर टोलीसँगै जानेछन्।
गत वर्ष नेपाली क्रिकेटको स्वर्णिम काल थियो। प्रशिक्षक पुबुदु दासानायकेले नेपाली क्रिकेटको ठूलो छलाङको बाटो खोल्ने अभियान थालनी गरे। नेपाली खेलाडीलाई विदेशी लिगमा खेलाउनु सफलताका प्रमुख आधार थिए। फरक क्रिकेट अनुभवले खेलाडी निखारिएका थिए। 'एक्सपोजर' नपाउनु नेपाली क्रिकेटको प्रमुख समस्या भएको पुष्टि भएको थियो। यस पटक पनि ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिल मण्डल, प्रदीप ऐरी, नरेश बुढाऐर र राजेश पुलामी विदेशमै खेलिरहेका छन्।
एसेज शृंखलाको तयारीमा रहेका अस्ट्रेलियाका कप्तान माइकल क्लार्कसँग राजेश पुलामी

Friday, June 28, 2013

विश्व च्याम्पियनसिपमा दीपक विस्टको लक्ष्य

दीपक विष्टले खेलाडीका रूपमा तेक्वान्दोबाट धेरै पदक पाएका छन्। दक्षिण एसियाली खेलकुदमा लगातार चार स्वर्ण र एसियाली खेलकुदमा पाएका दुई कांस्यले उनलाई नेपाली खेलकुदमा सबैभन्दा सफल खेलाडी बनाएको छ।
सन् २०१० मा बंगलादेशमा दक्षिण एसियाली खेलकुदको पछिल्लो स्वर्ण जितेयता उनले चोटका कारण खेलाडी जीवनलाई निरन्तरता दिन सकेनन्। मेक्सिकोको पुइब्लामा असार ३१ देखि साउन ६ सम्म हुने विश्व तेक्वान्दो च्याम्पियनसिपमा आफूले खेलाडी जीवनबाट पाउन नसकेको पदक दिलाउने दीपकको लक्ष्य छ। उनले च्याम्पियनसिप खेल्ने खेलाडीलाई निखारिरहेका छन्।

Friday, June 7, 2013

नेपाललाई आइसिसीको विशेष अनुदान, विश्वकप तयारीलाई १ करोड ६० लाख

विश्वकप क्रिकेट तयारीलाई नेपालले विशेष आर्थिक सहयोग पाएको छ। विश्व क्रिकेटको सर्वोच्च संस्था आइसिसीले विश्वकप छनोट चरण खेल्नेक्रममा रहेका नेपालसहितका राष्ट्रलाई विशेष रकम दिएको हो। आइसिसीको विकास अनुदान नीतिअन्तर्गत 'हाई पर्फमेन्स ग्रान्ट' शीर्षकमा नेपालले यो रकम पाएको हो।
जनवरीमा न्युजिल्यान्डमा विश्वकप छनोट चरणका खेल्ने नेपाललाई आइसिसीले तयारी खर्च भनेर एक लाख ७५ हजार अमेरिकी डलर उपलब्ध गराएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष टंक आङबुहाङले बताए। आइसिसीले एसोसिएट एन्ड एफिलिएट राष्ट्रमा ९ देखि १२ औं स्थानका टोलीलाई यो रकम उपलब्ध गराउँछ। वरियतामा शीर्ष ८ स्थानमा रहेका राष्ट्रले यो शीर्षकमा ३ लाख ५० हजार डलर पाउँछन्।

Wednesday, May 29, 2013

हिलोमा चिप्लिएको नेपाली क्रिकेट

झरीमा फक्रने नेपाली क्रिकेट तालिका यसपल्ट पनि अछुतो रहेन। पछिल्लो एक दशकलाई हेर्ने हो भने वर्षायामसँग नेपाली क्रिकेटको सम्बन्ध प्रगाढ बन्दै गएको छ। सोमबार सम्पन्न वाइवाइ महिला यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता यसैको कडी थियो।
भदौदेखि वैशाखसम्म क्रिकेट खेल्न उपयुक्त समय मानिन्छ। जेठदेखि चार महिना लगभग नेपाली क्रिकेट ठप्प नै हुने गर्छ। गत वर्षलाई छाड्ने हो भने नेपाली क्रिकेट झन्डै उल्टो चलिरहेको छ। जेठसँगै सुरु हुने झरी र त्यसमा जोडिने मनसुनमा नेपाली क्रिकेट भिज्दै आएको छ। यही समयमा प्रतियोगिता आयोजना गर्नुपर्ने बाध्यता देखाइए पनि निश्चित क्यालेन्डर नहुँदा नेपाली क्रिकेट वर्षामा चिप्लिने गरेको छ। 
फाइल तस्विर : विकास कार्की

Tuesday, May 28, 2013

झापाले दिलाएको विराटनगरको सफलता

क्षेत्रीय छनोटमा मोरङ, सुनसरी, उदयपुर र इलाम जिल्ला सहभागी नै भएनन्। जबकि तयारी वाइवाइ महिला यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको विराटनगर (क्षेत्र १) का लागि थियो। सप्तरीको पनि सहभागिता ठेगान थिएन। प्रशिक्षक बिरु श्रेष्ठ र रुबिना क्षेत्री डग्मगाएका थिएनन्।
राष्ट्रिय प्रतियोगिता हुने खबरसँगै उनीहरूले आफ्नै हिसाबले विशेष तयारी गरिसकेका थिए। त्यो झापा जिल्ला क्रिकेट टोली बनाउन थियो। खेलाडी सबै काँकडभिट्टाका थिए। अन्तमा यही टोलीले झापाको मात्र नभई विराटनगर क्षेत्रकै प्रतिनिधित्व गर्नुपर्ने स्थिति आयो। बन्द प्रशिक्षण सुरु हुँदै गर्दा सप्तरीका चार खेलाडी काँकडभिट्टा पुगे। दुईले विराटनगर टोलीमा स्थान पाए, बाँकी सबै झापाबाट खेल्ने आशामा रहेका काँकडभिट्टाका खेलाडी थिए। पहिलो ११ मा यही टोलीले प्रतियोगिताका पूरै खेल खेल्यो।


Thursday, May 23, 2013

डिभिजन ३ मेनिया

नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मान पातलिएसँग डिभिजन ३ मेनिया सेलाउदै गएको छ। उपाधि जितेर काठमाडौं आएसँगै सुरु भएको नेपाली टोलीको सम्मानक्रम अहिले पनि जारी छ। पहिलो दिनको अवव्यस्थित सम्मानलाई छाडने हो भने नेपाली टोलीले नगदका हिसाबमा अहिले सम्मकै ठुलो सफलता पाएका छन्। सरकारले दिने निर्णय गरेर प्रदान गर्न बाँकी ३ लाख ५० हजारलाई जोड्ने हो भने प्रति खेलाडीको भागमा ५ लाख भन्दा बढी परेको छ।
सफलता हात पारेसँगै जय जय र त्यसपछि शुन्य विगतको स्थिति पनि लगभग दोहोरिएको छ। फाइनल पुगेर वा उपाधि जितेर आउदाको नेपाली क्रिकेट टोलीसँग जोडिएर आफ्नो प्रोफाइल बढेको ठान्नेहरु डिभिजन ३ मेनियाबाट टाढा भइसकेका छन्। विश्वकपमा छनोट भएर आउने नेपाली टोलीसँग फेरी जोडिने आशामा उनीहरुले सम्भावित मितीमा चिनो पनि लगाइसकेका छन्। त्यसपछि अर्को मेनिया सुरु हुनेछ। यस बीचको स्थिति शुन्य जस्तै।
तस्विर सौजन्यः रमन सिवाकोटी/क्यान

Sunday, May 12, 2013

अविनाशको कीर्तिमानी बलिङ

नेपालले निराशाजनक यात्रा टुंगाए पनि अविनाश कर्ण एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने नेपाली खेलाडी बने। उनले मलेसियाको एसिसी यु–१९ इलिट कप २४ विकेटसँगै टुंगाए।
शनिबार मलेसियाँगको खेलमा २ विकेट लिए। युएईविरुद्धको सेमिफाइनलमा २२ विकेट पुर्‍याएसँगै उनी सवै खाले अन्तर्राष्ट्रिय क्रिकेटको एकै प्रतियोगितामा नेपालबाट सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए।
मलेसियामा एसिसी यु–१९ इलिट कपमा उत्कृष्ट बलरका साथ अविनाश कर्ण। तस्विरः विक्रम गिरी  

Sunday, April 28, 2013

अमेरिकासँग निरन्तर जितको अपेक्षा

विश्व क्रिकेट लिग डिभिजन ३ बर्मुडामा आइतबार सुरु हुँदा नेपाल र अमेरिकाबीचको नियमित भेटले निरन्तरता पाउने छ। दुवैलाई प्रतियोगितामा दाबेदार मानिएको छ। पहिलो खेल नै भए पनि दुई टोलीबीचको विजेताको डिभिजन २ मा उक्लने सम्भावना बलियो बन्नेछ।
नेपालले यो स्थितिसम्म आइपुग्दा डिभिजन ५ र डिभिजन ४ को फाइनलमा अमेरिकालाई नै पराजित गरेको थियो। ७ महिनाअघि डिभिजन ४ मा नेपालले अमेरिकालाई समूह चरणमा ३२ रन र फाइनलमा ८ विकेटले पराजित गरेको थियो। नेपाललाई दाबेदारमा राखिनुको कारण पनि यही नै हो। 'पछिल्लो दुई खेल हामीले जितेको हुनाले अहिले दबाब अमेरिकालाई छ। डिभिजन ४ मा हामीले अमेरिकाले राम्रोसँग नियन्त्रणमा लिएका थियौं,' नेपालका प्रशिक्षक पुबुदु दासानायकेले भनेका छन्।  
तस्विर सौजन्यः नेपाल क्रिकेट संघ

Saturday, April 27, 2013

मिसन डिभिजन ३

विश्व क्रिकेट लिग डिभिजन ३ मा अन्य टोलीसँग तुलना गर्ने हो भने नेपाल अनुभवहीन टोली हो। एकदिवसीय विश्वकप अनुभव बोकिसकेको बर्मुडा र मिनी विश्वकप खेलिसकेको अमेरिकासँग नेपालले प्रतियोगितामा प्रतिस्पर्धा गर्नुपर्नेछ। त्यस बाबजुद नेपाललाई प्रतियोगिताको दाबेदार मानिएको छ।
डिभिजन ३ को आयोजक बर्मुडाले क्यारेबियन भूमिमै भएको २००७ को विश्वकप खेलेको थियो। ठूलो जीउका ड्वायने लेभरोक बर्मुडाका लोकप्रिय खेलाडी हुन्। विश्वकपमा भारतसँग उनले स्लिपमा रोबिन उत्थपालाई क्याच गरेको दृश्यले मात्र पनि बर्मुडा क्रिकेटको समग्र तस्बिर झल्काउँछ। 
तस्विरः विकास कार्की/नागरिक

Friday, April 19, 2013

आर्मीको क्रिकेट टोली बन्दै


क्रिकेट टोली बनाउने प्रक्रिया नेपाली सेना पनि अगाडि बढेको छ। महिना दिनभित्र सेनाले क्रिकेट टोली बनाउने तयारी गर्दैछ। यसै वर्षदेखि राष्ट्रिय प्रतियोगिता खेल्ने उद्देश्य आर्मीको छ।
'एक महिनाभित्र सेनाको क्रिकेट टोली तयार हुन्छ, अहिले हामी ब्यारेकभित्रबाटै खेलाडी लिन्छौं,' सेनाका प्रमुख सेनानी रवीन्द्र खत्रीले भने, 'हाम्रो क्रिकेट टोली निर्माण प्रारम्भिक चरणमै छ। सँगै अन्य प्रक्रिया अगाडि बढ्ने छ।'

Sunday, April 14, 2013

नेपाल विश्वकप पुगेन भने फर्कन्छु : दासानायके


क्रिकेट प्रशिक्षक पुबुदु दासानायकेले सम्झौता नवीकरण गर्दै भने, 'नेपाल विश्वकपमा पुग्न सकेन भने म फर्कने छु।' अर्को वर्ष नेपाललाई विश्वकपमा पुर्‍याउने अठोटका साथ राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दासानायकेलेसम्झौता एक वर्ष लम्ब्याएका हुन्। 
सन् २०११ को अक्टोबरमा पूर्व श्रीलंकाली खेलाडी दासानायके नेपाल आएका थिए। पहिलोपल्ट ६ महिनालाई आएका दासानायकेले त्यसपछि १ वर्ष लम्ब्याए। अहिले उनले दोस्रोपल्ट सम्झौता नवीकरण गरेका हुन्। 

Saturday, April 6, 2013

जय सञ्जम बाबा!


विनोद भण्डारीको जुझारु प्रदर्शन एसिसी ट्वान्टी–२० कपमा नेपालले उपविजेता हुनुका अलावा पाएको अर्को उपलब्धि थियो। सिंगापुरसँगको अफ्ठ्यारो स्थितिमा उनले अर्धसतक बनाए। त्यसले नेपाललाई सेमिफाइनलको बाटो देखाउँदै विश्व ट्वान्टी–२० छनोट चरणसम्म पुर्‍यायो। ट्वान्टी–२० विश्वकप खेल्ने सपनालाई पनि ब्युँतायो।
विनोदले अन्ततः आफूलाई प्रतिभाशाली खेलाडी प्रमाणित गरे। नेपाली क्रिकेटमा विनोदको छवि पाकिस्तानका जावेद मियाँदादको जस्तै छ। चार वर्षअघि नेपाल हारको मुखमा पुग्दा विनोदले अन्तिम बलमा छक्का प्रहार गरी कुवेतविरुद्ध विजय दिलाएका थिए। त्यो उनको पहिलो खेल थियो। त्यसपछिका वर्ष उनले खासै राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। एक किसिमले हेर्दा अबुधावीमा अन्तिम बलमा प्रहार गरेको छक्काको ब्याज विनोदले अहिलेसम्म खाइरहेका थिए।
तस्विरः विकास कार्की/नागरिक

Wednesday, April 3, 2013

बाबुराम भट्टराईको क्रिकेट मोह


पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अघिल्लो दिन नै टि्वट गरेर नेपाल र युएईबीचको एसिसी ट्वान्टी–२० कप क्रिकेटको सेमिफाइनल हेर्न जाने जानकारी गराएका थिए। त्यस अलावा उनले देशका नेताहरूले खेलकर्मीबाट सिक्नुपर्ने पनि अवगत गराए। 
मंगलबार नेपालको खेलपूर्व नै भट्टराई कीर्तिपुर मैदान पुगिसकेका थिए। नेपाली टोलीका व्यवस्थापक सञ्जिव पाण्डेलाई शुभकामना दिँदै उनले अतिथि कक्षबाट खेल अवधिभर नेपाली टोलीको हौसला बढाइरहे। खेल सकिएपछि प्रमुख अतिथिको भूमिका निभाउँदै उनले पृथु बाँस्कोटा र प्रदीप ऐरीलाई संयुक्त म्यान अफ द म्याच प्रदान गरे। 
बाबुराम भट्टराई र गगन थापा (दुई छेउ) मा नेपाल र युएई बीचको एसिसी ट्वान्टी–२० सेमिफाइनल खेल हेर्दै।
तस्विर विकास कार्की/नागरिक

Tuesday, April 2, 2013

नेपालको लक्ष्य सेमिफाइनलभन्दा माथि


नेपालसँग खेल्दा पहिलोपल्ट युएई दबाबमा हुनेछ। एसिसी ट्वान्टी–२० कपको सेमिफाइनललाई लिएर नेपाली क्रिकेट टोलीमा उत्साह छ। त्यस विपरीत युएई सम्भवत नेपालसँगका पछिल्ला तीन खेलमा पाएको पीडा एकैपटक पोख्ने दाउमा छ। 
नेपालले आज युएईसँगको खेललाई एउटा अवसरमा लिएको छ। एसिसी ट्वान्टी–२० कपको चौथो संस्करणमा आइपुग्दा नेपाल लगातार दोस्रोपल्ट सेमिफाइनल खेल्दैछ। युएईलाई हराएर नेपाल पहिलोपल्ट एसिसी ट्वान्टी–२० को फाइनल पुग्ने आशामा छ। लक्ष्य त्योभन्दा अझै माथि छ। 
तस्विरः विकास कार्की/नागरिक