Tuesday, November 18, 2014

दुवै क्यानको सक्रियता

एसिसी यु–१९ प्रिमियर क्रिकेटबाट फर्केको नेपाली टोलीको स्वागतका लागि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का फरक अस्तित्वका पदाधिकारीहरू आ–आफ्नो ढंगले पुगेपछि विवाद थप चुलिएको छ।
कुवेतमा उपविजेता बनेर फर्किएको टोलीलाई निलम्बित क्यानका पदाधिकारी र सरकारबाट भर्खरै बनेको तदर्थ समितिका पदाधिकारीले फरक फरक स्वागत गरे।


सरकारले क्यानलाई कात्तिक २० मा निलम्बन गरी विनयराज पाण्डेको अध्यक्षतामा श्रीहर्ष कोइराला उपाध्यक्ष र रमेश सिलवाल महासचिव रहने गरी तदर्थ समिति गठन गरेको थियो। महासचिव सिलवाल र प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे यु–१९ टोलीको स्वागत पुगेका थिए।
सरकारको निर्णय अस्विकार गर्ने बताउँदै आएको निलम्बित क्यानको तर्फबाट उपाध्यक्ष केशव घिमिरे, कार्यवाहक महासचिव उत्तम कर्माचार्य, कार्यवाहक कोषाध्यक्ष दिवाकर घले तथा सदस्य सञ्जय सिंह र अमितवीर पाण्डे विमानस्थल पुगेका थिए।
दुई साताअघि यु–१९ टोली कुवेत लाग्दा निलम्बनमा परेको क्यानले बिदाइ गरेको थियो। त्यसको दुई दिनपछि सरकारले क्यानमा हस्तक्षेप गरेको हो। 'वैधानिक क्यान पदाधिकारीले हामीलाई स्वागत गर्नुभयो,' व्यवस्थापक धीरेन्द्र साउदले सरकारले निलम्बन गरेको क्यानतर्फ इंगित गर्दै भने।
तदर्थ समितिका महासचिव सिलवालले आफूहरूले स्वागत  र बधाई दिएको बताए। शुक्रबार युवा तथा खेलकुद मन्त्रालयबाट पत्र बुझेलगत्तै मुलपानी क्यानको कार्यालय गएर आफूहरूले कार्य सुरु गरेको दाबी सिलवालको छ। उक्त समयमा निलम्बनमा परेका क्यानका कोही पदाधिकारी कार्यालयमा थिएनन्।
क्यानको आधिकारिक इमेलबाट नयाँ तदर्थ समिति गठन भएको विज्ञप्ति आएको भोलिपल्ट निलम्बित क्यानले आफूहरू नै आधिकारिक रहेको र संघले मंसिर १२ मा साधारण सभा गर्न गइरहेको जनाएको थियो।
शुक्रबारपछि  मुलपानी क्यान कार्यालय नगएको विषयमा सिलवालले भने, 'हामीले आफ्नो हिसाबमा क्यानको कार्यालय चलाइरहेका छौं, सँधैं मुलपानी नै पुग्नुपर्छ भन्ने छैन।' उनले १–२ दिनभित्र अन्तर्राष्ट्रिय मान्यता लिएर जानकारी गराइने बताए।
निलम्बितका कार्यवाहक महासचिव कर्माचार्यले पनि त्यस्तै दाबी गरे। 'अहिलेसम्म हामीलाई नै अन्तर्राष्ट्रिय मान्यता छ। हामी पनि आफ्नो हिसाबले चलिरहेका छौं।' उनले सरकारको निर्णयविरुद्ध अदालत जाने निश्चित भइसकेको र त्यस विषयमा वकिलसँग परामर्श चलिरहेको जनाए।
विश्वकपमा सम्भावना बलियो छ
व्यवस्थापक साउदले नेपाली यु–१९ क्रिकेट टोलीको कुवेत भ्रमण सफल र सकारात्मक भएको बताए। कुवेतमा आइतबार सम्पन्न ६ राष्ट्रसम्मिलित एसिसी यु–१९ प्रिमियरमा नेपाल दोस्रो भएको थियो।
नेपालले ५ मध्ये ४ खेल जित्यो। अफगानिस्तानसँगको निर्णायक खेलमा नेपाल ५ विकेटले पराजित भयो। सबै ५ खेल जिती अफगान लगातार तेस्रोपटक विजेतामात्र भएन २०१६ मा बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकपलाई पनि छानियो। नेपालले बंगलादेशमा स्थान पाउन प्लेअफ खेल्नुपर्नेछ।
'हामी विश्वकपमा सोझै छनोट नभए पनि आशा जीवितै छ,' निलम्बित क्यानका सदस्य साउदले भने, 'अभ्यास राम्रो भएन, अनुभवी खेलाडीको कमी आदिले गर्दा सबैले हामीलाई कमजोर भनेका थिए, त्यो अनुसार हामीले सोचेभन्दा निकै राम्रो खेल्यौं।'
अफगानसँगको पराजयलाई व्यवस्थापक र प्रशिक्षक नवीन सिंह दुवैले आयोजकको लापरबाही माने। 'अफगानिस्तानसँगको खेलमा विकेटको स्थिति निकै खराब थियो, टस हार्नु पनि हाम्रो दुर्भाग्य भयो,' साउदले भने, 'विकेट गिलो थियो, त्यसमा खेल १ घन्टाअघि (बिहान ८ बजे) सुरु गरियो। नेपालको इनिङ्स सकिँदा अझै आधा घन्टाभन्दा बढीको खेल बाँकी थियो। तर आयोजकले त्यसपछि डेढ घन्टाको ब्रेक दिँदा पिच खेल्न लायक बनिसकेको थियो, जुन सिधा हिसाबमा अफगानिस्तानलाई फाइदाजनक थियो।' उनका अनुसार नेपालले अफगानिस्तानको इनिङ्स सुरु हुनुअघि नै आयोजकलाई विरोधपत्र दिएको जनाए।
प्रशिक्षक सिंहले नेपालको प्रमुख समस्या ओपनिङ ब्याट्सम्यानमा देखे। सुनील धमला र प्रेम तामाङले पहिलो ३ खेलमा ओपनिङ गरे पनि लामो इनिङ्स खेल्न सकेन्न्। सबै ५ खेल ओपनर खेलेका सुनीलले ६३ रनमात्र बनाउन सके। उनी प्रतियोगितामा नेपाली खेलाडीबाट बढी रन बनाउनेमा नवौं स्थानमा थिए।
युएईसँगको अन्तिम खेलमा ५२ रन बनाएका प्रेमले त्यसअघि ४ खेलमा ३२ रनमात्र जोड्न सके। प्रेम मुख्य स्पिन बलर हुन्। 'प्रेमलाई ओपनिङमा खेलाउने हाम्रो निर्णय गलत भयो,' सिंहले भने, 'उसले अभ्यासमा जस्तो खेलेका थिए, त्यो अनुसार खेल्न सकेनन्। त्यही भएर युएईसँग उसलाई हामीले मध्यक्रममा ब्याटिङ पठायौं।'
अफगानिस्तान पराजित गर्नै नसकिने टोली नभएको जनाउँदै सिंहले भने, 'हाम्रो व्यवस्थित अभ्यास हुनुपर्‍यो। मुख्य प्रतियोगिता अगाडी म्याच अभ्यास पाउनुपर्‍यो।' कुवेत जानुअघि पाकिस्तानमा ३ खेलको शृंखला खेल्दै अफगानिस्तानले २–१ को ऐतिहासिक नतिजा निकालेको थियो।
नेपालबाट आरिफ शेखले सबैभन्दा बढी १ सय ९० रन बनाए। अघिल्लो महिना मलेसियामा विश्व क्रिकेट लिग डिभिजन ३ जितेका राष्ट्रिय टोलीका सदस्य आरिफलाई सोझै यु–१९ टोलीमा राखिएको हो। उनले कुवेतको अनुभव सुनाउँदै भने, 'राष्ट्रिय टोलीबाट खेलिसकेको हुनाले ममाथि ठूलो आशा र भरोसा थियो, त्योअनुसार मैले ठीकै खेल्न सकेँ। म मलेसियासँग शून्य र अफगानिस्तानसँग १० रनमै आउट भएँ, त्यही खेलमा नेपालको ब्याटिङ धर्मरायो। मैले राम्रो गरेको भए टिमको खेल राम्रो हुन्थ्यो जस्तो पनि देखियो।'
उनले अफगानिस्तानसँग सक्दो प्रयास गरेको बताए। 'सबैले आफ्नो ठाउँमा राम्रो खेले, त्यही भएर हामी दोस्रो भएका हौं,' उनले भने। उनले नेपालको विश्वकपमा पुग्ने सम्भावना बलियो भएको बताए। त्यसका लागि खेलाडीहरूलाई सुविधा थप्नेदेखि लिएर अन्य व्यवस्था हुनुपर्ने र त्यसबारे क्यानसमक्ष धारणा राख्ने उनले जनाए।
आरिफले ३८ को औसतमा रन बनाउँदा दुई अर्धशतक बनाए। प्रतियोगितामा कप्तान राजु रिजालले १ सय ४७, शंकर रानाले १ सय ३९, दीपेन्द्रसिंह ऐरीले १ सय १४ र सौरभ खनालले १ सय ४ रन बनाए। नेपाली बलरहरू विकेट लिन संघर्ष गरे पनि आरिफले स्पिनरहरू सुशील कँडेल र इर्शाद अहमदको तारिफ गरे। सुशीलले नेपालबाट सबैभन्दा बढी ८ विकेट लिए। त्यसपछि बढी विकेट लिनेमा सुनीलको ७ विकेट थियो। इर्शादले ४ विकेट लिए।
नागरिक राष्ट्रिय दैनिकमा २०७१ मंसिर २ गते प्रकासित

No comments:

Post a Comment