'मलाई त दोस्रो जुनी जस्तो लागिरहेको छ,' भर्खर १६ टेकेकी रमिला तण्डुकारले ३ वटा मोटरसाइकल जितिसकिन्, त्यो पनि भलिबल खेलेर। आफ्नो सफलतामा रमिला आफैलाई विश्वास छैन। वास्तविकता भने उनले खेलेरै पछिल्लो तीन साल १–१ मोटरसाइकल पुरस्कार पाउँदै आएकी छन्।
उनलाई मोटरसाइकल चलाउन आउँदैन। लाइसेन्स लिन उमेर पुगेको छैन। पल्सर स्पोर्टस अवार्डमा लोकप्रिय खेलाडी बनेपछि रमिलाले पछिल्लो मोटरसाइकल जितिन्, जुन उनले बुवालाई दिइन्। दुई वर्षअघि छैटौं ब्लु स्काई ढोरपाटन कपमा उत्कृष्ट खेलाडी भई पहिलो पटक टिभिएस स्कुटर जित्दा रमिला १४ वर्षकी थिइन्। सातौं संस्करणमा पनि उत्कृष्ट भइन् र अर्को स्कुटर पाइन्।
'तीन वर्षमा तीन मोटरसाइकल जितेपछि परिवारका सदस्य र साथीहरूले राम्रो खेलेर अब हाम्रा लागि पनि मोटरसाइकल जिती दे भनिरहेका छन्,' निर्दोष स्वभावकी रमिला रमाइलो गर्दै भन्छिन्। ६ वर्षअघि पढ्नलाई नैकापस्थित न्यु डायमन्ड स्कुलमा पुगेकी थिइन्। स्कुलको भलिबल माहोलले उनलाई 'स्पाइक' हान्न लोभ्यायो। स्कुलका प्रिन्सिपल तथा भलिबल प्रशिक्षक कुमार राई उनका लागि भगवान् सावित भए। बाँकी परीको कथा जस्तै भयो।
रमिलाको विजय पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधामा भलिबलको तेस्रो थियो। भलिबलकै मञ्जु गुरुङ र सिपोरा गुरुङले यो विधा जितिसकेका थिए। नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङको भनाइलाई मान्ने हो भने भलिबल 'ह्याटि्रक' गरेको छ र यसले भलिबललाई राष्ट्रिय खेल बनाएको छ। संघ रमिलाले बनाएको यो भलिबल माहोल 'क्यास' गर्ने सुरमा छ। भलिबल संघले विभिन्न जिल्लाबाट ५ फिट ८ इन्च अग्ला खेलाडी खोज्दै राजधानीमा अभ्याससहित सुविधा दिने भनेर 'ट्यालेन्ट हन्ट' सुरु गरेको छ। रमिलालाई भने ५ फिट ६ इन्च उचार्इं नै भलिबलमा धमाका मच्चाउन पर्याप्त भइसकेको छ।
स्वदेशमा उनले नजितेको कमै उपाधि छ। विगत ६ वर्षदेखि भलिबलको मुख्य विधाले अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्दा रमिलाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सपना पूरा हुन सकेको छैन। कमला पुनसँग मिलेर रमिलाले अघिल्लो महिना दोस्रो बिच भलिबलमा आफ्नो टोलीलाई विजयी बनाएकी थिइन्। फाट्टफुट खेल्ने अन्तर्राष्ट्रिय बिच भलिबलबाटै भए पनि रमिला अर्न्तराष्ट्रिय धोको पूरा गर्ने लक्ष्यमा छिन्। रमिलाजस्ता खेलाडीको आगमनले अध्यक्ष तामाङ बिच भलिबलमै नेपालको भविष्य देख्छन्। उनी भन्छन्, 'दक्षिण एसियामा पहिलो वा दोस्रो हुने सम्भावना छ।'
७३ प्रतिशत ल्याउँदै रमिलाले भर्खरै डाइमन्डबाटै एसएलसी उत्तीर्ण गरिन्। आफैले अझै सिक्न बाँकी हुँदै उनी स्कुलकै सहायक प्रशिक्षक भइसकिन्। पढाइसँगै खेललाई अगाडि बढाउनुपर्ने उनले राम्ररी बुझेकी छन्। भलिबलको चहलपहलसँगै रमिलाको पढाइमा व्यस्त हुने समय आएको छ। तर उनी विज्ञान विषय लिएर प्लस टु पढ्न भलिबल बाधक नहुने बताउँछिन्। उनी पढाइमा मात्र ध्यान दिने अभिभावकसँग अपिल गर्छिन्, 'खेलेर पढाइ बिग्रिन्छ भन्दै आफ्ना छोराछोरीलाई पढाइमा मात्र प्रोत्साहित गर्ने अभिभावकलाई म के भन्छु भने खेलकुद र शिक्षा दुवैबाट राष्ट्रको सेवा गर्न सकिन्छ। यो बाधक होइन, अझ खेलकुदले मानिसलाई अनुशासित बनाउनुका साथै स्वस्थ र स्फूर्त बनाउन मद्धत गर्दछ।'
शुक्रबार साप्ताहिकमा असार २८ गते प्रकाशित
No comments:
Post a Comment