राष्ट्रिय टोलीमा पहिलोपल्ट अवसर दिँदा धेरैलाई भविष्यको खेलाडी भनेर चित्रित गरिन्छ। सागर थापा नेपाली फुटबलको थोरै यस्ता खेलाडी हुन्, जो राष्ट्रिय टोलीमा 'डेब्यु' गर्नुअघि नै स्थापित भइसकेका थिए। शनिबार पाकिस्तानविरुद्ध मैत्रीपूर्ण शृंखलाको दोस्रो खेलमा उत्रँदा ५० अन्तर्राष्ट्रिय 'क्याप' जित्नुमा सागरको मुख्य आधार नै यही हो।
राष्ट्रिय टोलीमा पर्नुअघि नै सागर घरेलु फुटबलमा 'हट केक' बनिसकेका थिए। फ्रेन्ड्स क्लबले बुटवलमा २०५८ सालको तिलोत्तमा गोल्डकप जित्दा सागरले विद्यालयको पढाइ पनि सकेका थिएनन्। त्यसको अर्को वर्ष सन् २००३ मा दक्षिण कोरियामा भियतनामविरुद्ध इन्चेन रंगशालामा एसिया कपको छनोट चरण खेल्दा सागरले पहिलोपल्ट नेपाली राष्ट्रिय टोलीको जर्सी लगाए। ४३औं मिनेटमा अनन्त थापाको स्थान लिँदै सागर मैदानमा छिरेका थिए।
'राष्ट्रिय टोलीबाट खेल्नु पाउनु नै ठूलो हो। ५०औं खेल खेल्नु पाउनु धेरै ठूलो उपलब्धि हो। पहिलोपटक राष्ट्रिय टोलीमा पर्दा म यहाँसम्म आइपुग्छु भन्ने सोचेको थिइनँ। मेरो ध्यान प्रत्येक खेलसँगै अगाडि बढ्ने मात्र हुन्थ्यो,' सागरले भने, 'आफूलाई खेल्न सक्दिनँ जस्तो लाग्यो भने छोडिदिन्छु। नत्र भने म राष्ट्रिय टोलीबाट निरन्तर खेलिरहने छु।'
सन् २००९ मा काठमाडौंमा भएको एएफसी च्यालेन्ज कपको छनोट चरणदेखि उनले राष्ट्रिय टोलीको कप्तानी सम्हाल्दै आएका छन्। शनिबारको खेल कप्तानका रूपमा सागरको २८औं खेल हुनेछ। किर्गिस्तानसँगको खेलबाट सागरले नेपालको कप्तानी गरिरहेका हुन्। उक्त खेलमा विराज महर्जनले ७७औं सेकेन्डमा गोल गरेपछि नेपालले १–१ को नतिजा निकाल्यो। विराजले लामो दूरीबाट गरेको गोल अपत्यारिलो थियो।
दुई वर्षअघि साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध दिल्लीमा सोही शैलीको गोलका कारण सागरको ख्याति चुलियो। उनले ३५–४० यार्डबाट फ्रिकिकमा गरेको गोल नेपाली खेलाडीले अन्तर्राष्ट्रियस्तरमा गरेको उत्कृष्ट गोलमा गनिन्छ। सागरको गोलले 'जादु', 'चमत्कारी', 'अकल्पनीय' जस्ता उपनाम पायो। खेलले राष्ट्रलाई एकजुट बनाउँछ भन्ने सन्देश दियो उक्त गोलले। देश संक्रमणकालमा चलिरहँदा सागरले फ्रिकिकमा गोल गरे, जसमा सबै नेपाली झुम्मिए।
राष्ट्रिय टोलीमा सागरको 'डेब्यु' सोचेभन्दा ढिला भयो। २००३ मा साफ च्याम्पियनसिपमा सागर नेपाली टोलीमा छनोट भएका थिए। तर जन्डिस लागेका कारण अन्तिममा आएर सागर बंगलादेश जान सकेनन्। त्यही वर्ष नै नेपालले सबैभन्दा धेरै गोल खाएको एसिया कप छनोटमा सागरको बहुप्रतिक्षित 'डेब्यु' भयो। दक्षिण कोरियाली प्रशिक्षक योकी हानले पहिलोपल्ट सागरलाई राष्ट्रिय टोलीमा खेल्ने अवसर दिए। बिरामी परेका कारण सागर बंगलादेश जान नसकेपछि हानले दक्षिण कोरियामा एउटा प्रशंसकका रूपमा सागरको पहिलो खेल हेरे।
क्लबस्तरमा सुरुआतदेखि नै सागर मुख्य रक्षकको जिम्मेवारी लिएर खेल्छन्। राष्ट्रिय टोलीमा भने उनले लामो समय राइट ब्याकको भूमिकामा खेले। राकेश श्रेष्ठको संन्यासपछि सागर राष्ट्रिय टोलीमा पनि 'लिबरो' को भूमिकामा फर्किएका छन्। राकेशसहित बालगोपाल महर्जन, उपेन्द्रमान सिंहले पछिल्ला एक दसकमा राष्ट्रिय टोलीबाट ५० खेल्ने सौभाग्य पाएका थिए।
राष्ट्रिय टोलीमा सागरको यात्रा निरन्तर छ। त्यस विपरीत सागरको परिचय घरेलु फुटबलमा डुलुवा खेलाडीजस्तै छ। तीन वर्ष फ्रेन्ड्सबाट खेलेपछि उनी २०६० मा संकटा क्लबमा गए। संकटामा २ वर्ष बिताएपछि उनी नेपालको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दीमा आबद्ध भए। सागरको आगमनमा मनाङले पहिलो वर्ष नै २०६२ को लिग उपाधि जितेर रानीपोखरी कर्नर टिम (आरसिटी) ले सबैभन्दा बढी ६ पटक उपाधि जितेको कीर्तिमान बराबरी गर्यो। मनाङमा पनि सागरको बसाइ २ वर्षभन्दा लामो भएन। मनाङ फुटबलबाट टाढा भएसँगै २०६४ मा सागरको नयाँ गन्तव्य न्युरोड टिम (एनआरटी) बन्यो।
एनआरटीबाट सागरले घरेलु फुटबलमा बुढासुब्बाको उपाधि जिते। त्यसपछि हिमालयन शेर्पा लागे। उनले हिमालयन शेर्पाबाट पनि पहिलो वर्ष २०६७ मा सानमिगेल नकआउट कपको उपाधि जिते। १८ महिने हिमालयन शेर्पासँगको बसाइपछि सागर फ्रेन्डस क्लब फर्किएका छन्, जहाँबाट खेल्दा उनले राष्ट्रिय टोलीमा पहिलोपल्ट स्थान पाएका थिए। राष्ट्रिय टोलीबाट ५०औं खेल खेल्न लाग्दा सागर त्यसमै छन्।
नागरिक राष्ट्रिय दैनिकमा २०६९ माघ २७ गते प्रकासित
No comments:
Post a Comment