Tuesday, March 12, 2013

दशरथ रंगशाला अझै डरको घर

 मान्छेले जिन्दगी एकपटक पाउँछ। दशरथ रंगशाला काण्डमा परेर बाँच्न सफल भएकैले बिजु थापा आफूलाई दोस्रो जुनी पाउने भाग्यमानी सम्झन्छन्। पहिलेभन्दा अहिले रंगशाला निकै फेरिइसकेको उनले सुनेका छन् तर त्यहाँ गएर प्रत्यक्ष फुटबल हेर्ने आँट उनले जुटाउन सकेका छैनन्।
बालाजु मनमैंजुका थापा रंगशालामा हुने फुटबलका नियमित दर्शक थिए। २०४४ साल फागुन २९ मा रंगशालामा असिनापानीसँगै भागदौड हुँदा ७३ जनाले एकैठाउँमा किचिएर मृत्युवरण गरे। मृत्यु हुनेको संख्या पछि थपियो भनिए पनि तथ्यांक कसैसँग छैन। त्यस दिन त्रिभुवन च्यालेन्ज सिल्डमा जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्ति जोद्धाबीचको फाइनल हेर्न पुगेका बिजु मुस्किलले बाँचे। 'त्रिपुरेश्वरछेउ पुग्दा अहिले पनि आङ जिरिङ्ग हुन्छ,' भन्छन्, 'त्यो दिन सम्झेर अझै झस्किन्छु।'

                                                         दशरथ रंगशाला काण्डको २६ वर्ष

तस्विरः विकास कार्की


पछिल्ला तीन दशकमा नेपाली खेलकुदको भौतिक पूर्वाधारमा कुनै उल्लेख्य सुधार भएको छ भने त्यो हो दशरथ रंगशालाको आधुनिकीकरण। सन् १९९९ मा काठमाडौं सम्पन्न आठौं दक्षिण एसियाली खेलकुद (साफ) सँगै रंगशालाको मुहार फेरियो। फ्लड लाइट, सिन्थेटिक ट्र्याक र भिआइपीमा थपिएका कुर्सीले दशरथ रंगशालाको स्वरुप नै बदलियो। तर त्यही घटनाले बिजुलाई रंगशालाको पूर्वाधारले पनि लोभ्याउन सकेन।
'फुटबल हेर्न आएका मान्छे यति धेरै थिए कि त्यत्रो मान्छे मैले अहिलेसम्म देखेको थिइनँ। रंगशालामा खुट्टा टेक्ने ठाउँ थिएन। मलाई कुनै टोलीको मतलब थिएन, खालि फुटबल हेर्न गएको थिएँ, अघिल्ला खेलहरूमा जस्तै,' कंलकीमा व्यापार गर्दै आएका ४४ वर्षे बिजुले त्यो क्षण सम्भिए, 'मस्त फुटबल हेरिरहेका बेला आकाश कालो बादलले ढाकिँदै थियो। एक्कासि गुच्चाजत्रा असिना बर्सियो। दर्शक भागाभाग गर्न थाले। मुख्य गेट खुलेनन्। टनेलका गेट खोलिदिएको भए पनि धेरै बाँच्थे। कति त मैदानपट्टि हाम्फालेर बाँचे।'
झन्डै २० हजार दर्शक रंगशाला ओर्लिएका थिए। भागदौड मच्चिँदा ८ मुख्य ढोकामध्ये एउटाबाहेक सबै बन्द थिए। टिकट नकाटेका छिर्लान् भनेर ढोका लगाइएको थियो। खोल्न खोजिएको सिक्रीधारी चक्के ढोका पनि खिया लागेकाले खुलेन। त्यो ढोकाबाट एकपटकका मुश्किलले एकजनामात्र निस्कन सक्थ्यो। ढोकाबाट निस्किनैबित्तिकै खाल्डो थियो। बाहिरबाट पनि दर्शक भित्र जानेक्रम जारी रहेकाले ढोकाकै छेउ रहेको खाल्डोमा परेर अधिंकाशले ज्यान गुमाए। मानवीय क्षतिका हिसाबले विश्व फुटबलको शीर्ष १० ठूला दुर्घटनामा पर्छ, दशरथ रंगशाला काण्ड।
बिजु बाँच्नुको कारण उनी उत्तर–पूर्वी प्यारापिटमा थिए। 'उत्तरतर्फको पर्खालबाट हाम्फालेर बाँचे। त्यसपछि मलाई केही होश नै भएन। अरु मान्छेको टाउको टाउकोमा चढेर पर्खाल उक्लेको रहेछु। उक्लिन नसकेको भए भुँडी निचोरिएर म पनि मर्थे होला,' बिजुले सम्भि्कए, 'मेरो जुत्ता हराएछ। आर्मीको गेटबाट निस्किँदै शहीदगेटमा पुगेर बल्ल सास फेरे। म र अर्को साथी सँगै गएकामा ऊ त कहाँ–कहाँ? घर पुगेर त्यत्रो मान्छे मरेको समाचार सुन्दा पो आत्तिएँ।' 
बिजुले त्यसपछि दर्शकले कसरी संयमित भएर खेल हेर्नुपर्छ भन्ने बुझे। तर उनले रंगशाला गएर खेल हेर्ने साहस जुटाउन सकेका छैनन्। टेबहालका नीलेन्द्र मालीलाई भने त्यसले कुनै फरक पारेन। उनी क्लब स्तरदेखि नेपाली राष्ट्रिय टोलीको खेल रंगशालामै गएर हेर्छन्। सोमबार उनी सहिद स्मारक ए डिभिजन सुपर लिगमा मनाङ मर्स्याङ्दी र आरसिटी (रानीपोखरी कर्नर टिम) को खेल हेर्न रंगशालामै थिए। उनी पनि रंगशाला काण्डलाई भुल्न सकिरहेका थिएनन्। 
'असिना–पानी परेपछि खेल रोकियो। हामीले बाँच्न काँडेतार भत्काएर टनेलमा ओत लियौं। अरु पनि हामी जसरी नै त्यहाँ पुगेका रहेछन्। एकै ठाउँमा हुँदा सबैको सास ग्यासजस्तै गनाएको थियो, सबैले प्रहरीले टियर ग्यास छाडेको आशंका गरे,' उनी सम्झँदै थिए, 'मेरो हातमा असिनाले यस्तो लागेको थियो कि तीन दिनसम्म चलाउनै सकिनँ। असिना त्यति साह्रो थियो। प्रहरीले ग्यास छाड्यो भन्नेबित्तिकै दुखेको नै बिर्सिएछु।'
संकटा क्लबका प्रशंसक मालीले बेलिविस्तार लगाए, 'दक्षिणपट्टि ठूलै हताहत भएको देखियो। जुत्ताचप्पल छरपस्ट थिए। प्रहरी र आयोजकको चरम लापरबाही थियो त्यो घटना। गेट कसैले खोलेनन्। मानवीय संवेदना भने ठूलै देखिएको थियो। भुइँमा लडेकाहरूलाई एकले अर्कोलाई उचाल्दै अगाडि आएको गाडी रोकेर वीर अस्पताल पठाइरहेका थिए। मान्छे यति लडेका थिए कि हेर्न सक्ने स्थिति नै थिएन। घाइतेलाई अस्पतालमा पुर्‍याउँदै आफै गएर घर फर्किंदा ८ बजिसकेको थियो। मलाई खोज्न मेरो परिवार अस्पताल नै पुगेको रहेछ।'
रंगशाला घटना दोहोरिने त्रासले मालीलाई सताइरहन्छ। दक्ष स्वयम्सेवक नहुनु र प्रहरीको आफ्नै पारा देखेर उनी घटना दोहोरिने सम्भावित कारण देख्छन्। उनी भन्छन्, 'दर्शकहरू अलिकति पानी पर्‍यो भने पनि भागदौड गर्न सुरु गरिहाल्छन्। प्रहरीहरू सुरक्षा दिनभन्दा खेलमा मोजमस्ती मार्न रंगशाला आएजस्तो देखिन्छ। केही भइहाल्यो भने सुरक्षा दिने कोही हुँदैन।'
नागरिक राष्ट्रिय दैनिकमा २०६९ फागुन २९ गते प्रकासित 

No comments:

Post a Comment