अबुधावीस्थित शेख जायेद रंगशालामा एसिसी ट्रफी इलाइटको सेमिफाइनलमा उत्रँदा नेपाल र मलेसिया एक महिनाको अन्तरमा दोस्रोपटक जम्का भेट हुनेछन्। अघिल्लो महिना मलेसियामै सम्पन्न विश्व क्रिकेट लिग डिभिजन ४ को उपाधि जित्दा नेपालले घरेलु टोलीलाई १० विकेटले पराजित गरेको थियो। मलेसियालाई नेपालले ६९ रनमै रोक्दा शक्तिले १० ओभरमा ८ मेडन राख्दै २ रनमात्र खर्चेर ३ विकेट लिई अविस्मरणीय बलिङ गरेका थिए।
एसिसी ट्रफीको सेमिफाइनलमा नेपाल र मलेसिया तेस्रोपटक भिड्न लागेका हुन्। यसअघि दुवै सेमिफाइनलमा नेपालले विजय पाएको थियो। २००२ मा सिंगापुरको एसिसी ट्रफीमा नेपालले मलेसियालाई २५ र कुवेतमा २०१० को पछिल्लो संस्करणमा ९ रनले पराजित गरेको थियो। दुवै टोली नेपाल फाइनलमा पुग्दा प्रशिक्षक रोय डायस थिए। झन्डै दुई वर्षअघि नेपाल छाडेका डायस पछिल्लो समय मलेसियाका प्रशिक्षक छन्।
| म्यान अफ द म्याचको ट्रफी लिदै कप्तान पारस खड्का। तस्विरः एसिसी |
