Saturday, September 21, 2013

नेपाली क्रिकेटका प्रवासी अनुहार


अर्को राम्रो पुस्ता नदेखिएका कारण नेपाली क्रिकेटको भविष्यबारे चिन्ता गर्ने धेरै छन्। दुई वर्षअघि नेपाल आएलगत्तै खेलाडी खोज्न प्रशिक्षक पुबुदु दासानायके मोफसल लागे। वर्षमा एकपटक हुने राष्ट्रिय प्रतियोगिताबाट पनि नयाँ खेलाडी निस्कन सकिरहेको अवस्था देखिँदैन। यस्तैमा भारतमा बस्दै आएका नेपालीहरू जो भारतको क्रिकेट संस्कारमा हुर्किए, अहिले नेपाली नयाँ अनुहार बनेर राष्ट्रिय प्रतियोगितामा देखा परेका छन्। यसले नेपालको घरेलु क्रिकेटको स्तर बढाउने अपेक्षा गरिएको छ। भारतमै हुर्केका सुरज केसी, अर्जुन अधिकारी र सोमपाल थापा घरेलु क्रिकेटमा देखिएका छन्। सोमपाल बन्द प्रशिक्षणमा पुगिसकेका छन् भने अन्यले त्यही लक्ष्य बनाएका छन्।

नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएका सोमपाल थापा। तस्विरहरुः विकास कार्की/नागरिक
सुरज केसी
अल इन्डिया सर भिजी मेमोरियल प्रतियोगिता। स्थान भारतको वाराणासी। ललितपुर रेड चेरी ग्रुपको पहिलो खेल थियो भारतीय कोलाज ग्रुपसँग। बलर थिए रामनरेश गिरी। उनको बल खेल्दै थिए ब्याट्सम्यान सुरज केसी। रामनरेशले नेपाली यु–१९ बाट विश्वकप खेलिसकेको सुरजलाई थाहा थियो।
त्यसैले बलरलाई सम्मान दिनेक्रममा सुरजले पहिलो तीन बल हेरिमात्र रहे, ब्याटले छुने प्रयास गरेनन्। रामनरेशले त्यसपछि 'स्लेजिङ' गर्दै सक्छस् भने बल हानेर देखा, किन छाडिमात्र रहन्छस् भने। सुरजका अनुसार त्यो बाहेक केही पचाउन नसक्ने शब्द पनि थियो। 'मलाई गाली नदिनुस्, म नेपाली हुँ, मेरो नाम सुरज केसी हो। आफ्नो खेलमा ध्यान दिनुस्,' सुरजले त्यति भनेपछि रामनरेश झस्किएकै हुनुपर्छ। उनी बोलेनन्। सुरजले चौथो बलमा छक्का, पाँचौंमा चौका र छैटौंमा १ रन प्रहार गरे।
सुरजका लागि यो माथिल्लो स्तरको खेल थियो, जसमा उनले ४७ रन बनाए। खेल सकिएपछि ललितपुर रेड चेरीका कप्तान प्रशन्न शाक्य र प्रशिक्षक मनीष साल्खकरले सुरजलाई भेटे। नेपालमा किन खेल्दैनौं भन्दै नेपाली होऊ भन्ने त्यहीं आएर खेल, सहयोग गर्छु भन्ने वाचा गरे। २३ वर्षे सुरज भन्छन्, 'नेपालमा कहाँ गएर खेल्नुपर्छ मलाई थाहा नै थिएन।'
सुरजको मूल घर गुल्मी मुसिकोट–७ हो। आमाको माइत गुल्मीकै नेता दर्लिङ। बिहेपछि बुबाआमा भारततिर छिरे। बुबाआमाले झारखण्ड कर्मथलो बनाएपछि सुरजको जन्म त्यहीको सिङभूमिमा भयो। उनको पूरै बसाइ उतै भयो। उनले क्रिकेट जति पनि सिके भारतमै हो। सुरज थोरै नेपाली बुझ्छन्। घरमा बुबाआमा नेपाली बोल्छन्। सुरज सुन्छन् र थोरै बुझ्ने प्रयास गर्छन्।

सुरज केसी
दुई दिनअघि उनी नेपालबाटै क्रिकेट खेल्ने भनी काठमाडौं आए। उनको यो चौथो नेपाल भ्रमण हो। दुईपल्ट उनी गुल्मी पुगेका छन्। पछिल्लोपल्ट नेपाल आउँदा उनी भारतीय टोलीबाटै क्रिकेट खेल्न आएका थिए। गत वर्ष अगस्टमा सुरज छत्तीसगढ युथ क्रिकेट एकेडेमीको नेपाल भ्रमणमा पोखरा खेल्न गए। शनिबार उनले ललितपुरबाट खेल्दै त्रिभुवन विश्वविद्यालयविरुद्ध अविजित ३२ रन बनाए। उनलाई नेपालमा खेल्न रमाइलो लाग्यो। खासै फरक पाएनन्, भारत र नेपालमा। निरन्तर स्वदेशसहित अन्तर्राष्ट्रिय क्रिकेट खेलेर नेपाली क्रिकेट माथि उकास्ने उनको लक्ष्य छ।
अर्जुन अधिकारी
भारतको हरिद्वारमा भएको प्रिजेन्ट कप दूरदर्शन स्पोर्टस च्यानलमा प्रत्यक्ष प्रसारण भइरहेको थियो। अर्जुन अधिकारी भारतको स्थानीय प्यान्थरबाट खेलिरहेका थिए। नाताले दाइ पर्ने सुजन ज्ञवालीले वुटबलमा खेल हेरिरहेका थिए। अर्जुनको मूल घर बुटवलकै नयाँ गाउँ हो। सुजनले अर्जुनका बुबालाई फोन गरेर उनलाई नेपाल पठाइदिन भने।
उनका बुबाले अर्जुनसहित अर्का खेलाडी सोमपाल थापालाई १० दिनअघि नेपाल भित्राए। नेपाल क्रिकेट फ्यान क्लब काठमाडौं जिल्लास्तरीय छनोट प्रतियोगितामा खेल्नेक्रममा थियो। ट्रायलपछि फ्यान क्लबका महासचिव भोला न्यौपानेको पहलमा उनीहरूलाई प्रतियोगिता खेल्न दिइयो।
अर्जुन ३–४ वर्षको छँदा बुबासँगै पञ्जावको लुधियाना लागेका थिए। उनका बुबा भारतमै काम गर्थे। नेपाल आउने जाने भइरहन्थ्यो। अर्जुनले उतै क्रिकेट खेल्न सिके। विकेटकिपर–ब्याट्सम्यानको भूमिकामा उनी खेल्छन्। विशेष गरी विकेटकिपिङमा उनी दक्ष देखिन्छन्। उनले तीन वर्षदेखि अल इन्डिया ट्वान्टी–२० स्कुल प्रतियोगितामा खेलिरहेका छन्। त्यसमा उनी म्यान अफ द सिरिज र उत्कृष्ट विकेटकिपरमा चुनिसकेका छन्।
अर्जुन अधिकारी

राम्रो खेलेकै कारण उनलाई भारतमा प्रोटसले व्यक्तिगत प्रायोजन गर्दै आएको छ। तर, आफ्नो देश भनेको आफ्नै हो। त्यही सोचमा उनी नेपालबाट खेल्ने उद्देश्यसहित आएका हुन्। फ्यान क्लब हुँदै उनी काठमाडौं जिल्लाको टोलीमा परिसकेका छन्। राम्रो वातावरण मिल्यो भने उनी सँधै नेपालबाट खेल्न चाहन्छन्।
सोमपाल थापा
अर्जुनसँग भारतमा खेल्दाको परिचयले सोमपाललाई नेपाल डोर्‍यायो। सोमपालको मूल घर गुल्मी तोरङ–८ हो। उनी त्यही जन्मंे। उनी ३–४ वर्ष हुँदा जागिरको सिलसिलामा बुबा भारतको पञ्जाब, पटियाला लागे। उनको बुबा बिजुली अफिसमा काम गर्थे। भारतको गएको दुई वर्षपछि नै सोमपाल ब्याट समात्ने र बल फ्याँक्ने भइसकेका थिए।
पछिल्लो तीन वर्ष उनले पञ्जाब क्षेत्रबाट स्कुलस्तरीय प्रतियोगिता खेल्न मुम्बई, जम्बु र चन्डीगढमा गएर खेलिसकेका छन्। इन्डिया ट्वान्टी–२० फेडेरेसन प्रतियोगितामा उनले आर्मीको इन्डियन जवानबाट तीनपल्ट खेलिसकेका छन्। पछिल्लोपल्ट उनी कप्तान थिए। तीनै सिजन उनले आफ्नो टोलीबाट सर्वाधिक रन बनाए।
अलराउन्डर भए पनि उनको मुख्य भूमिका तीब्र बलिङ हो। मोहालीमा गत वर्ष ट्यालेन्ट हन्टमा उनले १३४.६ किलोमिटरको गतिमा बलिङ गरेको बताउँछन्। अहिले पनि औसत १ सय ३० भन्दा माथिको स्पिडमा बलिङ गरिरहेको उनी बताउँछन्। अर्जुनका आफन्तसँगको भेटमा नेपाललाई तीब्र बलर खाँचो भएको फ्यान क्लबका महासचिव न्यौपानेले बताएपछि अर्जुनले सोमपाललाई पनि लिएर आए।
फ्यान क्लबबाट पहिलो खेलमै उनले अविजित ४६ रन बनाउनुका साथै २ विकेट लिएपछि राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायके उनको बलिङमा प्रभावित भए। फ्यान क्लब सेमिफाइनल पुग्यो। सोमपालले बाँकी खेल खेलेनन्। नेपालबाट खेल्ने हो भने पहिला नागरिकता बनाउनुपर्छ भनेपछि सोमपाल नागरिकता बनाउन गुल्मी लागे। नागरिकता बनाएर उनले शुक्रबार काठमाडौं जिल्लाबाट पहिलो खेल खेले। अविजित १८ रन बनाउनुका साथै उनले १ विकेट लिए।
पञ्जाबकै टोलीबाट उनले पनि पोखरा आएर खेलिसकेका छन्। नेपाली क्रिकेटबारे उनलाई खासै थाहा छैन। गत वर्ष आइसिसी यु–१९ विश्वकपमा नेपालका खेलहरू उनले टिभीबाट हेरेका थिए। नेपालले ७ महिनाअघि जितेको डिभिजन ३ को हाइलाइट पनि उनले टेन स्पोर्टसमा हेर्न पाए। फेसबुकबाट उनी त्यसपछि नेपाली क्रिकेटबारे जानकारी लिन्थे। अफगानिस्तानसँग नेपाल अघिल्लो महिना एसिसी इमर्जिङ टिम्स कपमा ३ रनले हारेपछि सोमपालले स्वदेश नै गएर केही गर्ने निधो गरे।
नोभेम्बरमा युएईमा हुने विश्वकप छनोट तयारीमा रहेको २४ सदस्यीय टोलीमा सोमपाल पनि थपिएका छन्। 'उनी राम्रा खेलाडी हुन्। हामी उनलाई क्याम्पमा राखेर थप हेर्न चाहन्छौं,' प्रशिक्षक दासानायकेले भने, 'त्यो भन्दा पहिले उनले क्षेत्रीय र राष्ट्रिय प्रतियोगिता खेलेर आउने छन्।' बिहीबार मात्र उनी क्याम्पमा थपिए। नेपाली खेलाडीको व्यवहार उनलाई निकै राम्रो लाग्यो। नेपालको जर्सी लगाउने सपना सोमपालले देखिसकेका छन्। उनी भन्छन्, 'नेपालको ड्रेसिङ रूममा बस्ने मेरो ठूलो इच्छा छ।'
नागरिक राष्ट्रिय दैनिकमा २०७० असोज ५ गते प्रकासित

No comments:

Post a Comment