'खेलाडीको भविष्य उज्ज्वल छ, खेलाडीकै जुत्ता बनाउनेको भविष्य छैन,' नेपाली फुटबलमा आएको ठूलो परिवर्तनले बुट बनाउने आफ्नो पेशा संकटमा ल्याएपछि सुरेश मगराती के गर्ने भन्ने अन्योलमा छन्। डेढ दशकअघि सुरु गरेको यो पेशा उनी चटक्कै छाड्न पनि सक्दैनन्।
फुटबल खेलाडीको बुट बनाउन लागेको उनले १४–१५ वर्ष भइसकेको छ। सोल आफै लिएर आउने खेलाडीलाई उनीहरूले भने जस्तै फिट बुट बनाउनु मगरातीको दैनिकी हो। खुबी पनि। मगराती छाला आफै किनेर ल्याउँछन्। त्यसमा खेलाडीले भनेअनुसार कम्पनीको नाम हालेर मगराती नयाँ बुट बनाइदिन्छन्। उनी खेलाडीको नजरमा 'बुट डाक्टर' हुन्।
फुटबल खेलाडीको बुट बनाउन लागेको उनले १४–१५ वर्ष भइसकेको छ। सोल आफै लिएर आउने खेलाडीलाई उनीहरूले भने जस्तै फिट बुट बनाउनु मगरातीको दैनिकी हो। खुबी पनि। मगराती छाला आफै किनेर ल्याउँछन्। त्यसमा खेलाडीले भनेअनुसार कम्पनीको नाम हालेर मगराती नयाँ बुट बनाइदिन्छन्। उनी खेलाडीको नजरमा 'बुट डाक्टर' हुन्।
आफ्नै पसलमा 'बटु डाक्ट' : तस्बिरः विकास कार्की |
अहिल नेपाली राष्ट्रिय टोलीका विङ्गर भोला सिलवाल पहिलोपल्ट पुलिस क्लबबाट खेल्नेक्रममा थिए, झन्डै १० वर्षअघि। 'म पहिलोपल्ट पुलिसबाट खेल्न लागेको हुँ, तपाईले राम्रो बुट बनाइदिनुपर्यो भनेर आएका थिए,' मगराती सम्झन्छन्। उनले भोलालाई ठ्याक्कै फिट हुने बुट बनाइदिए। राम्रै खेलेर भोला अहिलेको स्थितिमा पुगेकोमा 'बुट डाक्टर' गर्व गर्छन्। भोला र स्ट्राइकर भरत खवासले उनले मर्मत गरिदिएको बुट लगाएर केहीअघि साफ च्याम्पियनसिप खेले।
एन्फा एकेडेमीको पहिलो पुस्ता हुँदै राष्ट्रिय टोलीका प्रमुख सदस्य अञ्जन केसी, विकास मल्ल, प्रदीप महर्जनसहित निराजन रायमाझी, राजेश शाहीले मगरातीकै सीपमा निर्मित बुट लगाएर धेरै समय खेले। खेलाडीले सोल ल्याएपछि उनले माथिको भाग बनाएर त्यसको ज्याला अहिले १२ सय रुपैयाँ लिन्छन्। अहिले उनको व्यापारमा मन्दी छ। त्यसैले उनी यसलाई चटक्कै छाडेर विदेश जानेसम्मको सोचमा पनि पुगिसके।
'पहिला खेलाडीको तलब १–२ हजार थियो। धेरै हुनेको ५ हजारसम्म हुन्थ्यो। म ५ सय ५० रुपैयाँमा बुट बनाइदिन्थंे। खेलाडीहरू सोल लिएर आउँथे, म बुट बनाएर दिन्थंे। यो खेलाडीको आम्दानीअनुरुप थियो,' बुट डाक्टर आफ्नो व्यापार सुक्नुको कारण देखाउँछन्, 'अहिले फुटबल खेल्न जान्यो कि क्लबबाट महिनाको १५ हजार कमाउँछन्। त्यो भन्दा माथिकाले २०–२५ हजार लिन्छन्। ५० हजारभन्दा माथि लिने धेरै छन्। जगजित श्रेष्ठले ७० हजारभन्दा बढी लिएर खेलेका छन् कि क्या हो। उनीहरूले घटीमा ५ हजारको बुट किनेर खेलेको हुनुपर्छ।'
उनी आफ्नो तर्क राख्छन्, 'राजु तामाङजस्ता विभागीय टोलीबाट खेल्ने खेलाडीहरूले अलि सस्तो लगाउँलान्। सागर थापा, अनिल गुरुङ, सन्दीप राईले १५–२० हजारको बुट लगाएर खेल्छन्। उनीहरूको बुटमा आफ्नै नाम हुन्छ। खेलाडीको फ्यान पनि धेरै हुन्छन्। खेलाडीलाई फ्यानले नै विदेशबाट बुट ल्याइदिन्छन्। विदेशबाट ल्याएकै बुटमा खेलाडीको नाम राखेको हुन्छ। नेपालमा बनाएको बुटमा आफ्नो नाम राख्न मिल्दैन।'
यसबाहेक लिग सुरु हुने बेला क्लबले नै खेलाडीलाई नयाँ बुट दिन्छ। सोल लिएर आफूकहाँ बुट बनाइदिनू भन्न नआउनुको कारण उनी यही देख्छन्। टालटुल गर्न अहिले पनि खेलाडीहरू उनीकहाँ पुग्छन्। 'टालटुल गरेर पसल टिकाउन सकिँदैन। ३५ सय पसल भाडा तिर्नैपर्यो। कति बुझाउने, कति खाने? कम लगानी भएपछि गाह्रो पर्छ,' उनीसँग पसलको क्षमता बढाउने हैसियत नभएको प्रस्ट्याउँछन्, 'ठूलो लगानी गर्न सक्नुपर्यो होइन भने व्यापार परिवर्तन गर्नु वा पेशा परिवर्तन गर्नुपर्यो। खेलाडीको भविष्य छ। खेलाडीकै जुत्ता बनाउनेको भविष्य छैन। सहुलियत हिसाबमा ऋण पनि नपाउने, धितो नै चाहिने। धितो म कहाँबाट ल्याऊँ।' पहिला उनी विदेशमा मजदुरी जानेलाई गाली गर्थे, अहिले पसल धान्नै गाह्रो भएपछि उनको ध्यान खाडी राष्ट्रतर्फ मोडिएको छ।
उनी आफ्नो सुरुआती दिन सम्झन्छन्, 'त्यतिखेर विभागीय टोलीका फुटबल खेलाडीको तलब २७–२८ सयमात्र थियो। उनीहरू कहाँबाट मेरो पसलमा आएर ५–६ सय खाले बुट किन्न सक्थे र।' त्यो समयमा उनी दिनको २–३ जोर बुट बनाउँथे। अहिलेसम्म कति बनाए भन्ने उनलाई हेक्का छैन। २–३ वर्ष अघिसम्म उनले बनाएको बुट नलगाएर खेल्ने खेलाडी नभएको कुनै क्लब नै थिएनन्। ललितपुर–४ बागडोलका स्थानीय मगरातीको पसल पहिला जावलाखेलमै थियो। तीन वर्षअघि कुसुन्तीतिर सर्नु परेपछि केहीभित्र भएकाले व्यापारमा मन्दी लाग्नुको अर्को कारण मान्छन्, उनी।
उनको आशा अब फुटसलतिर छ। राजधानीमा सौखिन फुटबल खेल्न खुलेका इन्डोर फुटसलले उनलाई केही आशा देखाएको छ। 'फुटसलको सोलसहित १५ सय रुपैयाँमा बनाइदिन्छु। सोलको तल गोट्टी हाल्नु पनि पर्दैन। फुटसल बुट बनाउन पनि सजिलो छ,' उनी भन्छन्, 'अहिलेसम्म फुटसल बुटको खासै व्यापार चलेको छैन। अब केही हुन्छ होला। दसैंतिहारसहित चुनावले बन्द जस्तै छ व्यापार। खेलाडी–खेलाडी हुँदै मेरो पसलबारे चर्चा पुग्यो भने राम्रै व्यापार हुनसक्छ।'
क्रिकेटको माहोलले पनि उनको ध्यान तानेको छ। सोल लिएर आए उनी क्रिकेटको जुत्ता पनि बनाइदिने बताउँछन्। 'पहिला नाम चलेका व्यक्तित्वहरूको गल्फ जुत्ता बनाइदिएको थिएँ। हाम्रो काम नै जुत्ता बनाउनु हो। त्यसैले कुनै खेलको जुत्ता आए पनि केही फरक पर्दैन,' उनले भने। मगरातीका भतिजा फिरोन यसै वर्षदेखि जावलाखेल युथ क्लबबाट खेलिरहेका छन्। भतिजाको प्रगति देखेर मख्ख पर्छन् उनी, 'मैले पसल चलाउन नसके पनि हाम्रो परिवारको कोही त हुने भयो फुटबलमा।' फिरोनले गोर्खा कपमा फ्रेन्ड्स क्लबसँग आफ्नो पहिलो खेलमै गोल गरेका थिए।
संकटका कारण पसल बन्द गर्नुपर्यो भने अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूलाई लिए फुटबलकै भलाई हुने उनको तर्क छ। 'एन्फालाई हाम्रो बारेमा थाहा छैन होला, जबकि त्यहाँका अधिकांश खेलाडी मेरो पसलमा बुट बनाउन आउँछन्। खास भन्ने हो भने एन्फाले हामी जस्ता मान्छेलाई त्यहाँ नै राख्नुपर्ने हो। त्यहाँ दिनहुँ जस्तो खेलाडीको बुट बनाउनुपर्छ। युवा खेलाडीलाई अझ ध्यान दिनुपर्छ। उनीहरूलाई ठ्याक्कै मिल्ने बुट भयो भने खेलमा पनि निखार आउँछ।'
अहिले पनि एन्फा एकेडेमी तथा बाहिरका केही युवा खेलाडी उनको पसलमा आउँछन्, बुट सिलाउन र टालटुल गर्न। धेरैसँग पुरा पैसा हुँदैन। '१ सय रुपैयाँ ज्याला लाग्छ, उनीहरू अंकल ५०–६० रुपैयाँमात्र छ' भनेर निन्याउँरो अनुहार लगाउँछन्,' बुट डाक्टर मगरातीको मन छिनमै पगलिन्छ। युवा खेलाडीसँग भएकै ज्यालामा बुट सिलाउनुका साथै टालटुल गरिदिएपछि उनी जिस्किँदै भन्छन्, 'ए डिभिजनबाट खेल्न थालेपछि बाँकी पैसा आएर तिर्ने नि!'
नागरिक राष्ट्रिय दैनिकमा २०७० मंसिर ८ गते प्रकाशित
No comments:
Post a Comment