Saturday, November 30, 2013

नेपथ्यका नायक


तस्बिर पुबुदु दासानायके फेसबुक पेजबाट
यो तस्बिर हेर्ने हो भने धेरै क्रिकेटप्रेमीले सचिन तेन्दुलकरको १ सय ४२ को इनिङ्स सम्भि्न्छन्। सन् १९९४ मा श्रीलंकाको भारत भ्रमणमा लखनउमा बनेको शतक। यो तस्बिरको विशेषता नै हो तेन्दुलकरबाहेक अरुमा ध्यान नजाने। दुई वर्षअघि नेपाली क्रिकेटप्रेमीको ध्यान यसै तस्बिरमा सचिन पछाडि उभिने खेलाडीमाथि गयो, जब पुबुदु दासानायके नेपालको प्रशिक्षक बनेर काठमाडौं आए।
हुन त, फोटो जस्तै विकेटकिपर दासानायकेले श्रीलंकाबाट आफ्नो खेलजीवनमा सम्झनलायक खासै केही प्रदर्शन गरेनन्। दासानायकेले श्रीलंकाबाट कुल ११ टेस्ट र १८ एकदिवसीय अन्तर्राष्ट्रिय खेले। २००१ मा क्यानाडा बसाइ सरेपछि उनले सफलता पाउन लागे। २००५ मा उनी क्यानाडाकै कप्तान नै बने। २००७ मा उनलाई क्यानाडाले खेल्ने सँगै प्रशिक्षण गर्ने जिम्मेवारी पनि दियो। चार वर्षपछि उनले क्यानाडालाई एउटा प्रशिक्षकको नाताले एकदिवसीय विश्वकपसम्म डोर्‍याए।
विश्वकप भारतमा थियो। उनले विश्वकपपछि क्यानाडासँग आफ्नो सम्झौता नवीकरण नगर्ने बताइसकेका थिए। मुम्बईमा भएको भारत र श्रीलंकाबीचको विश्वकप फाइनल भइरहेको थियो। नेपाल क्रिकेट संघका तत्कालीन अध्यक्ष विनयराज पाण्डेको भेट क्यानाडा क्रिकेट संघका अध्यक्षसँग भयो। 'जुनियरका लागि हामीसँग आफ्नै प्रशिक्षक छ, सिनियर टोली हेर्ने प्रशिक्षक चाहिएको भनेपछि गफैगफमा पुबुदुको नाम आयो,' पाण्डे दासानायकेलाई भित्रयाउँदाको दिन सम्झन्छन्।
टोरोन्टो फर्केपछि क्यानाडा अध्यक्षको भनाइअनुसार पुबुदुले आफ्नो विवरण नेपाल पठाइदिए। 'ग्वाङ्झाउमा आइसिसीको बैठकमा श्रीलंकाली क्रिकेट बोर्डका महासचिवसँग छलफल हुँदा पुबुदुलाई ल्याउन सके नेपाललाई धेरै राम्रो हुने बताए। एसिसीका डेभलपमेन्ट म्यानेजर बन्दुला वार्नापुरा पनि दासानायकेको छनोटमा सहमत थिए,' पाण्डेले भने।
आर्थिक पक्षमा भने पूर्वअध्यक्ष पाण्डेले नसोचेको अनुभव बटुले।  'नेपालको प्रशिक्षक हुन के दिनुपर्छ हामीले?' भन्दै उनले दासानायकेलाई नेपालका यसअघिका प्रशिक्षक रोय डायसलाई प्रतिमहिना दिएको ५ हजार डलर पारिश्रमिक, खानबस्न तथा वर्षमा एकपल्ट घर जान दिने सुविधाबारे जानकारी गराए।
दासानायकेले क्यानाडामा बस्दा झन्डै १० हजार पाउँथे होला। त्यसैले उनले क्यानाडमा पाएको सुविधाकै कुरा पाण्डेसँग राखे। क्यानाडाभन्दा नेपाल निकै तल रहेको, नेपालसँग त्यत्रो पैसा नभएको जनाएपछि दासानायकेले ६ महिनाका लागि मात्र नेपाल आउन सहमति जनाए। पाण्डेका अनुसार उनकै प्रस्तावबमोजिम दुवै पक्षलाई सहमति भएमा अनुबन्धन बढाउने निर्णय भएको थियो।
२०११ को सेप्टेम्बरदेखिको यो सम्झौता जारी छ। पछिल्लो नवीकरण भएको अवधि सकिन अझै ५ महिना बाँकी छ। तर २६ महिनामा नेपाली क्रिकेटले पाएको सफलता हेर्ने हो भने यो कहाँ गएर टुंगिन्छ, कसैले अनुमान गर्न सक्दैन। पछिल्लो पटक नवीकरण गर्दा दासानायकेले नेपाललाई विश्वकपमा पुर्‍याउन नसके आफू क्यानाडा फर्किने बताएका थिए।
युएईमा भइरहेको विश्व ट्वान्टी–२० छनोटमा सेमिफाइनलमा पुर्‍याउँदै नेपाली खेलकुद इतिहासको सबैभन्दा ठूलो सफलता दिलाए। 'नेपाल विश्वकपमा पुगेन भने म यहाँ बस्नुको कुनै कारण छैन, हामीसँग विश्व ट्वान्टी–२० मा पुग्ने राम्रो अवसर छ। हाम्रो लक्ष्य एकदिवसीय विश्वकपमा पनि छनोट हुनु हो, हामीले कम्तीमा एकदिवसीय मान्यता पाउनुपर्छ,' नेपालसँग थप एक वर्षको नवीकरण गर्दै ४३ वर्षे दासानायकेले भनेका थिए।
राष्ट्रिय टोलीलाई उतारेको सबै प्रतियोगितामा दासानायकेले इतिहास बनाइदिएका छन्। एसिसी ट्वान्टी–२० कपमा पहिलोपल्ट सेमिफाइनल हुँदै फाइनल पुग्नु, एसिसी ट्रफीमा संयुक्त विजेता बन्नु, डिभिजन ४ र ३ को उपाधि जित्नु यसका उनका उपलब्धि हुन्। ट्वान्टी–२० विश्वकपमा पुग्नु नेपालको सपना थियो, त्यो अब सपना रहेन।

'खेलमा बाहेक उनको ध्यान अर्को कतै छैन, कुनै डिमान्ड छैन। त्यसैले उनले नेपाली राष्ट्रिय टोलीलाई धेरै राम्रो सेपमा ल्याएका छन्। हामीले राम्रो समयमा उनलाई ल्यायौं,' दासानायकेको आगमनलाई पूर्वक्यान अध्यक्ष पाण्डे नेपाली क्रिकेटको 'टर्निङ प्वाइन्ट' मान्छन्। ६ महिनाका लागि आएका दासानायकेले दुईपटक सम्झौता नवीकरण गरिसकेका छन्, आफूले पाउने सुविधामा कुनै डिमान्ड गरेका छैनन्।
यू–ट्युबमा नेपालको खेल हेर्दै उनी काठमाडौं आएका थिए। 'नेपालमा युवा प्रतिभाको कमी छैन, तर विश्व वरियताले नेपालको त्यो स्थिति देखाउँदैन। त्यही वरियता सुधार गर्ने नयाँ चुनौती लिएर म यहाँ आएको छु,' दासानायकेले आएकै दिन विमानस्थलमा भनेको यो भनाइलाई धेरै ठूलो गफ माने। दासानायके आउनुअघि नेपाल २८औं स्थानमा थियो। उनले नेपाललाई २१औं स्थानमा ल्याउँदै एकदिवसीय विश्वकपको नजिक पुर्‍याएका छन्।
रोय डायसको कालमा निर्णायक खेलहरूमा चुकेपछि नेपाललाई आधुनिक प्रशिक्षक आवश्यक भइसकेको थियो। दासानायके आएपछि उनले नेपाली क्रिकेटलाई साँच्चिकै आधुनिक बनाइदिए। एक्सपोजर नपाएसम्म नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्ने ठम्याइ उनले काठमाडौं आएको केही समयमै पत्ता लगाए। पारस खड्का, ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मीलाई क्लब क्रिकेट खेल्न क्यानाडा पठाए। दासानायकेले नै शक्ति गौचनलाई राजस्थान रोयल्ससम्मको ट्रायलको बाटो देखाए। अमृत भट्टराई, चन्द्र साउद, सुवास खकुरेल, अनिल मण्डल, प्रदीप ऐरीलाई श्रीलंकाको यु–२३ लिगमा खेल्ने व्यवस्था गरिदिए। नेपाली टोलीले पाएको सफलतामा खेलाडीको यो एक्सपोजर निकै महत्वपूर्ण बन्यो।
पूर्वकप्तान विनोद दासको भनाइ मान्ने हो भन्ने नेपाली क्रिकेटमा दासानायके आउनेबितिकै जादूजस्तै भएको छ। 'दासानायके खेलाडीमाथि पूरा विश्वास गर्छन्। खेलाडीले पनि ऊसँग पूरै विश्वास गरिरहेको छ। खेलाडीलाई उनले खेल्न चाहेअनुसार खेल्न दिन्छन्। त्यसले खेलाडीहरू अहिले खुलेर खेलेका छन्,' विनोदले भने, 'जस्तो ट्वान्टी–२० मा हामी परम्परागत खेल्थ्यौं। तर उनी आएपछि स्कुप, रिभर्स स्विप सिकाएका छन्, त्यसमा अतिरिक्त समय लगाएर सिकाउँछन्। ब्याट्सम्यानलाई त्यसनिम्ति पर्याप्त समय दिन्छन्।'
दासानायकेको प्रशिक्षण शैली जसले नेपाली क्रिकेटको नक्सा परिवर्तन गरिदिएको स्वीकार गर्नेमा विनोद पनि एक हुन्। 'उहाँको प्रशिक्षण मेथोड फरक छ। पहिला हामी दिनमा ३–४ घन्टा प्रशिक्षण गर्थ्यौं, त्यो पर्याप्त पनि हुन्थ्यो होला। अहिले ७ घन्टासम्म प्रशिक्षण गर्छौं। माथिल्लो स्तरमा यो शैलीको प्रशिक्षण आवश्यक भएको मैले पाएँ,' दासानायकेको महत्व दर्शाउँदै विनोद भन्छन्, 'उनले जे गरे सफल भएका छन्। उनले फिजियो र कम्प्युटर एनालिस्टलाई नेपाली टोलीमा अनिवार्य गराएका छन्, जबकि उनी आउनुअघिसम्म नेपाली टोलीमा फिजियो पनि नियमित थिएन। टिमका कोही सदस्यलाई पनि उनी म तिम्रो साथ छु भनेर विश्वास दिलाउँछन्। त्यसले जसको पनि मनोबललाई उच्च बनाउँछ।'
मानसिक रूपमा बलियो राख्नु दासानायके आएपछि खेलाडीमात्र नभएर नेपाली टोलीमा आएको सबैभन्दा ठूलो परिवर्तन हो। शरद भेषावकर नेपालका सबैभन्दा ठूलो प्रतिभा मानिन्छन्। पछिल्लो केही समय उनले सोअनुरुप प्रदर्शन गर्न सकेका थिएनन्। नेपाली टोलीमा उनको छनोटलाई लिएर प्रश्न गर्ने पनि धेरै थिए। मानसिक रूपमा नेपाली खेलाडी कति बलियो भएका छन् भन्ने उदाहरणमा शरदको हालको प्रदर्शनलाई लिइन्छ। नेपाली खेलाडीलाई अन्तिम ओभरमा १५–२० रन बनाउनु अहिले सामान्यजस्तै भइसकेको छ।
२ वर्ष अघिसम्म अमेरिका, युएई र अफगानिस्तानजस्ता टोली नेपाली खेलाडीका लागि पहाड जस्तै हुन्थ्यो। नेपाली खेलाडी अहिले अमेरिका र युएईलाई खासै ठूलो मान्दैनन्। अमेरिकालाई नेपालले डिभिजन ३ मा छाडिसकेको छ। युएईसँग पछिल्लो ४ खेलमा नेपाल हारेको छैन। दासानायकेको कार्यकालमा नेपालले नपाएको सफलता भनेको अफगानिस्तानलाई पराजित गर्न नसक्नु हो। शुक्रबारसम्म पाँचौंपल्ट उनी नेपालको प्रशिक्षक भएर अफगानिस्तानसँग पराजित भएका छन्।
जितेन्द्र मुखिया अर्का खेलाडी हुन् जसलाई दासानायकेले भविष्यको आशामा अगाडि ल्याएका छन्। दुई वर्ष अघिसम्म नेपाली यु–१९ टोलीमै नसमेटिएका जितेन्द्रले आफ्नो 'डेब्यु' प्रतियोगितामै ११ विकेट लिइसकेका छन्।
अहिले पनि दासानायके अगाडि आउँदैनन्। तेन्दुलकरसँगको तस्बिरमा देखिएजस्तै पछाडि बस्नै रमाउँछन्। बर्मुडामा नेपाललाई विश्व क्रिकेट लिग डिभिजन ३ को उपाधि दिलाएपछि दासानायके बर्मुडाबाट परिवार भेट्न सोझै क्यानाडा लागेका थिए। काठमाडौं फर्किंदा नेपाली टोलीको भव्य स्वागत भयो। दासानायके यो भीडमा थिएनन्।
उनको भनाइ नै छ, 'टिमले जित्दा अगाडि आउने भनेकै खेलाडी नै हो।'
नागरिक राष्ट्रिय दैनिकमा मंसिर १५ गते प्रकाशित

No comments:

Post a Comment