लिगको इतिहास पल्टाउँदा नेपाली फुटबललाई मुख्यत दुई भागमा विभाजन गर्ने गरिएको छ। २०४६ सालसम्म पहिलो काल र त्यसयता अर्को। २०४६ पछिको लिग आधुनिक लिगमा परिभाषित हुँदै गएको छ।
नेपाली फुटबलको सुरुआती इतिहास राजपरिवार सदस्य र राणा खानदानको सेरोफेरोमा छ। केही स्थानीय टोलीका युवाहरू हुनेखाने राजपरिवार र राणाहरूसँग रमाइलोका लागि फुटबल खेल्थे। यिनीहरूबीच प्रतिस्पर्धा हुँदा काठमाडौंको टुँडिखेल भरिन्थ्यो। विक्रम सम्वत २००० सालपछि व्यवस्थित फुटबल हुन थाल्यो। खेलाडी र दर्शक बढ्न थाले। यसले नै लिग फुटबलको बाटो देखायो।
नेपाली फुटबलको सुरुआती इतिहास राजपरिवार सदस्य र राणा खानदानको सेरोफेरोमा छ। केही स्थानीय टोलीका युवाहरू हुनेखाने राजपरिवार र राणाहरूसँग रमाइलोका लागि फुटबल खेल्थे। यिनीहरूबीच प्रतिस्पर्धा हुँदा काठमाडौंको टुँडिखेल भरिन्थ्यो। विक्रम सम्वत २००० सालपछि व्यवस्थित फुटबल हुन थाल्यो। खेलाडी र दर्शक बढ्न थाले। यसले नै लिग फुटबलको बाटो देखायो।
तस्विरः विकास कार्की/नागरिक |
रानीपोखरी कर्नर टिम (आरसिटी) ले २०२८, २०२९ र २०३० मा गरी लगातार तीनपटक लिग जितेर फेरि शिल्ड पच गर्यो। २०३० मा अखिल नेपाल फुटबल संघ गठन भएपछि यो प्रतियोगिता नयाँ जोश र स्वरुपसहित अगाडि बढ्यो। तत्कालीन अवस्थामा यसले फुटबलको संरचना संस्थापन गर्न ठूलो मद्दत गर्यो। विकेन्द्रीकरणको सवालमा भने लिग शून्यजस्तै थियो, जुन अहिले पनि त्यस्तै छ। नेपालजस्तो खुला बजार नभएको ठाउँमा ४० वर्षअघि बजार प्रवर्द्धनको कुनै सम्भावना थिएन होला। अहिले पनि व्यावसायिक पाटोको हिसाबमा यसको खासै महŒव दिइएको छैन, जसले नेपाली फुटबललाई प्रत्येक वर्ष पछाडि धकेलिरहेको छ।
प्रत्येक क्लबले आफ्नै मैदानमा र विपक्षीको मैदानमा गएर (होम एन्ड अवेका आधारमा) खेल्नुपर्ने विश्वव्यापी चलन छ। नेपालका खेलहरू दशरथ रंगशालामा केन्द्रित छन्। धैरै खेलहरू पर्दा नक्साल र महाराजगन्जको प्रहरी मैदान, सानो गौचरण र हलचोकमा बेलाबखत खेलाइएको छ। २०६८ मा पहिलोपल्ट पोखरा र बुटवलमा राष्ट्रिय लिगका खेलहरू आयोजना गरेर मोफसल पुर्याइएको थियो।
२०४६ अघिका लिगका तथ्यांकहरू स्पष्ट छैनन्। राष्ट्रिय खेलकुद परिषद्को वार्षिक प्रकाशन 'नेपालमा खेलकुद' २०३९ संस्करणअनुसार सो वर्ष लिग यस प्रकारले भएको थियो– सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन खेलाइँदा त्यसबाट २–२ टोली सुपर लिग पुगेका थिए। जसमा अन्नपूर्ण क्लब ५, जावलाखेल युथ ४ र आरसिटी ३ अंक जोडेर क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका थिए।
महावीर क्लबका पूर्वस्ट्राइकर कोमल पाण्डे पहिले दोहोरो लिग पनि भएको स्मरण गर्छन्, '१० टोली हुन्थ्यो। एकले अर्को टोलीसँग २ खेल गरी १८ खेल खेल्नुपर्थ्यौं। २०२३ सालमा महावीरले लिग जित्दा कुल ४२ गोल गरेको थियो, मैले एक्लै ३०–३१ गोल गरेको थिएँ। त्यतिखेर लिगमा टोल टोलको प्रतिष्ठा गाँसिएकाले झगडा धेरै हुन्थ्यो। त्यही भएर आफ्नो टोलीको खेल हेर्न टोलै उठेर आउँथे। आर्थिक रूपमा क्लबसँग केही हुँदैनथ्यो। तर दर्शक क्लबको पछि लागेको हुन्थे।'
'महावीर र एनआरटीको खेलमा फुटबलमात्र होइन, बक्सिङ, कुस्ती पनि हेर्न पाइन्छ भन्थे दर्शक। यिनीहरूको खेल भनेपछि काठमाडौं दुई चिरा परेजस्तो हुन्थ्यो,' पाण्डे विगत सम्झन्छन्, 'ज्वरो आएका कारण एकपटक खेल्न जान सकिनँ। औषधी लिन बाहिर निस्किएको एउटै पसल खुलेको थिएन। डिल्लीबजार पूरै सुनसान थियो। घर घरमा पारिवारिक झगडा नै हुन्थ्यो, को फुटबल हेर्न जाने भनेर। अहिलेको रंगशाला भए पनि भौतिक पूर्वाधारको हिसाबमा त्यतिखेर केही थिएन। खालि मैदानमात्र। खेलाडी सिधा सम्पर्कमा हुन्थे दर्शक। त्यही भएर पनि हो कि क्या हो, त्यस्ता दर्शक अहिले देखिँदैन।'
२०४३ सालको 'दी राइजिङ नेपाल' मा सुशील शर्माले लेखेका छन्, 'मनाङ मर्स्याङ्दी क्लबले सुपर लिगको अन्तिम खेलमा फ्रेन्ड्स क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गरी लिग उपाधि जितेको छ।' यसले लिग अर्को फरक संरचनामा पनि भएको देखाउँछ। शर्मा पनि प्रजातन्त्रअघि लिगमा दर्शकको चासो र प्रत्येकजसो खेलमा हुने झगडालाई स्मरण गर्छन्। 'त्यतिखेर हामीलाई नेपालको लिगमात्र जानकारी थियो, बढीमा भारतको लिगमा मोहन बगान, इस्ट बंगाल, साल्गावकर कुन स्थानमा छ भन्ने चासो हुन्थ्यो,' शर्माले भन्छन्, 'अहिले स्पेनिस, इपिएलदेखि सबै लिग थाहा पाउनुपरेको छ। तत्कालीन लिगको विशेषता नै दुई टोली र तिनका समर्थकबीच हुने झगडा थियो, रेफ्रीचाहिँ पिट्दैनथे।'
'आधुनिक लिग'
२०४६ सालयता लिग निरन्तर हुन सकेन। प्रजातन्त्रपछिको २४ वर्षमा केवल ११ पटक लिग भए। २०५२ मा आएर पहिलो लिग भयो। त्यसपछि पनि आर्थिक कठिनाइ, सरकारी हस्तक्षेप र फुटबलको आन्तारिक विवादका कारण लिग नियमित हुन सकेन। हुँदा पनि एकरुपको भएन। ११ लिग ७ फरक संरचनामा आयोजना भए।
२०५२ मा सहभागी १२ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइयो। त्यसबाट दुवै समूहबाट शीर्ष दुई मनाङ, एनआरटी, फ्रेन्ड्स र संकटा क्लबले सुपर लिग पुग्दै उपाधिका लागि खेलेका थिए। २०५४ मा सिंगल लिग भयो। मार्बलोरो प्रमुख प्रायोजक भएर आयो, २५ लाखसहित। त्यो नेपाली खेलकुदकै सबैभन्दा ठूलो प्रायोजन थियो। खासै प्रतिफल नपाएपछि मार्बलोरोले दोस्रो वर्ष पाइला चलाएन।
२०५७ र २०६० पनि सिंगल लिगमै भए। प्रजातन्त्रपछि २०५४, २०५७ र २०६० मा गरी सिंगल लिगमा हुनु एकै संरचनामा सबैभन्दा धैरेपटक थियो। नेपाल पुलिस क्लब (तत्कालीन महेन्द्र पुलिस क्लब) २०६० बाट लिगमा पुनः फर्कियो। त्यसको अर्को २ वर्ष क्रमशः विभागीय टोलीत्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब पनि लिगमा आए। २०६१ मा सुपर सिक्स अवधारणामा खेलाइयो। सिंगल लिगपछि शीर्ष ६ टोली सुपर सिक्समा खेल्ने, पहिलो चरणको अंक लिएर। थ्री स्टार क्लब, पुलिस, मनाङ, आर्मी, फ्रेन्ड्स र जावलाखेल शीर्ष ६ स्थानमा रहे।
लिग च्याम्पियन बन्दै थ्री स्टार एएफसी प्रेसिडेट्स कपमा सहभागिता जनायो। एन्फाले एसियाली फुटबल महासंघ (एएफसी) को आदेश भन्दै २०६२ र २०६३ डबल लिग अनिवार्य बनायो। त्यसपछि ४ वर्ष लिग हुन सकेन। खेलकुद परिषदको हस्तक्षेप, केही क्लबको विद्रोह लिग नहुनुको एउटा कारण थियो। डबल लिग धान्न नसकेका कारण क्लब विद्रोहमा लाग्नु अर्को कारण थियो। खेलकुद परिषदले उचालेको नेपाल फुटबल संघ र एन्फा एक भएपछि २०६६–६७ मा लिग फेरी सुरु भयो। संरचना भने डबल लिग नै थियो। समयभावका कारण एनआरटी पहिलो चरणको विजेताका आधारमा एएफसी प्रेसिडेन्ट कपमा छानियो।
नेपाल फुटबल संघ र एन्फाले फरक रुपमा आयोजना गरेको बी डिभिजनमा ४–४ टोली बढुवा भएपछि २०६७ मा १८ टोलीले सहभागिता जनाए। २०६८ मा राष्ट्रिय लिगले केही आशा देखायो। पहिलो चरणका शीर्ष ६ टोली र मोफसलको क्षेत्रीय लिगका विजेता पोखराको संगम फुटबल क्लब र उपविजेता धरानको मित्रमिलन क्लबले सहभागिता जनाए। प्रजातन्त्रपछि नै दुई पटक राष्ट्रिय लिग भएका थिए। २०६८ को राष्ट्रिय लिगले यसअघिका राष्ट्रिय लिग जस्तै निरन्तरता पाउन सकेन्। २०६९ र अहिले जारी लिग फेरी सुपर सिक्स संरचनामा आइपुगेको छ। अर्को पटकको संरचना कस्तो हुने हो निर्क्यौल भएको छैन्।
नागरिक राष्ट्रिय दैनिकमा २०७० फागुन १० गते प्रकाशित
No comments:
Post a Comment