Friday, April 11, 2014

क्रिकेट खेलाडीद्वारा राष्ट्रिय प्रतियोगिता बहिस्कार


'आठ महिनादेखि तलब पाएका छैनौं'
ट्वान्टी–२० विश्वकप खेलेको महिनादिन नबित्दै राष्ट्रिय क्रिकेट खेलाडीहरूले न्यूनतम भत्तादेखि ८ महिनासम्मको तलब नपाएको भन्दै राष्ट्रिय प्रतियोगिता बहिस्कार गरेका छन्। उनीहरूले नेपाल क्रिकेट संघ (क्यान) मा परिवर्तनको मागसमेत राखेका छन्।
राष्ट्रिय प्रतियोगिता बुधबारदेखि राजधानी र पोखरामा सुरु भइसकेको छ। विश्वकप खेलेका सबै राष्ट्रिय खेलाडी विभागीय टोलीहरू नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबमा आबद्ध छन्। कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, सुवास खकुरेल एपिएफमा छन् भने विनोद भण्डारी, सागर पुन, जितेन्द्र मुखिया, सोमपाल कामीसहितका खेलाडी आर्मीमा आबद्ध छन्।


'हामी राष्ट्रिय प्रतियोगिता बहिस्कार गर्छौं,' बिहीबार सबै खेलाडीका साथ आयोजना गरिएको पत्रकार सम्मेलनमा कप्तान पारसले भने। उनले मे १ देखि मलेसियामा हुने एसिसी प्रिमियर लिग पनि नखेल्ने चेतावनी दिए।
राष्ट्रिय खेलाडीहरूले क्यानबाट मासिक १० हजार रुपैयाँ तलब तथा प्रतियोगिता खेल्दा र बन्द प्रशिक्षणका बेला भत्ता पाउने गरेका छन्। नोभेम्बरमा युएई र न्युजिल्यान्डमा खेलेको र क्याम्पको भत्ता तथा ८ महिनादेखि तलब नपाएको उनीहरूले बताए। 'तलब नपाएको कति महिना भयो बिर्सिसक्यौं,' पारसले भने, 'पहिला क्याम्प सकिनेबितिकै भत्ता दिइन्थ्यो, अहिले उनीहरू पैसा छैन भन्न थालेका छन्।'
विश्वकप पुग्यो भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले २ लाख ५० हजार डलर दिन्छ भन्ने सुनिए पनि त्यो रकम आए/नआएको थाहा नभएको उनले बताए। 'विश्वकप पुग्यो भने हाइपफर्मेन्स कमिटीले ५० हजार डलर खेलाडीलाई बोनस दिन्छु भनेर भनेको थियो, त्यसको पनि सुइँको पाइएन,' उनले भने।
त्यस्तै, प्लेयर्स डेभलपमेन्ट फन्डमा आएको ५० हजार डलरको पनि हिसाब नभएको उपकप्तान ज्ञानेन्द्रले आरोप लगाए।
खेलाडीहरूले समयमै जर्सी नपाएकोमा पनि गुनासो गरेका छन्। कप्तान पारसका अनुसार आयरल्यान्डसँगको अभ्यास खेल राति हुँदा दिउँसो मात्र जर्सी आइपुगेको थियो। त्यो पनि खेलाडीको साइजअनुसार थिएन। 'मलाई दिइएको जर्सी घुँडासम्म पुग्थ्यो लामो भएर,' उनले भने, 'काटेर लगाएँ।' बंगलादेशसँग टस गर्न जाने बेला ट्राउजर पिडौलासम्म आइपुगेको उनले खुलाए।
न्युजिल्यान्डमा विश्वकप छनौट खेल्ने क्रममा घाइते पृथु बाँस्कोटालाई क्यानले पाँच लाख रुपैयाँ उपचार खर्च दिने कबुल गरेर पनि जिम्मेवारी नलिएको राष्ट्रिय टोलीले गुनासो गरेको छ।
क्यानको आर्थिक पारदर्शीतामा पनि खेलाडीहरूले प्रश्न उठाएका छन्। विदेशी संस्थाहरूबाट आउने लाखौं रकमको हिसाबकिताब पारदर्शी हुनुपर्ने माग राख्दै उनीहरूले अख्तियारले छानबिन गर्नुपर्ने बताए।
विश्वकप खेल्न जाँदा बिजनेस श्रेणीमा यात्रा गर्नुपर्ने आइसिसीको नियमविपरीत नेपाली टोलीलाई भने इकोनोमी श्रेणीमा उडाइएको उनीहरूले जानकारी दिए। 'हामी दुबईबाट ढाका जाँदा इकोनोमी क्लासमा गएका थियौं, त्यही जहाजमा युएईको टोली बिजनेस क्लासमा बसिरहेको थियो,' पारसले भने, 'यस्ता घटना हरेकचोटि दोहोरिन्छ, कति सहने?'
'हामीले आफ्नो माग राख्दा क्यानका पदाधिकारी पारस राजनीति गर्न खोज्दैछ भनेर अरू खेलाडीलाई फोन गर्छन्, म न कुनै पार्टीको हुँ न कुनै पार्टीको समर्थनमा आएको हुँ,' उनले भने, 'हामीलाई राजनीति गर्नुछैन। तर क्रिकेटको विकास गर्न र राम्रो सिस्टम बसाल्न राजनीति गर्नुपर्छ भने तयार छौं।'
राष्ट्रिय खेलाडीले नखेले पनि एपिएफ र आर्मीले आफूसँग भएका ६–७ जना खेलाडी तथा थप खोजेर राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ। 'राष्ट्रिय प्रतियोगिता नखेलेकोमा विभागले गर्ने जुनसुकै सजाय भोग्न हामी तयार छौं,' उनले भने।
'राष्ट्रिय प्रतियोगिता सकिएपछि एसिसी प्रिमियर लिगका लागि हामीसँग एक हप्तामात्र बाँकी हुन्छ, अनि एक हप्ताको तयारी गरेर कसरी अफगानिस्तान, युएई, हङकङ, ओमान, मलेसियालाई हराउन सक्छौं?' पारसले प्रश्न गरे, 'विश्वकप खेलेर आएको भन्दैमा हुँदैन, हरेक खेल शून्यबाट सुरु गर्नुपर्छ। विश्वकपमा राम्रो खेल्यो भनेर सधैंलाई कहाँ पुग्छ।'
नेपाली खेलकुदकै सबैभन्दा ठूलो उपलब्धी विश्व ट्वान्टी–२० खेलेर राष्ट्रिय क्रिकेट टोली मार्च अन्तिम साता काठमाडौं फर्किएको थियो। आएलगत्तै उनीहरूले क्यानसँग आफ्नो माग राखेका थिए। 'उहाँहरूले ३–४ दिनमै लिखित जवाफ दिन्छु भन्नुभएको थियो, अहिलेसम्म आएन। हामीसँग कुनै विकल्प भएन,' उनले भने। मौखिक प्रतिबद्धता मान्दा तीन–चारचोटि धोका पाइसकेकाले यसपालि कडा कदम चालेको उनले बताए।
चार वर्षअघि पनि पारसकै नेतृत्वमा खेलाडीहरूले राष्ट्रिय प्रतियोगिताको ठिकअगाडि यस्तै पत्रकार सम्मेलन गरेका थिए। त्यतिबेला प्रायोजकहरूको निश्चित प्रतिबद्धताका कारण आफ्नो माग फिर्ता लिएर खेल्न राजी भएको बताउँदै पारसले भने, '१४–१५ वर्ष अघिदेखि खेल्दै आएका खेलाडी छन् हामीसँग, क्रिकेटलाई अगाडि बढाउन नयाँ व्यवस्थापन हाम्रो चासो हो। उहाँहरू भने चुनाव गरेर आएका हौं भन्नुहुन्छ। त्यही भएर जे गरे पनि हुन्छ भन्ने सोच छ। यसपालि पछि हट्दैनौं।'
नागरिक राष्ट्रिय दैनिकमा २०७० चैत २८ गते शुक्रबार प्रकासित

No comments:

Post a Comment