Wednesday, November 19, 2014

नेपाल पहिलो क्रिकेट शृंखलालाई तयार

नेपाली क्रिकेटका लागि श्रीलंका पानि पँधेरो जस्तै हो। अधिकांश मुख्य प्रतियोगिता खेल्नु अगाडी नेपालको तयारी श्रीलंकामै हुन्छ। त्यही श्रीलंकामा नेपालले आफ्नो क्रिकेट इतिहासकै पहिलो शृंखला खेल्दै छ।
श्रीलंका भ्रमणमा त्यहाँको स्थानीय टोलीसँग दुई तीनदिवसीय खेल खेलिसकेको नेपालले अव हङकङसँग बुधबार, बिहीबार र शनिबार गरी तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने छ। त्यसपछि यी दुई टोलीले एक ५० ओभरको खेल खेल्ने छ। 
मंगलबार दिउँसा वर्षाले भिजेको रानगिरी दम्बुला अन्तर्राष्ट्रिय रंगशाला। यही मैदानमा नेपालले हङकङसँग पहिलो दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्दै छ। तस्विर सौजन्यः देवेन्द्र सुवेदी

नेपालले अर्को राष्ट्रसँग पहिलो पटक शृंखला खेल्न लागेको यो अवसर एसियाली क्रिकेट परिषद (एसिसी) ले जुराइ दिएको हो। एसिसीको पूर्ण खर्चमा श्रीलंका क्रिकेटको स्विकृति पछि नेपाल र हङकङले श्रीलंकामा हाइ पर्फोमेन्स भ्रमणमा खेलिरहेको हो। १८ वर्षको अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले यसअघि प्रतियोगिताहरु खेले पनि कुनै अर्को देशसँग आधिकारिक शृंखला खेलेको थिएन्।
मार्चमा बंगलादेशमा भएको विश्व ट्वान्टी–२० मा उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल र हङकङ ट्वान्टी–२० मै पहिलो पटक भिडन लागेका हुन्। विश्वकपमा गरेको प्रदर्शनकै आधारमा अन्तर्राष्ट्रिय क्रिकेट परिषदले जुन २८ मा अक्टोबर १ बाट लागु हुने गरी नेपाललाई ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता दिएको थियो। सोही कारण अहिले नेपाल र हङकङ आमने सामने भएका हुन्।
नेपालले यस वर्ष श्रीलंकामा गएर खेलिरहेको यो चौथो पटक हो। न्युजिल्यान्डमा एकदिवसीय विश्वकप छनोट, मलेसियामा एसिसी प्रिमियर लिग र विश्व क्रिकेट लिग डिभिजन ३ को तयारीका लागि नेपालले तयारी श्रीलंकामा गरेको थियो।
हङकङको कथा पनि उस्तै छ। पछिल्लो पटक हङकङ एसियाली खेलकुदको तयारीका क्रममा श्रीलंका आएको थियो। टोलीले सो क्रममा च्याम्पियन्स लिगको अस्ट्रेलियन टोली हुरिकन होबार्टसँग अभ्यास खेल नै खेलेको थियो। पछिल्लो समय एसोसिएट राष्ट्रको मुख्य प्रतियोगिता अगाडी तयारीका लागि श्रीलंका 'हब' नै जस्तो बनिसकेको छ।
अस्ट्रेलियामा विशेष प्रशिक्षण लिएर हङकङ टोली नेपालसँग खेल्न दम्बुला पुगेको हो। टोलीले अस्ट्रेलिया भ्रमणमा पपुवा न्युगिनीसँग २ एकदिवसीय अन्तर्राष्ट्रिय र १ तीनदिवसीय खेल खेलेको थियो। अस्ट्रेलियाबाट आएको हुनाले हङकङ राम्रो लयमा भएको नेपालका प्रशिक्षक पुबुदु दासानायकेले बताए।
नेपालले यसअघि खेलेका सवै ट्वान्टी–२० अन्तर्राष्ट्रिय बंगलादेश विश्वकपमा थियो, जहाँ नेपालले हङकङलाई ८० रनले र अफगानिस्तानमाथी ९ रनको विजय हात पारेको थियो भने बंगलादेशसँग ८ विकेटले पराजित भएको थियो। अफगानिस्तानलाई विजय दिलाउन प्रमुख भुमिका खेलेका शरद भेषावकर र जितेन्द्र मुखिया अस्वस्थताका कारण श्रीलंका भ्रमणमा छैनन्।
शरदले ३२ बलमा ३७ रन बनाएका थिए भने जितेन्द्रले म्यान अफ द म्याच प्रदर्शन गर्नेक्रममा ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिएका थिए। 'हामीले शरदलाई निश्चय पनि गुमाइरहेका छौं, तर भ्रमणमा नेपाल राम्रो आकारमा आइसकेको छ,' हङकङसँगको खेलमा राम्रो नतिजाको आशा गर्दै दासानायकेले भने।
श्रीलंका भ्रमणमा खेलिएको दुई तीनदिवसीय खेलमा नया खेलाडीहरु राजेश पुलामी र करण घिमिरेले निकै राम्रो गरेका थिए। राजेशले कुरुनेगालाविरुद्ध पहिलो खेलमा ९५ र श्रीलंकाका कम्बाइन ११ सँगको दोस्रो खेलमा अविजित ३६ रन बनाएका थिए। करणले कम्बाइन ११ सँग दोस्रो इनिङ्समा ५ विकेट लिएका थिए। दासानायकेले हङकङसँग करण खेल्ने बारेमा स्पष्ट खुलाएनन। 'करणले राम्रो खेलिरहेका छन, आशा गरौं उनी डिभिजन २ सम्म तयार हुन्छन्।' नेपालले जनवरीमा नामिबियामा गएर डिभिजन २ मा खेल्दै छ।
नेपालले हङकङसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रियलाई आइसिसी वरियतामा ध्यान दिएको दासानायकेले बताए। ८ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेपछि मात्र आइसिसी वरियतामा प्रवेश पाउने प्रावधान छ। 'विश्वकपमा पाएको सफलताले हाम्रो जित प्रतिशत ६६ भन्दा माथि छ, त्यसैले हङकङसँगको शृंखला महत्वपूर्ण छ,' दासानायकेले भने, 'हामी यो विजय प्रतिशतलाई कायम राख्न चाहान्छौं। हङकङपछि क्रिकेट संघले थप यस्तै भ्रमणको आयोजना गरेमा हाम्रो आइसिसी वरियतामा विजय प्रतिशत माथी हुनेछ।'
पहिलो खेल धरापमा
नेपाल र हङकङ बीच दम्बुलामा हुने पहिलो खेल रद्ध हुने स्थितिमा पुगेको छ। लगातार पानि परिरहेकाले खेल नहुने स्थितिमा पुगेको हो। मंगलबार साँझसम्म रानगिरी दम्बुला अन्तर्राष्ट्रिय रंगशाला वर्षाले भिजेको थियो।
पछिल्लो पाँच दिन देखि दम्बुलामा पानि परिरहेको छ। पछिल्लो तीन दिन यो वर्षा निरन्तर जस्तो रहेको नेपाली टोलीले जनाएको छ। नेपाल आइतबार श्रीलंका कम्बाइन ११ सँगको खेलमा ६५ रनको विजय लक्ष्य पाउँदा भोजनपछि वर्षाले खेल हुन दिएको थिएन्। त्यसयता वर्षा जारी छ।
नेपाल र हङकङले पछिल्लो दुई दिनमै अभ्यास गर्न पाएको छैन्। दासानायकेले मंगलबार पनि वर्षाका कारण प्रशिक्षण गर्न नपाएको जनाए। हङकङ आइतबार श्रीलंका पुगेको थियो। खेल श्रीलंकाली समय अनुसार बुधबार बिहान १० बजे (नेपाली १०.१५) बजे सुरु हुने कार्यक्रम छ। तर मंगलबारको पछिल्लो स्थितिमा खेल भइहालेमा पनि ओभर छोटयाएर मात्र हुन सक्ने जनाइएको छ।
नागरिक राष्ट्रिय दैनिकमा २०७१ मंसिर ३ गते प्रकासित


No comments:

Post a Comment