'अलि अलि देख्न पाए हुन्थ्यो जस्तो लाग्छ, तर दृष्टिविहीन भएरै म आज यहाँ आइपुगेको हुँ। रंगिन दुनियाँ देखिसकेकाले अन्धकारमा बाँच्नुपर्दा गाह्रो त हुन्छ नै।' फरक ढंगमा सक्षम खेलाडी (पारा एथलिट) विक्रमबहादुर राणा दृष्टिविहीन भएकै कारण अहिले खेलकुदमा स्थापित छन्।
सेनामा जागिर खाँदा सिकेको तेक्वान्दो, बक्सिङ र जुडोले उनको ज्यान त जोगायो, आँखा भने जोगाउन सकेनन्। बैतडी रुद्रेश्वर–२, सिमारका विक्रम २०५६ साल कात्तिकमा सेनामा भर्ना भए। जागिरमा प्रवेश गरेसँगै विक्रमको घरमा नयाँ उमंग आयो। अर्को वर्ष विवाह नै भयो। अहिले ७ र डेढ वर्षका दुई छोरा छन्।
सेनामा जागिर खाँदा सिकेको तेक्वान्दो, बक्सिङ र जुडोले उनको ज्यान त जोगायो, आँखा भने जोगाउन सकेनन्। बैतडी रुद्रेश्वर–२, सिमारका विक्रम २०५६ साल कात्तिकमा सेनामा भर्ना भए। जागिरमा प्रवेश गरेसँगै विक्रमको घरमा नयाँ उमंग आयो। अर्को वर्ष विवाह नै भयो। अहिले ७ र डेढ वर्षका दुई छोरा छन्।
तस्विरः विकास कार्की |
जागिरका क्रममा सल्यान, कास्की, विजयपुर र गोर्खा हुँदै काठमाडौं आइपुगे। २०६० साल साउन १ मा हबल्दारमा बढुवा भए। त्यसपछि शिवपुरी पुगे। माओवादी द्वन्द्वकालमा नुवाकोटसँग सिमाना पर्ने गुर्जे भञ्ज्याङमा सेनाको गस्ती दैनिक जान्थ्यो। १५ जनाको गस्तीमा विक्रम पनि नियमित हुन्थे। २०६० भदौ २६ मा विक्रमको टोली माओवादीको एम्बुसमा पर्यो। जंगलबीचको त्यो गाँउमा दुई सेना ठहरै भए, अन्य घाइते। सेनामा भर्ना भएसँगै विक्रमले तेक्वान्दो, बक्सिङ र जुडो सिकेका थिए। एम्बुस पड्कनेबित्तिकै त्यही जुडोको कलाअनुसार उफ्रिएर अर्को ठाउँमा लडेर ज्यान जोगाए।
चोट भने उनले ठूलै सहनुपर्यो। एम्बुस पड्कँदाको छर्रा जीउभरि लाग्यो। दाहिने आँखा त्यही गुम्यो। देब्रे पनि उपचारका क्रममा एक हप्तापछि काम नलाग्ने हुँदा विक्रम दृष्टिविहीन हुनपुगे। एम्बुसले दाहिने चिउँडोमा फलाम, माथिल्लो ओठमा ढुंगा, दायाँ आँखामा रबर गाडियो। 'जीउभरि ढुंगा, फलाम र बालुवा भरिएको छ, आधा पाउजति छ होला,' विक्रम भन्छन्, 'कहिलेकाँही गाला सुम्सुम्याउँदा बालुवा, ढुंगा नै निस्किन्छ।'
२ वर्षजति विक्रमले उपचारमै बिताए। २०६३ सालदेखि विक्रमले क्रिकेट खेल्न थाले। त्यसको दुई वर्षपछि उनको पाइला एथलेटिक्सको ट्रयाकमा पर्यो। दृष्टिविहीन हुनुअघि उनलाई क्रिकेटबारे केही थाहा थिएन। 'अरुले खेलेको देख्दा टाढाबाटै हेरेर के गरेका होलान् जस्तो लाग्थ्यो,' उनी अनभिज्ञता लुकाउन खोज्दैनन्। नेत्रहीन संघमा ब्रेल लिपी, कम्प्युटर ट्रेनिङ र मोबिलिटी ट्रेनिङ लिँदै गरेका विक्रम त्यहीमार्फत नेत्रहीन क्रिकेट संघमा लागे। नेत्रहीन संघका अध्यक्ष नरबहादुर लिम्बु त्यतिखेर पाकिस्तानबाट भर्खर फर्केका थिए। पाकिस्तानले नेपालमा नेत्रहीन क्रिकेटबारे चासो राखेछ। पाकिस्तानीहरू नेपाल आएर सिकाउन इच्छुक रहेछन्।
त्योसँगै विक्रमको जीवन क्रिकेटमा होमियो। उनले त्यसपछि क्रिकेटबाहेक सोच्न पनि सकेनन्। दुई हप्तापछि नै पाकिस्तानी टोली आइपुग्यो। पूरै आँखा नदेख्नेले मात्र खेल्ने कि अलि अलि देख्नेले खेल्ने बारे विक्रमले बुझेका थिएनन्। विक्रम 'बी वान' मा परे। पूरै आँखा नदेख्ने भएकाले हातमा सेतोपट्टि लगाएर खेल्नुपर्ने। ब्याट भुँइमा अडाउने अनि बलरले विकेटकिपर र ब्याट्सम्यानलाई सोधेर रिङ बल फ्याँकेपछि ब्याट्सम्यानले मच्चाएर हान्ने। बी वान, बी टु, बी थ्री मा विक्रम तीब्र बलर र ओपनिङ ब्याट्सम्यान थिए। नेत्रहीन क्रिकेटको पहिलो राष्ट्रिय प्रतियोगितामा विक्रम पहिलो चौका हान्ने खेलाडी बने। त्यही वर्ष उनी वर्षको उत्कृष्ट खेलाडी बने। त्यसको दुई वर्षसम्म उनलाई वर्षको उत्कृष्ट खेलाडीमा कसैले चुनौती दिन सकेनन्।
२०६४ मा उनी क्रिकेट खेल्न पाकिस्तान गए। ४० ओभरको एक खेलमा उनले पाकिस्तानविरुद्व १ सय २६ रन बनाए। पाकिस्तान भ्रमणमा २ सय ७० रन बनाउनुका साथै ७ विकेट लिएपछि उनी म्यान अफ द सिरिजमा चुनिए। लाहोरमा पाकिस्तानसँगै खेल्न सुरु गरेको नेपालले ९ मध्ये ३ खेल जित्यो। प्रायः खेलमा म्यान अफ द म्याच र म्यान अफ द सिरिजको उपाधि विक्रमका लागि मात्र जस्तै भयो। युद्धभैरव गणले उनको उत्कृष्टताका लागि पुरस्कृत पनि गर्यो।
पाकिस्तानबाट फर्किएपछि पारा ओलम्पिकलाई छनोट हुन लागेको भन्ने खबरले विक्रमलाई एथलेटिक्समा डोर्यायो। दृष्टिविहीन एथलेटिक्सबारेमा उनले केही बुझेका थिएनन्। एकैपटक छनोट प्रतियोगिता खेल्न गए। 'गाँठावाला डोरी छाम्दै दौडिएको त डोरी नै टुटेछ, बीचमा मान्छेसँग ठोक्किए पनि साढे १६ सेकेन्डमा १ सय मिटर दूरी पूरा गरी बेइजिङ पारा ओलम्पिकलाई छानिए,' निकै रोमाञ्चित हुँदै विक्रम छनोटको स्मरण गर्छन्। दैनिक ६०–७० रुपैयाँ खर्च गरेर आफ्नै खर्चमा विक्रमले तीन महिना अभ्यास गरे, तर नेपाल पारा ओलम्पिक कमिटी र राष्ट्रिय पारा ओलम्पिक कमिटीबीचको विवादले विक्रम चीन जान पाएनन्। अर्कै खेलाडी नेपालको प्रतिनिधित्व गर्दै ओलम्पिक पुगे। विक्रमलाई यसको चोट गुर्जे भञ्ज्याङको एम्बुसजस्तै पर्यो। यसलाई उनले मनमै राखे।
त्यसपछि २०६४–६५ मा राष्ट्रिय खेलकुदको क्षेत्रीय छनोट खेल्न हेटौंडा गए। काठमाडौंमा भएको २ सय मिटर दौड २७.०१ सेकेन्डमा पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाउँदै उनी ग्वाङ्झाउ एसियाडमा छनोट भए। आधा खर्च आफै बेहोर्दै उनी एसियाड खेल्न चीन लागे। उनी १ सय मिटर १२.८५ सेकेन्डमा पूरा गरी ४५ मध्येमा नवौं स्थानमा आए। दक्षिण एसियाली खेलाडीमा उनी शीर्ष स्थानमा रहे। २७.३१ सेकेन्डबाट २ सय मिटरमा पनि उनी नवौं भए। यही प्रदर्शनबाट विक्रम पल्सर स्पोर्टस अवार्डअन्तर्गत वर्षको पारा एथलिट विधामा भदौमा पुरस्कृत भए। गुर्जे भञ्ज्याङ घटनापछि पहिलोपटक उनकी आमा मुस्कुराइन्, विक्रमको हातमा वर्षको उत्कृष्ट खेलाडीको ट्रफी देखेर। एथलेटिक्स र क्रिकेटमध्ये कुन खेल प्राथमिकतामा राख्ने विक्रमले निर्णय गर्न सकेका छैनन्। 'दुवै खेल एकैपटक पर्यो भने एथलेटिक्स खेल्ने, नत्र भने दुवै खेल सँगै खेल्ने,' उनमा खेलप्रतिको मोह यथावत् छ।
गुर्जे भञ्ज्याङ घटनापछि विक्रम दुई तह बढुवा हुँदै सुबेदार भएका छन्। दृष्टिविहीन भएपछि जन्मिएको दुबै छोराको हुलियामात्र उनले कल्पना गरेका छन्। 'कसैले तिम्रैजस्तै अनुहार छ भन्यो भने मेरो आँसु त्यसै बग्छ,' सम्हालिने उनको प्रयास खेर जान्छ।
नागरिक राष्ट्रिय दैनिकामा २०६८ कार्तिक २८ गते प्रकासित
No comments:
Post a Comment