नेपाली खेलकुदको सबैभन्दा ठूलो कमजोरीमध्येमा इतिहास नहुनुलाई पनि म मान्छु। त्यसैले भेट्रान खेलकर्मीसँग भेट्दा म इतिहासका केही तथ्य भेटिन्छ भन्नेमै केन्द्रित हुन्थें। भूपेन्द्र सिलवालको अतीत सुन्दा उनी मलाई नेपाली खेलकुदको इतिहासभन्दा माथि लाग्यो। उनले जे जति कथा सुनाए त्यो सुन्दा जीउ पूरै सिरिङ सिरिङ हुन्थ्यो।
असारमा सम्पन्न पल्सर स्पोर्टस अवार्डका क्रममा उनीसँग नजिक हुने अवसर पाएँ। नेपाल खेलकुद पत्रकार मञ्चले उनलाई लाइफटाइम एचिभमेन्ट अवार्ड दिने निर्णय गरिसकेको थियो। मञ्चको कार्यसमितिमा भएकाले केही समयअगाडि नै मलाई त्यो निर्णय थाहा थियो। सोहीक्रममा सिलवालसँग नजिक भएको हुँ। अन्य धेरै खेलकुद पत्रकारजस्तै मैले पनि उनलाई 'बा' भनेर बोलाउँथे।
असारमा सम्पन्न पल्सर स्पोर्टस अवार्डका क्रममा उनीसँग नजिक हुने अवसर पाएँ। नेपाल खेलकुद पत्रकार मञ्चले उनलाई लाइफटाइम एचिभमेन्ट अवार्ड दिने निर्णय गरिसकेको थियो। मञ्चको कार्यसमितिमा भएकाले केही समयअगाडि नै मलाई त्यो निर्णय थाहा थियो। सोहीक्रममा सिलवालसँग नजिक भएको हुँ। अन्य धेरै खेलकुद पत्रकारजस्तै मैले पनि उनलाई 'बा' भनेर बोलाउँथे।
फाइल तस्बिरः ओलम्पिक संग्रहालय |
सिलवालसँगको भेट सँधैं मलाई रमाइलो लाग्थ्यो। उनी 'फ्ल्यास ब्याक' मा कहानी रमाइलो मानी सुनाउँथे। म निकै उत्सुक भएर सुन्थे। सन् १९५८ को टोकियो एसियाड, १९६४ को टोकियो ओलम्पिक र त्यहाँ उनले इथोपियाली धावक अबेबे विकिलासँग गरेको प्रतिस्पर्धा निकै रोचक थिए। १९५८ को एसियाडमा उनी खालि खुट्टा दौडिएका थिए। त्यहाँ उनले एउटा यस्तो क्षणको सम्झना गरे, जुन नेपाली खेलकुदको इतिहास बन्यो। खालि खुट्टाले दौड्दा रापले पोलिएको सिलवालको पैतालामा एक जापानी महिलाले पानि खन्याइदिएर मलम लगाइदिइन्। त्यही तस्बिर नेपाली खेलकुदकै चर्चित तस्बिर बन्यो।
सिलवाल नांगो खुट्टा दौडिएर सातौं भए। उनले त्यतिखेरको स्मरण गर्दै भनेका थिए, 'म्याराथनमा सहभागी झन्डै ६० जना जतिमा म र नरबहादुर गुरुङ मात्र खालि खुट्टा दौडिएका थियौं। तातो घामको रापले खुट्टामा पूरै अलकत्रा टाँसिए पनि सातौं भएँ। डाक्टरलाई मेरो खुट्टाको अलकत्रा निकाल्न कति गाह्रो परेको थियो। उनीहरूले सुइराले घोपेर मेरो खुट्टाको अलकत्रा निकालिदिए। जुत्ता भएको भए स्वर्ण पदक नै जित्ने थिएँ। मेरो भाग्य नै अहिले अर्कै हुन्थ्यो। खालि खुट्टा दौडिएपछि जुत्ता किनिदेलान् भनेको त झन सेनाको मान्छे खालि खुट्टा दौडिन पर्छ भनेर पो भन्छन्।'
सन् १९६४ को ओलम्पिक खेल्न उनी फेरि टोकियो गए। गोदावरी महादेवडाँडा–८ का ७८ वर्षे सिलवाललाई ओलम्पिक खेल्न जानु अगाडि प्रशिक्षणमै जुत्ता दिइएको थियो। यसै वर्ष लन्डन ओलम्पिक हेर्ने अवसर पाएपछि लन्डन जानुअघि उनले भनेका थिए, 'एसियाली खेलकुदमा नांगो खुट्टा दौडेर सातौं भएकाले मलाई ओलम्पिक पठाउने तयारी गरिएको रहेछ। एसियाली खेलकुद खेल्न जाँदा मेरो सेनामा जागिर थियो। गोरखबहादुर गणमा कार्यरत थिएँ। एसियाली खेलकुदमा सहभागिता जनाएर आएपछि ७५ दिन घर विदा बसँ। त्यसको एक वर्ष जति पछि मलाई नर शम्शेर राणाले सेनाको जागिर छाडि दे, खेलकुदमा आउनू र आफू पनि खेल्नू, अरुलाई पनि खेलाउनू भन्नुभयो। आर्मीको जागिर छाडेर त आएँ, तर सदस्यसचिव कुमार खड्गविक्रम शाहले मलाई वास्तै गरेनन्। नर शम्शेरको कुरा पनि उनले सुनेनन्। मेरो हुँदाखाँदाको जागिर पनि गयो। केही समय घरतिरै बसँ। ढुंगारोडाको काम गरिरहेको थिएँ। खड्गविक्रमको स्थानमा आएका सदस्यसचिव सुशील शम्शेर राणाले घरमा चिठी पठाउनुभयो र त्यसमा लेखिएको थियो, 'भोलि दौडिने गरी खेलकुद परिषद्मा आउनू।'
उनले अगाडि भने, 'भोलिपल्ट गएर सुशील शम्शेरलाई भेटे। उहाँले रंगशाला, त्रिपुरेश्वर, थापाथली, सिंहदरबार, बिजुली अफिस, भोटाहिटी, त्रिपुरेश्वर हुँदै नागढुंगा पुगेर फेरि त्रिपुरेश्वर फर्किनुपर्ने दौडको रुट बताउनुभयो। पहिलो भए भने ओलम्पिक लैजान्छु भन्नुभयो। २४–२५ वर्षको थिएँ, जोशको कुनै कमी थिएन। २ घन्टा २१ मिनेट जतिमा दौड पूरा गरी पहिलो भएँ र ओलम्पिकमा छानिएँ।'
गंगाबहादुर थापा र सिलवाल सँगै दौडिनेवाला थिए। प्रशिक्षक कोही थिएनन्। 'मेरो मनमा अरु कुरा खासै खेल्दैनथ्यो, अरु सबैलाई जित्न पाए पुग्थ्यो भनेर सोचिरहन्थें। तर बजियाहरू असाध्यै तगडा। यसो पछाडि फर्केर हेर्यो भने आफूलाई छाडेर दुई हातअगाडि पुगिसकेका हुन्थे,' सिलवाले भनेका थिए, 'बिहान म्याराथ सुरु भयो। सबै बिस्तारै दौडे। म आफ्नै हिसाबले दौडें। जित्छु नै भन्ने थियो। बल, तागत सबै थियो। प्रशिक्षण पनि राम्रो थियो। बिकिलासहित सबैलाई मैले १३–१४ किलोमिटर पुग्दा उछिनिसकेको थिएँ। ७ किलोमिटर जति बाँकी हुँदा मेरो पिडौंला फर्कियो। त्यही बिकिलाले मलाई पनि उछिने। हब्सी अनि अग्ला भएकाले उनको स्पिड निकै राम्रो थियो। मलाई उछिनेपछि उनको रफ्तार देखेर म छक्क परेँ। मलाई उछिन्ने बेलामा खिस्स सेतो दाँत देखाएको एकैछिनमा त कहाँ पुगिसकेको रहेछ। पिडौंला फर्किएर म उभिन्न नसक्ने भइसकेको थिएँ। २ किलोमिटर बाँकी छँदा मैले दौड त्यागेँ। २ घन्टा ३४ मिनेट जस्तो लागेको थियो। गंगाले पनि दौड पूरा गर्न सकेनन्। उनले पनि २ किलोमिटर बाँकी छँदा दौड छाडेछन्। तर म दौडिँदासम्म त कोही मेरो अघि–पछि थिएनन्। हब्सी (बिकिला) ले कुन मौका हेरिरहेको थियो, त्यो मलाई थाहा भएन। उनको रफ्तार कायम थियो। मेरो खुट्टा नबाउँडिएको भए, मैले पनि पदक जित्थें। बिकिला र म को अघि–पछि भन्ने कुरामात्र बाँकी रहन्थ्यो। २ घन्टा १२ मिनेट जस्तोमा दौड पूरा गरेर उनी पहिलो भए। खेल सकेपछि पनि बिकिलाले मलाई अरुको हैन, नेपालको डर लागेको थियो भनेर भने। मेरा लागि टोकियो ओलम्पिकको सफलता त्यही नै थियो।'
बिकिला र सिलवालमा केही समानता थियो। एक खेलाडी घाइते भएको समयमा अन्तिम समयमा बिकिला सन् १९६० रोम ओलम्पिकका लागि इथोपियन टोलीमा छानिएका थिए। बिकिलाले जुत्ता लिन पुग्दा रोम ओलम्पिकको मुख्य प्रायोजक एडिडाससँग थोरैमात्र विकल्प बाँकी थियो। जति जुत्ता बाँकी थिए, त्यसमा बिकिलाले आराम महसुस गरेनन्। त्यसपछि उनले खालि खुट्टामै दौडने निर्णय गरे।
१९६४ मा उनले इटालीकै रणनीति प्रयोग गरे। २० किलोमिटरसम्म अरुलाई नै अगाडि जान दिने। त्यसपछि विपक्षीलाई उछिन्ने। सिलवाललाई १३–१४ किलोमिटरसम्म अगाडि छाड्नु बिकिलाको त्यही रणनीतिमा थियो, सायद। जसले उनलाई विजेता बनाएको थियो। बिकिलाले निकालेको २ घन्टा ११.२ मिनेटको समय विश्व कीर्तिमान थियो, त्यो समयमा। मस्तिष्क घातका कारण १९७३ मा बिकिलाको निधन भयो। मृत्युको चार वर्षअघि उनले सडक दुर्घटनामा चोट बोकेका थिए।
बिकिलाले जिन्दगीको म्याराथन दौड (४२.१९५ किलोमिटर) पूरा गर्न सकेनन्। उनको ज्यान ४१ वर्ष २ महिनामै गएको थियो। सिलवालले ७८ वर्षसम्म जिन्दगीको दौड दौडे। टोकियो ओलम्पिकको पहिलो १३–१४ किलोमिटरपछि जिन्दगीको म्याराथनमा सिलवालले बिकिलालाई पछाडि पारे।
लन्डन जानु अघिल्लो दिन मैले उनीसँग १९५८ को एसियाड र १९६४ को ओलम्पिक सहभागिताको यो सबै कुरा गरेको थिएँ। नागरिक राष्ट्रिय दैनिकको सहप्रकाशन शुक्रबार साप्ताहिकका लागि मैले उनीसँग त्यो कुराकानी गरेको थिएँ। यो कुराकानी मैले आफ्नो ब्लगमा पनि प्रकाशित गरेको थिएँ। यसपटकका धेरै हिस्सा सोही कुराकानी र ब्लगबाट लिएको हुँ।
लन्डनबाट आएपछि 'बा' सँग भेट नै हुन पाएन। लन्डन ओलम्पिकबाट फर्किदा 'बा' लाई जन्डिस भएको रहेछ। त्यसमा ट्युमरको पनि शल्यक्रिया गर्नुपर्ने। ५ दिनअघि छाउनी अस्पतालमा 'बा' को शल्यक्रिया भएको थियो। त्यसमा म खासै अपडेट भएको थिइनँ। शुक्रबार बिहान एक्कासि नेपालका प्रथम ओलम्पियन भूपेन्द्र सिलवालको निधन भयो भन्ने खबरले म झसङ्ग भएँ। 'बा' सँग भएको कुराकानीमा उनले 'म लन्डन गइहाल्छु बाबुले लेखेको पत्रिका मैले पढ्न नपाउने भएँ, राखिदिनू है म आएर हेर्छु भनेका थिए। मैले 'बा' कै लागि भनेर शुक्रबारको एक प्रति राखिदिएको पनि थिएँ। तर 'बा' त्यो दिन आउनुभन्दा अघि नै महाप्रस्थानमा निस्कनुभयो। मसँग चाहिँ शुक्रबारको त्यो प्रति अझै सुरक्षित रहिरहने छ।
No comments:
Post a Comment