Saturday, September 8, 2012

सुवासको सतकीय शान


विकेटकिपर–ब्याट्सम्यान सुवास खकुरेल नेपाली राष्ट्रिय टोलीबाट पहिलोपटक एकदिवसीयमा खेलिरहेका छन्। मलेसियामा जारी विश्व क्रिकेट लिग डिभिजन ४ मा शुक्रबार उनका लागि अमेरिका कुनै नौलो प्रतिद्वन्द्वी थिएन। 
सन् २०१० को बंगलादेश सागमा प्रभावशाली प्रदर्शनपछि सुवासलगत्तै काठमाडौंमा भएको डिभिजन–५ को प्रारम्भिक टोलीमा परेका थिए। अन्तिम टोलीमा भने स्थान बनाउन सकेनन्। प्रतियोगितामा सहभागी हुन आएको अमेरिकी तीब्र बलरसँग नेपाली खेलाडीले रन बनाउन निकै संघर्ष गर्नुपर्‍यो। प्रतियोगिताअघि अमेरिकासँग खेलिएको अभ्यासमा सुवासले ३४ बलमै ५३ रन बनाए।
तस्विर :  आइसिसी

अमेरिकी प्रशिक्षक क्लेयटन लामबार्ट र उनका सहायक दीपक पटेलले सुवास टोलीमा नपर्दा आश्चर्य व्यक्त गर्दै नेपाली टोली कतिको बलियो होला भनेर कल्पना गर्न थाले। उनीहरूले …राष्ट्रिय टोलीमा पर्न तिमीले धेरै समय कुर्नु नपर्ने' भनेको शब्दले सुवासलाई मैदानभित्र प्रवेश गर्दा सधैं ताजगी प्रदान गर्ने गर्दछ।
सुवासले अमेरिकासँग बनाएको १ सय १५ रन त्यही सेरोफेरोमा पर्न सक्छ, जसले उनलाई राष्ट्रिय टोलीबाट एकदिवसीयमा उच्च स्कोर बनाउने खेलाडी बनायो। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय खेलाडीको यो चौथो सतक हो। सन् २००३ मा राजु खड्काले भुटानविरुद्ध इमर्जिङ नेसन्स कपमा अविजित १०३, शक्ति गौचनले २००५ मा मलेसियामै विश्व क्रिकेट लिग डिभिजन २ छनोट चरणमा इटालीविरुद्ध अविजित १ सय ६ र शरद भेषावकरले दुई वर्षअघि काठमाडौंमा डिभिजन ५ फिजीविरुद्ध अविजित १ सय ५ रन बनाएका थिए।
नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको ९ अन्तर्राष्ट्रिय सतकमा सुवासको इनिङ दोस्रो उच्च स्कोर हो। कनिष्क चौगाईंले २००३ मा पाकिस्तानको कराँचीमा माल्दिभ्सविरुद्ध एसिसी यु–१९ कपमा बनाएको १ सय २५ रन नेपाली खेलाडीको अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च स्कोर हो। मलेसियामा म्यान अफ द म्याच इनिङपछि सुवासले आइसिसीसँग भने, …मेरो इनिङले अमेरिकाले पराजित गर्न मद्धत गरेकोमा म खुसी छु। सुरुआतमा तीब्र बलरहरूले बल स्विङ गर्दा मलाई चिन्ता लागेको थियो, त्यसैले सतक बनाउन सक्दा खुसी छु। तर धेरै एक रनहरू लिएपछि मेरो आत्मविश्वास बढेर आयो।'
सुवास अहिले सबैभन्दा बढी रन बनाउने खेलाडीमा अगाडि छन्। उनले ४ खेलमा १ सय ६८ रन बनाइसकेका छन्। अस्ट्रेलियामा सम्पन्न आइसिसी यु–१९ विश्वकपमा एक महिनाभन्दा लामो बसाइपछि काठमाडौं फर्किएको दिन नै उनी डिभिजन ४ को तयारीलाई श्रीलंका लागेका थिए। यु–१९ विश्वकपमा पनि उनले नेपालबाट सबैभन्दा बढी १ सय ५५ रन बनाए। नेपालको निराशाजनक यात्रामा उनले इङ्ल्यान्डविरुद्ध बनाएको ५५ रन सानो सान्त्वना थियो।
सुवास तीब्र बलिङ खेल्न सक्ने नेपालका सबैभन्दा राम्रा ब्याट्सम्यान मानिन्छन्। सर्ट पिचको वर्षा गएर नेपाललाई तर्साउने अमेरिकी रणनीतिलाई सुवासले सतकबाट जवाफ दिए। ८५ बलमा अर्द्धसतक पूरा गरेका सुवासले १ सय ३५ बलमै सतक पूरा गरे।
गत वर्ष काठमाडौंमा भएको एसिसी ट्वान्टी–२० मा सुवास पहिलोपटक नेपाली राष्ट्रिय टोलीमा परेका थिए। भाग्यको साथले उनलाई राष्ट्रिय टोलीको जर्सी दिलाएको थियो। १८ सदस्यीय टोलीमै नपरेका उनी सोझै नेपाली टोलीमा छानिएका थिए। मलेसियामा शुक्रबार बनाएको सतक भाग्यभन्दा अमेरिकी टोलीले नै दुई वर्षअघि दिएको शिक्षाको एक हिस्सा हुनसक्छ।
नागरिक राष्ट्रिय दैनिकमा भदौ २३ गते प्रकासित

No comments:

Post a Comment