Saturday, November 3, 2012

तीब्र बलरको खोजी



विनोद दास र अमृत भट्टराई चोटले पिरोलिएका थिए। उनीहरूको अनुपस्थितिमा युएईसँग गत महिना एसिसी ट्रफी इलिटको फाइनल खेल्नुअघि नेपालसँग तीब्र बलरको विकल्पमा कप्तान पारस खड्कामात्र थिए। देब्रेहाते स्पिनर शक्ति गौचनले नेपाली बलिङ प्रारम्भ गरे। 
१६ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा नेपालले पहिलो पटक स्पिनरबाट बलिङ प्रारम्भ गरेको थियो। रणनीतिक हिसाबमा भए अर्को पक्ष हुनसक्छ, पहिलो बलबाट स्पिनर लगाउने मुख्य कारणचाहिँ तीब्र बलरको अभाव नै प्रमुख थियो। चन्द्र साउद पनि चोटका कारण खेल्न नसक्ने भएपछि युएई जानुअघि नै टोलीमा तीब्र बलरको अभाव भइसकेको थियो। चन्द्र नेपालका सबैभन्दा तीब्र बलर मानिन्छन्। उनको गति १ सय ३० किलोमिटर छ। 
श्रीलंकाका पूर्व तीब्र बलर रुमेश रत्नायके नेपाली तीब्र बलरलाई सिकाउदै ।तस्विरः विकास कार्की


अहिले भएका २०–२५ जना बाहेक अरु स्तरीय खेलाडी नेपालसँग तत्काललाई छैन, कप्तान पारस र प्रशिक्षक पुबुदु दासानायके बारम्बार यही भनाइ दोहोर्‍याउँछन्। त्यसमा पनि तीब्र बलर नभेटाउनु नेपालको झन ठूलो समस्या हो। शुक्रबार सुरु भएको 'फास्ट बलिङ क्याम्प' ले भविष्यमा नेपालको तीब्र बलिङ समस्या हटाउन सक्छ। 
एसिसी ट्रफीमा देखिएको अभावपछि नेपालले फास्ट बलिङ क्याम्प गर्न लागेको होइन। गत वर्ष नेपालमै सम्पन्न एसिसी ट्वान्टी–२० कपमा तीब्र बलरको समस्या देखेपछि प्रशिक्षक दासानायकेले फास्ट बलिङ क्याम्पको तत्काल आवश्यकता महसुस गरेका थिए। उनले त्यतिखेर भनेका थिए, 'एउटा एकदमै द्रुत गतिको बलर हुने हो भने धेरै फरक पर्छ, अझ ट्वान्टी–२० मा तीब्र बलरलाई खासै अनुभव चाहिँदैन, किनभने ४ ओभर बलिङ गर्ने हो। उसको गतिले नै ब्याट्सम्यानलाई अधिनमा राख्न सक्छ।' छैटौं राष्ट्रिय खेलकुद सँगै व्यस्त अन्तर्राष्ट्रिय क्यालेन्डरले गर्दा नेपाल क्रिकेट संघ (क्यान) ले अहिले आएर तीब्र बलरको खोजीमा अभियान चलाएको हो। 
१७ तीब्र बलर सहभागी क्याम्पमा चन्द्र साउद, कृष्ण कार्की, अविनाश कर्ण, सौरभ खनाल, रामनरेश गिरी, गोपाल सिंह, प्रजेशबहादुर सिंह, जितेन्द्र मुखिया, कालिचरण यादव, संजोग कर्ण, जट्टाशंकर सरार्फ, अमर सिंह रोउटेला, अजय शाहनी, जगदीश चन्द, अर्जुन चापागाईं, यज्ञमान कुमाल तथा महिला राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री छन्। नेपाली यु–१६ बाट खेलिसकेका जगदीश र कालिचरणदेखि राष्ट्रिय टोलीका चन्द्र र कृष्ण चारदिने क्याम्पमा सहभागी छन्। श्रीलंका पूर्वतीब्र बलर एवम् एसियाली क्रिकेट परिषद् (एसिसी) का डेभलपमेन्ट अफिसर रुमेश रत्नायकेले क्याम्प हेरेका छन्। उनीसँग प्रशिक्षकहरू श्यामसनजंग थापा र मन्जुर आलम खान तथा विनोद र पारस सहयोगी भूमिकामा हुने छन्।
'हामी पहिलोपटक फास्ट बलिङ क्याम्प गर्न गइरहेका छौं, त्यसमा गर्व पनि गर्छौं। क्यानले यसलाई भविष्यको तीब्र बलर भनेर हेरेको छ, त्यसै कारणले हामीले धेरै मात्रामा यु–१६ र १९ का खेलाडी समेटेका छौं,' क्यानका महासचिव अशोकनाथ प्याकुर्‍यालले भने, 'हामी भविष्यमा ब्याटिङ, फिल्डिङ र स्पिन क्याम्प पनि आयोजना गर्ने सोचमा छौं।'
रत्नायकेले एसिसीको एसोसिएट क्षेत्रकै यो पहिलो फास्ट बलिङ क्याम्प भएको बताए। उनले आफ्नो अनुभव यसरी सुनाए, '१४–१५ वर्षअघि श्रीलंकन क्रिकेट बोर्डले मलाई तीब्र बलिङ प्रशिक्षक बनाएको थियो। मैले लेभल–२ प्रशिक्षक कोर्समात्र गरेको थिएँ। त्यतिखेरसम्म मैले प्रशिक्षण पाटो सबै बुझिसकेको थिइनँ। मैले निकै सामान्य र सहज संरचना बनाएँ, जसमा सडक, पार्क र मैदानमा तीब्र गतिमा बलिङ गरिरहेका खेलाडी ल्याएर बलिङ लगाएर सिकाउथे। मैले १ सय ५० जति बलर खोजें, त्यसमा दिलहारा फर्नान्डो (श्रीलंकाली तीब्र बलर) पनि थिए। त्यसबाट 'ए' र 'बी' गरी दुई पोल बनाएँ। पहिला 'ए' र त्यसपछि 'बी' पोलका खेलाडीले राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्न लागे। अहिले नेपालमा पनि म यही शैलीमा खेलाडीलाई प्रशिक्षण दिनेछु, जसले नेपाली क्रिकेटमा तीब्र बलर निकाल्न सहयोग पुग्ने विश्वास लिएको छु।'
उनले अगाडि भने, 'अहिलेका पुस्तामध्ये धेरै ब्रेट ली (अस्ट्रेलियाली) लाई आदर्श मान्छन्। हामी ब्रेट ली हुन सक्दैनौं। आफ्नो खेलजीवनमा दौडिँदा मलाई पनि आफू माइकल होल्डिङजस्तै गरी दौडे जस्तो लाग्थ्यो। तर हामी माइकल होल्डिङ हुन सक्दैनौं। माइकल होल्डिङ, रुमेश रत्नायके, पारस खड्का फरक हुन्। सबैको हड्डीको बनोट, शारीरिक बनोट फरक हुन्छ। त्यसैले १ सय ६० किलोमिटरको गतिमा बलिङ गर्छु भनेर सोच्नु हुन्न, आफ्नो गति जे हो त्यहीअनुरुप सामान्य हिसाबमा बलिङ गर्नुपर्छ। मैले नेपाली खेलाडीलाई सिकाउने पनि यही नै हो। कसैले साँच्चिकै १ सय ६० किलोमिटरमा बलिङ गर्छ भन्ने त्यो बोनस हो। तर कुनै पनि खेलाडीले खेल्ने भनेको स्वाभाविक प्रतिभाले नै हो।'
रत्नायकेको सुझाव छ, राम्रो फास्ट बलर हुन खेलाडी फिट र चुस्त भएर बस्नुपर्छ। 'श्रीलंकाको फास्ट बलिङ प्रशिक्षक हुँदा सुरु गरेको क्याम्पमा लासिथ मालिङ्गा पनि थिए। उनी त्यतिखेर १६–१७ वर्षका थिए। उनको बलिङ एक्सनै अनौठो थियो। बाङ्गो पाराले नै हात घुमाएर बलिङ गर्थे। उनको बलिङ त्यतिखेर पनि तीब्र गतिकै थियो,' रत्नायकेले भने, 'मुख्य पक्ष भनेको मालिङ्गा निकै मेहनत गर्दथे। उनले आजसम्म जे जति सफलता पाएका छन्, त्यो उनको मेहनत कै फल हो। सबै फास्ट बलरले नै यसरी सोचेर खेल्ने हो भने सफलता पाउन सक्छन्। अहिले नै ठूलो सफलता बारेमा आश गर्नु हुन्न। यही गतिमा अगाडि बढेर १० वर्ष पछि हेर्ने हो भने सफलता पाइन्छ नै।'
नेपाली क्रिकेटमा स्पिनरहरूको दबदबा छ। अन्तर्राष्ट्रिय क्रिकेटमा पनि नेपाली स्पिन बलरहरू नै बढी हाबी छन्। २००६ को एसिसी फास्ट ट्रयाक कन्ट्रिज तीनदिवसीयमा विनोदले २१ र २००८ मा जर्सीमा भएको विश्व क्रिकेट लिग डिभिजन ५ मा महबुब आलमले १९ विकेट लिएको प्रदर्शन बाहेक नेपाली बलरहरूमा स्पिनर नै प्रभावकारी बनी सर्वाधिक विकेट लिने खेलाडी बन्दै आएका छन्। 
काँधको चोटका कारण सिम बलिङ त्यागेका देब्रेहाते स्पिनर वसन्त रेग्मीले दुई महिनाअघि मलेसियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन ४ मा २२ विकेट लिए। वसन्तले नेपालबाट एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने कीर्तिमान बनाएको प्रदर्शन नेपाली स्पिनरहरूको अन्तर्राष्ट्रिय क्रिकेटमा दबदबाको एउटा अंशमात्र हो। 
कृष्ण कार्कीले २००६ मा मलेसियामा एसिसी यु–१५ इलिट कप दुईदिवसीयमा २० विकेट लिएर भविष्यका लागि आशा नदेखाएका होइनन्। स्पिनरको दबदबा र तीब्र बलर खोज्न कुनै कार्यक्रम अगाडि नल्याइएकाले हुनसक्छ कृष्णको गतिले तीब्र बलिङको मुख्य धार भेट्टाउन सकेन। राष्ट्रिय टोलीमा परे पनि उनले अझै एउटै खेल खेल्न पाएका छैनन्। फास्ट बलिङ क्याम्पले भविष्यलाई धारिलो बलिङको ढोका खोल्ने विश्वास लिन सकिन्छ।
नागरिक राष्ट्रिय दैनिकमा कात्तिक १८ गते प्रकाशित

No comments:

Post a Comment