फजलुर रहमान खानले फाइनलमा खेलेको सानदार इनिङ शुक्रबार सम्पन्न पेप्सी स्ट्यान्डर्ड चार्टर्ड राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताभर ब्याटिङमा देखिएको पछिल्लो झलक थियो। फजलुरले एपिएफसँग फाइनलमा बनाएको सतक प्रतियोगिताको छैटौं हो।
२०५८ बाट सुरु भएयता क्षेत्रीय अवधारणाको राष्ट्रिय प्रतियोगितामा केवल तीन सतकमात्र बनेका थिए। यसपटकको एकै प्रतियोगितामा त्यसको दोब्बर सतक बन्यो। क्षेत्रीयअनुसार राष्ट्रिय क्रिकेटको फाइनलमा सतक पहिलोपटक सम्भव भयो। जनकपुरका अनिल मण्डल, एपिएफका ज्ञानेन्द्र मल्ल, भैरहवाका सागर पुन र वीरगन्जका अमित श्रेष्ठ तीन स्कोरको अंक छुने खेलाडीमा रहे। अमित एकै प्रतियोगितामा लगातार दुई सतक बनाउने पहिलो खेलाडी बने।
क्षेत्रीय संरचनामा आउनुअघि जय ट्रफी राष्ट्रिय प्रतियोगिताको १७ संस्करणमा पनि श्रीनिवास राणा, कलिम ख्वजा, उत्तम कर्माचार्य, नगेन्द्र भट्टराई, राजु खड्का, परेश लोहनी सतक बनाउने थोरै खेलाडीको सूचीमा थिए। राजु र परेशले २०५६ मा राजविराजको जय ट्रफी फाइनलमा फरक टोलीबाट सतक बनाए।
त्यसयता राष्ट्रिय क्रिकेटमा सतक दुर्लभ नै बनिसकेको थियो। यसपालि राष्ट्रिय प्रतियोगिताले ब्याटिङमा देखिएको ठूलो संकट चिरेको छ। राष्ट्रिय प्रशिक्षक पुबुदु दासानायके यसलाई सकरात्मक रूपमा लिन्छन्। 'विकेट पहिलाभन्दा राम्रो छ। राष्ट्रिय टोलीको उच्च प्रदर्शनपछि मलाई खेलाडीहरूको आशा बढे जस्तो लाग्छ,' उनी ब्याटिङमा सुधारिएको प्रदर्शन कारण दिन्छन्।
दासानायके प्रशिक्षक भएको १५ महिनायता नेपालको परिचय नै फेरिएको छ। पहिला बलिङमा भरपर्ने नेपाली टोलीको हतियार ब्याटिङ भएको छ। नेपालले पछिल्ला दुई प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा सुवास खकुरेल, अनिल मण्डल र पारस खड्काले सतक बनाएका थिए। विकेटको फरक माहोल र दासानायकेले खेलाडीलाई खुलेर खेल्न दिनुको कारण पनि ब्याट्सम्यानले सतकको ओइरो लगाउनु र राम्रो इनिङ खेल्नुका कारण देख्नेहरू पनि छन्। त्यसबाहेक घरेलु क्रिकेटमा स्तरीय बलरको अभाव पनि देखिएको छ। भैरहवासँग फाइनलमा एपिएफका शरद भेषावकरले सर्वाधिक ३ विकेट लिए। उनी कामचलाउ बलर हुन्। नेपाली टोलीका प्रमुख ब्याट्सम्यान अनिल मण्डलले जनकपुरबाट खेल्दै ५ विकेट लिए।
क्रिकेटको परिवर्तित नियमको भरपूर फाइदा नेपाली ब्याट्सम्यानले उठाएका छन्। बाउन्ड्री लाइनमा ५ जनासम्म फिल्डर राख्न पाउने नियम परिवर्तन गरी अहिले ४ मा झारिएको छ। यसले ठूला शट खेल्ने ब्याट्सम्यानलाई सजिलो बनाएको छ। फजलुरको विशेषता ठूलो शट खेल्नु हो। फाइनलमा बनाएको १ सय २४ रनले फजलुरलाई प्रतियोगिताको उच्च रन स्कोरर मात्र बनाएन्, यसै प्रतियोगिताबाट सुरु गरिएको इमर्जिङ खेलाडीको उपाधि पनि दिलायो। उनले ६ खेलमा ६१.२० औसतमा ३ सय ६ रन बनाए।
'५ जना फिल्डर ३० यार्डभित्र हुनुपर्ने नियमले पनि नेपाली ब्याट्सम्यानको खेल्ने शैलीमा परिवर्तन आएको छ,' नेपाली राष्ट्रिय टोलीका कप्तान पारस भन्छन्, 'घरेलु क्रिकेटमा प्रतिस्पर्धा धेरै बढेको छ। यो राम्रो संकेत हो। यसलाई निरन्तर दिनुपर्छ। त्यसका लागि अरु प्रतियोगिताहरू पनि थप्नुपर्छ। वर्षमा एउटै प्रतियोगिता गरेर पुग्दैन।' पछिल्ला तीन राष्ट्रिय प्रतियोगिताको फाइनलमा अविजित अर्धसतक बनाए पनि पारसले घरेलु क्रिकेटमा सतक अझै प्रहार गरिसकेका छैनन्।
उनका एपिएफका प्रशिक्षक राजु बस्नेत पनि क्रिकेटको स्तर र पिचको माहोल राम्रो हुनु ब्याट्सम्यानले ठूलो इनिङ खेल्नुका कारण देख्छन्। उनले भने, 'विगत हेरेर पिचमा धेरै परिवर्तन छ। अहिले खेलाडीको व्यवहारमा पनि परिपक्वता देखिएको छ। ब्याट्सम्यानहरू सतर्क भएर खेल्छन्। तर १० दिनको प्रतियोगितामा ६ सतक बन्छ भनेर मैले सोचेको थिइनँ।'
भैरहवाका प्रशिक्षक शंकर रानाको विचार केही फरक थियो। 'मेरो क्षेत्रको भन्नुपर्दा हाम्रो टोलीमा भर्खर यु–१९ खेलेर आएका खेलाडी धेरै छन्, उनीहरू राष्ट्रिय टोलीमा पर्न लालयित छन्। यु–१९ विश्वकप खेलिसकेकाले उनीहरूले त्यहाँबाट धेरै सिकेर आएका छन्,' रानाले भने, 'ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेको देख्दा मैले नेपाली क्रिकेटको स्तर माथि उठेको पाएको छु। प्रशिक्षक दासानायाकेले नेपाली खेलाडीलाई बाहिर खेल्न पठाउँदा खेलाडीको व्यवहारदेखि प्रदर्शनमा पनि धेरै फरक परेको छ।'
दासानायकेले विश्व क्रिकेट लिग डिभिजन ४ र एसिसी ट्रफीअगाडि पारसलाई क्यानाडामा क्लब क्रिकेट तथा ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र अनिल मण्डललाई भारतमा ब्याटिङको विशेष प्रशिक्षण लिने व्यवस्था मिलाएका थिए। सुवास खकुरेल र अनिलले डिभिजन ४ मा तथा पारसले एसिसी ट्रफीमा सतक बनाएका थिए। दासानायके आउनुअघि राष्ट्रिय टोलीबाट १५ वर्षमा ४ सतकमात्र बनेको थियो। पूर्वकप्तान उत्तम कर्माचार्य पिच र खेल अनुभवका कारणले ब्याट्सम्यानको प्रदर्शन तिखारिएको बताउँदै भन्छन्, 'एउटा सतक वा ठूलो इनिङले धेरै फरक पार्छ। खेलाडीहरूले नियमित खेलिरहँदा यो अनुभव गरेको हुनुपर्छ।'
ब्याट्सम्यानले राम्रो खेल्दा सबैभन्दा खुसी त्रिवि मैदानका क्युरेटर नारायण कार्की छन्। माटो त्यही हो, विकेटमा सामान्य मर्मत गरेको मात्र बताउँदै उनी भन्छन्, 'पहिला धुलो विकेट हुन्थ्यो, बल धेरै घुम्थ्यो। अहिले ब्याटिङ विकेट हो, बल सिधा आउँछ, ब्याट्सम्यानले बुझेर खेल्ने हो भने सजिलै खेल्न सक्छन्।'
नागरिक राष्ट्रिय दैनिकमा मंसिर ७ गते प्रकासित
No comments:
Post a Comment