Tuesday, December 10, 2013

बाउन्सरलाई तयार सोमपाल

नेपालले विश्व ट्वान्टी–२० छनोटको अन्तिम खेल खेल्दै थियो, युएईमा घरेलु टोलीसँगै। सोमपाल कामी होटलमा टेलिभिजनमा नेपालको खेल हेरिरहेका थिए। 'तिमीले जर्नी टु विश्वकप खेल्नुपर्छ तयार भएर बस्नू,' फोनमा आएको यो सन्देशले सोमपाललाई विश्वास गर्न गाह्रो बनायो।
ट्वान्टी–२० विश्वकपमा छनोट भएको नेपाली टोली भोलिपल्ट काठमाडौं फर्कंदै थियो। लगत्तै अर्को दिन एकदिवसीय विश्वकप तयारीलाई जर्नी टु विश्वकप प्रतियोगितामा उत्रनुपर्ने।
सोमपाल कामी । तस्बिरः विकास कार्की

'यो प्रतियोगितामा मैले खेल्न पाउँछु भनेर सोचेको पनि थिइनँ, विश्वकप छनोट भएकै टोलीका खेलाडी खेलाउँछ जस्तो लागेको थियो,' निर्दोष स्वभावका सोमपालले भने, 'प्रतियोगिताका लागि नेपाली टोलीमा राखिएपछि मैले बुझेको थिएँ, यहाँ राम्रो प्रदर्शन गर्न सकें भने राष्ट्रिय टोलीको ढोका खुल्नेछ।'
युएईमा हुने एसिसी यु–१९ एसिया कप खेल्न जाने नेपाली टोलीमा सोमपाल पनि छन्। जर्नी टु विश्वकप प्रतियोगितामा एयर इन्डियासँगको फाइनललगत्तै प्रशिक्षक पुबुदु दासानायकेले राष्ट्रिय टोली बस्दै आएको होटल क्राउन प्लाजामा सर्नु भनेपछि सोमपालले त्यसको केही संकेत बुझिसकेका थिए।
यु–१९ का लागि भनेर उनी भोटेबहालस्थित राजस्थान होटलमा बस्दै आएका थिए। आइतबार होटल साहुजी सानु महर्जन जन्मदिन मनाउँदै थिए, नेपाली यु–१९ टोली। सोमपालको फोन लगातार बज्दै थियो। न्युजिल्यान्डमा अर्को महिना हुने एकदिवसीय विश्वकप छनोटलाई छानिएकाले सोमपाल फोन उठाउन भ्याईनभ्याई थिए। नेपाली यु–१९ टोलीका खेलाडीहरूसहित होटलका कर्मचारी उनलाई बधाई दिन पछाडि परेनन्।
नेपालमा जन्मेर भारतीय क्रिकेट संस्कारमा हुर्किएका खेलाडी हुन्, सोमपाल। सोमपालको मूल घर गुल्मी तोरङ–८ पर्दछ। उनी त्यही जन्मंे। उनी ३–४ वर्ष हुँदा जागिरको सिलसिलामा बुबा भारतको पञ्जाब, पटियाला लागे। यस्तै परिवेशमा हुर्किएका अर्का खेलाडी अर्जुन अधिकारीको सहयोगमा उनी भदौको अन्तमा काठमाडौं आएका थिए। एक भारतीय क्रिकेट म्यागेजिन र एकपल्ट टिभीमा सोमपालले नेपाली क्रिकेटको झलक देखेका थिए। त्यो बाहेक नेपाली क्रिकेटबारे उनलाई खासै थाहा थिएन।
एक वर्षअगाडिसम्म भारतमा खेल्दा सोमपाल आफ्नो बलिङको गति प्रतिघन्टा १ सय ३४ किलोमिटरमा बलिङ गरेको बताउँछन्। नेपालमा आएपछि उनले बलिङ गति नापेका छैनन्। अहिले पनि उनको बलिङ गति १ सय ३० रहेको हुनसक्ने धेरैको बुझाई छ। नेपाली टोलीमा तीब्र बलिङको खडेरीजस्तै देखिएको अवस्थामा सोमपालको आगमन भएको हो।
'बाउन्सर' सोमपालको बलिङ खुबी हो। जर्नी टु विश्वकप प्रतियोगितामा उनले १० विकेट लिए। तीन विकेट बाउन्सरमै विपक्षीलाई तर्स्याउँदै लिए। एयर इन्डियासँग पहिलो खेलमा उनले ३ विकेट लिएका थिए। प्रदीप मल्लिक र रितिन्दर सिंह सोढीको विकेट जमेको थियो। सोमपाल दोस्रो स्पेल लिएर आए। उनले बाउन्सरमै मल्लिकलाई विकेटकिपर पछाडि आउट गरे। त्यसमा भारतको पूर्वक्रिकेटर विजय दाहिया र सोढीको विकेट पनि थपियो।
सोमपाल क्विकर पनि राम्रो फाल्छन्। बल लाइनमा मिलाउन नसक्नुलाई उनी आफ्नो कमजोरी मान्छन्। 'मेरो बलिङ अगाडि हुन्छ कि पछाडि। बीचमा खेलाउन सकिरहेको छैन,' उनी आफ्नो कमजोरी केलाउँछन्। योर्कर पनि उनी बेलाबखतमात्र फाल्छन्, यो पनि कमजोरी हुन सक्ने उनको बुझाई छ।
न्युजिल्यान्डको पेस विकेटमा खेल्न पाउनुलाई उनी आफू नेपाली टोलीमा छनोट भएजस्तै भाग्यमानी सम्झन्छन्। 'त्यहाँ घाँसेविकेट हुन्छ, तीब्र बलरलाई निकै फाइदा हुन्छ। हावा चलिरहन्छ, बल स्विङ पनि हुन्छ। बलरले त्यसअनुरुप बलिङ गर्न सक्नुपर्छ,' मेहनत गरे विकेट पाउने बलियो सम्भावना देख्छन् उनी।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उनी यु–१९ टोलीको क्याम्प हुँदा नेपाली टोलीले गरेको मेहनत उनले देखेका छन्। 'नेपाली टोलीले धेरै मेहनत गरेको थियो, त्यही भएर टोली ट्वान्टी–२० विश्वकप छानियो, अब मैले यसैलाई निरन्तरता दिनुछ,' सोमपालले भने, 'मैले जतिसक्दो राम्रो खेल्न जरुरी छ।' सोमपालको चाहना १० नम्बर जर्सी लगाएर खेल्नु छ। अहिले त्यो जर्सी नेपाली टोलीमा महेश क्षेत्रीले लगाउँछन्। त्यसमा सोमपालको कुनै गुनासो छैन। उनी भन्छन्, 'समयसँग चल्ने हो।'
तीन दाजुभाइमा सोमपाल जेठा हुन्। उनका बुबा भारतमै रोजगारी गर्छन्। सोमपाललाई क्रिकेट खेल्न घरबाट खासै समर्थन थिएन। काठमाडौं आएर जिल्ला छनोट खेल्दादेखि क्याम्पमा हुँदासम्म उनलाई पटियाला आऊ भनेर बुबाले २–३ पटक फोन गरिसकेका छन्। नेपालबाट यु–१९ खेल्न एसिया कपमा छानिँदा पनि परिवारको खासै प्रतिक्रिया थिएन। राष्ट्रिय टोलीमा छनोट भएर न्युजिल्यान्ड खेल्न जाने भएपछि परिवारले बल्ल 'हरियो झन्डा' देखाएको छ, 'राम्रोसँग खेल्नू, आफ्नो सपना पूरा गर्नू।'
सोमपालको सपना नेपालबाट खेल्नु हो। अब त्यो नयाँ रहेन। क्रिकेटमै जीवन देख्छन् उनी। आर्थिक हिसाबमा नेपाली क्रिकेटमा सक्रिय भइरहन सजिलो छैन। जितेर आउँदा खेलाडीलाई राम्रो पुरस्कार छ, अरु बेला खासै त्यस्तो केही छैन। भारतमा क्रिकेटको आर्थिक रंगीन संस्कार देखेका सोमपालले यो सबै बुझेका छन्। नेपाली क्रिकेट विस्तारै माथि आउँदै गरेको उनले देखेका छन्। उनी भन्छन्, 'बिरुवा रोपेपछि फल आउन केही समय लाग्छ।'
नागरिक राष्ट्रिय दैनिकमा २०७० मंसिर २५ गते प्रकाशित


No comments:

Post a Comment