राजकुमार प्रधानका लागि वैदेशिक रोजगारीमा कतार जानु र नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट खेल्नु पानी पँधेरो जस्तै हो। भेट्रान लेग स्पिनरको पछिल्लो प्रयास राष्ट्रिय टोलीमा पुनरागमन गर्नु थियो।
अघिल्लो साता उनलाई एकदिवसीय विश्वकप तयारीका लागि आयोजित जर्नी टु विश्वकप प्रतियोगितामा नेपालबाट खेल्न निम्ता आयो। ३८ वर्षे राजकुमार आफैंलाई विश्वास लागेन। उनले प्रशिक्षक पुबुदु दासानायकेलाई फोन गरे। दासानायकेले खबर वास्तविकता भएको बताए। राजकुमार धरानमा बुबाको शल्यक्रियामा व्यस्त थिए। भोलिपल्टै काठमाडौं हिँडिहाले।
अघिल्लो साता उनलाई एकदिवसीय विश्वकप तयारीका लागि आयोजित जर्नी टु विश्वकप प्रतियोगितामा नेपालबाट खेल्न निम्ता आयो। ३८ वर्षे राजकुमार आफैंलाई विश्वास लागेन। उनले प्रशिक्षक पुबुदु दासानायकेलाई फोन गरे। दासानायकेले खबर वास्तविकता भएको बताए। राजकुमार धरानमा बुबाको शल्यक्रियामा व्यस्त थिए। भोलिपल्टै काठमाडौं हिँडिहाले।
राजकुमार प्रधान। तस्बिरः केशव थोकर |
अब उनी कतार नजाने बताउँछन्। अहिले उनी स्थानीय डिपिएस स्कुलमा क्रिकेट र जिम एकेडेमीमा शारीरिक प्रशिक्षण गराउँछन्। २२–२३ हजार मासिक बुझ्छन्। यसले उनको श्रीमती, दुई छोरा र परिवारको खर्च टरेको छ। बिहान ५ किलोमिटर दौडिन्छन्। जिममा आफै फिटनेस ट्रेनिङ गर्छन्। स्कुलमा विद्यार्थीसँगै क्रिकेट खेल्छन्।
सन् २००९ मा एसिसी ट्वान्टी–२० कपको ठीकअघि राजकुमार राष्ट्रिय टोली छाडेर कतार हानिएका थिए। खेल्ने भनिए पनि यात्रा वैदेशिक रोजगारीमै थियो। क्रिकेट खेलेर परिवारै धान्ने राजकुमारको स्थिति थिएन। उनलाई रोक्ने प्रयास तत्कालीन प्रशिक्षक रोय डायस र क्यान पदाधिकारीले नगरेका होइनन्। तर उनीहरूले राजकुमारको परिवार चलाउने 'ग्यारेन्टी' लिएनन्। 'नेपाली क्रिकेटमा अहिले जस्तो पैसा भएको भए म कहाँ जान्थंे र,' उनी आफ्नो बाध्यता तेर्स्याउँछन्।
राजकुमारले कतारमा हल हसन बेकरबाट खेल्नुपर्ने थियो। हप्ताको दुई दिन। सोही क्लबले उनको रोजगारी मिलाइदिएको थियो। काम सुपरभाइजरको। एक खेलबाट ३ हजार पाउँथे। तलब छुट्टै थियो। त्यहाँ 'तेरो यस्तो राम्रो बलिङ छ, नेपालजस्तो देश किन छाडेर आएको' भन्ने प्रश्नले राजकुमारलाई घेरिरहन्थ्यो। राजकुमारका अनुसार १५–२० लिग क्लबले कतार लिगमा सहभागिता जनाउँथे। उनीहरूले पाकिस्तानबाट राम्रा खेलाडी बोलाउँथे। राजकुमारले आफ्नो क्लबलाई ३ उपाधि जिताउन मद्धत गरे। २ वर्ष बसेपछि उनी नेपाल फर्किए। कतार उनी तेस्रोपल्ट गएका थिए।
नेपाल आएपछि राष्ट्रिय प्रतियोगितामा देखिइहाले राजकुमार। प्रशिक्षक दासानायकेको कानमा राजकुमारको खुबीबारे जानकारी पुगिसकेको थियो। दासानायकेले राजकुमारलाई अलिकति दौडेर बलिङ गर्न भने। दौडेर बलिङ गर्दा राजकुमारलाई सहज भएन। बलिङ बिग्रियो। भैरहवासँगक अन्तिम खेलमा आफ्नो स्वाभाविक बलिङ गरे। ५ विकेट लिए। त्यसले राजकुमारलाई जर्नी टु विश्वकपसम्म डोर्यायो।
पहिलोपल्ट राजकुमार १४ वर्षमै कतार गएका थिए। ढाँटेर १८ वर्षको पासपोर्ट बनाउँदै। जानुअघि उनले २०५३ को वीरगन्ज राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलिसकेका थिए। तीन वर्षलाई कतार गएका थिए। स्टोरकिपर भएर काम गर्न। 'त्यहाँ टेनिस बलले क्रिकेट खेलिरहेका थिए। मैले बलिङ गर्न मागें। उनीहरूले नेपालीले क्रिकेट खेल्दैनन् भनेर बल नै दिन मानेनन्,' राजकुमारले विगत सम्भि्कए, 'बल्ल बल्ल उनीहरूले बल दिए। टेनिस बल पाएको मैले। दुई हात जस्तो टर्न गराइदिएँ। अनि त्यसपछि बल्ल उनीहरूले यसले खेल्दोरहेछ भने। मैले हार्ड बलले पनि खेल्छु भनेपछि उनीहरूले क्लबबाटै खेलाए।'
'मेरो प्रदर्शन राम्रो हुँदै गयो,' उनी सम्झन्छन्, 'रातभरी दुई क्लब मेरा लागि तानातान गर्थे। पालैपालो मेरा लागि पैसा बढाइरहेका हुन्थे।'
राजकुमार नेपाल फर्किए। रुटिङ उही थियो, फेरि राष्ट्रिय प्रतियोगिता खेल्ने। काठमाडौंमा भएको २०५७ सालको जय ट्रफीमा उनी उत्कृष्ट बलर चुनिए। आइसिसी ट्रफी खेल्न क्यानाडा जाने नेपाली टोलीमै उनी समेटिए। तर भिसा नपाएर खेल्न जान नपाउने चार अभागी खेलाडीमा राजकुमार पनि थिए। त्यो प्रतियोगितासँगै प्रशिक्षक पनि परिवर्तन भयो। रोय डायस नेपालको प्रशिक्षक भएर आइसकेका थिए। राजकुमारको खुबीबारे डायसलाई केही जानकारी थिएन।
काम विशेषले राजकुमार काठमाडौं आएका थिए। एसिसी यु–१९ कपका लागि नेपाली खेलाडी बन्द प्रशिक्षणमा थिए। राजकुमारलाई भित्रैबाट कस्तो कस्तो भयो। कीर्तिपुर मैदान गए। त्यहाँ उनले क्याम्पमा रहेका यु–१९ खेलाडीविरुद्ध बलिङ गर्न डायससँग अनुमति मागे। डायसले हुन्छ भनेपछि राजकुमारले बल टर्न गराउन थालिहाले।
डायसलाई राजकुमारबारे थप जानकारी आवश्यक भएन। उनले सिंगापुर जाने एसिसी ट्रफीमा राजकुमारलाई राखे। सेमिफाइनलमा मलेसियाविरुद्ध रोमाञ्चक विजय हात पार्दा राजकुमारले ३ विकेट लिए। २००९ सम्म उनले नेपाली टोलीबाट खेले। ३१ एकदिवसीय खेलमा उनले नेपालबाट ३५ विकेट लिए। १४ तीनदिवसीयमा राजकुमारले ३६ विकेट लिए। २००६ को एसिसी प्रिमियर लिग तीनदिवसीयमा मलेसियाविरुद्ध क्वालालम्पुरमा उनले ११औं नम्बरमा ब्याटिङ गर्दै अविजित ६८ रन बनाई सञ्जम रेग्मीसँग दसौं विकेटमा १ सय ४ रन जोडे।
मुम्बईमा सञ्जमसँग विशेष अभ्यासका लागि गएको क्षण सम्झँदै राजकुमार तरंगित हुने गर्छन्। ट्रायलमा पास भएपछि उनीहरूलाई २ महिना प्रशिक्षण दिइएको थियो। 'त्यहाँ हामीलाई ट्रेनिङ गराउने एकेडेमीमा ४–५ प्रशिक्षक थिएँ। जब म बलिङ गर्थें उनीहरू सबै नेट पछाडि गएर मेरो बलिङ हेर्थे। मैले बल टर्न गराएको देखेर उनी चकित पर्थे। अस्ट्रेलियाका महान स्पिनर शेन वार्न जस्तै बलिङ भनेर भन्थे,' राजकुमारले भने, 'रोबिन उत्थ्पालाई भविष्यको भारतीय खेलाडीको रूपमा हेरिएको थियो, उनी पनि ब्याटिङ प्रशिक्षण त्यही थिए। उत्थ्पा प्रशिक्षकको स्वीकृत लिएर मेरो मात्र बलिङ खेल्न खोज्थे। रणजी खेल्ने टोली अर्को नेटमा अभ्यास गरिरहेको हुन्थ्यो। मलाई त्यसपछि त्यही गएर बलिङ गर्न भनियो।'
त्यहाँ खेल हेर्न आएका एक क्लबका प्रतिनिधिले 'यहीबाट खेल जागिर मिलाइदिन्छु' भने। 'म भावुक भएँ, मैले मलाई नेपालले यहाँ पठाएको, नेपालमै गएर सोधेर निश्चित गर्छु भनंे। हुनसक्छ उनीहरूलाई मेरो कुरा मनपरेन,' राजकुमारले भने। दक्षिण अफ्रिकाका पूर्वप्रशिक्षक बब उल्मर पनि त्यही एकेडेमीमा थिए। उनले ३० जना स्पिन बलरमा राजकुमारलाई नम्बर १ घोषणा गरे। उल्मरले राजकुमारलाई शेन वार्नको कपी भनेर भन्थे।
मुम्बईमा राजकुमारको बलिङबाट प्रभावित हुनेमा प्रशिक्षक हनुमान सिंह पनि थिए। राजकुमार नेपाल फर्किसकेका थिए। सिंहले राजकुमारलाई भारतीय टोलीविरुद्ध बलिङ गर्न नेपाल क्रिकेट संघमार्फत प्रस्ताव पठाए। भारत भ्रमणमा आउनेक्रममा थियो अस्ट्रेलिया। शेन वार्नको बलिङ खेल्न सजिलो हुन्छ भनेर राजकुमारलाई भारतीय टोलीका ब्याट्सम्यानलाई बलिङ गर्न बोलाउन लागिएको रहेछ। राजकुमारले ढिलो गरी खबर पाए। हनुमानलाई फोन गर्दा समय बितिसकेको थियो।
राजकुमार पहिला मिडियम पेस बलिङ गर्थे। गृहनगर विराटनगरमा एकपटक त्यत्तिकै स्पिन गर्न खोजे। लेग स्टम्प बाहिर पिच भएको बल अफ स्टम्पभन्दा बाहिर गयो। स्थानीय स्तरका सिनियर खेलाडी गोपी घिमिरेले उनको बलिङ हेरिरहेका थिए। 'तलाई थाहा छ यो कुन बलिङ हो? यो दुनियाको सबैभन्दा प्रभावकारी बलिङ लेग स्पिन हो, यस्तो बलिङ भगवान्को कृपाले मात्र प्राप्त हुन्छ, यसलाई जारी राख,' घिमिरेले यसो भने पनि राजकुमारलाई लेग स्पिन के हो भनेर केही थाहा थिएन। सानोमा उनी भारोत्तोलन खेलाडी थिए। त्यसैले नाडी घुमाइरहन्थे। घिमिरेले अर्थ्याएपछि राजकुमारलाई नाडी घुमाउने र बल घुमाउने नसा लागिसकेको थियो।
नागरिक राष्ट्रिय दैनिकमा २०७० मंसिर ३० गते प्रकाशित
No comments:
Post a Comment