Sunday, December 1, 2013

नेपाली क्रिकेट परिभाषित शरद

शरद भेषावकरले नेपाली क्रिकेटलाई परिभाषित गर्छन् भन्दा अतिशयोक्ति नहोला। आयोजक युएईसँग शनिबार मध्यपंक्तिका ब्याट्सम्यान शरदले लगातार २ छक्का प्रहार गर्दै नेपाललाई आइसिसी विश्व ट्वान्टी–२० छनोटमा तेस्रो स्थान दिलाउन जुन भूमिका खेले, त्यसले नै शरदको क्षमता प्रष्ट पार्छ।
नेपालले प्रतियोगितामा दोस्रो ब्याटिङ गर्दै ५ खेल जित्यो। ४ खेलमा शरदले विजयी रन बटुले। डेनमार्कसँगको पहिलो खेल छाड्ने हो भने बाँकी तीन इनिङ्स शरदकै मात्र नभएर नेपाली क्रिकेटकै स्मरणीय हुनसक्छ। केन्यासँग अन्तिम ओभरमा १७ रन आवश्यक हुँदा शरदले एक्लैले ३ छक्कासहित २० रन बनाए।
हङकङसँग अन्तिम ओभरमा निर्णायक भुमिका खेल्दै शरद भेषावकर। तस्बिरः रमन सिवाकोटी
हङकङसँगको क्वार्टरफाइनल पनि लगभग स्थिति यस्तै थियो। नेपाललाई अन्तिम ओभरमा १३ रन चाहिँदा पहिलो बलमा छक्का र दोस्रोमा चौका प्रहार गरेका शरदले नै विजयी रन बटुले। शनिबार अबुधाबीको शेख जायेद रंगशालामा स्थिति फरक थिएन। नेपाललाई युएईसँग तेस्रो स्थानको खेल जित्न ११ रन चाहिन्थ्यो। शरदले पहिलो दुई बलमै छक्का प्रहार गरे। शरदले आफू सामना गरेको पछिल्लो ५ बलमा ३ छक्का प्रहार गरे।
कमेन्ट्री गरिरहेका इङ्ल्यान्डका पूर्वओपनर निक नाइटले कप्तान पारस खड्कालाई सोधेका थिए, 'अन्तिम केही ओभरमा दबाबमा देखिएका थियौं नि?' पारसको जवाफ थियो, 'हामीलाई यस्तो अवस्थामा खेल्ने बानी नै परिसकेको छ।' शरद हुन्जेल पारस पनि आफैं क्रिजमा रहेको सम्झन्थे, सायद।
जुन बेला शरदमा आत्मविश्वास देखिएको थिएन, त्यो समयमा नेपाली क्रिकेटको प्रदर्शन प्रतिस्पर्धात्मक थिएन। २० महिनाअघि यहि प्रतियोगितामा नेपाल सातौं भयो। नतिजाको हिसाबले नेपालको यो उत्कृष्ट प्रदर्शन थियो। तर नेपालले खेल जित्न संघर्ष गरिरहेको थियो। शरदको जुन प्रतिभा हो, त्यो प्रदर्शन मैदानमा देखिएको थिएन।
एक वर्षपछि काठमाडौंमा आयोजित एसिसी ट्वान्टी–२० कपमा फाइनलमा हारे पनि नेपाल प्रतियोगितामा हाबी भयो। त्यसमा शरदको प्रदर्शन प्रभावकारी थियो। शरदले १ सय ८७ भन्दा माथिको रनरेटमा रन बनाए। शरदले त्यो किसिमको छक्का कहिल्यै प्रहार गरेका थिएनन्। युएईमा भइरहेको प्रतियोगितामा शरदले त्यो प्रदर्शनलाई निरन्तरता दिए। उनले झन्डै १ सय ३० को स्ट्राइक रेटमा १ सय ४० रन बनाए।
मार्च–अप्रिलमा सम्पन्न एसिसी ट्वान्टी–२० कपअघि प्रशिक्षक पुबुदु दासानायकेले भनेका थिए, 'यसपल्ट शरदको प्रदर्शन हेर्नुस।' शरदको प्रदर्शनजस्तै नेपाल प्रतियोगितामा विपक्षीमाथी हाबी भयो। शरद त्यही खेलाडी हुन्, जसलाई प्रतियोगिताको अघिल्लो संस्करण २०११ मा काठमाडौंमा हुँदा सुरुआती खेलहरूमा ड्रप गरिएको थियो। त्यसमा खासै आश्चर्य मानिएन। कारण स्टाइलिस ब्याट्सम्यानमा गनिए पनि शरदले आवश्यक समयमा यस किसिमको स्ट्रोक खेल्न सकेका थिएनन्।
त्यसमा एउटा कारण २ वर्षअघि दासानायके नेपालको प्रशिक्षक भएर आउनु अघिसम्म शरदको भूमिका स्पष्ट थिएन। कप्तान पारस खड्का र प्रशिक्षक दासानायकेले उनको भूमिका निश्चित गरिदिएपछि उनको प्रदर्शनमा आश्चर्यजनक सुधार आएको मान्ने धेरै छन्। शरद मुख्यतः ६ नम्बरमा ब्याटिङ गर्छन्। शनिबार युएईसँग पाँचौं नम्बरमा ब्याटिङ गरे। 'शरदको भूमिका फिनिसर हो, उनले आफ्नो जिम्मेवारी बुझेका छन्,' हङकङलाई पराजित गर्दै नेपाललाई ट्वान्टी–२० को विश्वकप पुर्‍याएपछि दासानायकेले भनेका थिए।
नेपालले डिभिजन ३ को उपाधि जितेको ८ महिना पनि पूरा भएको छैन। बर्मुडामा युगान्डासँगको फाइनलमा शरदले अविजित ५० रन बनाए। विजयी रन प्रहार गर्ने शरद नै थिए। उनको चौकामा नेपालले ४०औं ओभरमा १ सय ५३ रन बनाएर विजयी लक्ष्य पूरा गरेको थियो। नेपाल प्रतियोगिताको फाइनल पुग्दै एकदिवसीय विश्वकप छनोटमा पुगेको हो। अर्को महिना न्युजिल्यान्डमा हुने विश्वकप छनोटमा शरदले यो 'फिनिसिङ' शैलीलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
नागरिक राष्ट्रिय दैनिकमा मंसिर १६ गते प्रकाशित


No comments:

Post a Comment