Monday, January 27, 2014

हारले उघारिएका कमजोरी

विश्लेषण
सफलताले धेरै पक्ष लुकाउँछ, हारले सवै पाटो उघारिदिन्छ, खास गरी कमजोरी। एकदिवसीय विश्वकप छनोटमा लगातारको हारले नेपाल क्रिकेटका धेरै कमजोरीलाई उदाङ्गो पारेको छ। अगामी विश्वकपमा छनोट हुने महत्वकांक्षी लक्ष्य बनाएको अवस्थामा समूह चरणका सवै चार खेल र पहिलो प्लेअफमा पराजय भोग्दै नेपाली टोलीले राष्ट्रिय क्रिकेटको भविष्यलाई अन्यौल बनाएको छ।
दुई महिनाअघि युएईमा विश्व ट्वान्टी–२० छनोटमा नेपालले स्मरणीय प्रदर्शन गर्‍यो। आयरल्यान्ड र अफगानिस्तानपछि तेस्रो हुँदैं नेपाल ट्वान्टी–२० विश्वकपलाई छानियो। न्युजिल्यान्डमा जारी प्रतियोगितामा आयरल्यान्ड र अफगानिस्तान छैनन्। विश्व क्रिकेट च्याम्पियनसिपको शीर्ष दुईमा परेका आयरल्यान्ड र अफगानिस्तान सोझै छनोट भइसकेकाले नेपाललाई एकदिवसीय विश्वकपमा छनोट हुने दावेदारका रुपमा राखिएको थियो। 
नेदरल्यान्ड्ससँगको पछिल्लो हारले निराश नेपाली टोली। तस्विरः देवेन्द्र सुवेदी


नवौं वरियताको नेपालले न्युजिल्यान्डमा १० राष्ट्र सहभागि प्रतियोगितामा सोही अनुरुपको प्रदर्शनमात्र गर्न सक्यो। पछिल्लो वर्षको सफलतासँग नेपाल बलियो टोलीमा उत्रदा अन्य टोली नेपालसँग राम्रो खेल्न लालायीत देखिए। नेपाल अहिलेसम्मकै ठुलो प्रतियोगितामा खेलिरहेको थियो, तर नेपालले क्यानाडासँगको अन्तिम खेलमा बाहेक सुरुका ३ खेलमा आफ्नो स्त्तर नजिकको पनि प्रदर्शन गर्न सकेन्। युएई, स्कटल्यान्ड र हङकङसँग नेपाल सजिलै पराजित भयो। प्लेअफमा नेदरल्यान्डसँगको हार पनि एकतर्फी नै थियो। प्रतियोगिता अगाडीको विश्लेषण गर्ने हो भने, समूह चरणमा स्कटल्यान्डमात्र नेपालको ठुलो प्रतिद्वन्द्वी थियो। दुई पटक विश्वकपको अनुभव, काउन्टी क्रिकेटको प्रभाव र न्युजिल्यान्डको विकेट स्कटिस वातावरण सुहाउदो र वरियतामा नेपालभन्दा अगाडी रहेको आधारमा।
युएई, हङकङ र क्यानाडा पनि नेपालभन्दा वरियतामा माथि रहेका टोली हुन्। पछिल्ला खेलहरुमा युएईमाथी नेपाल हावी हुँदै आएको थियो। २०१२ को एसिसी ट्रफी इलिटको समूह चरणमा पाएको विजय युएईमाथी नेपालको पहिलो विजय थियो। नेपालले युएईसँगैं फाइनल पनि 'टाइ' खेलेको थियो। सन् २००० यता हङकङमाथी नेपालले विजय हात पार्दै आएको थियो। पछिल्लो भेटमै नेपालले हङकङलाई १ सय रनको भन्दा ठूलो अन्तरले पराजित गरेको थियो। क्यानाडा पछिल्लो संस्करणको उपविजेता हो। तर पछिल्लो समयमा विश्वकप अनुभवी क्यानाडाको प्रदर्शन खस्कदो छ। त्यसैले लक्ष्य महत्वकांक्षी भए पनि नेपालले गर्न नसक्ने केही थिएन्। त्यसको विपरित नेपाललाई युएईले १ सय २ रन, स्कटल्यान्डले ९० रन र हङकङले १० विकेटले हराए। क्यानाडासँग राम्रो प्रदर्शन गरेको नेपाल १२ रनले पछाडी रहयो।
न्युजिल्यान्डमा खेल्न कठिन हुने निश्चित थियो। नेपाली ब्याट्सम्यानले तीब्र बलर झेल्नै सकेनन्। क्यानाडासँग नजिकको प्रतिस्पर्धामा तीब्र बलरका अगाडी ब्याट्सम्यान दबिदा नेपाल पहिलो विजय हात पार्न चुकेको थियो। २००२ मा आइसिसी यु–१९ विश्वकप खेल्नु नेपालको यसअघिको एकमात्र न्युजिल्यान्ड भ्रमण थियो। १२ वर्षअघि शक्ति गौचनजस्ता ब्याट्सम्यानलाई न्युजिल्यान्डमा खेल्न गाह्रो परेको थियो। तर बलरहरुले खेल जिताउदा नेपाल प्लेट फाइनलसम्म पुगेको थियो।
यस पटक बलरको प्रदर्शनमा कुनै चमक देखिएन, जसले नेपाललाई खेल जिताउन सक्थ्यो। नवप्रवेशी बलर सोमपाल कामीले २ खेलमा ३–३ विकेट लिए। अर्का दुई बलर जितेन्द्र मुखिया र अविनाश कर्ण फिका बने। न्युजिल्यान्डको पिचसँग अभ्यस्त भएर खेल्न नसके ब्याट्सम्यानलाई मात्र नभई तीब्र बलरलाई पनि गाह्रो हुने अनुभव पूर्वकप्तान विनोद दासले सुनाइसकेका थिए। विनोदकै नेतृत्वमा नेपालले २००२ मा न्युजिल्यान्डमा यु–१९ विश्वकपमा खेलेको थियो। हावामा पनि बल खासै मुभ नहुने, घाँसे विकेटमा अफ द विकेट भने राम्रो हुने र बल मुभ हुने बताउदै त्यो अनुसार बल फाल्न सक्नुपर्ने, फास्ट बलरले कुन ठाउँमा बल पिच गराउने हो त्यो सुरुमै बुझ्न जरुरी भएको चेतावनी उनले दिएका थिए।
कप्तान पारस खड्का घाइते भए भने सोमपाल, जितेन्द्र र अविनाश कम अनुभवको शिकार बने। सोमपालजस्तै नेपालबाट एकदिवसीयमा जितेन्द्रको पहिलो खेल थियो। न्युजिल्यान्ड जानुअघि अविनाशले अगस्टमा सिंगापुरमा भएको एसिसी इमर्जिङ टिम्स कपमा ३ खेल खेलेका थिए, जहाँ उनले २ विकेट लिएका थिए। यस अर्थमा नेपालको पेस आक्रमण एकदमै नयाँ थियो। विश्वकप छनोट जस्तो ठूलो प्रतियोगितामा सवै नयाँ तीब्र बलर लिएर जाने निर्णय नेपालका लागि घातक बन्यो। तीब्र बलरले सुरुमै विकेट निकाल्न सकेको भए ब्याट्सम्यान यति ठूलो दबाबमा नपर्न पनि सक्थे।
सिमरका लागि उपयुक्त मानिएको विकेटमा नेपाली तीब्र बलरले प्रतिओभर ६ भन्दा बढीमा रन खर्चे। समूह चरणका ४ खेलमा सोमपालले प्रतिओभर ५.७८ रन खर्चे भने जितेन्द्रले झन्डै प्रतिओभर ८ रन दिए। ३ खेल खेलेका उनले २ विकेटमात्र लिन सके। १ खेल खेलेका अविनाशले ४ ओभरमा २६ रन खर्चे। युवा खेलाडी टोलीमा हुनु राम्रो मानिन्छ। ठूलो उद्धेश्य बोकेको प्रतियोगिता र सोही अनुसारको लक्ष्य बोकेको प्रतियोगितामा केही अनुभवी तीब्र बलर राखेको भए त्यो नेपालको हितमै हुन सक्थ्यो।
पछिल्ला वर्षमा फिजियो, कमप्युटर एनालिस्ट जस्ता आधुनिक प्रविधि नेपाली टोलीमा नियमित भएका छन्। विश्व ट्वान्टी–२० खेल्न जानुअघि नेपालले अस्ट्रेलियाबाट ब्याटिङ प्रशिक्षक क्रिस ह्यारिसलाई पनि झिकाएको थियो। नेपाल विश्व ट्वान्टी–२० मा पुग्नुलाई भिक्टोरियाका प्रशिक्षक ह्यारिसको प्रभाव पनि लिइन्छ। न्युजिल्यान्ड जस्तो विकेटमा बलरलाई सजिलो हुदैंन भन्ने बुझ्दा बुझदै बलिङ प्रशिक्षक वा विशेषज्ञ टिममा राख्न नसक्नु नेपालको कमजोरी भयो। बरु उनीहरुको स्थानमा नेपाल क्रिकेट संघले टुरिस्टको रुपमा उपाध्यक्ष विनोद मैनाली र केशव घिमिरेलाई न्युजिल्यान्ड घुम्ने अवसर जुरायो। भलै मैनालीको अगाडी 'टिम लिडर' बिल्ला राखेको होस।
आइसिसीले तोकेको र दिएको सुविधा अनुरुप नेपाली टोलीमा १५ खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो, कम्प्युटर एनालिस्ट र व्यवस्थापक छन्। त्यसबाहेक क्यानले न्युजिल्यान्ड जान मैनालीलाई २५ सय डलर, केशव घिमिरेलाई १ हजार डलर भ्रमण भत्ता दिएको छ। अनावश्यक रुपमा न्युजिल्यान्ड गएका २ टुरिस्टलाई क्यान सदस्य सञ्जिव पाण्डे 'बोरो' बताउछन्। बोरो अर्थात नचाहिने मान्छे। न्युजिल्यान्ड गएको नेपाली टोलीमा दुवै अनावश्यक थिए। मैनाली तिनै व्यक्ति हुन् जो २०१० मा एसिसी ट्रफी इलिटमा व्यवस्थापक भइ कुवेत गएर आएपछि नेपालले विना तयारी यस्तो प्रतियोगिता खेल्न नहुने हास्यास्पद तर्क राखेका थिए। ह्यारिसलाई १० दिन नेपाल बोलाउदा हवाइ खर्च बाहेक क्यानले झन्डै २५ सय डलर पारिश्रमिक दिएको थियो। बलिङ विशेषज्ञ नराखेको क्यानले दुई टुरिस्टका लागि खर्चेको रकम त्यही हाराहारीमा छ।
श्रीलंकामा १० दिन र त्यसपछि प्रतियोगिता सुरु हुनु दुई हप्ता अगाडी न्युजिल्यान्डमा गएर नेपालले अभ्यास खेल खेल्ने तालिका थियो। श्रीलंका उडनु अघिसम्म नेपालले न्युजिल्यान्डमा कस्तो टोलीसँग कति अभ्यास खेल खेल्ने निश्चित भएको थिएन्। जबकी ८ महिनाअघि बर्मुडामा डिभिजन ३ जित्दै नेपालले न्युजिल्यान्डको भ्रमण निश्चित गरिसकेको थियो। प्रतिद्वन्द्वी बलियो पाउने भए पनि श्रीलंकामा अभ्यास नेपालका लागि नियमित भइसकेको छ। बरु श्रीलंकाको साटो न्युजिल्यान्डमा केही दिन पहिला पुगेको भए नेपाली टोली त्यहाँको वातावरण अझ बढि भिज्ने मौका पाउथ्यो।
युएईसँग खेल्दा नेपाली खेलाडी थकित देखिएकाले राम्रो प्रदर्शन गर्न नसकेको समाचार न्युजिल्यान्डको थियो। निश्चय पनि नेपाल पछिल्लो ७ महिना देखि निरन्तर अभ्यासमा छ। केही वर्ष अगाडीसम्मको नेपाली क्रिकेटको क्यालेन्डर हेर्ने हो भने नेपाली खेलाडीका लागि त्यो निकै ठूलो थियो। अन्तर्राष्ट्रिय प्रतियोगिता अनुसारकै क्यालेन्डरमा चले पनि नेपालले विस्तारै गति बढाउदै लगेको भए कम्तिमा खेलाडीहरु 'फ्रेस' भएर खेल्न सक्थे। जुलाईमा इमर्जिङ टिम्स कपलाई तयारी सुरु गरेसँगैं नेपाली खेलाडीले मुस्किलले एक हप्ता लामो छुट्टि पाएका छन्। दशैंमा दिइएको ४ दिन खेलाडीहरुको सवैभन्दा लामो बिदा थियो। युएइमा विश्व ट्वान्टी–२० छनोट खेलेर आएको भोलिपल्टै कीर्तिपुरमा जर्नी टु विश्वकप प्रतियोगितामा खेल्न नेपाली टोली उतारिएको थियो। प्रतियोगिताको उद्धेश्य न्युजिल्यान्डमा हुने विश्वकप छनोटको तयारी थियो। डिभिजन ४ मै छाडेको प्रतिद्वन्द्वी सिंगापुरसँग खेलेर नेपालको तयारी अहिले पूरा हुँदैन्। प्रतियोगिताको विश्राम दिनमा पनि ट्वान्टी–२० विश्वकपको विजय जुलुशमा जाँदा खेलाडीले विश्रामको कुनै समय नै पाएनन्।
कप्तान पारस र विकेटकिपर एवं ओपनिङ ब्याटस्म्यान सुवास खकुरेल न्युजिल्यान्डमा पुगेर प्रतियोगिता सुरु हुनु ठिक अगाडी अस्वस्थ हुनु पनि विश्राम नपाउनु प्रमुख कारण हुन सक्छ। डिभिजन ३ देखि चोट ग्रस्त रहेका पारसलाई अझ बढी विश्रामको खाँचो थियो। चोटकै कारण उनले क्यानाडामा दोस्रो पटक क्लब क्रिकेट खेल्ने अवसर  गुमाएका थिए। न्युजिल्यान्डको विकेटमा पारस र सुवास सुहाउदो खेलाडी हुन सक्थे। सुवासले समूह चरणमा खेल्नै सकेनन भने पारस पूरा फिट नभए पनि ३ खेल खेले। २०१२ को विश्व ट्वान्टी–२० छनोट अघि नेपाली टोली ट्रेनमा मुम्बइ गएर १० दिनमा ९ अभ्यास खेल खेलेर फर्किएको थियो। त्यसपछि बसबाट धनगढी छैटौं राष्ट्रिय खेलकुद जानु परेको थियो। प्रशिक्षक दासानायाकेले लामो यात्रा र खेलमा समय बिताउनु परेपछि खेलाडीको शक्ति घटेकोले नेपाली टोलीले राम्रो प्रर्दशन दिन नसक्नेमा चिन्ता ब्यक्त गरेका थिए। नेपाली टोली अहिले यस्तै शिकार भएको छ।
बंगलादेशमा विश्व ट्वान्टी–२० आउन डेढ महिनामात्र बाँकी रहेको अवस्थामा न्युजिल्यान्डबाट फर्के लगत्तै नेपाली खेलाडीले बढीमा एक हप्तामात्र छुट्टि पाउन सक्छन्। लामो समय टिमसँग बिताए पछि खेलाडीहरु परिवार र साथीभाईसँग केही समय बिताउन अत्यावश्यक हुन्छ। यसले उनीहरुको मानसिक पक्षलाई पनि बलियो बनाउछ र 'होम सिक' हुनबाट जोगाउछ। सवैभन्दा ठूलो प्रतियोगिता खेल्दा नेपालको खराब प्रदर्शनले कमजोरीलाई उजगार गर्‍यो। नेपाली क्रिकेटले यिनै कमजोरीलाई सुधार्ने हो भने भविष्यलाई राम्रो संकेत पनि गर्छ। ट्वान्टी–२० विश्वकपमा पनि नेपाल पहिलो प्रयासमै पुगेको होइन।
नागरिक राष्ट्रिय दैनिकमा २०७० पुस १३ गते प्रकाशित


No comments:

Post a Comment