Wednesday, November 28, 2012

दृष्टिविहीनको विश्वकप गन्तव्य


लगातार समस्या थपिँदै जाँदा अन्तिम चरणमा पुगिसकेको ट्वान्टी–२० दृष्टिविहीन विश्वकप क्रिकेटको नेपाली तयारीमा जटिलता थपिएको छ। एकपछि अर्को समस्या थपिँदा टोलीको ध्यान मैदानमा केन्द्रित हुन सकेको छैन। आठ महिनाअघि विश्वकप लक्षित गरेर राष्ट्रिय प्रतियोगिता गर्दा जस्तै समस्याले टोली गाँजिएको छ। 
नोभेम्बर ३० देखि डिसेम्बर १४ सम्म भारतको बेङ्लोरमा हुने प्रतियोगितामा नेपालले बंगलादेशसहित श्रीलंका, दक्षिण अफ्रिका, अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, वेस्ट इन्डिज र पाकिस्तानको सामना गर्नेछ। डिसेम्बर २ मा बंगलादेशविरुद्ध हुने खेलबाट नेपालको यात्रा सुरु हुनेछ।
तस्विर : नागरिक 

Saturday, November 3, 2012

तीब्र बलरको खोजी



विनोद दास र अमृत भट्टराई चोटले पिरोलिएका थिए। उनीहरूको अनुपस्थितिमा युएईसँग गत महिना एसिसी ट्रफी इलिटको फाइनल खेल्नुअघि नेपालसँग तीब्र बलरको विकल्पमा कप्तान पारस खड्कामात्र थिए। देब्रेहाते स्पिनर शक्ति गौचनले नेपाली बलिङ प्रारम्भ गरे। 
१६ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा नेपालले पहिलो पटक स्पिनरबाट बलिङ प्रारम्भ गरेको थियो। रणनीतिक हिसाबमा भए अर्को पक्ष हुनसक्छ, पहिलो बलबाट स्पिनर लगाउने मुख्य कारणचाहिँ तीब्र बलरको अभाव नै प्रमुख थियो। चन्द्र साउद पनि चोटका कारण खेल्न नसक्ने भएपछि युएई जानुअघि नै टोलीमा तीब्र बलरको अभाव भइसकेको थियो। चन्द्र नेपालका सबैभन्दा तीब्र बलर मानिन्छन्। उनको गति १ सय ३० किलोमिटर छ। 
श्रीलंकाका पूर्व तीब्र बलर रुमेश रत्नायके नेपाली तीब्र बलरलाई सिकाउदै ।तस्विरः विकास कार्की

Tuesday, October 16, 2012

फितलो व्यवस्थापनमा विजेतालाई नगर परिक्रमा


एसिसी ट्रफी इलिटमा आयोजक युएईसँगै संयुक्त विजेता बनेको नेपाली क्रिकेट टोलीको सम्मानमा सोमबार राजधानीमा आयोजित नगरपरिक्रमा फितलो व्यवस्थापनका कारण विवादास्पद बन्यो। शुक्रबार नेपालले युएईमा नवौं प्रयासमा पहिलोपटक एसिसी ट्रफी जितेको थियो। 
नेपाल क्रिकेट संघ (क्यान) ले विजेता नेपाली टोलीलाई जनही नगद ३० हजार प्रदान गर्ने घोषणासहित सोमबार नगर परिक्रमा कार्यक्रम गरेको थियो। तर नगर परिक्रमामा क्यानका अध्यक्ष टंक आङबुहाङदेखि उपाध्यक्ष र महासचिवसम्म उपस्थित थिएनन्। क्यानका थोरै पदाधिकारीमात्र कार्यक्रममा देखिए।
तस्विर :  विकास कार्की/नागरिक

Sunday, October 14, 2012

एसिसी ट्रफी : नेपालको सवैभन्दा ठुलो उपलब्धि


युएईसँगै एसिसी ट्रफी इलिटमा संयुक्त विजेता बन्नु नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो उपाधि हो। सन् १९९६ मा सुरु भई प्रत्येक २ वर्षमा हुँदै आएको एसिसी ट्रफी नेपालले पहिलोपटक जितेको हो। यसअघि नेपाल दुईपटक फाइनल पुगेर उपाधिविमुख भएको थियो। 
एकदिवसीय मान्यताप्राप्त अफगानिस्तान, डिभिजन २ का टोली युएई र हङकङ तथा डिभिजन ३ को टोली ओमान पनि समावेश भएकाले एसिसी ट्रफी नेपालले अहिलेसम्म जितेको सबैभन्दा ठूलो प्रतियोगिता हो। संयुक्त विजेता बन्नेक्रममा नेपालले समूह चरणमा युएईलाई ४ विकेट र हङकङलाई १ सय २५ रनले पराजित गरेको थियो।
तस्विर :  एसिसी

Saturday, October 13, 2012

जित र हार बिनैको नतिजा


खेलकुदको आकर्षण यसमा हुने जित र हार स्वीकार गर्नु हो। युएईमा भएको एसिसी ट्रफी इलिट क्रिकेटको फाइनल कुनै टोलीले जितेनन् र हारेनन् पनि। 'टाइ' भएपछि नेपाल र युएई प्रतियोगिताको संयुक्त विजेता बने। 
सारजहाँ क्रिकेट मैदानमा नेपालले टस जितेपछि ब्याटिङ गर्न आएको युएईले ६ विकेट गुमाई २ सय ४१ रन बनायो। नेपालले ९ विकेट गुमाई त्यति नै रन बनाएपछि खेल 'टाइ' बन्यो। प्रतियोगिताको नियमानुसार दुवै टोली विजेता बने। विजय लक्ष्य पछ्याउँदा नेपालले अहिलेसम्मकै ठूलो स्कोर बनाए पनि एक्लो विजेता बन्न सकेन। 

Friday, October 12, 2012

युएईसँग नेपालको अन्तिम परीक्षा


युएईसँगको फाइनल खेल्नु अगाडि प्रशिक्षक पुबुदु दासानायके नेपाली टोलीको छनोटलाई लिएर अन्योलमा छन्। युएईको शारजहाँमा नेपालले शुक्रबार घरेलु टोलीसँग एसिसी ट्रफी इलिटको फाइनल खेल्दैछ। तीब्र बलरद्वय विनोद दास र अमृत भट्टराई घाइते भएकाले दासानायकेलाई टोली छनोटमा संकट परेको हो।
युएई उड्नुअघि सामान्य चोट बोकेका विनोदको प्रतियोगिता सुरु हुने अघिल्लो दिन घुँडाको चोट बल्भि्कएको थियो। बलिङ गरेर टेक्दा विनोदको घुँडामा समस्या देखियो। छाती दुखाइका कारण अमृतले मलेसियासँग सेमिफाइनलमा ३.३ ओभर बलिङ गरेपछि नै छाडेका थिए। सोही समस्याका कारण उनले कुवेत र साउदी अरेबियासँग पनि खेलेका थिएनन्। 
नेपाली खेलाडी शरद भेषावकर। फाइल तस्विर :  विकास कार्की/नागरिक

Wednesday, October 10, 2012

नेपाल शीर्ष वरियतामा यथावत्


नेपाल लगातार दोस्रोपटक एसियाली क्रिकेट परिषद् (एसिसी) को वरियतामा शीर्ष स्थानमा यथावत् रहने भएको छ। युएईमा भइरहेको एसिसी ट्रफीको सेमिफाइनलमा पुगेसँगै २०११–१२ मा नेपाल शीर्ष टोली बन्ने पक्का भएको हो। एसिसीले अंग्रेजी क्यालेन्डरअनुसार सन् २०१२ समाप्तपछि नयाँ वरियता प्रकाशित गर्नेछ।
राष्ट्रिय टोलीले खेल्ने एसिसी ट्रफी इलिट तथा युवातर्फ एसिसी यु–१९ इलिट र एसिसी यु–१६ इलिट कपमा गरेको प्रदर्शन वरियताका मापदण्ड हुन्। सबै १८ राष्ट्रको टोली नभएकाले एसिसीले महिला प्रतियोगितालाई वरियतामा भने समेट्ने गरेको छैन।