Thursday, July 25, 2013

महेश क्षेत्रीको पुनरागमन प्रयास


महेश क्षेत्री र शक्ति गौचनका आँखा आँसुले टिलटिल परेका थिए। एसिसी ट्वान्टी–२० कपको १४ सदस्यीय अन्तिम नेपाली सूचीमा दुवैको नाम थिएन। सन् २०११ यो प्रतियोगिता नेपालले १३ वर्षपछि आयोजना गर्न लागेको पहिलो प्रतियोगिता थियो। घरेलु भूमिमा आफ्ना समर्थकमाझ खेल्ने दुवैको योजना टोलीको छनोटपछि भताभुंग भए।
नेपाली छनोटको भोलिपल्ट शक्ति आफूलाई सम्हालन सकिरहेका थिएनन्। मैदानमा एकोहोरो भएर बसेका थिए। महेशको स्थिति त्यही थियो। दह्रो मुटु बनाएर महेशले खेलाडी साथीहरूसँग भने, 'केटाहरू, तिमीहरू राम्रोसँग खेल्नू। म टेलिभिजन हेर्दै नेपाली टोलीलाई चियर गरिरहने छु। फेरि कुनै दिन म टोलीमा फर्केर आउनेछु।'
तस्विरः विजय गजमेर/नागरिक

Saturday, July 20, 2013

विज्ञापन र पारसको ब्याट

माइकल चाङको स्टामिना यस्तो थियो कि इनर्जाइजर ब्याट्री जस्तो उनी लामो समयसम्म टिकिरहन्थे। अमेरिकी टेनिस खेलाडी चाङ बेसलाइनमा दौडेर होस् वा नेटमा गएर खेल्दा कहिल्यै थाकेजस्तो देखिँदैनथे। १७ वर्षमै युएस ओपन (सन् १९८९ ) को उपाधि जितेपछि चाङको यो पाटोलाई इनर्जाइजर ब्याट्रीले विज्ञापनमार्फत देखायो।
शक्ति, आत्मविश्वास, भरोसायोग्य प्रदर्शन र आक्रामक स्वभाव नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काका खुबी हुन्। यसै साता हंशराज हुलासचन्द एन्ड कम्पनीको बजाज पल्सर मोटरसाइकलसँग पारस तीन वर्षलाई अनुबन्धन भए। उनलाई 'ब्रान्ड भ्यालु' बनाउनुको मुख्य कारण पनि यही हुनसक्छ। ब्रान्ड एम्बेसडरका रूपमा उनले यो अवधिमा पल्सरको प्रवर्द्धन गर्नेछन्।

Thursday, July 18, 2013

इन्डोर नुहँदा फुटबल खेल्दै क्रिकेटर

नियमितजसो राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू कीर्तिपुर त्रिवि मैदानमा खेल्छन्। क्रिकेट नभएर बुधबार उनीहरूको फुटबल खेल्ने तालिका बन्यो। क्रिकेट भए पनि बन्द प्रशिक्षणमा खेलाडीलाई 'फ्रेस' र फिट राख्न फुटबल, भलिबल, खोखोसहितका खेल खेलाउने गरिन्छ।
नेपाली क्रिकेट टोलीलाई अहिले फुटबल खेल्न दिनुको कारण फरक छ। सिंगापुरमा अर्को महिना हुने भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसम्मिलित एसिसी इमर्जिङ टिम्स कपलाई तयारी सुरु भएको साता बितिसक्यो। इन्डोर सुविधा नहुँदा मनसुनका कारण खेलाडीले मैदानमा बल र ब्याट समात्ने अवसर पनि पाएका छैनन्।

Saturday, July 6, 2013

'एक्सपोजर' पाउदै नेपाली क्रिकेटर

नेपालले एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताका लागि २२ सदस्यीय प्रारम्भिक टोलीको छनोट गरिसकेको छ। त्यसमध्ये ५ खेलाडी विदेशमा खेलिरहेका र प्रशिक्षण लिइरहेका छन्। सिंगापुर हुने प्रतियोगिताका लागि केही खेलाडी सोझै त्यतै पुग्ने छन् भने केही छोटो समयका लागि काठमाडौं आएर टोलीसँगै जानेछन्।
गत वर्ष नेपाली क्रिकेटको स्वर्णिम काल थियो। प्रशिक्षक पुबुदु दासानायकेले नेपाली क्रिकेटको ठूलो छलाङको बाटो खोल्ने अभियान थालनी गरे। नेपाली खेलाडीलाई विदेशी लिगमा खेलाउनु सफलताका प्रमुख आधार थिए। फरक क्रिकेट अनुभवले खेलाडी निखारिएका थिए। 'एक्सपोजर' नपाउनु नेपाली क्रिकेटको प्रमुख समस्या भएको पुष्टि भएको थियो। यस पटक पनि ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिल मण्डल, प्रदीप ऐरी, नरेश बुढाऐर र राजेश पुलामी विदेशमै खेलिरहेका छन्।
एसेज शृंखलाको तयारीमा रहेका अस्ट्रेलियाका कप्तान माइकल क्लार्कसँग राजेश पुलामी

Friday, June 28, 2013

विश्व च्याम्पियनसिपमा दीपक विस्टको लक्ष्य

दीपक विष्टले खेलाडीका रूपमा तेक्वान्दोबाट धेरै पदक पाएका छन्। दक्षिण एसियाली खेलकुदमा लगातार चार स्वर्ण र एसियाली खेलकुदमा पाएका दुई कांस्यले उनलाई नेपाली खेलकुदमा सबैभन्दा सफल खेलाडी बनाएको छ।
सन् २०१० मा बंगलादेशमा दक्षिण एसियाली खेलकुदको पछिल्लो स्वर्ण जितेयता उनले चोटका कारण खेलाडी जीवनलाई निरन्तरता दिन सकेनन्। मेक्सिकोको पुइब्लामा असार ३१ देखि साउन ६ सम्म हुने विश्व तेक्वान्दो च्याम्पियनसिपमा आफूले खेलाडी जीवनबाट पाउन नसकेको पदक दिलाउने दीपकको लक्ष्य छ। उनले च्याम्पियनसिप खेल्ने खेलाडीलाई निखारिरहेका छन्।

Friday, June 7, 2013

नेपाललाई आइसिसीको विशेष अनुदान, विश्वकप तयारीलाई १ करोड ६० लाख

विश्वकप क्रिकेट तयारीलाई नेपालले विशेष आर्थिक सहयोग पाएको छ। विश्व क्रिकेटको सर्वोच्च संस्था आइसिसीले विश्वकप छनोट चरण खेल्नेक्रममा रहेका नेपालसहितका राष्ट्रलाई विशेष रकम दिएको हो। आइसिसीको विकास अनुदान नीतिअन्तर्गत 'हाई पर्फमेन्स ग्रान्ट' शीर्षकमा नेपालले यो रकम पाएको हो।
जनवरीमा न्युजिल्यान्डमा विश्वकप छनोट चरणका खेल्ने नेपाललाई आइसिसीले तयारी खर्च भनेर एक लाख ७५ हजार अमेरिकी डलर उपलब्ध गराएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष टंक आङबुहाङले बताए। आइसिसीले एसोसिएट एन्ड एफिलिएट राष्ट्रमा ९ देखि १२ औं स्थानका टोलीलाई यो रकम उपलब्ध गराउँछ। वरियतामा शीर्ष ८ स्थानमा रहेका राष्ट्रले यो शीर्षकमा ३ लाख ५० हजार डलर पाउँछन्।

Wednesday, May 29, 2013

हिलोमा चिप्लिएको नेपाली क्रिकेट

झरीमा फक्रने नेपाली क्रिकेट तालिका यसपल्ट पनि अछुतो रहेन। पछिल्लो एक दशकलाई हेर्ने हो भने वर्षायामसँग नेपाली क्रिकेटको सम्बन्ध प्रगाढ बन्दै गएको छ। सोमबार सम्पन्न वाइवाइ महिला यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता यसैको कडी थियो।
भदौदेखि वैशाखसम्म क्रिकेट खेल्न उपयुक्त समय मानिन्छ। जेठदेखि चार महिना लगभग नेपाली क्रिकेट ठप्प नै हुने गर्छ। गत वर्षलाई छाड्ने हो भने नेपाली क्रिकेट झन्डै उल्टो चलिरहेको छ। जेठसँगै सुरु हुने झरी र त्यसमा जोडिने मनसुनमा नेपाली क्रिकेट भिज्दै आएको छ। यही समयमा प्रतियोगिता आयोजना गर्नुपर्ने बाध्यता देखाइए पनि निश्चित क्यालेन्डर नहुँदा नेपाली क्रिकेट वर्षामा चिप्लिने गरेको छ। 
फाइल तस्विर : विकास कार्की