Saturday, March 1, 2014

'क्रिकेटको चोट ग्रस्त वर्ष'

नरेश बुढाएर यसो फर्किएका मात्र के थिए, जितेन्द्र मुखियाले त्यही मौकामा बल समात्न भनेर उनलाई फाल्न पुगे। त्यही बल नरेशको टाउकोमा लाग्यो। उनको आँखीको डिल फुट्यो। नरेश रगताम्मे टाउको समात्दै मैदान बाहिर निस्किए।
'फ्रिक' दुर्घटनापछि शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विश्व ट्वान्टी–२० क्रिकेटको तयारीमा अभ्यासरत नेपालको गति केही समय रोकिन पुग्यो। मलेसियाबाट अघिल्लो दिन मात्र फर्किएका एसभी सुभ्रा मैदान के पुगेका थिए, नरेश टाउको समाउँदै उनीसमक्ष पुगिहाले। सुभ्राले ब्यान्डेजले नरेशको टाउको बेरिदिए। केही समयको विश्रामपछि नरेश फेरि मैदान पसे। 
नरेश बुढाएर । तस्विरः विजय राइ/नागरिक


बाउन्ड्री लाइननजिकै आइपुगेका कप्तान पारस खड्काले भने, 'सन् २०१४ नेपाली क्रिकेट खेलाडीका लागि चोटग्रस्त वर्ष हुने भयो।' बिहीबारमात्र घुँडाको चोटका कारण अलराउन्डर पृथु बाँस्कोटा विश्व ट्वान्टी–२० बाट बाहिरिएका थिए। न्युजिल्यान्डमा अघिल्लो महिना एकदिवसीय विश्वकप छनोट खेल्दा लागेको चोटमुक्त हुन नसकेपछि पृथुको बंगलादेशमा विश्वकप खेल्ने सपना अधूरो बनेको छ।
जनवरीमा न्युजिल्यान्डमा पारस स्वयम् र विकेटकिपर तथा ओपनिङ ब्याट्सम्यान सुवास खकुरेल घाइते हुँदा नेपालले त्यसको ठूलो मौका चुकाउन पुग्यो। करङमा लागेको चोटका कारण स्कटल्यान्डसँगको खेल गुमाएको पारसले बाँकी खेल पूरा फिट नभएर पनि खेल्नुपर्‍यो। सुवास  'डेङ्गु फिभर' का कारण एक खेल खेल्न असमर्थ रहे। न्युजिल्यान्डमा नेपालले अन्तिम खेलमा युगान्डालाई पराजित गर्नु अघि सबै खेल हार्दा चोट नै मुख्य विषय बन्यो।
'खेलमा चोट भनेको यस्तो कुरा हो, जसलाई नियन्त्रण गर्न सकिँदैन,' टोलीका प्रशिक्षक पुबुदु दासानायकेले नरेशको पछिल्लो चोट र नेपाली खेलाडी चोटबाट पीडित प्रसंगमा भने, 'छोटो समयमा हामीले धेरै क्रिकेट खेल्यौं। नोभेम्बरयता मात्र दुई ठूला अन्तर्राष्ट्रिय र एक घरेलु प्रतियोगिता खेल्नुका साथै अन्य तयारी पनि गरेका छौं। अन्तर्राष्ट्रिय स्तरमा जुनसुकै खेलाडीको खेल्ने तालिका यस्तै नै हुन्छ। तर म यस्तो तालिकामा खेलाडीहरू चाँडै अभ्यस्त भएको हेर्न चाहान्छु।'
चोटलाई खेलको एक हिस्सा मान्दै उनले भने, 'जब शरीर यस्तो तालिकामा अभ्यस्त हुनथाल्छ, सबै ठीक हुँदै जान्छ। यस्तो चोटलाई जित्न हामी यो स्थितिबाट अगाडि बढ्न जरुरी छ। हामीलाई जब चोट लाग्छ, त्यस्तो समयमा आराम लिन चाह्यौं भने यसले पक्कै फाइदा गर्ने छैन। त्यसैकारण हामी निरन्तर अगाडि बढ्न जरुरी छ। केही समयपश्चात शरीर अभ्यस्त भइसक्नेछ।'

नेपाली खेलाडीको चोटको शृंखला गत वर्ष मेमा बर्मुडामा विश्व क्रिकेट लिग डिभिजन ३ बाट सुरु भएको हो। काँधको लिगामेन्ट तन्किए पनि पारसले इटालीसँग समूह चरणको अन्तिम खेल र युगान्डाविरुद्ध फाइनल खेलेका थिए। जसको कारण उनले क्यानाडामा ओन्टारियो क्रिकेट क्लबबाट लगातार दोस्रो वर्ष खेल्ने अवसर गुमाए। त्यही चोटका कारण अगस्टमा सम्पन्न एसिसी इमर्जिङ टिम्स कपमा पूरा फिट नभए पनि पारस मैदानमा उत्रिएका थिए।
कीर्तिपुरको त्रिवि मैदानमा प्रशिक्षणमा फुटबल खेल्दा उनको दाहिने घुँडामा लागेको चोट पृथुलाई लागेको पहिलो बज्रपात थियो। उक्त चोट पूर्णत फुटबल खेलाडीलाई मात्र पर्न सक्छ। एमआरआई रिपोर्टमा उनको लिगामेन्ट पूर्ण च्यातिएको देखियो। फिजियोहरूको क्लिनिकल्ली कोरिलेट गर्दा पृथुको चोट सोचेभन्दा कम गहिरो भेटियो। त्यसअघि पृथुले नोभेम्बरमा हुने विश्व ट्वान्टी–२० छनोट गुमाइसकेका थिए।
न्युजिल्यान्डमा शरद भेषावकरसँग रन लिनेक्रममा जुध्दा पृथुको दाहिने घुँडा फेरि बल्भि्कएको थियो। पछिल्लो घटनापछि पृथु चोटग्रस्त घुँडाको शल्यक्रिया गर्ने तयारीमा छन्। त्यही विषयमा फिजियो सुभ्रा शुक्रबार पृथुसँग परामर्श गर्दै थिए। पृथुसँगै रहेका नरेशलाई सुभ्राले भने, 'तिमीहरूको के के समस्या छ, देखाई हाल। भोलि एकैपटक सबैले हात अगाडि बढाउँदै चोट देखाउन खोजे मलाई मिलाउन गाह्रो हुन्छ।'
लगातारको खेलले नेपाली खेलाडी चोटबाट पूर्ण रूपमा निको हुन सकेका छैनन्। ब्रेकका क्रममा फिजियो सुभ्रासामु आइपुगे, उपकप्तान ज्ञानेन्द्र मल्ल। उनको घुँडामा समस्या थियो। सुभ्राले उनलाई घुँडा तन्काएर तल–माथि गरिरहन निर्देशन दिए। ज्ञानेन्द्रको नसकिँदै सोमपाल कामी ब्यान्डेजले बेरिएको हत्केला देखाउन सुभ्रासामु पुगिसकेका थिए।

नागरिक राष्ट्रिय दैनिकमा २०७० फागुन १७ गते प्रकाशित

No comments:

Post a Comment