Thursday, July 26, 2012

'खाली खुट्टा दौडिनेमा हामी नेपाली मात्र'

खेलकुद नतिजा मात्र होइन। कुनै यस्तो क्षणको दृश्यले कहिलेकाही जीवनभर बिर्सन नसक्ने बनाइदिन्छ। यो क्षण कुनै खेलाडीका लागि मात्र नभई पूरै खेलकुदमै अमर हुन्छ। सन् १९५८ को टोकियो एसियाली खेलकुदमा म्याराथनमा प्रतिस्पर्धा गरेका भूपेन्द्र सिलवालले एउटा त्यस्तै क्षणको सम्झना गरे, जुन नेपाली खेलकुदको इतिहास बन्यो। खाली खुट्टाले दौड्दा रापले पोलिएको सिलवालको पैतालामा एक जापानी महिलाले पानि खन्याइदिएर मलम लगाइदिइन्। त्यही तस्बिर नेपाली खेलकुदकै चर्चित तस्बिर बन्यो। 

फाइल तस्बिरः ओलम्पिक संग्रहालय

Thursday, July 19, 2012

समस्याग्रस्त तयारी

अन्तर्राष्ट्रिय स्पर्धामा खेल्न जानुअघि नेपाली क्रिकेटसँग समस्यामात्र हुन्छ। आइसिसी यु–१९ विश्वकप र विश्व क्रिकेट लिग डिभिजन ४ जस्ता मुख्य प्रतियोगिता अघि नेपालसँग योजना धेरै छन्। मनसुनले गर्दा अभ्यास गर्न नपाउनु र राष्ट्रिय प्रतियोगिताबिनै मुख्य प्रतियोगिता खेल्न लाग्नु नेपालको यसपटकका मुख्य समस्या हुन्। 
साउने झरीले १० दिनदेखि बन्द प्रशिक्षणमा रहेको यु–१९ टोलीले राम्रोसँग अभ्यास गर्न पाएको छैन। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानको विकेट कभरले छोपिएको छ। बाँकी मैदान पानी जमेर हिलो भएको छ। अस्ट्रेलियामा अगस्ट ११ बाट सुरु हुने यु–१९ विश्वकपको समय छोट्टिदै आउँदा नेपाली टोलीको जिममै धेरै समय सीमित छ। 

Thursday, July 12, 2012

तीन बाइककी मालिक्नी

'मलाई त दोस्रो जुनी जस्तो लागिरहेको छ,' भर्खर १६ टेकेकी रमिला तण्डुकारले ३ वटा मोटरसाइकल जितिसकिन्, त्यो पनि भलिबल खेलेर। आफ्नो सफलतामा रमिला आफैलाई विश्वास छैन। वास्तविकता भने उनले खेलेरै पछिल्लो तीन साल १–१ मोटरसाइकल पुरस्कार पाउँदै आएकी छन्।

उनलाई मोटरसाइकल चलाउन आउँदैन। लाइसेन्स लिन उमेर पुगेको छैन। पल्सर स्पोर्टस अवार्डमा लोकप्रिय खेलाडी बनेपछि रमिलाले पछिल्लो मोटरसाइकल जितिन्, जुन उनले बुवालाई दिइन्। दुई वर्षअघि छैटौं ब्लु स्काई ढोरपाटन कपमा उत्कृष्ट खेलाडी भई पहिलो पटक टिभिएस स्कुटर जित्दा रमिला १४ वर्षकी थिइन्। सातौं संस्करणमा पनि उत्कृष्ट भइन् र   अर्को स्कुटर पाइन्।

Thursday, July 5, 2012

मनकारी रतन


व्यवसायका हिसाबले एक उद्योगी भए पनि रतन टण्डनको परिचय बढी खेलकुदमा खुल्छ। टन्डनलाई नेपाली खेलकुदको एक दानवीरभन्दा फरक पर्दैन। मध्यपश्चिमको शान राख्दै चौथो राष्ट्रिय खेलकुद नेपालगन्जमा सम्पन्न गर्दा होस् वा गत वर्ष दक्षिण एसियाली भारोत्तोलन च्याम्पियनसिप गर्दा। दुवै पटक टण्डनले व्यक्तिगत लगानी गरेका थिए।
झन्डै डेढ दसक अवरुद्ध राष्ट्रिय खेलकुदको चौथो संस्करण आयोजना गर्दा उनले व्यक्तिगत पहलमा लाखौं खर्च गरेको देख्नेहरू अझै जिब्रो टोक्छन्। 'लगानी गरेपछि त्यसको प्रतिफल अवश्य पाइन्छ,' बुधबार नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस विशेष अवार्ड टन्डनले पाएपछि भने, 'मैले अहिले त्यसको प्रतिफल पाएको छु।'

Wednesday, July 4, 2012

शिवराम र तारादेवी उत्कृष्ट


लोकप्रिय खेलाडी रमिला तन्डुकार, वर्षका उत्कृष्ट खेलाडीद्धय शिवराम श्रेष्ठ र तारादेवी पुन। तस्विर विकास कार्की
गल्फका शिवराम श्रेष्ठ र भारत्तोलनकी तारादेवी पुन पल्सर स्पोर्टस अवार्डमा वर्षका उत्कृष्ट खेलाडी बने। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको १० संस्करणमा गल्फ र भारत्तोलन खेलाडीले मनोनयनमा परेको विधामा पहिलो पटक उपाधि हात पारे।
क्रिकेटका जगत टमाटा र पृथु बाँस्कोटा क्रमस वर्षको उत्कृष्ट प्रशिक्षक र युवा खेलाडीमा चुनिए। भलिबलकी रमिला तन्डुकार लोकप्रिय खेलाडी बनिन्। नेपाल भारत्तोलन संघका अध्यक्ष रतन टन्डनले विशेष अवार्ड, एथ्लेटिक्सका शर्मिला लामिछाने प्यारा एथ्लेट तथा भुपेन्द्र सिलवाललाई लाइफ टाइम एचिभमेन्ट अवार्ड पाए।