Sunday, December 7, 2014

सिड्नी थन्डरमा नवीनको ट्रायल

कुनै समय यस्तो थियो जतिखेर चितवनका तीन खेलाडी राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा हुन्थे। कुश गुरुङ, सुदीप पिया र सचिन गुप्ता सन् २००० को एसिसी ट्रफीमा स्थान पाउन राजधानीमा राष्ट्रिय टोलीको ढोका ढकढक्याइरहेका थिए।
त्यसपछि चितवनका कुनै खेलाडी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणसम्म आइपुगेका छैनन्। उनीहरूका लागि आफ्नो क्षेत्र भैरहवा (तत्कालीन) मै स्थान बनाउनु पनि ठूलो उपलब्धि भइसकेको थियो। यसैक्रममा नवीनले नेपाली क्रिकेटमै ठूलो प्रभाव पारिरहेको भैरहवा क्षेत्रमा स्थान बनाएको थिए। ६० को दशकको सुरुआतमा चितवनका लागि यही नै ठूलो सफलता बन्यो।
नवीन गुरुङ (बिचमा) सँगैं अफगानिस्तानका हमिद खेरखाह र दक्षिण अफ्रिकाका स्कट कोपरफिल्ड। तस्बिर साभारः डेलिटेलिग्राफ डटकम
नवीन अर्का युवा क्रिकेटर वसन्त रेग्मीसँग भैरहवाको ओपनिङ ब्याट्सम्यानको जोडीमा देखा परे। २०६१ सालको राष्ट्रिय प्रतियोगितामा नवीनले वसन्तसँग बैतडीविरुद्ध पहिलो विकेटमा १ सय १६ रनको साझेदारी गरे, जुन त्यतिखेरको राष्ट्रिय कीर्तिमान थियो। निश्चल पाण्डे नेपालबाट उमेर समूहमा चम्किएयता सुस्ताएको 'चितवन क्रिकेट' अहिले तिनै नवीनका कारण चर्चामा छ।
गत साता अस्ट्रेलियाको बिग बास टोली सिड्नी थन्डरमा नवीनको ट्रायलका कारण नेपाली क्रिकेट चर्चामा रह्यो। भैरहवाको क्षेत्रीय टोलीमा चितवनबाट समावेश हुँदा फलामे ढोका भत्काएजस्तो अनुभव बटुलेका नवीन सिड्नी थन्डरको मैदानसम्म पुग्नुको बखान गरेर थाक्दैनन्। भन्छन्, 'यो हलिउडको भन्दा राम्रो कथा हो।'
सिड्नी थन्डरसम्मको यात्रा
गत वर्षदेखि सिड्नीमा रहेको नेपाली समुदायले थन्डर नेसन कप आयोजना गर्दै आएको छ। नेप्लिज क्रिकेट एसोसिएसन अस्ट्रेलिया (एनसिएए) ले आयोजना गर्ने प्रतियोगितामा नेपाली समुदायका लालीगुराँस, वारियर्स, वेस्ट युनाइटेड, लुम्बिनी, सगरमाथा, डायनामिक बुढानीलकण्ठ, डाँफे–११, बाउन्ड्री लाइन, हाम्रो युथ, चितवन राइनो र सकिएन क्रिकेट क्लब गरी ११ टोलीले सहभागिता जनाएका थिए। नमस्ते लालीगुँरास क्रिकेट क्लबले डाँफे–११ लाई पराजित गर्दै उपाधि जितेको थियो।
सिड्नी थन्डरले प्रतियोगिता गर्न मैदान, अम्पायर, बललगायत आवश्यक सामग्री उपलब्ध गराएको थियो। त्यसपछि थन्डरले नेपाली समुदायको प्रतियोगिताका आधारमा ५ खेलाडीलाई प्रारम्भिक ट्रायल लिएको हो। नवीनसँगै कृतन ताम्राकार, जीवन श्रेष्ठ, आशिष श्रेष्ठ, दीपु सिंहले ट्रायल दिएका थिए।
थन्डरले त्यस्तो ट्रायल सिड्नीमा रहेका भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, दक्षिण अफ्रिकी समुदायका खेलाडीसँग पनि लिएको थियो। यसबाट अगाडि बढ्दै नवीन शीर्ष ८ मा पुगे। 'मेरो ब्याटिङ र फिल्डिङ राम्रो भएको थियो,' ३३ वर्षे नवीनले नागरिकसँग भने। अन्तिम चार जना छान्नेक्रममा भने नवीन बाहिरिए।
नवीनलाई यही अनुभव जिन्दगीको अमूल्य उपहार बन्यो। एएनजेड रंगशालामा अस्ट्रेलियाका पूर्वक्रिकेटर एवं थन्डरका छनोटकर्ता मार्क वाले नेटमा आएर हेरेपछि ट्रायलका खेलाडीबाट उत्कृष्ट छनोट गरेका थिए। थन्डरको उद्देश्य सिड्नीमा रहेको विभिन्न समुदायबाट छानेका खेलाडीलाई आफ्नो प्रमुख खेलाडीसँग प्रशिक्षण गराउनु हो। नवीनका अनुसार थन्डरको अर्को लक्ष्य फरक फरक समुदायबाट समर्थक बढाउनु पनि हो।
६ वर्षदेखि श्रीमती रोमी र १८ महिने छोराका साथ नवीन अस्ट्रेलियामा छन्। दैनिक साढे ७ घन्टा पुस्तकालयमा काम गरेर शनिबार र आइतबार उनी क्रिकेट खेल्ने भ्याउँछन्। आइतबार सधैंजसो म्याच खेल्नु अस्ट्रेलियामा संस्कारजस्तै रहेको उनी बताउँछन्। चितवन क्रिकेट क्लबका पूर्वखेलाडी नवीनले नेपालमा रहँदा आफ्नो क्षेत्रबाट दुई यु–१९ राष्ट्रिय र चार राष्ट्रिय प्रतियोगिता खेलेका थिए।
अस्ट्रेलियामा यसपल्ट उनले नेप्लिज क्रिकेट एसोसिएसन (एनसिएए) बाट खेलेका थिए। यसअघि उनी लालीगुराँसबाट खेल्थे। नवीनसँगै लालीगुराँस क्लबले थन्डर नेसन्स कपको फाइनल पुग्दै सिड्नीमा नेपाली समूदायमा अर्को खुसी ल्याएको थियो। भारतीय, पाकिस्तानी, बंगलादेशी र अफगानी समुदाय टोलीलाई हराएको नेपाली च्याम्पियन लालीगुराँसले अर्को महिना हुने फाइनलमा श्रीलंकाली समुदायको टोलीसँग फाइनल खेल्नेछ। नवीनले यो टोलीबाट आर्जन अर्याल, आशिष पाण्डे, सरोज खतिवडाले पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेका छन्।
चितवन जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष एवं सदस्य नीरज श्रेष्ठका अनुसार पछिल्ला सफलताले अस्ट्रेलियामा नेपाली समुदायलाई क्रिकेटको हिसाबमा हेर्ने दृष्टिकोणमा ठूलो परिवर्तन आएको छ। एनसिएएका अजय क्षेत्रीलाई अस्ट्रेलियाको प्रान्तीय टोली न्यु साउथ वेल्सको सल्लाहकार सदस्यमा नियुक्त गरिएको उनले बताए। सिड्नीमा एनसिएएलाई स्थापित गराउन क्षेत्रीकोे मुख्य भूमिका रहेको थियो।
नागरिक राष्ट्रिय दैनिकमा २०७१ मंसिर २१ गते प्रकासित


No comments:

Post a Comment