Wednesday, November 28, 2012

दृष्टिविहीनको विश्वकप गन्तव्य


लगातार समस्या थपिँदै जाँदा अन्तिम चरणमा पुगिसकेको ट्वान्टी–२० दृष्टिविहीन विश्वकप क्रिकेटको नेपाली तयारीमा जटिलता थपिएको छ। एकपछि अर्को समस्या थपिँदा टोलीको ध्यान मैदानमा केन्द्रित हुन सकेको छैन। आठ महिनाअघि विश्वकप लक्षित गरेर राष्ट्रिय प्रतियोगिता गर्दा जस्तै समस्याले टोली गाँजिएको छ। 
नोभेम्बर ३० देखि डिसेम्बर १४ सम्म भारतको बेङ्लोरमा हुने प्रतियोगितामा नेपालले बंगलादेशसहित श्रीलंका, दक्षिण अफ्रिका, अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, वेस्ट इन्डिज र पाकिस्तानको सामना गर्नेछ। डिसेम्बर २ मा बंगलादेशविरुद्ध हुने खेलबाट नेपालको यात्रा सुरु हुनेछ।
तस्विर : नागरिक 


११ दिनको छोटो बन्द प्रशिक्षण ५ दिन मैदान अभावले प्रभावित हुन पुग्यो। विश्वकपलाई नियमित अभ्यास गर्दै आएको पुल्चोक इन्जिनियरिङ क्याम्पस मैदानमा अर्को प्रतियोगिता जुधाएपछि नेत्रहीन क्रिकेट खेलाडी छेउकै बालुवाको थुप्रोमा अभ्यास गर्न बाध्य भए। बालुवामा खेल्दा धुलो उडेपछि त्यो पाँच दिन नेपाली टोलीको अभ्यास थप प्रभावित बन्यो। नेत्रहीन क्रिकेटमा प्रत्येक बलमा बलर, विकेटवि्कपर हुँदै ब्याटसम्यानले बोल्नुपर्ने। बालुवाको धुलो प्रत्येक बलमा सिधै मुखभित्र। जसका कारण मास्क लगाएर खेल्ने प्रयास पनि प्रत्येक बलमा बेाल्नुपर्ने कारण सुहाउँदो भएन। 
टोलीको तयारी प्रभावित गर्ने गरी गरिएको स्कुलले प्रतियोगिता सकिएपछि नेत्रहीन टोलीले मैदान त पायो, तर मुख्य विकेट पाएनन्। नेपाल क्रिकेट संघ (क्यान) ले मुखैमा आइरहेको राष्ट्रिय प्रतियोगिताको बहानामा छेउको विकेटमात्र दियो। पूर्ण तयारी अवस्थामा नरहेको छेउको विकेट समतल नहुँदा बलरले फालेको बल धेरैजसो वाइड हुँदा अभ्यास थप प्रभावित बन्यो।
नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे हरेक पक्षलाई सकारात्मक रूपमा लिन्छन्। 'भोलि कसैले बालुवामा अभ्यास गरेर विश्वकप खेलेको प्रसंग कोट्यायो भने हामी इतिहास बन्नेछौं,' उनी भन्छन्, '३५ हजार जम्मा गरेर सुरु भएको नेपालको नेत्रहीन क्रिकेट अहिले ११ लाख रुपैयाँ खर्च गरेर विश्वकप खेल्ने अवस्थामा पुग्नु अर्को इतिहास हो।' दसैं–तिहारको चहलपहलले टोलीको बन्द प्रशिक्षण लामो हुन सकेन। आर्थिक अवस्थाले संघलाई बन्द प्रशिक्षण लम्ब्याउने अनुमति दिएन। 
'आयोजकले खान र बस्न मात्र दिन्छ, त्यसबाहेक सबै खर्च आफै बेहोर्नुपर्छ। ११ लाखजति खर्च लाग्छ। जाँदाको हवाई खर्चमात्र ६ लाख छ,' घिमिरेले भने। खेलकुद मन्त्रालयले नेत्रहीन क्रिकेटलाई वार्षिक ५ लाख रुपैयाँ प्रदान गर्ने गर्छ। त्यसको एकतिहाइ बजेटअन्तर्गत १ लाख ६६ हजार विश्वकप तयारीमै खर्च गरिसकेको घिमिरेले जानकारी गराए। विश्वकपलाई विशेष रूपमा कुनै बजेट दिइएको छैन। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ३५ हजार सहयोग गर्ने भने घिमिरेले सुनेका छन्। क्यानले ड्रेस, मैदान र एकथान किट दिएको उनी बताउँछन्।
व्यापारिक संघ–संस्थासँग चिनजान नहुँदा विश्वकपअघि यस्तो समस्या आउने उनले पहिल्यै बुझिसकेका थिए। घिमिरेले भने, 'त्यसैले पहिले बचत गरेको पैसा खर्च गरेर विश्वकपमा टोली पठाउन लागेका हौं। केही संघसंस्थाले सानोतिनो सहयोग गरेका छन्।'
आर्थिक अभावकै कारण नेपाली टोली विश्वकप सहभागितापछि चार दिन लगाएर रेलमा फर्किने योजना छ। आर्थिक अभावकै कारण पञ्जाब क्रिकेट संघले तयारीलाई निमन्त्रणा गरे पनि जान नसकेको घिमिरेले बताए। उनले  पञ्जाबमा नेपालबाट सिधा हवाई सुविधा नहुँदा जान नसकेको प्रस्ट्याए। 'रेलमा जाँदा विश्वकपमा खेल्न आउने टोलीले हेप्ने डर हुन्छ। त्यसबाहेक खेलाडी थाक्ने पनि,' उनले भने।
तीन खेल जित्ने लक्ष्य
सन् २००८ र २०१० को पाकिस्तान भ्रमणपछि नेपाल पहिलोपटक विदेशी भूमिमा खेल्ने तयारीमा छ। 'पाकिस्तानमा गरेको प्रदर्शनका आधारमा हामीले विश्वकपमा तीन खेल जित्ने सम्भावना देखिन्छ,' घिमिरेले भने, 'अन्य टोलीबारे खासै थाहा छैन। अस्ट्रेलिया र इङ्ल्यान्ड आफैमा बढी खेल्छन्। त्यसैले उनीहरू राम्रो हुनसक्छ। पाकिस्तानले इङ्ल्यान्ड, अस्ट्रेलियालाई सजिलै पराजित गर्ने गरेको छ, त्यो तुलनामा हामीले पाकिस्तानसँग राम्रो खेलेका छौं। त्यही भएर हाम्रो सम्भावना देखिएको हो। भारत त्यसै राम्रो टोली हो, त्यहाँ क्रिकेट भनेको सबथोक हो।'
कीर्तनको अभाव
नियमित कप्तान कीर्तन श्रेष्ठबिना नेपालले विश्वकपमा प्रतिस्पर्धा गर्नेछ। बन्द प्रशिक्षण सुरु हुने अघिल्लो दिन भृकुटीमण्डपमा आफै अभ्यास गर्दा किर्तनको कुर्कुच्चाको हाड भाँचियो। उनको स्थान सुदूरपश्चिमका पदमबहादुर बडेलाले लिएका छन् भने कप्तानीको जिम्मेवारी जयसागर गिरीले पाए। पाकिस्तानी भ्रमणमा गिरी उपकप्तान थिए। पहिलोपटक विश्वकप खेल्न जान लागेको नेपाली टोलीमा घोषित उपकप्तान विक्रमबहादुर राना सोही भूमिकामा हुनेछन्। विक्रमले दुई महिनाअघि लन्डनमा सम्पन्न पारा ओलम्पिकको एथलेटिक्समा प्रतिस्पर्धा गरेका थिए।
'किर्तन घाइते हुनु हाम्रा लागि ठूलो धक्का हो। किर्तन भए हाम्रो टोली फरक हुन्थ्यो। उनलाई क्रिकेटबारे सबै थाहा छ, उनी हुँदा प्रशिक्षकले खासै दुःख गर्नु पर्दैन्थ्यो,' अध्यक्ष घिमिरे भन्छन्, 'उनले प्राय खेलमा अर्द्धसतक बनाउँथे। किर्तन भएको भए हामीले वेस्ट इन्डिज, बंगलादेश र श्रीलंकालाई सजिलै पराजित गर्थ्यौं। अब केही संघर्ष गर्नुपर्छ होला।' 
कप्तानको रिभर्स स्विप
सोमबार अभ्यासका क्रममा कप्तान जयसागर आम खेलाडीले जस्तै रिभर्स स्विप प्रहार गरिरहेका थिए। ६ वर्षअघि बस दुर्घटनामा दुवै आँखा गुमाएका गिरीले भने, 'म रिभर्स स्विप मजासँग खेल्छु। आँखा गुम्नु अघि मैले विदेशी खेलाडीले रिभर्स स्विप हानेको देखेको थिएँ। भारतका राहुल द्रविडले रिभर्स स्विप हानेको मलाई मनपर्छ। त्यसैले मलाई रिभर्स स्विपको बारे थाहा छ।' उनले अभ्यासमा सबै खेलाडीले राम्रो गरेको बताउँदै मैदानमा हुने प्रदर्शन अझै प्रतीक्षाको विषय रहेको बताए।
बी–१ मा समस्या
अध्यक्ष घिमिरे, कप्तान गिरी र प्रशिक्षक गंगाप्रसाद पौडेलले नेपाली टोलीको मुख्य समस्या बी–१ मा देखेका छन्। पूर्ण दृष्टिविहीनलाई बी–१ भनिन्छ। 'लगभग तयारी पूरा भयो, तर बी–२ र बी–३ को तुलनामा हामी बी–१ मा कमजोर देखिएका छौं,' घिमिरेले भने, 'बलिङ र फिल्डिङ हाम्रो राम्रो छ।' बी–२ ले ५ मिटरअगाडि सम्म बल हल्लेको अनुभव गर्छन् भने बी ३ ले २० मिटरसम्म। पहिलो रोजाइमा बी–१ का ४, बी–२ का ३ र बी–३ का ४ जनालाई खेलाउनुपर्छ।
प्रशिक्षक पौडेल बी–१ मा समस्या देखिएका कारण तयारी सन्तोषजनक हुन नसकेको बताउँछन्। 'खेलाडीलाई जुन सिकाएका हौं, त्यसमा टाइमिङ मिलाउन सकिएको छैन। अरु सबै पाटोमा राम्रो छ,' उनले भने।
घिमिरेको उम्मेद्वारी
अध्यक्ष घिमिरेले विश्व नेत्रहीन क्रिकेट परिषद्अन्तर्गत एसियाली विकास निर्देशक पदमा उम्मेद्वारी दिएका छन्। डिसेम्बर २८ र २९ मा हुने परिषद्को साधारण सभा र अधिवेशनले यसको टुंगो लगाउने छ। घिमिरे यसअघि पनि २ वर्ष सोही पदमा थिए। घिमेरको प्रस्तावकमा पाकिस्तान र दक्षिण अफ्रिका समर्थक छन्। उनले भने 'मेरो उम्मेद्वारी परेपछि श्रीलंकाले फिर्ता लिइसकेको छ। त्यसैले निर्विरोध हुने सम्भावना पनि छ।' 
नागरिक राष्ट्रिय दैनिकमा मंसिर १३ गते प्रकासित

No comments:

Post a Comment