Thursday, December 13, 2012

परम्परागत ढर्रामै घरेलु क्रिकेट

तस्बिर :  विकास काकी/नागरिक

'तपाईहरू क्रिकेट प्रतियोगिता गर्नुस वर्षा आफै भइहाल्छ,' नेपाल क्रिकेट संघ (क्यान) का पूर्वपदाधिकारीका श्रीमतीले भनेको यो भनाइ स्थापित छ। पछिल्ला केही वर्षहरूमा क्यानले जेठकै साइत पारेर राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा क्रिकेट बिथोल्न स्वाभाविक वर्षा नै काफी हुन्थ्यो। 
राष्ट्रिय प्रतियोगिताको पछिल्ला दुई संस्करण जेठमै भए। वर्षाले खेल बिथोलिनुका साथै विवाद ल्याउँदा खेलाडीले क्यानको खुलेर विरोधसमेत गरे। यसपटक समय परिवर्तन गरी पेप्सी स्ट्यान्डर्ड चार्टर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ। नेपालले आगामी पाँच महिनामा एसिसी ट्वान्टी–२० कप र विश्व क्रिकेट लिग डिभिजन ३ जस्ता निकै महत्व पाएका प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ। 


त्यसैलाई लक्ष्य गरी क्यानले अहिले राष्ट्रिय प्रतियोगिता गरिरहेको हो। राष्ट्रिय टोलीको छनोटमा राष्ट्रिय प्रतियोगिता पनि आधार रहने क्यानले जनाइसकेको छ। अन्तर्राष्ट्रिय प्रतियोगितासँग चल्न क्यानले अहिले राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो, जेठको मौसमको विरोध पन्छाउन होइन। हिउँद याममा क्रिकेट आयोजना गर्नु बाहेक राष्ट्रिय प्रतियोगिताको शैली परम्परागत नै छ। केही परिवर्तन छैन।
पछिल्लोपटक फाइनल खेलेको नेपाल पुलिस क्लब यसपटक सहभागी भएन। बाँकी ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ। समूह 'ए' मा साबिक विजेता नेपाल एपिएफ क्लब, बैतडी (क्षेत्र ६), पोखरा (क्षेत्र ८), विराटनगर (क्षेत्र १) र भैरहवा (क्षेत्र ४) छन्। त्यस्तै समूह 'बी' मा जनकपुर (क्षेत्र ७), काठमाडौं (क्षेत्र ३), नेपालगन्ज (क्षेत्र ५) र वीरगन्ज (क्षेत्र २) छन्।
डेढ वर्षपछि हुन लागेको प्रतियोगिताको समूह 'बी' बाट सेमिफाइनल नपुग्ने दुई टोलीको यात्रा तीन खेलमै आएर टुंगिनेछ। फाइनलमा पुग्ने टोलीले बढीमा ६ खेल खेल्न पाउने छन्। एकदिवसीयलगत्तै हुने ट्वान्टी–२० को स्थिति पनि लगभग यस्तै छ। त्यसपछि घरेलु क्रिकेटमा अर्को खेल खेल्न खेलाडीले कम्तीमा अर्को वर्ष कुर्नुपर्ने बाध्यता छ। 
एकदिवसीय राष्ट्रिय प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले १ लाख नगद पाउने छन्। उत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान १० हजार पाउने छन्। डेढ वर्षअगाडि पनि प्रतियोगिताको पुरस्कार राशि लगभग यस्तै नै थियो। पछिल्लोपटक अझ उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई दिइएको नगद पुरस्कार अहिले भन्दा ५ हजार बढी थियो। कुनै पनि देशको संरचना बलियो हुन घरेलु क्रिकेट राम्रो हुनुपर्छ। तर नेपालको घरेलु क्रिकेट वर्षमा ३–४ खेलमा सीमित छ।
क्षेत्रीय क्रिकेट संरचनामा पाँच विकास क्षेत्र भएपछि सुरुका केही वर्ष सहभागी ५ टोलीले अर्को टोलीसँग प्रतिस्पर्धा गर्दथे र शीर्ष दुई टोली उपाधिलाई खेल्थे। बैतडीलाई २०६१ मा छैटौं क्षेत्रको मान्यता दिएसँगै समूह विभाजन गरी खेलाउन लागिएको हो। अहिले जनकपुरधाम, पोखरा हुँदै एपिएफ क्लबसम्म आइपुग्दा राष्ट्रिय प्रतियोगितामा खेल्ने टोलीको संख्या ९ पुगेको छ, जुन क्यानलाई दुई समूह विभाजन गरेर खेलाउन पर्याप्त पनि बनेको छ। 
विगतमा नेपाली राष्ट्रिय टोली निर्णायक खेलमा चुक्दा जयकुमार नाथ शाह, विनयराज पाण्डेसम्म क्यान अध्यक्षले 'छिट्टै' दुईदिवसीय क्रिकेट गरिने बताउँथे। तर घरेलु क्रिकेटमा त्यो 'छिट्टै' कहिल्यै आएन्। ५ वर्षअघि दुईदिवसीयको सुरुआत भए पनि तराईमा स्थिति अनुकूल भएपछि बीचैमा रोकिनुपुग्यो र ट्वान्टी–२० लाई त्यसको स्थानमा ल्याइयो। क्यान हाँकेर एक वर्षको हनिमुन मनाउन लागेका नयाँ अध्यक्ष टंक आङबुहाङको नेतृत्वले पनि घरेलु क्रिकेट बारे चर्को भाषण नदिएका होइनन्। आङबुहाङ नेतृत्वको क्यानले पनि विगतको परम्परागत ढर्रालाई नै निरन्तरता नै दिएको छ।
क्यानका महासचिव अशोकनाथ प्याकुर्‍याल राष्ट्रिय प्रतियोगिता समूह विभाजन गरेर खेलाउनु संघको बाध्यता रहेको बताउँछन्। उनी भन्छन्, 'राष्ट्रिय प्रतियोगिता गर्नै २६ लाख लाग्छ। हामीले प्रायोजकबाट पाउने २४ लाख मात्र हो। त्यसमा ट्वान्टी–२० राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्नुपर्छ।' उनी भविष्यमा एकले अर्को सबै टोलीसँग खेल्ने गरी राष्ट्रिय प्रतियोगिता गर्ने क्यानको योजना रहेको भने बताउँछन्। 
क्षेत्रीय विकास संरचनामा ढलेपछिको राष्ट्रिय क्रिकेटमा केबल ४ सतक बनेका छन्। यो सौभाग्य जुराउने राजु खड्का, विनोद दास, महबुब आलम र अनिल मण्डल मात्र हुन्। पछिल्लो ७ वर्षमा कुनै खेलाडीले राष्ट्रिय प्रतियोगितामा सतक बनाउन सकेका छैनन्। क्षेत्रीय टोलीहरू आवश्यक तयारी नगरी एकैपटक खेल्न आउनु, खेलाडीले पर्याप्त खेल्न नपाउनु, मैदान अभाव र ब्याटिङ सुहाउँदो विकेट नहुनु सतक नबन्नु वा ब्याट्सम्यानले लामो इनिङ खेल्न नसक्नुको कारण मानिन्छ। त्यसमा प्रमुख कारण ३–४ खेलमै राष्ट्रिय प्रतियोगिता सकिनु नै हो।
खेलाडी र प्रशिक्षकका हिसाबमा नेपाली क्रिकेट अहिले स्वर्णिम युगमा छ। उनीहरूलाई परिवर्तन गर्दै अर्को पुस्ताको खेलाडी नदेखिनु नेपाली क्रिकेटको अहिलेको प्रमुख समस्या हो। घरेलु क्रिकेट तत्काल परम्परागत शैलीभन्दा माथि नउठेमा नेपाली क्रिकेटको स्वर्णिम युगमा पूर्णविराम लाग्ने दिन खोज्न धेरै कुर्नुपर्दैन।
शुक्रबार साप्ताहिकमा मंसिर २८ गते प्रकासित


No comments:

Post a Comment