Thursday, January 17, 2013

विश्वकपलाई खाका कोर्ने अवसर

थाइल्यान्डमा अर्को साता हुने एसिसी महिला च्याम्पियनसिपको अर्थ बेग्लै छ। यो विश्वकपमा पुग्ने पहिलो चरणको खाका हो। त्यसको अर्थ पहिलोपटक नेपाली महिला क्रिकेटले विश्वकप छनोट चरणमा सहभागिता जनाउन गइरहेको छ। नेपालको विश्वकप  यात्रा लामो छ, असम्भव नै भने छैन। 
जनवरी २३ देखि ३१ सम्म थाइल्यान्डका चियाङ माईमा हुने प्रतियोगिता विजेताले अर्को चरणमा प्रवेश पाउने छ। त्यसैले विश्वकपको छनोट यात्रा अगाडि बढाउने हो भने नेपालसँग उपाधि जित्नुबाहेक अर्को विकल्प छैन। यहाँको विजेताले जुलाई–अगस्टमा आयरल्यान्डमा हुने आइसिसी महिला विश्व ट्वान्टी–२० ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ। सो प्रतियोगितामा आयरल्यान्डसँगै पाकिस्तान, श्रीलंका, क्यानाडा, जापान, नेदरल्यान्ड तथा एसिसी र अफ्रिकाको विजेता गरी ८ टोलीले प्रतिस्पर्धा गर्ने छन्।
तस्बिर :  विजय राई/नागरिक



आयरल्यान्ड विजेताले अर्को वर्ष बंगलादेशमा हुने आइसिसी ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्नेछ। छनोट चरणबाट आउने एक टोलीबाहेक विश्वकपमा साविक विजेता अस्ट्रेलिया, भारत, बंगलादेश, न्युजिल्यान्ड, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिजको सहभागिता रहनेछ। अक्टोबरमा चीनमा भएको एसिसी ट्वान्टी–२० एसिया कपमा आयोजक टोलीसँगै पराजित भएकाले नेपालका लागि एसिसी महिला च्याम्पियनसिप प्रमुख तगारो हुनसक्छ। अझ एसिसीका पछिल्ला ट्वान्टी–२० प्रतियोगितामा नेपाललाई हङकङ र थाइल्यान्डले नै माथ दिएका छन्।
'चीनको प्रदर्शन हेरेर हामीले टोलीमा निकै सुधार गरेका छौं। रनिङ विट विन द विकेट अहिले पनि हाम्रो समस्या हो, त्यसमा सुधार छ। फिटनेसमा राम्रो भएसँगै यो आफै सुधि्रने पक्ष हो,' नेपाली टोली प्रशिक्षक जमिल अन्सारीले भने, 'अलराउन्डर धेरै हुनु हाम्रो राम्रो पक्ष हो। ७०–८० प्रतिशत खेलाडी अलराउन्डर छन्। त्यसैले हामीले प्रतियोगिता जितेर अगाडि बढ्ने लक्ष्य बनाएका छौं। तर हामीले कुनै राष्ट्रलाई पनि कमजोर आँकेका छैनौं। हाम्रो समूहमा हङकङसहित चीन र थाइल्यान्ड बलिया टोली हुन् भन्ने हामीले बुझेका छौं।'
नेपालका लागि कम्तीमा दोस्रो चरण पुग्ने केही आधार छन्। महिला टोलीले ६ वर्षपछि पहिलो पटक २५ ओभरको खेलमा प्रतिस्पर्धा गर्न लागेको हो। सन् २००७ मा नेपालले एसिसी महिला च्याम्पियनसिपमा सहभागिता जनायो, जुन नेपाल सहभागी पहिलो महिला अन्तर्राष्ट्रिय स्पर्धा थियो। त्यसयता राष्ट्रिय टोलीले ट्वान्टी–२० मा मात्र प्रतिस्पर्धा गरेको छ। त्यसमा नेपाल सेमिफाइनलभन्दा माथि जान सकेको छैन। ट्वान्टी–२० मा महिला टोली अझै जम्न नसकेको पाइन्छ। पुरुष टोलीलाई नै ट्वान्टी–२० शैली पछ्याउन समय लागेकाले महिलाको प्रदर्शन जायज नै मानिएको छ।
मलेसियामा भएको एसिसी महिला च्याम्पियनसिपमा नेपाल पहिलो प्रयासमै फाइनलमा पुगेको थियो। उक्त टोलीका नेरी थापा (कप्तान), मधु थापा, नीरा राजोपाध्याय, सीता रानामगर, ममता थापा, तृष्णा सिंह अहिले थाइल्यान्ड जाने टोलीमा छन्। ममता वर्तमान टोलीकी उपकप्तान हुन्। नेरी १२ विकेट लिँदै नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट बलर चुनिएकी थिइन्। यो प्रदर्शनले उनलाई एसिसीको इमर्जिङ युवा महिला खेलाडी अवार्डसमेत दिलायो।
उनको स्थानमा अहिले रुबिना क्षेत्री टोलीकी कप्तान भइसकेकी छन्। उनी नेरीको पथ पछ्याउँदै छिन्। गत वर्ष कुवेतमा भएको एसिसी यु–१९ च्याम्पियनसिपमा रुबिनाको कप्तानीमा नेपालले प्रतियोगिता जितेर उपाधिमा ह्याट्रिक गर्‍यो। एसिसी यु–१९ को पहिलो दुई प्रतियोगिता नेपालले नेरीको कप्तानीमा जितेको थियो। ह्याटि्रक गर्नेक्रममा रुबिना फाइनल र प्रतियोगिताकै उत्कृष्ट खेलाडी भइन्। त्यसपछि एसिसी ट्वान्टी–२० कपमा रुबिनालाई टोलीको जिम्मेवारी दिइएको हो।
'यसपटक टोली धेरै राम्रो छ। अभ्यास पनि लामो समयसम्म गर्न पाइयो। केटाहरूको यु–१६ टोलीसँग दुई अभ्यास खेल खेल्यौं र एक खेल हामीले जित्यौं। त्यसैले हामीले सकारात्मक नतिजाको अपेक्षामा छौं,' रुबिना भन्छिन्, 'महिला क्रिकेट भनेको पहिला नेरी र नीरामा मात्र भर पर्दथ्यो। अहिले सबै खेलाडी राम्रो प्रदर्शन गर्न सक्षम छन्। गत वर्ष नेपालले यु–१९ उपाधि जितेको जस्तै टोली छ। एक दुई खेलाडीले जिम्मेवारी लिएर खेल्नु जरुरी छ।'
विगतमा बढीमा तीन साता प्रशिक्षण गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न जाने नेपाली टोली अहिले ५ साता लामो प्रशिक्षणमा छ। पुरुष राष्ट्रिय टोलीका प्रशिक्षकद्वय पुबुदु दासानायके र जगत टमाटाबाट प्रशिक्षण पाएकाले खेलाडीहरू उत्साहित रहेको रुबिना बताउँछिन्। 'एसिसी ट्वान्टी–२० एसिया कपमा यस्तो प्रशिक्षण पाएको भए हामी चीनमा श्रीलंकालाई नै हराउँथ्यौं, चीन त केही होइन,' उनले भनिन्। 
महिला क्रिकेटमा विजयको मन्त्र हाल्ने पहिलो प्रशिक्षक जमिल नै हुन्। नेपालले थाइल्यान्डमा जितेको एसिसी यु–१९ पहिलो अन्तर्राष्ट्रिय उपाधि थियो। घुम्दै फिर्दै नेपाली टोली अहिले थाइल्यान्डको चियाङ माईमा नै खेल्न गइरहेको छ, विश्वकपको खुड्किला चढ्ने उद्देश्यका साथ। जमिलको मन्त्रले चियाङ माईमा कस्तो प्रभाव पार्ला, पर्खाइ त्यत्ति मात्र हो।
शुक्रबार साप्ताहिकमा माघ ४ गते प्रकासित


No comments:

Post a Comment