Thursday, January 10, 2013

पुरस्कृत भएपछिका दुई शब्दहरु..........

नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार संघ (सास्जन) ले संस्थापक अध्यक्ष इश्वर मान सिंहको स्मृतिमा स्थापित गरेको पुरस्कारअन्तर्गत अभिलेखकृत खेलपत्रकारिता पुरस्कारबाट सम्मानित हुने अवसर पाए। म सँगै अन्नपूर्ण पोस्टका खेलकुद प्रमुख रोशनसिंह राउत र गोरखापत्रका फोटोपत्रकार राजेन्द्र चित्रकार शनिबार ईश्वरमान सिंह खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भए। सौर्य दैनिकका मनोज घिमिरे बुद्धिचाल खेलपत्रकारिता पुरस्कारबाट सम्मानित भए। 

मेरा लागि यस खाले यो पहिलो पुरस्कार थियो। पुरस्कार पाए पछि के बोल्ने भन्ने चिन्ताले अघिल्लो दिन देखि नै सताउन सुरु गरिसकेको थियो। साथी प्रकाश तिमल्सिनाले पुरस्कृत हुनु अघिल्लो दिन नै भोली त भाषण ठोक्नु पर्छ है भन्दा मेरा लागि त्यो गाली जस्तै भइसकेको थियो। तर पुरस्कार पाए पछि बोल्नु पर्ने कुनै कार्यक्रम नै रहनेछ। टन्टै साफ भयो। बोल्नु परेको भए मैले के बोल्ने भनेर मोटा मोटी स्केज तयार पारिसकेको थिए। जस्तै.........

तस्विरः विजय गजमेर/नागरिक


क्रिकेटमा ह्यान्डल द बल आउट र फुटबलमा कर्नरमा गोल भने जस्तै माइक समातेर स्टेजमा बोल्नु मेरा लागि दुर्लभ हो। त्यसैले म अलि नर्भस पनि छु। सर्व प्रथम मलाई यस अवार्डका लागि योग्य सम्झनु भएकोमा म आयोजक नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार संघलाई धन्यवाद दिन चाहान्छु। मेरो हकमा विशेष गरी यस वर्ष देखि अभिलेखकृत पुरस्कार स्थापना गरि मलाई यो मञ्च सम्म पुर्‍याउनु भएकोमा नेपाल ओलम्पिक संग्राहलयलाई प्रति पनि आभारी छु। 
मेरा लागि क्षितिज दुई संयोग भएको छ। मलाई २०५३ सालमा गतिबिधि साप्ताहिकमा खेलकुद लेख छाप्न बाटो देखाई दिने बाशु क्षितिज हुनु हुन्छ। वहाँ त्यति खेर गतिविधसहित अन्य साप्ताहिकमा कार्टुन बनाउनु हुन्थ्यो। गतिविधिको सातौं पृष्ठमा कहिले काँही खेलकुदका समाचार प्रकासित भएको मैले देखेको थिए। दोस्रो महावीर कप क्रिकेट र सान मिगेल कप यु–१६ फुटबलका बारेमा लेखेका दुई लेख सोही स्थानमा प्रकासित भएको थियो। जसले मलाई आजको समाचारपत्र (पछि नेपाल समाचारपत्र) जाने बाटो सहज बनायो र यो यात्रालाई आज नागरिक राष्ट्रिय दैनिकसम्म पुर्‍याएको छ। अर्का क्षितिज नेपाल ओलम्पिक संग्राहलयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठ जी हुनुहुन्छ। उहाँको संस्थाले प्रायोजन गरेको अवार्ड नै मेरो पहिलो बन्यो। अब सास्जनका कोही साथी आएर मेरो पनि टाइटल क्षितिज हो भनेर भन्नु हुन्छ भने मेरो भन्नु केही छैन्। 
क्रिकेटका तथ्याङकहरु बटुलेर इतिहाँस लेखेका कारण मलाई पुरस्कृत गरिएको धेरैको बुझाई छ। मेरो पनि यसमा खासै भिन्न मत छैन्। यदी यसो हो भने म सर्व प्रथम क्रिकेट डट कम डट एनपी र यसका संस्थापक उज्ज्वल आचार्यलाई धन्यवाद दिन चाहान्छु। क्रिकेट डटकम डट एनपीले मेरो खेल पत्रकारिता त्यसमा पनि तथ्याङगत हिसावले लेख्ने शैलीलाई निकै सहज बनाई दिएको छ। एसोसिएट इडिटरका रुपमा म यसैमा आवद्ध पनि छु। तर कहिले काँही यस साइटबाट तथ्याङहरु लिएर पनि 'क्रेडिट' दिन भुल्दा साथी उज्ज्वलले साइट रहेमात्र हामी यसबाट फाइदा लिन सक्ने भनेर सचेत गराएको म अहिले पनि सम्झन्छु।
'अभिलेखकृत' पत्रकारिता पुरस्कार भएकाले सोही शीर्षकको समाचार मैले अन्य खेलको पनि लेखेको छु। त्यसमा विशेष सम्झनै पर्नेमा सगरमाथा आरोहणको पहिलो प्रयास गर्ने तेजवीर बुरालाई ८८ वर्षपछि दिइएको ओलम्पिकको स्वर्ण पदक र दशरथ रंगशालामा हावाहुरीका कारण भाग दौड मच्चिदा ७० जना भन्दा बढीको ज्यान जाने काण्ड मुख्य हुन्। 
रंगशाला काण्ड ७–८ वर्ष देखि मेरो दिमागमा घुमिरहे पनि लेख्न नसकेको स्टोरी हो। जावलाखेल परिवेश भएका कारण त्यहाँको खेल माहोल, रंगशालामा जनकपुर चुरोट कारखाना र मुक्तिजोद्धा बीचको खेल हेर्न गएका प्रत्यक्षदर्शीहरु, रंगशालामा ज्यान गुमाएका परिवारहरु छिमेकी भएकाले मलाई त्यो स्टोरी आफै प्रत्यक्षदर्शीकै हिसावले लेख्न सक्छु जस्तो लागेको थियो। 
कुर्दाकुदैं २०४४ फागुन २९ गतेको रंगशाला काण्डको २४औं वर्ष बितेछ। म २५औं वर्षका दिन यो स्टोरी प्रकासित गर्न चाहान्थे। साथी प्रकाश तिमल्सिना र मैले पनि २५औं वर्ष सम्झेर नै रंगशाला काण्ड नागरिक दैनिकमा लेखेका थियौं। छापिएपछि थाहा भयो त्यो एक वर्ष अगाडी नै परेछ। अर्को वर्ष ओलम्पिक संग्रहालयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले २५ औं वर्ष पारि मुख्य घटना भएको ढोका अगाडी यो कार्यक्रम आयोजना गर्नुभयो। 
कार्यक्रम भने बिहान ७ बजे नै पर्‍यो। अफिसबाट राती ११–१२ घर पुग्ने भएकाले बिहान ७ वजे कार्यक्रममा पुग्नु मेरालागि असम्भव झै भयो। मैले अफिसको साथीसँग कार्यक्रम परिवर्तन गरी २५औं वर्षका कार्यक्रममा जान नसक्ने क्षितिज जीलाई जानकारी गराए। आज म वहाँलाई विशेष धन्यबाद दिन चाहान्छु, किनभने संग्रहालयले आज सास्जनसँग मिलेर गरिएको खेलकुद पत्रकारिता पुरस्कार कार्यक्रम मध्यान्हमा राखिएको छ। आज असमर्थता जनाउनु परेन्। क्रिकेटसँगै तेजवीर बुराले ८८ वर्षपछि ओलम्पिकमा पाएको स्वर्ण र रंगशाला काण्डको समाचार छापिएपछि राम्रो 'रेस्पोन्स' पाएको थिए, त्यसमा आज 'अभिलेखकृत पुरस्कार' थपिएको छ। 

No comments:

Post a Comment