Friday, June 28, 2013

विश्व च्याम्पियनसिपमा दीपक विस्टको लक्ष्य

दीपक विष्टले खेलाडीका रूपमा तेक्वान्दोबाट धेरै पदक पाएका छन्। दक्षिण एसियाली खेलकुदमा लगातार चार स्वर्ण र एसियाली खेलकुदमा पाएका दुई कांस्यले उनलाई नेपाली खेलकुदमा सबैभन्दा सफल खेलाडी बनाएको छ।
सन् २०१० मा बंगलादेशमा दक्षिण एसियाली खेलकुदको पछिल्लो स्वर्ण जितेयता उनले चोटका कारण खेलाडी जीवनलाई निरन्तरता दिन सकेनन्। मेक्सिकोको पुइब्लामा असार ३१ देखि साउन ६ सम्म हुने विश्व तेक्वान्दो च्याम्पियनसिपमा आफूले खेलाडी जीवनबाट पाउन नसकेको पदक दिलाउने दीपकको लक्ष्य छ। उनले च्याम्पियनसिप खेल्ने खेलाडीलाई निखारिरहेका छन्।


नेपालबाट ज्ञानी चुनारा, अरुण अधिकारी र रञ्जन श्रेष्ठले प्रतिस्पर्धा गर्दैछन्। विजेश्वरी सैनिक आवासीय विद्यालयकी ज्ञानीले ५७ केजी, चितवनका अरुणले ५४ केजी र कोटेश्वरका रञ्जनले ५८ केजीमा प्रतिस्पर्धा गर्नेछन्। ज्ञानी र अरुणले विदेश गएर प्रतियोगिता खेल्न लागेको पहिलोपल्ट हो। अन्तर्राष्ट्रिय अनुभवको नाममा उनीहरूसँग नेपालमै सम्पन्न माउन्ट एभरेस्ट च्याम्पियनसिप खेल्नु मात्र छ। रञ्जनले २००९ मा सिंगापुरमा भएको युथ ओलम्पिकमा खेलेका थिए।
तेक्वान्दो संघका कार्यालय प्रमुख हेमन्त डाँगीले जेठमा पोखरामा सम्पन्न ११औं राष्ट्रिय तेक्वान्दोलाई आधार मान्दै खेलाडी छनोट गरिएको बताए। ज्ञानी र अरुण आफ्नो तौलमा विजेता बन्दै उत्कृष्ट फाइटर भएका थिए। रञ्जन पनि ५८ केजीका विजेता हुन्। 'तेक्वान्दोको राष्ट्रिय टोलीमा २ दर्जनभन्दा बढी खेलाडी छन्, पोखरालाई आधार बनाएर त्यसैबाट उत्कृष्ट छनोट गरिएको हो,' डाँगीले भने।
दीपकको प्रशिक्षकमा यो पहिलो आधिकारिक प्रतियोगिता हो। गत वर्ष मलेसियामा एसियन युनिभर्सियाडमा उनकै प्रशिक्षणमा आयशा शाक्य र विशाल श्रेष्ठले कांस्य पदक जितेका थिए। चीनमा २०११ मा भएको युनिभर्सियाड र गत वर्ष दक्षिण कोरियामै भएको विश्व युनिभर्सियाडमा पनि दीपक प्रशिक्षक थिए।
'४–५ महिनादेखि राष्ट्रिय टोलीको प्रशिक्षण निरन्तर छ। एक महिनायता विश्व च्याम्पियनसिप केन्द्रित गरेर दैनिक चारपल्ट अभ्यास गर्ने गरेका छौं। तयारी राम्रो भइरहेको छ,' प्रशिक्षक दीपकले भने, 'हाम्रो टोलीमा जुनियर खेलाडी छन्, अन्तर्राष्ट्रिय अनुभव बटुलिरहेका छन्। यो तेक्वान्दोको सबैभन्दा ठूलो प्रतियोगिता हो। मैले पनि पहिलो अन्तर्राष्ट्रिय अनुभव यही प्रतियोगितामा बटुलेको थिएँ। त्यसैले नेपाली खेलाडीसँग अनुभव बटुल्ने राम्रो अवसर छ।'
उनले यात्रा चुनौतीपूर्ण रहेको स्वीकार्दै भने, 'मैले थोरै प्रतियोगितामा पदक जित्न सकिनँ, त्यसमा यो पनि पर्दछ। त्यसैले प्रशिक्षकमा भए पनि यस प्रतियोगिताबाट पदक भित्राउने लक्ष्य छ।' उनले १९९७ मा हङकङ र २००७ मा चीनमा भएको विश्व च्याम्पियनसिप खेलेका थिए।
च्याम्पियनसिपमा नेपाल
सन् १९८३ मा डेनमार्कको कोपेनहेगनमा भएको प्रतियोगितादेखि नेपालले विश्व च्याम्पियनसिपमा भाग लिएको हो। प्रत्येक दुई वर्षमा हुने प्रतियोगिताको सुरुआत १९७३ मा दक्षिण कोरियाबाट भयो। मेक्सिकोमा हुने प्रतियोगिता २१औं संस्करण हो।
नेपालले प्रतियोगिताबाट दुई कांस्य पदक जितेको छ। १९८७ मा स्पेनको बार्सिलोनामा विधान लामाले पहिलोपल्ट पदक जितेका थिए। उनले ५० केजीमा कांस्य पदक जितेका थिए। त्यसको अर्को संस्करणमा सीता राईले पदक जित्ने क्रमलाई निरन्तरता दिइन्। उनले ४३ केजीमा कांस्य जितेकी थिइन्।
गुरुङ सदस्यमा उठ्ने
विश्व च्याम्पियनसिपकै क्रममा विश्व तेक्वान्दो महासंघको चुनावी महाधिवेशन हुनेछ। नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा र महासचिव दीपराज गुरुङले महाधिवेशनमा भाग लिने छन्। महासचिव गुरुङले महासंघको केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने छन्।
तेक्वान्दोका संस्थापक गुरुङ प्रमुख प्रशिक्षक पनि हुन्। विश्व तेक्वान्दोमा आबद्ध २ सय २ राष्ट्रमध्ये १ सय ३६ राष्ट्रसँग मतदान अधिकार छ। 'दक्षिण एसियाबाट कसैले पनि उम्मेद्वारी दिएका छैनन्। भारत र बंगलादेशसँग मतदान अधिकार छैन। विश्वकै एकतिहाइ भन्दा बढी जनसंख्या भएको क्षेत्र दक्षिण एसियामा तेक्वान्दोको विकास गर्न जरुरी छ,' गुरुङले भने, 'विश्व तेक्वान्दोको आचारसंहिता अनुसार मतदानअघि सबै खुलेर कुरा गर्न मिल्दैन। उम्मेद्वारीको विषयमा मेरो विभिन्न देशसँग छलफल चलिरहेको छ।'


नागरिक राष्ट्रिय दैनिकमा २०७० असार १४ गते प्रकासित

No comments:

Post a Comment