Friday, June 7, 2013

नेपाललाई आइसिसीको विशेष अनुदान, विश्वकप तयारीलाई १ करोड ६० लाख

विश्वकप क्रिकेट तयारीलाई नेपालले विशेष आर्थिक सहयोग पाएको छ। विश्व क्रिकेटको सर्वोच्च संस्था आइसिसीले विश्वकप छनोट चरण खेल्नेक्रममा रहेका नेपालसहितका राष्ट्रलाई विशेष रकम दिएको हो। आइसिसीको विकास अनुदान नीतिअन्तर्गत 'हाई पर्फमेन्स ग्रान्ट' शीर्षकमा नेपालले यो रकम पाएको हो।
जनवरीमा न्युजिल्यान्डमा विश्वकप छनोट चरणका खेल्ने नेपाललाई आइसिसीले तयारी खर्च भनेर एक लाख ७५ हजार अमेरिकी डलर उपलब्ध गराएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष टंक आङबुहाङले बताए। आइसिसीले एसोसिएट एन्ड एफिलिएट राष्ट्रमा ९ देखि १२ औं स्थानका टोलीलाई यो रकम उपलब्ध गराउँछ। वरियतामा शीर्ष ८ स्थानमा रहेका राष्ट्रले यो शीर्षकमा ३ लाख ५० हजार डलर पाउँछन्।


गत महिना क्यारेबियन राष्ट्र बर्मुडामा भएको विश्व क्रिकेट लिग डिभिजन ३ जितेसँगै नेपाल डिभिजन २ मा उक्लिएको हो। यस सफलताले नेपाल टेस्ट खेल्ने राष्ट्रबाहिर ११ औं वरियतामा उक्लियो। युगान्डासँगै डिभिजन २ मा पुगेपछि नेपाल विश्वकप छनोट चरणको अन्तिम खुड्किलोमा पनि पुगेको हो। विश्वकप तयारीलाई पाएको यो रकम नेपालले आइसिसीबाट पाउने वार्षिक अनुदानको ७ महिनाबराबरको बजेट हो।
आइसिसीबाट नेपालले वार्षिक तीन लाख डलर अनुदान पाउँछ। त्यसमा १ लाख २५ हजार प्रशासनिक तथा १ लाख ७५ हजार पुँजीगत विकास निर्माण शीर्षकमा खर्च गर्नुपर्छ। एसियाली क्रिकेट परिषद (एसिसी) ले प्रशासनिक खर्च भनेर वार्षिक ६० हजार डलर दिँदै आएको छ। एसिसीले दिने थप अनुदान एसिया कपको सफलतामा भर पर्छ। एसिया कप नाफामा गएको अवस्थामा एसिसीले त्यो रकम आफ्ना एसोसिएट राष्ट्रलाई बाँड्छ र नेपालले ९० हजार डलरसम्म पाउने गरेको छ।
नेपाललाई वार्षिक बजेटबाहेक आइसिसीले अरु शीर्षकमा दिएको यो सबैभन्दा ठूलो रकम हो। आइसिसीको यस निर्णयले ठूलो राहत मिलेको क्यान अध्यक्ष आङबुहाङ बताउँछन्। 'विश्वकप तयारी गर्न राष्ट्रिय खेलकुद परिषद र खेलकुद मन्त्रालय हुँदै सरकारसँग सहयोग अपेक्षा गरेका छौं, त्यसका लागि हामीले कार्यक्रम बुझाउन बाँकी छ,' उनले भने, 'आइसिसीको यो सहयोगपछि अब कार्यक्रम बनाएर अगाडि बढ्न सजिलो भएको छ।'
आइसिसीको यो सहयोग नेपाली टोलीलाई विदेशमा अभ्यास खेल खेलाउन र खेलाडीलाई विदेशमा प्रशिक्षण गराउन प्रभावकारी हुनेछ। पोहोर तीव्र बलरद्वय अमृत भट्टराई र चन्द्र साउदलाई श्रीलंकामा स्थानीय यु–२३ लिगमा खेल्न पठाउन क्रिकेट प्रशंसकले चन्दा नै उठाए भने गोल्डेनगेट कलेजले हवाइटिकट बेहोरिदिएको थियो। ब्याट्सम्यानद्वय विनोद भण्डारी र प्रदीप ऐरी कुरुनेगाला युथ क्रिकेट क्लबबाट श्रीलंकामा यु–२३ अन्तरक्रिकेट लिग खेल्न जाने तयारीमा छन्। प्रशिक्षक पुबुदु दासानायकेले यो वातावरण मिलाइदिएका हुन्।
क्यानसँग पर्याप्त स्रोत नहुँदा विश्वकपलक्षित गरेर विनोद र प्रदीपलाई पठाउन लागिएको श्रीलंका यात्रा अनिश्चित बनेको थियो। आइसिसीको अनुदानपछि विनोद र प्रदीपको सबै खर्च क्यानले बेहोर्ने संकेत आङबुहाङले गरे। 'हामी विनोद र प्रदीपलाई श्रीलंका पठाउँदैछौं। त्यसबाहेक, विश्वकप तयारी भनेर हामी श्रीलंका र बंगलादेश पनि जाने तयारी गर्दैछौं,' उनले भने, 'विदेशी टिम यहीं बोलाएर अभ्यास खेल खेल्नुका साथै केही विशेषज्ञ बोलाएर पनि विश्वकपलाई नेपाली टोली तयार पार्नेछौं। आइसिसीको सहयोगपछि यो सबै क्यानको योजनामा पर्छन्।'
न्युजिल्यान्डमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीमा पर्न सके नेपाल विश्वकपमा छानिने छ भने त्यसपछिका दुई स्थानभित्र रहन सके पनि आगामी चार वर्षलाई एकदिवसीय मान्यता पाउनेछ। नेपालको कम्तीमा एकदिवसीय मान्यता लिने लक्ष्य छ। त्यस्तै नोभेम्बरमा युएईमा हुने विश्व ट्वान्टी–२० छनोटमा पनि नेपालले प्रतिस्पर्धा गर्दैछ। सहभागी १६ टोलीमा शीर्ष ६ मा पर्न सके नेपाल अर्को वर्ष हुने ट्वान्टी–२० विश्वकप पुग्नेछ।
आइसिसीका अनुदान
३ लाख ५० हजार डलर – विश्व क्रिकेट लिग डिभिजनको शीर्ष ८ मा रहेर विश्व क्रिकेट च्याम्पियनसिप र अन्तरमहादेशीय कपमा खेल्ने राष्ट्रहरूलाई विश्वकपको तयारीलाई दिने खर्च।
१ लाख ७५ हजार डलर – विश्व क्रिकेट लिगमा ९ देखि १२ औं स्थानमा रहेकालाई विश्वकप तयारीस्वरुप दिने खर्च।
१२ लाख डलर – २०१५ को एकदिवसीय विश्वकपमा छनोट भएका राष्ट्रले पाउने रकम।
२ लाख ५० हजार डलर – विश्व ट्वान्टी–२० मा छनोट हुने राष्ट्रलाई दिइने खर्च।
नागरिक राष्ट्रिय दैनिकमा २०७० जेठ २४ गते प्रकासित

No comments:

Post a Comment