Sunday, September 22, 2013

डाक्टर–पाइलट: काठमाडौं

डाक्टर–पाइलट। 'सरकारी जागिर..' बोलका गायक क्रान्ति आलेसम्मिलित ब्यान्डको नाम हो यो। ब्यान्ड नै नभए पनि काठमाडौं जिल्ला क्रिकेट टोलीको परिचय डाक्टर–पाइलटको टोली जस्तै छ। सिनियर पाइलट प्रफुल्ल वैद्य काठमाडौं टोलीका कप्तान हुन्। डाक्टर नीरज भट्टराई टोलीका प्रमुख खेलाडी।
गत वर्ष काठमाडौं जिल्ला छनोट प्रतियोगितामा तीन पाइलट र तीन डाक्टर थिए। प्रफुल्लसहित अर्का दुई पाइलट मोनिर श्रेष्ठ र नाजिर शेख जिल्ला छनोटमै छानिए। क्लबस्तरीय प्रतियोगितामा खेल्ने डाक्टरको संख्या पनि तीन नै थियो। नीरजबाहेक धनबहादुर कार्की र निखिल आचार्यले खेले। नीरज र निखिल जिल्लामै छनोट भए।
पाइलट प्रफुल्ल बैध। तस्विरहरुः विकास कार्की

मोनिर र नाजिर क्लब स्तरसम्म रहे यसपल्ट। प्रफुल्ल र नीरजले यस वर्ष पनि निरन्तरता दिँदै जिल्ला छनोटमा खेलिरहेका छन्। व्यावसायिक हिसाबमा महत्वपूर्ण स्थान ओगटे पनि प्रफुल्ल र नीरज दुवैको लक्ष्य नेपाली राष्ट्रिय टोलीबाट खेल्नु छ। ४४ वर्ष लागिसकेकाले यती एयरलाइन्सका सिनियर पाइलट प्रफुल्लले राष्ट्रिय टोली आफ्नो पँहुचभन्दा धेरै टाढा भइसकेको बुझेका छन्।
सन् १९९६ मा नेपाल पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न मलेसिया जाँदै थियो, एसिसी ट्रफीका लागि। बन्द प्रशिक्षणमा प्रफुल्लको प्रभाव निकै राम्रो थियो। उनका टोलीका सदस्यहरूले पनि उनलाई नेपालको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय कप्तानका रूपमा हेर्न थालिसकेका थिए। तर, उनी 'क्याप्टेन कोर्स' गर्न अमेरिका जानुपर्‍यो। कोर्स गरेर आएपछि उनी 'क्याप्टेन' त भए, क्रिकेट नभई हवाइजहाज उडाउने।
लुम्बिनी एयरवेज हुँदै उनी अहिले यतीमा छन्। यसबीचमा उनी राष्ट्रिय टोलीका कप्तान पनि बनेनन्, नीलो जर्सीमा उत्रन पनि सकेनन्। उनले सबैभन्दा ठूलो 'मिस' गरेको यही नै हो। 'अहिले पनि मैदान छिर्दा राष्ट्रिय टोलीबाट खेल्न नसकेको विषय खट्किरहन्छ,' प्रफुल्ल भन्छन्। राष्ट्रिय टोलीका धेरै खेलाडीका लागि उनी आदर्श व्यक्ति हुन्। जब राष्ट्रिय टोलीबाट खेल्न नसकेको प्रसङ्ग चल्छ, उनी यसैलाई चित्त बुझाउने बाटोमा लिन्छन्।
प्रफुल्ल क्रिकेट खेल्न मैदान लागेपछि यतीका पाइलटको तालिकामा पूरै परिवर्तन हुन्छ। उनका विदाका दिन सुरु हुन्छ, आफूले खेलेको टोली कहाँसम्म पुग्छ, त्यो थाहा नहुने हुनाले उनको विदा ठेगान हुँदैन। रोस्टर (उडान तालिका मिलाउने) बाट फोन आउँछ, 'सर, भोलि फ्लाइट राखिदिऊ?' प्रफुल्ल उत्तर फर्काउँछन्, 'भोलि र पर्सी अझै दुई खेल बाँकी छ। अनि ३–४ दिन ग्याप छ। त्यसमा फ्लाइट राखिदिनु। त्यसपछि राष्ट्रिय प्रतियोगिता छ। टिममा परे भनें खेल्नु छ। त्यसैले त्यसको निर्णय पछि गर्छु।'
क्रिकेट स्पर्धा पर्दा सोहीअनुसार उडान तालिका मिलाइदिने हुनाले उनी रोस्टर बनाउनेलाई 'फ्रेन्डली' र सहयोगी ठान्छन्। लुम्बिनी एयरवेज र यतीमा हुँदा निजी क्षेत्रबाट कम्पनी टोली बनाउने पहल उनले नै गरे। तर, नेपाल क्रिकेट संघबाट सहयोग नपाउँदा दुवै टोलीले निरन्तरता पाउन सकेनन्। यद्यपि उनको खेलाडी यात्रा रोकिएको छैन। उनका समकालीनहरू अहिले क्रिकेट संघका पदाधिकारी नै भइसकेका छन्।
२५ वर्षे चिकित्सक नीरजले क्रिकेट खेल्न जागिर नै छाडे। गत वर्ष मास्टर्स पढ्न पाकिस्तान वा अमेरिकाको वोस्टन कहाँ जाने भनेर योजना बनाइरहेका थिए। त्यसैमा एक्कासि राष्ट्रिय प्रतियोगिताको तालिका आयो। जोरपाटीस्थित शंकरापुर अस्पतालको जागिर नै छाडिदिए। घरी घरी छुट्टी लिन नमिल्ने। उनले जागिर नै छाडेर क्लब, जिल्ला हुँदै राष्ट्रिय प्रतियोगिता खेले। क्रिकेट सकिनैबित्तिकै अस्पतालले फेरि बोलायो। यसपल्ट फेरि खेल्नैपर्ने अनि फेरि नीरजले जागिर छाडे।
डाक्टर नीरज भट्टराई

'पहिला सोखका लागि खेलियो, पछि बानी नै पर्दै गयो,' नीरजकै भाषामा भन्ने हो भने 'मीठो बाध्यता' का लागि उनी नियमित क्रिकेट खेलिरहेका छन्। अहिले पनि मेडिकल अफिसरका रूपमा कुलेश्वर घर नजिकै काम गरिरहेका हुन्छन्। राती कार्य गर्नुपर्ने भएकाले उनले अहिले जागिर छाडनुपरेन।
बुबा विजयराज प्रमुख जिल्ला अधिकारी भएर मोरङ सरुवा हुँदा उनले ४ महिना विराटनगर बसाइक्रममै क्रिकेट सिके। कलेजस्तरीय प्रतियोगिता हुँदै उनले पछिल्लो ६ वर्षदेखि काठमाडौं खेल मण्डलबाट खेलिरहेका छन्। गत वर्ष राष्ट्रिय प्रतियोगितामै राम्रो खेलेकाले उनलाई बन्द प्रशिक्षणसम्म पर्छु कि भन्ने आशा थियो। क्लबस्तरमा उनी म्यान अफ द सिरिजमै चुनिए। जिल्ला छनोटको शनिबार दोस्रो खेलमा उनले भक्तपुरविरुद्ध म्यान अफ द म्याच प्रदर्शन गरे पनि उनलाई खासै राम्रो गर्न नसकेको अनुभव भइरहेको छ।
वर्षमा एकपल्ट हुने राष्ट्रिय प्रतियोगिताबाट नयाँ खेलाडी राष्ट्रिय टोलीको प्रशिक्षणसम्म पुग्न अप्ठेरो हुने भेउ पाएका छन् उनले। त्यही पनि एकपल्ट राष्ट्रिय टोलीबाट खेल्ने आशा राख्छन् नीरज। भारतको एक प्रान्तीय टोलीविरुद्ध स्थानीय टोलीबाट खेल्दा उनले राष्ट्रियताको अनुभूत गरिसकेका छन्। त्यसैले राष्ट्रिय टोलीबाट खेल्नुको अर्थप्रति उनी निकै महत्वपूर्ण अनुभव गर्छन्।
खेलसँगै चिकित्सक पेशा अगाडि बढाउने चाहना उनको छ, त्यसमा सम्भावना न्युन भएको नीरजले बुझेका छन्। मौका मिलेसम्म खेलिरहने होइन भने पढाइ, डाक्टरी पेशा र साहित्य अगाडि बढाउने। उनी गजलकार पनि हुन्। उनले 'तलाश' र 'मेरो भन्नु केही छैन' भन्ने गजल संग्रह निकालेका छन्। 'धुँवाको धागो' कविता संग्रह अंग्रेजी र नेपालीमा एकैसाथ दसैंपछि निकाल्ने तयारीमा छन्। तीन वर्षअघि निस्केको पल्लव एल्बममा उनको गीत र संगीत छ। यी सबै नीरजका रहर हुन्। क्रिकेट खेल्न उनले जागिर नै छाडेका थिए। त्यसैले क्रिकेटका अगाडि यो सबै उनको दोस्रो प्राथमिकता मात्र हो।
नागरिक राष्ट्रिय दैनिकमा २०७० असोज ६ गते प्रकासित

No comments:

Post a Comment