Sunday, September 29, 2013

चोटमा पनि मुस्कुराउदैं पृथु

युवा अलराउन्डर पृथु बाँस्कोटाको चमक शनिबार छुट्टै थियो। नक्सालस्थित होटल क्राउन प्लाजामा नेपाली क्रिकेट टोलीका मलेसियाली फिजियो एसभी सुब्रा र डाक्टर श्रील भगतसामु उनले नयाँ जीवन नै पाएजस्तै अनुभूति गरिरहेका थिए।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणक्रममा दुई साताअघि पृथुले यस्तो चोट बोके, जसले उनी आफ्नो खेलजीवननै सकिएको महसुस गर्न बाध्य भए। कीर्तिपुरको त्रिवि मैदानमा प्रशिक्षणमा फुटबल खेल्दा उनको दाहिने घुँडामा चोट लागेको थियो। उक्त चोट पूर्णत फुटबल खेलाडीलाई मात्र पर्न सक्छ। एमआरआई रिपोर्टमा उनको लिगामेन्ट पूर्ण च्यातिएको देखियो। 

शल्यक्रिया गरेपछि पृथुले ६ देखि ९ महिना गुमाउने निश्चित भएको थियो। तर फिजियोहरूको क्लिनिकल्ली कोरिलेट गर्दा पृथुको चोट सोचेभन्दा कम गहिरो भेटिएको छ। फिजियोले विभिन्न अभ्यास गराउँदा त्यो नभएको पाइएको छ। पछिल्लो विकासक्रमले दुई महिनाभित्रै पृथु मैदान फर्किने सम्भावना देखिएको छ।
'उसको लिगामेन्ट पूर्ण रूपमै च्यातिएको हो भने उसले आफ्नो तलमाथि गर्न र घुमाउन सक्दैनथे, जबकि पृथु मजाले हिँडिरहेको छ र खुट्टा मजाले घुमाइरहेका छन्। यसले गर्दा उनको पूर्ण शल्यक्रिया गर्नुपर्दैन जस्तो देखिन्छ,' फिजियो सुब्राले भने, 'अब हामीले रिहाबिलिटेसनमा राख्ने र अर्थोस्कोपिक डायग्नोस्टिक प्रक्रियामा जाने हो। यो प्रक्रिया चोट लागेको ठाउँमा रड छिराएर मर्मत गर्न सकिन्छ र त्यसले डेढ महिनामा रिकभर हुनसक्छ।'
उनले पृथुको चोटमा थर्ड डिग्री टियरको संकेत नदेखिएको बताए। त्यसैले पहिले भने जस्तो शल्यक्रिया गर्नु नपर्ने हुँदा पृथु डेढदेखि २ महिनामै फिर्ता हुनसक्ने अनुमान सुब्राको छ। उनले भने, 'पृथुले सामान्य शल्यक्रिया गरे पुग्छ।' सुब्राका अनुसार पृथुले नोभेम्बरमा युएईमा हुने विश्व ट्वान्टी–२० छनोट गुमाउने निश्चित छ। तर जनवरीमा न्युजिल्यान्डमा हुने एकदिवसीय विश्वकपमा खेल्नसक्ने छन्। यही चोटका कारण पृथु अहिले जारी ट्वान्टी–२० राष्ट्रिय प्रतियोगितामा नेपाल एपिएफ टोलीमा छैनन्।
पृथुले राहतमात्र महसुस गरेनन्, उनलाई मैदानमै फर्किएजस्तै लाग्यो। 'कम्तीमा ६ महिनासम्म खेल्न नसक्ने भन्दा मलाई सबै सकिएजस्तो भइरहेथ्यो। तर अहिले आएर जे भनिएको छ, त्यसले मलाई निकै राहत दिएको छ,' नेपाली यु–१९ टोलीका पूर्वकप्तानले भने, 'पहिलोपल्ट मेरो चोटबारे भनिँदा म निकै तनावमा थिएँ। म स्तब्ध नै भएँ।'
सन् २०१० मा चीनको ग्वाङ्झाउमा सम्पन्न एसियाली खेलकुदमा पृथुले नेपालबाट पहिलो पटक ट्वान्टी–२० मा खेलेका थिए। गत वर्ष मलेसियामा नेपालले विश्व क्रिकेट लिग जितेसँगै पृथु नेपाली एकदिवसीय टोलीमा पनि रहँदै आएका छन्। पृथुकै कप्तानीमा नेपालले गत वर्ष अस्ट्रेलियामा आइसिसी यु–१९ विश्वकपमा खेलेको थियो।
हाल नेपाली टोलीसँगै रहेका डाक्टर भगतले पृथुको चोटबारे भने, 'डाक्टरको अघिल्लो एमआरआई रिपोर्ट आफ्नो ठाउँमा सही हो। किनभने उनले एमआरआई लिँदा चोट लागेको ठाउँमा सुन्निएको र रगत जमेको हुँदा स्पष्ट नभएर पूर्ण च्यातिएको देखिएको हो।' भगतले अहिले सुन्निएको एकदमै कम भएको छ र उपचार प्रक्रिया अघि बढाउन सहज हुने बताए। उनले भने, 'अब पृथुको सामान्य शल्यक्रिया मात्र गरिनेछ।'
नागरिक राष्ट्रिय दैनिकमा असोज १३ गते प्रकासित

No comments:

Post a Comment