Friday, February 21, 2014

एनसिए र डिसिएको महत्वाकांक्षी कार्यक्रम

नेपाली क्रिकेटले इतिहासको सबैभन्दा ठूलो प्रतियोगिता विश्व ट्वान्टी–२० खेल्न एक महिनामात्र बाँकी छ। नेपाली क्रिकेटको यो 'स्वर्णिम पुस्ता' हो, जसले ट्वान्टी–२० विश्वकप खेल्ने स्थितिमा पुर्‍याइदिएको छ। धेरैको चिन्ता अहिलेको खेलाडीलाई स्थानान्तरण गर्न नसक्ने नेपाली क्रिकेटको संरचनामा छ।
यही चिन्ता चिर्दै धनगढी क्रिकेट एकेडेमी (डिसिए) को यु–१२ टोली राजधानीमा छ। टोलीले नेसनल क्रिकेट एकेडेमी (एनसिए) को यु–१२ टोलीसँग खेल्दैछ। नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेको परिकल्पना हो एनसिए। डेढ वर्षअघि खुलेको एनसिएमा पहिलो आबद्ध संस्था हो डिसिए। नेपाल क्रिकेट संघ मातहातको एनसिएले ल्याएको यो कार्यक्रम नेपालमा १२ वर्षमुनिका खेलाडीका लागि नौलो हो।
तस्विरः विकास कार्की/नागरिक
पहिलो दिन डिसिएले दुवै खेल जित्यो। शुक्रबार एनसिएले त्यसको बदला लिँदै दुवै खेल जितेर शृंखला बराबरी गर्‍यो। एक खेल खेल्न बाँकी छ। जित र हार दोस्रो पक्ष हो। पहिलो पटक १२ वर्षका खेलाडीलाई ल्याइएको कार्यक्रमले भविष्यमा ठूलो प्रभाव पार्ने विश्वास एनसिएका प्रशिक्षक एवम् नेपाली राष्ट्रिय टोलीका कप्तान विनोद दासको छ।
'यस शृंखलाको उद्देश्य ग्रास रुट कार्यक्रमलाई एक्सपोजर दिनु र धनगढीको कार्यक्रममा समर्थन गर्नु पनि हो। हामी दुवै टोली परीक्षण गर्न चाहन्थ्यौं, खेलाडीलाई त्यहीअनुसार सिकाउँदै लाने पनि हो,' प्रशिक्षक दासले भने, 'अहिले खेलाडीलाई खुलेर खेल्न दिएका छौं। अहिले नै कुनै किसिमका दबाब दिएका छैनौं। पछि खुल्दै गएपछि उनीहरूको व्यक्तिगत खुबी हेर्ने हो।'
एनसिएले गत वर्ष नै यु–१२ को कार्यक्रम ल्याएको हो। यसपटकको नयाँ सत्र २ महिनाअघि सुरु गर्दा पनि यु–१२ को कार्यक्रमलाई निरन्तरता दिएको छ। गत वर्ष मंसिरमा सञ्चालित डिसिएले एनसिएको मान्यता पाएपछि वैशाखदेखि नै यु–१२ को कार्यक्रम चलाइरहेको छ। प्रशिक्षक दाससहित स्टार खेलाडी शक्ति गौचन धनगढी गएर यसको सुरुआत गरेका थिए।
'युवा खेलाडीलाई एक्सपोजर दिनुपर्छ भन्ने हाम्रो मान्यता हो। यसका लागि वर्षमा ३–४ भ्रमण गरिरहनुपर्छ,' धनगढीबाट डिसिएका अध्यक्ष सुवास शाहीले भने, 'नेपाली क्रिकेटलाई राम्रो गर्ने हो भने तल्लो स्तरकै कार्यक्रममा ध्यान दिन जरुरी भइसकेको छ। यसलाई व्यवस्थित हिसाबले सञ्चालन गर्ने हो भने नेपाली क्रिकेट अझै माथि उठ्न सक्छ।'
डिसिएका लागि काठमाडौंका यात्रा नेपाल भ्रमणमा पहिलो हो। खुलेको पहिलो महिनामै लखनउ गएको डिसिएको यु–१७ टोली कात्तिकमा श्रीलंका भ्रमणमा गयो। नेपाली क्लब/एकेडेमी तेस्रो मुलुक गएर गरेको यो पहिलो भ्रमण थियो। श्रीलंका गएको डिसिएको टोलीमा सुबोध ऐर, दिनेश पन्त र सुब्रत शाह अहिले काठमाडौं आएका छन्। प्रशिक्षक दास डिसिएका ब्याट्सम्यान सुबोध र प्रशान्त भण्डारी तथा एनसिएका ब्याट्सम्यान एवम् अफ स्पिनर सार्थक सेढाइँ, मध्यम गतिका बलर रित गौतम र तीब्र बलर विशाल कार्कीको प्रदर्शनबाट प्रभावित छन्।
एनसिएका अर्का प्रशिक्षक दीपेन्द्र चौधरी खेलाडीहरूले अझै आधारभूत पक्ष सिकिरहेको बताउँछन्। 'आधारभूत पक्षमा खेलाडीले राम्रो गरिरहेका छन्। ब्याटिङ, बलिङ राम्रो छ, फिल्डिङ कमजोर छ। म्याच कसरी खेल्ने हो उनीहरूलाई थाहा छैन,' पूर्वराष्ट्रिय खेलाडी चौधरी भन्छन्, 'छालाको बलले भर्खर खेल्न लागेका हुन्। उनीहरूको खेलमा सुधारको रफ्तार निकै माथि छ। डिसिएले पहिल्यै यु–१२ को कार्यक्रम ल्याएकाले उनीहरूले एउटा दिशा समातिसकेका छन्।'
यस्तो कार्यक्रम नेपालभरी सञ्चालन गरेमा नेपाली क्रिकेट ४–५ वर्षभित्र राम्रो लयमा आउने विश्वास चौधरीको छ। त्यसमा क्यानको सहयोग र योजना हुनुपर्ने उनी बताउँछन्।  प्रशिक्षक दास यस सिजनको अन्तमा एनसिए टोली धनगढी पठाउने योजना रहेको र भविष्यमा पनि यस्तो कार्यक्रम ल्याउन सक्ने बताउँछन्। उनले भने, 'कम्तीमा क्रिकेटको ९ विकास क्षेत्रमै एनसिएको शाखा पुर्‍याउनने प्रयासमा छौं, यसले नेपालका सबैखाले क्रिकेटलाई सहयोग गर्छ।'
नागरिक राष्ट्रिय दैनिकमा २०७० फागुन ९ गते प्रकाशित

No comments:

Post a Comment