Sunday, February 9, 2014

संरचना नयाँ, लक्ष्य पुरानै

एसिसी वुमन्स प्रिमियर मंगलबार थाइल्यान्डमा सुरु हुँदा नेपाली महिला क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपल्ट ४० ओभरको खेल सामना गर्नेछ। फरक संरचनामा खेल्न लागे पनि नेपालको लक्ष्य भने पुरानै छ, जित्नका लागि खेल्ने।
एसियाली क्रिकेट परिषद् (एसिसी) ले नयाँ संरचनामा प्रतियोगिता ढालेपछिको एसिसी वुमन्स प्रिमियर पहिलो स्पर्धा हो। एसिसीले यसअघि इलिट र च्यालेन्ज गरी दुई समूहमा प्रतियोगिता गर्ने गर्थ्यो। इलिटमा शीर्ष १० र बाँकी च्यालेन्जमा प्रतिस्पर्धा गर्दथे। 
राष्ट्रिय खेलकुद परिषदमा विदाईपछि नेपाली महिला टोली। तस्विरः विकास कार्की
गत वर्ष थाइल्यान्डमै सम्पन्न एसिसी वुमन्स च्याम्पिनसिपका शीर्ष ६ टोलीलाई प्रिमियरमा खेल्न दिन लागेको हो।च्याम्पियनसिपमा नेपाल तेस्रो भएको थियो। नेपालसँगै शीर्ष ६ मा रहेका थाइल्यान्ड, चीन, हङकङ, भुटान र इरानले प्रिमियरमा प्रतिस्पर्धा गर्नेछन्। सहभागी सबैले एकले अर्कोसँग खेल्नुपर्नेछ। थाइल्यान्डमा जारी राजनीतिक तनावका कारण प्रतियोगिताका खेलहरू बैंककबाट सबै च्याङमाईमा सारिएको छ। नेपालले मंगलबार इरानसँग पहिलो खेल खेल्नेछ भने त्यसपछि थाइल्यान्ड, भुटान, चीन र हङकङसँग खेल्नेछ।
'हाम्रो तयारी राम्रो भयो, खेलाडी सबै फिट छन्। त्यसैले हामी जित्नका लागि गइरहेका छौं,' प्रशिक्षक उमेश उपाध्यायले भने। पहिलोपल्ट महिला टोली सम्हालेका उनले कप्तान रुबिना क्षेत्री र उपकप्तान ममता थापामाथि ठूलो भरोसा राखेका छन्।
नेपालले सन् २००७ देखि महिला अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ। मलेसियामा भएको पहिलो प्रतियोगितामै फाइनलमा पुगे पनि एसिसीले आयोजना गर्ने २० वा २५ ओभरका खेलहरूमा नेपाल सेमिफाइनलमै रोकिँदै आएको छ। गत वर्ष थाइल्यान्डमै उपाधि जित्ने अवसर गुमाउँदा नेपाल विश्वकप छनोट खेल्न पाउनबाट वञ्चित भयो।
एसिसीले ४० ओभरको खेल खेलाउन लाग्दा नेपालले त्यहीअनुसार तयारी गरेको छ। पहिलोपल्ट घरेलु प्रतियोगिता ४० ओभरमा खेलाउँदा ५ खेलाडीले शतक बनाएका थिए। नेरी थापा, रेखा रावल, अञ्जली चन्द, नीरा राजोपाध्याय र ज्योति पाण्डेले शतक बनाएका थिए।
रेखा र पूर्वकप्तान यही प्रदर्शनका कारण थाइल्यान्ड जाँदैछन्। अञ्जली र ज्योति वैकल्पिकमा सीमित भए। नेरी चोटका कारण नेपाली टोलीमा छैनन्। नेरीबिना नेपालले पहिलोपटक खेल्न लागेको हो। टोलीमा अर्को प्रमुख अनुपस्थिति इन्दु बर्माको हुनेछ। पढाइका कारण इन्दु छनोटमै सहभागी भइनन्। युवा खेलाडी काजोल श्रेष्ठ टोलीकी एकमात्र नयाँ अनुहार हुन्। तर अन्य धेरै खेलाडी युवा रहेकाले रुबिना नेपालले राम्रो प्रदर्शन गर्ने विश्वास गर्छिन्।
'हाम्रो टोलीमा आधा नया र पुरानो खेलाडीको मिश्रण छ। पुरानाले खेल्न सकेनन् भने नयाँले इनिङ्स तान्ने क्षमता छ। नयाँ खेलाडीको जोश बेग्लै हुन्छ,' रुबिनाले भनिन्, 'चीन र थाइल्यान्ड राम्रा टोली हुन्। तर यसपल्ट हामी पनि राम्रो टोली हौं र प्रतियोगिता जित्नका लागि खेल्छौं।' उनले अभ्यास छोटो समय भए पनि निकै राम्रो तयारी भएको बताइन्।
'नेसनल क्रिकेट एकेडेमीको यु–१६ टोली र आफै आफैमा अभ्यास खेल खेलेर हामीले तयारी पूरा गरेका छौं,' रुबिनाले भनिन्, 'यसक्रममा हामीले जस्तो प्रदर्शन गर्‍यौं, त्यो दोहोर्‍याउन सक्यौं भने नेपालले उपाधि जित्ने आशा गर्न सकिन्छ। नेपाली टोली सन्तुलित छ।' रुबिना, ममतासँगै सीता रानामगर, नीरा, करुणा, सरिता मगर, सोनु खड्का अनुभवी खेलाडी हुन्। टोलीको अपेक्षा अनुभवी खेलाडीमै छ।
नागरिक राष्ट्रिय दैनिकमा २०७० माघ २६ गते प्रकाशित


No comments:

Post a Comment