Saturday, September 13, 2014

एसियाली खेलकुदमा महिला क्रिकेटको कठिन चुनौती

नेपाली महिला क्रिकेटले राम्रो नतिजा दिन सकेको छैन। विगतमा नेपालको पुरुषको राष्ट्रिय टोलीले जस्तै निर्णायक खेल हार्नु महिला क्रिकेटको नियति नै भइसकेको छ। १७औं एसियाली खेलकुदमा नेपाली महिला क्रिकेटले विगत उल्टाए जादु हुनेछ।
एसियाली खेलकुदमा दोस्रोपल्ट क्रिकेट समावेश गरिएको छ। नेपालले दुवैपल्ट सहभागिता जनाउँदैछ। अर्को हप्ता देखि दक्षिण कोरियामा हुने एसियाली खेलकुद मेलामा राम्रो नतिजा ल्याउन नेपालले ठूलै संघर्ष गर्नुपर्ने देखिन्छ। पदक ल्याउन नसके पनि सेमिफाइनलसम्म पुगे नेपाली महिला क्रिकेटको ठूलो सफलता मानिनेछ।

नेपालले पहिलो चरणमा मलेसिया र थाइल्यान्डसँग खेल्नेछ। समूहबाट दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन्। नेपालले पहिलो चरण पार गरे पाकिस्तान र बंगलादेशमध्ये एकसँग सेमिफाइनल पुग्न खेल्नुपर्नेछ। पाकिस्तान २०१० मा ग्वाङझाउमा भएको प्रतियोगिताको विजेता हो।
ग्वाङझाउमा नेपाललाई कांस्य पदक विजेता जापानले समूह चरणमा १० विकेट तथा प्लेअफमा ४५ रनले पराजित गरेको थियो। नेपाल एसिसी वुमन्स ट्वान्टी–२० च्याम्पियनसिप २०११ र एसिसी वुमन्स च्याम्पियनसिप २०१३ मा थाइल्यान्डसँग पराजित भएको थियो। थाइल्यान्ड एसिसी वुमन्स च्याम्पियनसिपको विजेता हो।
यसैबाट बुझ्न सकिन्छ नेपाली महिलालाई एसियाली खेलकुद अनुभव गर्ने थलोमात्र हुनेछ। प्रशिक्षक अरुण अर्यालले यो यथार्थ बुझेका छन्। उनले भने, 'हामीले खुलेरै पदक आशा गरेका छैनौं। सम्भावनाको खोजीमात्र गरेका हौं।' साढे ३ वर्षपछि उनले महिला टोली हेर्न लागेका हुन्। २०११ को एसिसी वुमन्स ट्वान्टी–२० मा अर्याल नै प्रशिक्षक थिए। कुवेतमा प्रतियोगिता खेल्न जानुअघि नेपालले पाकिस्तान गएर तीन अभ्यास खेल खेलेको थियो। त्यसैले उनले एसोसिएट माथिको टोलीसँग खेल्दाको प्रभाव बुझेका छन्।
एउटा प्रशिक्षकको हिसाबमा आफूले एसियाली खेलकुदलाई चुनौतीको रुपमा लिएको बताउँदै अर्यालले भने, 'पाकिस्तान, बंगलादेशजस्ता राष्ट्रहरू पनि भएकाले हामीले धेरै नै राम्रो खेल्यौं भने मात्र नतिजा ल्याउन सकिने हो। त्यसो भनेर उनीहरूसँग नामले नै तर्सिनुपर्ने होइन। तर खेलाडीलाई उत्प्रेरणा र काउन्सिलिङ हुनुपर्छ।'
कप्तान रुबिना क्षेत्री सकारात्मक नतिजा आशा राख्छिन्। 'रणनीतिक हिसाबमा खेल्ने हो भने पदकको सम्भावना छ, त्यसका लागि नेपाली खेलाडीले प्रतिबद्ध भएर खेल्नु जरुरी छ,' रुबिनाले भनिन्, 'नेपाली महिला क्रिकेटले अहिलेसम्म बिना कुनै सुविधा खेलिरहेको छ र सोचेजस्तो नतिजा दिन सकिरहेको छैन। त्यही भएर हामी फेरि उनीहरूसँग हार्छौ भनेर गयौं भने कहिल्यै जित्दैनौं।'
ठूलो प्रतियोगितामा ठूलै लक्ष्य बनाउनुपर्ने रुविनाको धारणा छ। 'एसियाली खेलकुद हाम्रा लागि ठूलो प्रतियोगिता हो, मेरो हिसाबमा सपना नै हो। ठूलो प्रतियोगिता खेलिरहनु मेरो उद्देश्य नै हो,' कुनै टोलीसँग डराउनु नहुने बताउँदै उनी भन्छिन्, 'पाकिस्तान, श्रीलंका भनेर सोच्नुहुँदैन। समूह विजेता भएर अगाडि बढ्ने हो भने हाम्रो खेल लयमा आउन सक्छ।'
रुबिनासहित अन्य केही खेलाडीसँग ग्वाङझाउको एसियाली अनुभव छ। तर नीरा राजोपाध्यायबिना महिला राष्ट्रिय टोली पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्रँदैछ। आयोजक दक्षिण कोरियाको महिला राष्ट्रिय टोलीको प्रशिक्षणमा सघाउन नीरा बुसानमै छिन्। नेपालले २००७ मा मलेसियामा खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितादेखि नीराले हरेक प्रतियोगिता खेल्दै आएकी छन्।
रुबिना जुनियर र सिनियर खेलाडीको समिश्रण रहेकाले टोलीलाई सन्तुलित मान्छिन्। एसियाली क्रिकेट परिषद (एसिसी) को भारतको आन्ध्रप्रदेशमा भएको विशेष प्रशिक्षणमा नेपालबाट सीता रानामगर, सोनु खड्का र सरस्वती चौधरीले सहभागिता जनाएका थिए। तीन हप्ता लामो यो प्रशिक्षणको फाइदा नेपालले उठाउन सक्छ। सीता टोलीकी अनुभवी खेलाडी हुन्।
वर्षमा एउटा प्रतियोगिता खेल्दा नेपाली खेलाडीमा म्याच एक्सपोजरको कमी देखिएको प्रशिक्षक अर्याललाई राम्रोसँग थाहा छ। धेरै खेल्न नपाउँदा नेपाली महिला क्रिकेटमा समस्या देखिएको बताउँदै उनले भने, 'हङकङ, चीन, थाइल्यान्डको पनि फिटनेस स्तर हाम्रोभन्दा माथि गइसकेको छ। एसियन खेलपछि हाम्रो अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता कुन हो कसैलाई थाहा छैन।'
पाकिस्तान, श्रीलंका र बंगलादेशजस्ता राष्ट्र भएका कारण एसोसिएट टोलीको पदक जित्ने सम्भावना कम भए पनि चीन, हङकङको तयारी फरक छ। एसियाली खेलकुदको तयारीका लागि चीन र हङकङ टोली अभ्यास गर्न इङ्ल्यान्ड गएको थियो। यी दुई टोलीले ग्वाङझाउमा एकापसमा दुई अभ्यास खेल पनि खेलेका थिए। हङकङको टोली थप तयारीका लागि श्रीलंका पुगेको थियो। एउटै खेल जित्ने आशा नगरिए पनि लामो प्रशिक्षणका लागि दक्षिण कोरिया टोली दुईपटक नेपाल आएर फर्किएको छ।
फेब्रुअरीमा थाइल्यान्डमा भएको एसिसी प्रिमियरयता नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय अनुभव बटुल्न पाएको छैन। त्यसअघि नेपाली महिलाको पछिल्लो प्रतियोगिता २०१३ को जनवरीमा थाइल्यान्डमै भएको एसिसी वुमन्स च्याम्पियनसिप थियो।
सुरुमा वर्षाले प्रभावित पारे पनि यसपटकको तयारीबाट नेपाली टोलीले पदक नभए पनि राम्रो नतिजा आशा गर्नुको कारण हो। 'अहिले हामी लामो समयदेखि प्रशिक्षणमा छौं, वर्षाका कारण इन्डोरमै भए पनि अभ्यास गरिरहेका छौं। यसले खेलाडीले पर्याप्त सुधार्ने मौका पाएका छन्,' प्रशिक्षक अर्यालले भने, 'अरु केही परिवर्तन नभए पनि खेलाडीको मिहिनेत देख्दा आशा लागेको छ। हाम्रो टोली एसियाली खेलकुदमा उत्रन योग्य छ। ब्याटिङ राम्रै देखिएको छ। खेल अभ्यासको कमी ठूलो खाल्डो हो।'
यसअघिका प्रतियोगिता खेल्न जाँदा कहिल्यै डेढ महिना प्रशिक्षण नगरेकाले कप्तान रुबिना थप उत्साही छन्।
नागरिक राष्ट्रिय दैनिकमा २०७१ भदौ २७ गते प्रकासित

No comments:

Post a Comment