Sunday, August 24, 2014

उत्कृष्ट बलरको ब्याटिङ विश्वास

जितेन्द्रसिंह ठकुरी एसिसी यु–१६ प्रिमियर क्रिकेटमा उत्कृष्ट बलर भए। उनी दुई वर्षदेखि रिकेश लामाको प्रशिक्षणमा छ। उनका प्रशिक्षक लामाको रहर भने जितेन्द्रलाई फेरि तेस्रो नम्बरमै ब्याटिङ गराउने छ।
मलेसियामा बुधबार सम्पन्न प्रतियोगिता जित्दै नेपालले एसियाली क्रिकेट परिषद (एसिसी) को सबै प्रतियोगिता जित्ने कीर्तिमान बनाउँदा जितेन्द्र ५ खेलमा केवल ३.७३ को औसतमा १५ विकेट लिँदै उत्कृष्ट बलरमा चुनिएका हुन्। थाइल्यान्डसँग पहिलो खेलमै ५ विकेट लिँदै उनले व्यक्तिगत र नेपालका राम्रो सुरुआत दिलाए।
जितेन्द्र सिंह ठकुरी । तस्विरः एसिसी
एक महिनाअघि उनको खेल नियाल्नेलाई भने यो निकै अनौठो लाग्न सक्छ। कीर्तिपुरको साउथ वेस्ट क्रिकेट एकेडेमीमा दुई वर्षदेखि जितेन्द्रले आफूलाई तिखार्ने अवसर पाए। पछिल्लो समय उनले ल्याबोरेटरी स्कुलले चलाएको ल्याब क्रिकेट एकेडेमी तथा नेसनल क्रिकेट एकेडेमीमा पनि प्रशिक्षण लिइरहेका थिए।
उनले जति सिके त्यसमा राम्रो ब्याट्सम्यानको भूमिकामा जमेका छन्। उनलाई केही हदसम्म ब्याटिङ अलराउन्डरमा हेरिएको थियो, त्यो पनि अफ स्पिन बलिङ गर्ने भएकाले। उनले साउथ वेस्टबाट खेल्दै काठमाडौं जिल्ला छनोटमा १००, ९८ र १८ स्कोर बनाएका थिए। अग्रपंक्तिमा खेल्ने उनको यो प्रदर्शन क्षेत्रीय छनोटमा पनि जारी रह्यो। जितेन्द्रले नुवाकोटविरुद्ध अविजित १ सय २५, ललितपुरविरुद्ध १ सय ४ र भक्तपुरविरुद्ध ५१ रन बनाए।
तर मलेसिया जानुपूर्व बोलाइएको बन्द प्रशिक्षणको कथा बेग्लै रह्यो। प्रशिक्षकले को–को ब्याट्सम्यान र को–को बलर हो छुट्टिएर बस्नु भने। जितेन्द्रले अलराउन्डरमा नाम टिपाए। उनको बलिङबाट प्रशिक्षकहरू प्रभावित भए। 'म राम्रो ब्याटिङ गर्छु भनेर प्रशिक्षकलाई भनिनँ,' जितेन्द्र आफ्नो भाव पोख्छन्, 'मलेसियामा आफ्नो उत्कृष्ट दिन्छु भनेर सोचेको थिएँ, तर १५ विकेट लिन्छु भनेर कल्पनासमेत गरेको थिइनँ।' उनले ओमानसँगको खेलमा अविजित ३२ रन बनाएर आफ्नो ब्याटिङ प्रतिभा पनि देखाए।
मलेसियामा आफ्नो सफलताका कारण जितेन्द्र यसरी खोल्छन्, 'बल खासै टर्न हँुदैनथ्यो, स्किड हुन्थ्यो। प्रशिक्षकहरूले डट बल खेलाउनु भन्नुहुन्थ्यो। डट बल खेलाउँदा ब्याट्सम्यान दबाबमा आएर आफै विकेट दिएर जान्थे।' जितेन्द्रलाई पछ्याउँदै १३ वर्षे अनिल खरेलले १३ विकेट लिए।
कप्तानले चाहेको बेला आफूलाई प्रयोग गर्ने गरेको उनी बताउँछन्। 'रन रोक्न, साझेदारी तोड्न परेमा कप्तानले मलाई बल दिन्थे। म पनि चाहिएकै बेला प्रदर्शन दिन्थें।' सवै स्तरमा नेपालको प्रतिनिधित्व गर्ने उनको इच्छा छ। नेपालबाट यु–१९ खेल्नु उनको आगामी लक्ष्य हो। 'हेरौं कहाँ पुगिन्छ,' राष्ट्रिय टोलीसम्म कहिले पुगिन्छ भन्ने प्रश्नमा उनले भने, 'खेल्दै जाँदा उमेर भएपछि पुग्छु जस्तो लागेको छ।'
यु–१६ टोलीका प्रशिक्षक वसन्त शाही जितेन्द्र अब नेपाली क्रिकेटको राम्रो विकल्प भएको मान्छन्। 'उनी बन्द प्रशिक्षणमा ब्याटिङ अलराउन्डर भएर आएका थिए, तर हामीलाई बलिङले प्रभावित पार्‍यो,' शाहीले भने, 'एयर स्पिड, लाइन र लेन्थमा बलिङ गरेका कारण उनले र अनिलले मलेसियामा सफलता पाएका हुन्।' उनका अनुसार मलेसियामा नेपाली बलरहरू विकेट लिन हतारिन्थे। 'विकेटका लागि नजाऊ, डटमा जाऊ आफै विकेट आउँछ भनेपछि उनीहरूले त्यसैअनुसार बलिङ गर्न लागे,' शाहीले भने।
जितेन्द्रको मूल घर सुर्खेतको वीरेन्द्रनगर हो। दुई वर्षदेखि उनको परिवार काठमाडौंमा छ। यहाँ आएपछि नै उनी सनसाइनमा आबद्ध भए। 'पहिलादेखि नै ऊ राम्रो देखिएका खेलाडी हुन्, स्कुल सकाएपछि ४ बजे सिधै अभ्यासमा आइपुग्थे,' पूर्वराष्ट्रिय खेलाडी एवं सनसाइन र ल्याबका प्रशिक्षक लामाले विगत सम्भि्कए।
जितेन्द्र रोगले थलिँदा पनि प्रशिक्षण गर्न नछाडेको लामाले बिर्सिएका छैनन्। 'जन्डिस हुँदा पनि औषधी खाएर मिहिनेतका साथ खेल्न आउँथ्यो। मलेसिया जानुपूर्व पनि बन्द प्रशिक्षणमा हुँदा जितेन्द्रलाई जन्डिसले छाडेको थिएन,' लामाले भने, 'तर प्रशिक्षण जारी राख्थे। अनुशासनमा बसेर खेल्ने हुनाले उसको अझ धेरै अगाडि बढ्ने सम्भावना छ।'
लामाको विश्वास अझै जितेन्द्रको ब्याटिङमा छ। जितेन्द्रको ब्याटिङबाट प्रभावित उनले भने, 'फेरि अवसर आयो भने म उसलाई फस्ट डाउनमै ब्याटिङमा पठाउँछु, अझै शतक हान्छ जस्तो लाग्छ।'
नागरिक राष्ट्रिय दैनिकमा २०७१ भदौ ८ गते प्रकासित

No comments:

Post a Comment