Thursday, September 6, 2012

गडफादरसँगको भिडन्त


विश्व क्रिकेट लिग डिभिजन ४ ले श्रीलंकाका पूर्वस्टार ब्याट्सम्यान रोय डायसलाई यस्तो स्थानमा पुर्‍याइदिएको छ, जहाँ उनी सहज महसुस गर्न सक्दैनन्। नेपालसँग बिहीबार सेलेङ्गर टर्फ क्लबमा घरेलु टोली मलेसियालाई उतार्दा डायस अझ दबाबमा हुनेछन्।
आयोजक मलेसियासँग विजय पाएमा नेपाल लगातार तेस्रो खेल जित्दै फाइनलतर्फ अग्रसर हुँदै डिभिजन ३ को नजिक पुग्नेछ। मलेसियाको हकमा पराजित भइहाले रेलिगेसन दबाब पर्नेछ। डायस ८ महिनाअघि मलेसियाको प्रशिक्षक बनेका थिए। सिंगापुरमा डिभिजन ५ को फाइनलमा पुर्‍याएर डायसले मलेसियालाई बिहीबार नेपालसँग खेलमा उभ्याउन लागेका हुन्।
फाइल तस्विरः दिपेश श्रेष्ठ


डायसले ९ वर्षभन्दा बढी नेपाल बसाइका क्रममा धेरै उपलब्धि हात पारे। नेपालले पुरुष क्रिकेटमा जितेको सबै उपाधि डायसकालकै हो। विशेष गरी युवा क्रिकेटमा पाएको सफलताले डायसलाई अन्तर्राष्ट्रिय क्रिकेटमाझ 'गडफादर अफ नेपाली क्रिकेट' भनेर हेरिन्थ्यो। गुनासा थिए होलान्, तर उनी नेपाली क्रिकेटमै धेरै रमाए। त्यसैले उनी अहिले पनि नेपाललाई आफ्नो दोस्रो घर भन्छन्।
लामो बसाइसँगै राष्ट्रिय टोली निर्णायक खेलमा चुक्दा डायस यसको जिम्मेवार बन्दै गए। ठीक २ वर्षअघि इटालीमा भएको डिभिजन ४ मा उनलाई अन्तिम अवसर दिइयो। तान्जेनियासँग १ सय १८ रन बनाउन नसकी ९ रनले पराजित भएपछि नेपाल डिभिजन ३ मा उक्लन सकेन। डायसले यसलाई कार्यकालको 'बिर्सनलायक खेल' भने। नेपाल क्रिकेट संघले अनुबन्धनलाई नवीकरण नगर्ने निर्णयसँगै डायसको नेपाली क्रिकेटबाट बिदाइ तयारी भइसकेको थियो।
ग्वाङ्झाउ एसियाडबाट डायसले औपचारिक रूपमै बिदाइ लिए। डायसले नेपाल छाडेको पनि २० महिनाभन्दा बढी भइसकेको छ। विदेशी प्रशिक्षकका रूपमा डायसको नेपालविरुद्ध बिहीबार तेस्रो खेल हुनेछ। गत वर्ष उनले छोटो समय ओमानको टिम सम्हाले। डायसले ओमानलाई पहिलोपटक प्रतियोगितामा ओराल्दा 'दोस्रो घर नेपाल' नै आयोजना स्थल बनेको थियो।
काठमाडौं आउनेबित्तिकै डायसले भनेका थिए, 'म दोस्रो घर फर्किएको छु।' नेपाल र ओमानको काठमाडौंमा सम्पन्न एसिसी ट्वान्टी २० कपमा एकै उद्देश्य थियो, कम्तीमा सेमिफाइनल पुगेर विश्व ट्वान्टी छनोटमा छानिनु। भयो पनि त्यही। तर दुवै टोली सेमिफाइनलमै रोकिए। तेस्रो स्थानको खेल भएकाले दुवैको कुनै लक्ष्य थिएन। लक्ष्य डायसको मात्र थियो, नेपाललाई हराउने। उनी त्यसमा सफल भए।
नेपालविरुद्ध डायसले पहिलो बाजी मारे। मार्चमा नेपाल एसिसी यु १६ इलाइट कप खेल्न जाँदा डायस मलेसियाको मुख्य प्रशिक्षक भइसकेका थिए। फाइनलमा मलेसियाले नेपाललाई १ विकेटले पराजित गरी एसिसीको पहिलो उपाधि जित्यो। डायस अग्रपंक्तिमा नभए पनि त्यसको मास्टरमाइन्ड थिए, जसले पहिलोपटक यु १६ इलाइट कप जित्ने नेपालको इच्छा पूरा हुन दिएन। दुई महिनाअघि एसिसी यु १९ एसिया कपमा नेपालले मलेसियालाई १ सय ७ रनले पराजित गरी विदेशी प्रशिक्षक डायससँग त्यसको बदला लिइसकेको छ।
डायसको प्रशिक्षणमा नेपाल दुईपटक एसिसी ट्रफीको फाइनल पुग्यो। दुवैपटक सेमिफाइनलमा मलेसियालाई नै हराएको थयो। सन् २००२ मा सिंगापुरको विशेष थियो। उनी काठमाडौं आएको अर्को वर्ष नै नेपालले मलेसियालाई २५ रनले पराजित गरेको थियो। नेपाली राष्ट्रिय टोलीलाई पहिलोपटक प्रशिक्षण गराउँदा नै उनले यो सफलता पाएका थिए।
यसकारण नेपाल एसिसी ट्रफीको फाइनल पुग्दै भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसम्मिलित एसिया कप छनोट भयो। यो सफलतालाई उनले अहिलेसम्मकै 'ठूलो खुसी' भनी वर्णन गरे। कारगिल युद्धसँगै सुरु भएको भारत–पाकिस्तान तनावले पछाडि धकेलिएको एसिया कपमा 'लबिङ' मिलाउन नसक्दा नेपालले खेल्ने अवसर गुमाउन पुग्यो। डायस त्यसलाई खराब दिनका रूपमा व्याख्या गर्थे।
२०१० मा नेपाल एसिसी ट्रफीमा दोस्रोपटक फाइनल पुग्यो। शरद भेषावकरको अविजित ९७ रनमा नेपालले ६ विकेट गुमाई २ सय ७१ रन बनायो। सुरेश नवरत्नमले १ सय १५ रन बनाए पनि नेपालले ९ रनले खेल जित्यो।  ३७ वर्ष पुग्न लागेका नवरत्नम अहिले पनि डायसको मलेसियाली टोलीका 'ट्रम्पकार्ड' हुन्।
नेपालले २००१, ०३, ०५ र ०७ मा गरी चारपटक जितेको यु–१९ एसिसी कप सबै डायसकै उपलब्धि हुन्। तीनपटक फाइनलमा र एकपटक सेमिफाइनलमा नेपालले मलेसियालाई शिकार बनायो। आफ्नै देशका सबै खेलाडी खेलाउने भएकाले डायसले नेपाली प्रशिक्षक हुँदा मलेसियाको पनि वकालत गर्दथे।
अहिलेको नेपाली टोली डायसले उत्पादन गरेको पुस्ता हो। उनलाई नेपाली क्रिकेटबारे सबै जानकारी छ। तर डायस नेपालका वर्तमान प्रशिक्षक पुबुदु दासानायकेको रणनीतिबारे त्यति जानकार नहुन सक्छन्। दासानायके विपक्षीलाई आश्चर्यमा पार्न खप्पिस मानिन्छन्। भेट्रान खेलाडी विनोद दासलाई टोलीमा छनोट गर्दा धेरैले दासानायकेको निर्णयमा आश्चर्य जनाएका थिए। उनको आश्चर्यजनक निर्णय त्यही सीमित रहेन।
उनले डिभिजन ४ को पहिलो दुई खेलमै विनोदलाई पहिलो रोजाइमा उतारे। तान्जेनियासँगको खेलमा विनोदले सुरुआतमै २ विकेट लिएर नेपाललाई विजयको बाटो देखाए। विनोद त्यही खेलाडी हुन्, जसलाई डायसले नेपालमा हुँदा एकसमय एसियाकै उत्कृष्ट अलराउन्डर भनेका थिए। दासानायकेको देखाएको विश्वासमा विनोदले अहिले डायसकै अगाडि फेरि आफूलाई प्रमाणित गर्ने अवसर पाएका छन्। पछिल्ला केही वर्ष छाड्ने हो भने डायसकै कार्यकालमा विनोदले नेपाली क्रिकेटमा सबै प्रमाणित गरिसकेको तथ्य पनि प्रस्ट छ।
नागरिक राष्ट्रिय दैनिकमा भदौ २१ गते प्रकासित


No comments:

Post a Comment