Friday, February 22, 2013

ट्वान्टी–२० सँगै जोडिएको लक्ष्य


'ट्वान्टी–२० हेरेपछि एकदिवसीय क्रिकेट निकै सुस्त लाग्छ,' प्रशिक्षक पुबुदु दासानायके कप्तान पारस खड्कासँग आफ्नो विचार राख्दै थिए। काठमाडौंमा हुने एसिसी ट्वान्टी–२० कपको एकमहिने उल्टो गणना सुरु भइसकेको छ। नेपाली टोली त्यसैमा केन्द्रित हुँदा दासानायकेसामु भने आउँदो एक वर्षको लक्ष्य छ।
उनको 'ल्यापटप' नेपाली क्रिकेटको योजनाले भरिएको छ। यस सिजनमा नेपाली क्रिकेट निकै व्यस्त छ। नेपालले देखेको विश्वकप सपनाको बाटो पनि यो समयमै परेको छ। एसिसी ट्वान्टी–२० ले अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० को पनि ढोका खोल्नेछ। त्यस्तै अप्रिल–मेमा हुने विश्व क्रिकेट लिग डिभिजन–३ ले २०१५ को एकदिवसीय विश्वकपको बाटो देखाउने छ।
तस्विरः विकास कार्की/नागरिक



नेपालले बर्मुडामा गएर डिभिजन ३ मा खेल्नेछ। वर्तमानको तयारी डिभिजन ३ सम्म भए पनि दासानायके एसिसी ट्वान्टी–२० तर्फ फर्कदै भन्छन्, 'हामी सही बाटो समातेर प्रतियोगिता सुरु हुनुअघि उच्च फर्ममा हुन चाहन्छौं। पछिल्लो ५ हप्ता हामीले धेरै मेहनत गरेको छौं। त्यसैले हामीसँग प्रतियोगिता जित्ने राम्रो अवसर पनि छ। अब भारत गएर एक्सपोज हुन खोज्दैछौं। त्यहाँ हामीले हाम्रो कमजोरी पत्ता लगाउने छौं।'
नेपाली टोली १७ दिने अभ्यासलाई शनिबार दिल्ली जाँदैछ। त्यहाँ पनि दासानायकेले एकदिवसीय र ट्वान्टी–२० टोलीलाई एकैसाथ उतार्दै छन्। दिल्ली जाने १८ सदस्यीय टोलीमा केही एकदिवसीयका लागि मात्र उपयुक्त खेलाडी रहने उनले बताए। दिल्लीमा नेपालले ४ एकदिवसीय र ६ ट्वान्टी–२० अभ्यास खेल खेल्नेछ। 
सन् १९९६ मा अन्तर्राष्ट्रिय खेल्न सुरु गर्दाको समय नेपाली टोलीलाई प्रशिक्षण दिएका वीरेन्द्र भट्नागरले दिल्लीमा नेपाली टोलीको अभ्यास खेल मिलाएका हुन्। क्लब र एकेडेमी टोलीसँग नेपालले खेल्नेछ। मदन लालसहित भारतका पूर्वक्रिकेटरको एकेडेमीसँग नेपालले अभ्यास खेल खेल्ने तयारी गरेको छ। 'त्यहाँ सबै खेलाडीले मौका पाउने छन्। पहिला ४ एकदिवसीय खेल्ने छौं र त्यसपछि ट्वान्टी–२०। एकदिवसीय खेलेको केही समयपछि एसिसीलाई टोली घोषणा गर्नेछौं।'
नेपाली टोलीमा अहिले ब्याटिङ र बलिङमा तीब्र प्रतिस्पर्धा बढेको छ, यसले दासानायकेलाई एसिसी ट्वान्टी–२० कपअघि उत्साही बनाएको छ। उनले भने, 'यो यस्तो प्रतियोगिता हो, जसबाट हामी विश्वकपमा पनि छनोट हुनसक्छौं। यात्रा सजिलो छैन। एसिसी ट्वान्टी–२० यस्तो प्रतियोगिता हो, जुन विश्व ट्वान्टी–२० छनोटभन्दा निकै कठिन छ भनेर धेरैले भनेका छन्। मेरो पनि खासै फरक मत छैन। हाम्रो विशेषता भनेको आधारभूत क्रिकेट हो। तर ट्वान्टी–२० मा कडा प्रहार गर्नुपर्छ, विस्फोटक शैली अपनाउनुपर्छ।' 
अफगानिस्तान र युएई विश्व ट्वान्टी–२० का लागि सोझै छनोट हुनेछन्। त्यसबाहेकका एसिसी ट्वान्टी–२० का शीर्ष दुई दुई टोली विश्व ट्वान्टी–२० लाई छानिने छन्। अफगानिस्तान एकदिवसीय मान्यता प्राप्त टोली हो भने युएईलाई आयोजकका रुपमा भर्खरमात्र विश्व ट्वान्टी–२० छनोटमा सोझै स्थान दिइएको थियो। विश्व ट्वान्टी–२० छनोट नोभेम्बरमा युएईमा हुनेछ। 
युएईलाई सोझै छनोटमा प्रवेश दिइएपछि नेपाललाई केही राहत भएको छ। विश्व ट्वान्टी–२० लाई छनोट नभएसम्म दबाब रहिरहने बताउँदै दासानायके भन्छन्, 'प्रतियोगितामा छनोट हुनेमात्र लक्ष्य होइन, हामी अफगानिस्तान र युएईलाई पनि पराजित गर्न चाहन्छौं। हाम्रो आगामी लक्ष्य एकदिवसीय पनि हो। एकदिवसीय मान्यता पाउन अफगानिस्तान र युएईसहित आयरल्यान्ड, स्कटल्यान्डजस्ता राष्ट्रलाई पराजित गर्न जरुरी छ। एसोसिएटको शीर्ष टोलीलाई हराउने क्षमता हामीसँग छ।'
स्किलमा सन्तुष्ट दासानायकेसँग खेलाडीको फिटनेस सुधार्नु अहिलेको लक्ष्य हो। एसिसी ट्वान्टी–२० जित्नु दोस्रो लक्ष्य हो। पहिलो लक्ष्य विश्व ट्वान्टी–२० लाई छनोट हुनु नै हो। 'सजिलो केही छैन, पहिलो खेलबाट कुन गति समाउने हो त्यो महŒवपूर्ण छ,' दासानायकेले भने।
विनोद ट्वान्टी–२० बाट बाहिर 
राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दास एसिसी ट्वान्टी–२० कपबाट बाहिरिएका छन्। विनोदले सोमबार नै बन्द प्रशिक्षण छाडेका छन्। 'उनको चोट अझै निको भइसकेको छैन। त्यसैले उनी सतप्रतिशत फिट छैनन्,' प्रशिक्षक दासानायकेले भने, 'डिभिजन ३ अगाडि हामीसँग समय कम छ। उनी सतप्रतिशत फिट भएमा एकदिवसीयमा उसलाई विचार गर्न सकिन्छ।'
घरायसी कारण परेकाले पनि आफूले क्याम्प छाडेको विनोद बताउँछन्। गत वर्ष पनि एसिसी ट्वान्टी–२० पछि विश्व ट्वान्टी–२० छनोटको तयारीमा भारत जाँदा १८ सदस्यीय टोलीमा विनोद थिएनन्। दासानायकेले ट्वान्टी–२० मा विनोदको सम्भावना कम रहेको बताउँदै आएका छन्। अझ विशेषगरी नेपालमा खेल्दा एउटैमात्र तीब्र बलर लिएर खेल्ने हुँदा उनको सम्भावना कम देखिएको हो।
दासानायकेले विनोदलाई भने एकदिवसीयमा प्रमुख खेलाडी मान्दै आएका छन्। नेपालले सेप्टेम्बरमा मलेसियामा डिभिजन ४ जित्दा विनोद प्रमुख खेलाडी नै थिए। लगत्तै आयोजक युएईसँगै संयुक्त विजेता बनेको एसिसी ट्रफी इलिटमा भने विनोद खेल्न पाएनन्। प्रतियोगिता सुरु हुने अघिल्लो दिन उनले घुँडामा चोट बोकेका थिए। सोही कारण उनले दुई महिनाअघि राष्ट्रिय प्रतियोगितामा समेत खेल्न पाएनन्।
नागरिक राष्ट्रिय दैनिकमा २०६९ फागुन ११ गते प्रकासित

No comments:

Post a Comment