Sunday, February 24, 2013

भुवन आइपिएलमा जाने


स्पिनर भुवन कार्कीले इन्डियन प्रिमियर लिग (आइपिएल) को टोली राजस्थान रोयल्समा एक महिना प्रशिक्षण गर्ने भएका छन्। नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले भुवनलाई राजस्थानसँग भारतको जयपुरमा प्रशिक्षण गर्ने व्यवस्था मिलाएका हुन्। 
मार्च २२ मा सुरु हुने प्रशिक्षणका लागि भुवन मार्च दोस्रो वा तेस्रो सातासम्म पुगिसक्ने दासानायकले बताए। आइपिएलको छैटौं संस्करण अप्रिल ३ मा सुरु हुनेछ। राजस्थानले दिल्लीमा गएर डेयरडेभिल्ससँग अप्रिल ६ मा पहिलो खेल खेल्नेछ भने जयपुरको घरेलु मैदानमा कोलकाता नाइट राइडर्ससँग ८ मा खेल्नेछ।



'सिनियर टोलीका सबै खेलाडी डिभिजन ३ मा व्यस्त हुनेछन्। त्यसैले मैले भुवनको नाम सिफारिस गरेको हुँ। उनी हाम्रो यु–१९ टोलीका प्रमुख बलर हुन्, उनी राम्रोसँग अगाडि आइरहेका खेलाडी हुन्,' दासानायकेले भने, 'भुवनले यु–१९ मा पनि खेल्ने हुनाले राजस्थान यात्राले उनलाई राम्रो एक्सपोज दिनेछ।' दासानायकेले विदेशीको कोटामा नेपाली खेलाडी पार्न गाह्रो हुनाले अहिलेलाई अभ्यासको व्यवस्थामात्र मिलेको बताए। उनले भने, 'भारतीय क्रिकेट बोर्डले अर्को निर्णय नगरेसम्म नेपाली खेलाडीले आइपिएलमा खेल्न पाउन गाह्रो छ।'
भुवनलाई बिहीबार दासानायकेले राजस्थान जाने जानकारी गराएका थिए। 'बाहिरी हल्ला सुनेको थिएँ। राजस्थानको सेट टिमसँग खेल्न पाउँछस्, तयार भएर बस्नू भनेर प्रशिक्षकले नै भनेपछि मलाई एकछिन त विश्वास लागेन,' भुवनले नागरिकसँग भने, 'माथिल्लो स्तरको क्रिकेट बुझ्ने राम्रो अवसर पाएको छु।' 
राजस्थानमा राहुल द्रविड, सेन वाटसन, ब्राड हज, अजिन्का राहने जस्ता खेलाडी छन्। अरुका बारे भुवनलाई खासै थाहा छैन। धनगढीका १९ वर्षे भुवनको अपेक्षा छ, 'यी खेलाडीलाई कसरी बलिङ गर्ने मैले कुनै योजना बनाएको छैन। मेरो सबै योजना मैदानमा ओर्लेपछि नै हुन्छ। उनीहरूको नजरमा परेर राम्रो प्रतिक्रिया आउनुपर्छ भन्ने मेरो मान्यता हो।'
राजस्थानका प्रशिक्षक मोन्टी देसाइसँग दासानायकेको व्यक्तिगत सम्बन्धका आधारमा भुवनले अभ्यास गर्ने मौका पाएका हुन्। दासानायके सन् २००७ देखि २०११ सम्म क्यानडाका प्रशिक्षक थिए। गत वर्ष युएईमा भएको विश्व ट्वान्टी–२० छनोटमा देसाई क्यानडाको परामर्शदाता प्रशिक्षक थिए। सोही प्रतियोगिताका क्रममा नेपालको खेल हेरेपछि गत वर्ष दासानायकेको सहयोगमा देसाइले नेपाली अलराउन्डर शक्ति गौचनलाई राजस्थानमा 'ट्रायल' दिन बोलाएका थिए।
'राजस्थानमा मेरो अनुभव निकै रमाइलो थियो। त्यहाँ गएर मैले ठूला खेलाडीसामु कसरी बलिङ गर्ने थाहा पाएँ। त्यसपछि मेरो आत्मविश्वास पनि निकै बढेको थियो,' शक्तिले सम्झे, 'भुवनले मैले भन्दा बढी राजस्थानमा खेल्ने अवसर पाउँछन्। उनीजस्ता युवा खेलाडीलाई यो अनुभव निकै महत्वपूर्ण हुनेछ। यसले सम्पूर्ण नेपाली क्रिकेटलाई फाइदा पुग्नेछ।'
सशस्त्र प्रहरीमा आबद्ध हुने क्रममा रहेका भुवनले सन् २००७ मा काठमाडौं भएको एसिसी यु–१५ इलिट कपबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेका हुन्। पछिल्लो तीन वर्षमा भुवनले नेपाली यु–१९ बाट एसिसी यु–१९, विश्व यु–१९ छनोट, एसिसी यु–१९ एसिया कप र आइसिसी यु–१९ विश्वकपमा गरी २४ खेलमा ३३ विकेट लिएका छन्। त्यसमा ३७ मेडन थियो। किफायती बलरमा प्रभाव जमाएका देब्रेहाते स्पिनर भुवनले ५ महिनाअघि युएईमा सम्पन्न एसिसी ट्रफी इलिट कपबाट राष्ट्रिय टोलीमा 'डेब्यु' गरेका हुन्। 
६ वर्षअघि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको प्रदर्शनका लागि भुवनलाई विशेष याद गरिन्छ। नेपालसँगको खेलको अन्तिम ओभरमा ओमानलाई विजयनिम्ति २ रनमात्र खाँचो थियो। ७९ रनमा खेलिरहेका गौरभ विनय होनाभर स्ट्राइकमा थिए। भुवनले अन्तिम ओभर 'मेडन' फाल्दै नेपाललाई १ रनको विजय दिलाए। 'मैले आफूलाई विकेट लिनेभन्दा डट बलरका रूपमा चिनाइरहेको छु। राजस्थानमा मेरो लक्ष्य त्यही हुनेछ,' भुवनले लक्ष्य सुनाए।
नागरिक राष्ट्रिय दैनिकमा फागुन १३ गते प्रकासित

No comments:

Post a Comment