Wednesday, May 29, 2013

हिलोमा चिप्लिएको नेपाली क्रिकेट

झरीमा फक्रने नेपाली क्रिकेट तालिका यसपल्ट पनि अछुतो रहेन। पछिल्लो एक दशकलाई हेर्ने हो भने वर्षायामसँग नेपाली क्रिकेटको सम्बन्ध प्रगाढ बन्दै गएको छ। सोमबार सम्पन्न वाइवाइ महिला यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता यसैको कडी थियो।
भदौदेखि वैशाखसम्म क्रिकेट खेल्न उपयुक्त समय मानिन्छ। जेठदेखि चार महिना लगभग नेपाली क्रिकेट ठप्प नै हुने गर्छ। गत वर्षलाई छाड्ने हो भने नेपाली क्रिकेट झन्डै उल्टो चलिरहेको छ। जेठसँगै सुरु हुने झरी र त्यसमा जोडिने मनसुनमा नेपाली क्रिकेट भिज्दै आएको छ। यही समयमा प्रतियोगिता आयोजना गर्नुपर्ने बाध्यता देखाइए पनि निश्चित क्यालेन्डर नहुँदा नेपाली क्रिकेट वर्षामा चिप्लिने गरेको छ। 
फाइल तस्विर : विकास कार्की

वर्षाले अवरुद्ध हुँदा यसमा बढी विवाद निम्तिने गरेका छन्। भर्खर सम्पन्न यु–१९ महिला राष्ट्रियमा नेपालगन्ज र वीरगन्जबीचको खेल वर्षाले बीचैमा रोकियो। भैरहवासँगको सेमिफाइनलमा पनि बीचमै रोकिएपछि नेपालगन्ज पूरै खेल खेल्न नपाई प्रतियोगिताबाट बाहिरियो। नेपालगन्जले १२.४ ओभरमा ५ विकेट गुमाई ५४ रन जोडेको बेला वर्षाले खेल रोकियो। समूह चरणमा सर्वाधिक अंक बटुलेको आधारमा भैरहवाले फाइनलमा स्थान पायो।
'एसिसी ट्वान्टी–२० बेला परेकाले हामीले केहीअघि यो प्रतियोगिता (यु–१९ महिला) गर्न सकेनौं। यु–१९ पुरुष राष्ट्रिय क्रिकेट पोखरामा भएको थियो। एउटै प्रायोजक भएकाले उनीहरू फेरि काठमाडौं बाहिर जान चाहेनन्,' नेपाल क्रिकेट संघ (क्यान) का महासचिव अशोकनाथ प्याकुर्‍याल संघको बाध्यता सुनाउँदै भन्छन्, 'त्यसैले यसपटक जेठमा पर्न गएको हो। त्यसमाथि यसपालि मनसुन चाँडै सुरु भएजस्तो लाग्यो। हामीले सकेसम्म जेठ १० पछि प्रतियोगिता नपार्ने हिसाबमै कार्यक्रम बनाइरहेका छौं।'
नेपालगन्ज क्षेत्रका स्थानीय खेलाडी रुपेश शर्मा यसमा ठूलो विमति छ। 'तालिका छ भनेर क्यान वर्षायाममा क्रिकेट गराउँछ, त्यसबाट कसरी नयाँ खेलाडी निस्कन्छन्,' उनले प्रश्न गरे, 'सेमिफाइनलजस्तो खेल हुन नसकेपछि समूह चरणको नतिजा हेरेर निर्णय दिई क्यान पैसा जोगाउन मात्र खोज्छ।'
तीन वर्षअघि एपिएफ क्लब राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलोपल्ट खेलिरहेको थियो। एकदिवसीय र ट्वान्टी–२० राष्ट्रिय प्रतियोगिता वैशाख अन्तमा सुरु भएर जेठमा टुंगिएको थियो। एपिएफ र भैरहवा समूह चरणको निर्णायक खेलमा थिए। जसले जित्यो त्यो फाइनल पुग्ने थियो। वर्षाले खेल हुने दिने स्थिति नै थिएन। एपिएफ र भैरहवा अंक बाँड्न बाध्य भएको खण्डमा जनकपुरधाम फाइनल पुग्ने थियो। वर्षा रोकिएसँगै सशस्त्रका प्रहरीका जवान आफै गएर मैदानको हिलो मिलाउन लागे। सशस्त्रका एक उच्च पदाधिकारीले हिलो क्रिकेटतर्फ इंगित गर्दै भनेका थिए, 'हामी विभागीय टोली हौं। नतिजामुखी हुन्छौं। खेल्न नपाएर बाहिरिने हो भने हामी क्रिकेटबाटै पछाडि हट्न पनि सक्थ्यौं।'
खुलेर अगाडि नआए पनि खेलाडीहरू यसका लागि क्यानलाई नै जिम्मेवार मान्छन्। 'क्यान बिना कुनै योजना नै प्रतियोगिता आयोजना गर्न तम्सिन्छ। वर्षायामको क्रिकेट पनि बिना योजनाकै नतिजा हो। यसले खेलाडीलाई र एउटा टोलीलाई मात्र नभई सम्पूर्ण नेपाली क्रिकेटको संरचनालाई नै असर पारिरहेको छ,' नाम उल्लेख गर्न नचाहने एक खेलाडीको गुनासो थियो।
एसिसी यु–१९ महिला च्याम्पियनसिपको आगामी संस्करण अर्को वर्ष हुनेछ। मिति स्पष्ट भएको छैन। त्यसलाई लक्षित गरेर क्यानले अर्को यु–१९ राष्ट्रिय प्रतियोगिता गर्नुपर्ने हुन्छ। त्यसैले यु–१९ महिला राष्ट्रिय प्रतियोगिता केही समयअघि गर्नुपर्ने थियो। वर्षायाममै जुधाउनुको कुनै तुक छैन। २०५८ मा क्षेत्रीय संरचनामा सुरु हुँदा पुरुष राष्ट्रिय प्रतियोगिताको पहिलो संस्करण जेठमै भएको थियो। वर्षाले प्रतियोगिताका खेलहरू मात्र प्रभावित पारेन, फाइनल नै हुन नदिएपछि विराटनगर समूह चरणको प्रदर्शनका आधारमा विजेता बन्यो। उपविजेता भैरहवाका अगाडि विराटनगरलाई विजेता ट्रफी नभिजाएर हस्तान्तरण गर्न क्यानले होटलमै कार्यक्रम नै गर्नुपरेको थियो।
त्यसको दुई वर्षपछि वर्षायामको क्रिकेट झनै अनौठो थियो। तत्कालीन राष्ट्रिय खेलकुद परिषद् नेतृत्वले राजाको शुभजन्मोत्सवका अवसरमा कुनै इभेन्ट गर्नुपर्ने निर्देशन सबै राष्ट्रिय संघलाई दिएको थियो। क्यान नेतृत्वले त्यसमा क्षेत्रीय संरचनामा राष्ट्रिय प्रतियोगितासरहकै अर्को प्रतियोगिता गर्ने निर्णय गर्‍यो। त्यो पनि असारमा। एउटै खेल पनि हुन सकेन।
राष्ट्रिय प्रतियोगितामा विराटनगर लगातार तेस्रोपल्ट च्याम्पियन बनिसकेको थियो। त्यो पनि दोस्रोपटक भैरहवालाई फाइनलमा पराजित गरेको। सोही आधारमा शुभजन्मोत्सवमा गरिएको प्रतियोगितामा कुनै खेल नभए पनि विराटनगर विजेता र भैरहवा उपविजेता बने। नेपालका तत्कालीन प्रशिक्षक रोय डायस त्यसलाई 'मिकी माउस' क्रिकेट भन्ने गर्थे। वर्षायाममा गरिने प्रतियोगितालाई विश्लेषण गर्ने हो भने क्यान अझै कार्टुनपात्र 'मिकी माउस' जस्तै नै छ।
नागरिक राष्ट्रिय दैनिकमा २०७० जेठ १५ गते प्रकासित

No comments:

Post a Comment