Thursday, July 18, 2013

इन्डोर नुहँदा फुटबल खेल्दै क्रिकेटर

नियमितजसो राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू कीर्तिपुर त्रिवि मैदानमा खेल्छन्। क्रिकेट नभएर बुधबार उनीहरूको फुटबल खेल्ने तालिका बन्यो। क्रिकेट भए पनि बन्द प्रशिक्षणमा खेलाडीलाई 'फ्रेस' र फिट राख्न फुटबल, भलिबल, खोखोसहितका खेल खेलाउने गरिन्छ।
नेपाली क्रिकेट टोलीलाई अहिले फुटबल खेल्न दिनुको कारण फरक छ। सिंगापुरमा अर्को महिना हुने भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसम्मिलित एसिसी इमर्जिङ टिम्स कपलाई तयारी सुरु भएको साता बितिसक्यो। इन्डोर सुविधा नहुँदा मनसुनका कारण खेलाडीले मैदानमा बल र ब्याट समात्ने अवसर पनि पाएका छैनन्।


क्यानाडामा बिदा मनाइरहेका प्रशिक्षक पुबुदु दासानायकेको स्थानमा टोली सम्हालिरहेका प्रशिक्षक जगत टमाटाले खेलाडीलाई फिजिकल फिटनेस केन्द्रित प्रशिक्षण गराइरहेका छन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा जिम तथा दशरथ रंगशालामा रनिङमै टोलीको प्रशिक्षण खुम्चिएको छ। जिम र फिटनेसमा मात्र प्रशिक्षण गर्न पाएपछि खेलाडीलाई फुटबल खेल्न दिनु टमाटाको बाध्यता छ।
क्रिकेट टोलीले राम्रोसँग अभ्यास गर्न नपाएपछि राष्ट्रिय खेलकुद परिषद्ले तत्काललाई सातदोबाटोस्थित सुटिङ रेन्ज उपलब्ध गराइदिएको छ। ४०×९० खाली स्थानमा माथि कभर लगाएर नेट बक्स बनाइएको छ। त्यसमा तलको भाग म्याट बिछ््याएर बलिङ गर्ने व्यवस्थामा मिलाइएको टमाटा बताउँछन्। उनले बिहीबारबाट यसमा प्रशिक्षण सुरु गर्न सक्ने बताए।
ब्याटिङ र बलिङ अभ्यास गर्न नपाउँदा ठूलो असर पर्ने ब्याट्सम्यान शरद भेषावकर बताउँछन्। 'एक साता ब्याटिङ गरेन भने नै लय हराउँछ। जिम गरेर आफैलाई फिट राखे पनि डिभिजन ३ यता मैले ब्याट समातेको छैन,' शरदले वास्तविकता सुनाए, 'यस्तो अवस्थामा खेलाडीले आफूले सकेको खेल्ने हो। यसको प्रभाव निश्चय नै पर्छ। इन्डोर सुविधा भनेको अहिलेको प्रमुख आवश्यकता नै भइसकेको छ।'
नेपालले बर्मुडामा डिभिजन ३ जितेको तीन महिना भइसक्यो। शरदबाहेकका अन्य खेलाडीले डिभिजन ३ लगत्तै भारतको उत्तराखण्डमा गएर एक आमन्त्रण प्रतियोगिता खेले। त्यसबाहेक उनीहरूको पनि बल र ब्याटसँग खासै सम्बन्ध छैन। नेपाल क्रिकेट संघ (क्यान) ले सिंगापुर जानुअघि १५ दिन श्रीलंकामा अभ्यास व्यवस्था मिलाएको छ। इन्डोर अभावमा राजधानीको प्रशिक्षण वर्षाले चुटिएपछि सबैको आशा श्रीलंकाको प्रशिक्षणमा छ।
अभ्यास गर्न इन्डोर हल नहुँदा ठूलो समस्या परेको टमाटा स्वीकार्छन्। 'पानीले धेरै असर गरिरहेको छ। तयारी राम्रोसँग हुन पाएको छैन, फिटनेस लेभलमा मात्र केन्द्रित हुनुपरेको छ। हामीसँग इन्डोर समस्या छ। यो भनेको क्यान र राज्यले पहल गर्ने विषय हो,' टमाटाले भने, 'खेलाडीले अहिलेसम्म बल र ब्याट छुन पाएका छैनन्। कुनै पनि समय पानी परिहाल्छ। यसले पूरा तयारी त हुँदैन। तथापि श्रीलंकामा १५ दिन राम्रो प्रशिक्षण गर्ने हो भने तयारी पूरा हुनेछ।'
गैरआवासीय नेपाली (एनआरएन) युएईले मुलपानी क्रिकेट मैदानमा इन्डोर सुविधा बनाइदिने क्यानले माघको अन्तमा बताएको थियो। हाल निमार्णाधीन मुलपानी मैदान छेउमा बनाउने भनिएको ६२ लाख लागतको इन्डोर हल वैशाखसम्म निर्माण सिध्याउने लक्ष्य एनआरएन युएई र क्यानको भए पनि त्यसको शिलान्याससमेत भएको छैन।
क्यान पदाधिकारी अर्को वर्षसम्म मुलपानीमा इन्डोर बन्न सक्ने बताउँछन्। 'एनआरएन युएईले अझै रकम संकलन गरिरहेको छ भन्ने सुनेको छु। दशैंसम्म इन्डोरको शिलान्यास होला,' क्याच सचिव उत्तम कर्माचार्यले भने, 'सुटिङ रेन्जमा अहिले कामचलाउ बनाइएको हो। अर्को वर्षसम्म मुलपानीको इन्डोर बनिसक्ला। त्यसपछि यो समस्या नआउला।'
असोजमा नेपाल एसिसी ट्रफी इलिट खेल्न युएई जाँदा नेपाली व्यवस्थापक रहेका सचिव कर्माचार्य र केशव पहारीले एनआरएन युएईका पदाधिकारीसँग नेपालमा इन्डोर सुविधाको आवश्यकता औंल्याएका थिए। छलफलपछि क्यान र एनआरएनबीच मुलपानीमा वर्षाका बेलामा अभ्यास गर्न मिल्ने इन्डोर बनाउने र त्यसमा सुविधा थप्दै जाने सहमति भएको थियो।
सहमतिअनुसार एक पूर्ण पिचसहित कम्तीमा दुई पिचको इन्डोर एक सय फिट लामो बनाइने थियो।
२०७० साउन २ गते नागरिक दैनिकमा प्रकासित

No comments:

Post a Comment