Thursday, July 25, 2013

महेश क्षेत्रीको पुनरागमन प्रयास


महेश क्षेत्री र शक्ति गौचनका आँखा आँसुले टिलटिल परेका थिए। एसिसी ट्वान्टी–२० कपको १४ सदस्यीय अन्तिम नेपाली सूचीमा दुवैको नाम थिएन। सन् २०११ यो प्रतियोगिता नेपालले १३ वर्षपछि आयोजना गर्न लागेको पहिलो प्रतियोगिता थियो। घरेलु भूमिमा आफ्ना समर्थकमाझ खेल्ने दुवैको योजना टोलीको छनोटपछि भताभुंग भए।
नेपाली छनोटको भोलिपल्ट शक्ति आफूलाई सम्हालन सकिरहेका थिएनन्। मैदानमा एकोहोरो भएर बसेका थिए। महेशको स्थिति त्यही थियो। दह्रो मुटु बनाएर महेशले खेलाडी साथीहरूसँग भने, 'केटाहरू, तिमीहरू राम्रोसँग खेल्नू। म टेलिभिजन हेर्दै नेपाली टोलीलाई चियर गरिरहने छु। फेरि कुनै दिन म टोलीमा फर्केर आउनेछु।'
तस्विरः विजय गजमेर/नागरिक

त्यसपछि महेशलाई राष्ट्रिय टोलीको क्लोज क्याम्पसम्मै आइपुग्न २० महिना लाग्यो। सिंगापुरमा अर्को महिना हुने एसिसी इमर्जिङ टिम्स कपका लागि २२ सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दा महेश पनि त्यसमा समेटिए। पहिलो दिनै क्लोज क्याम्पमा फर्केर आउँदा उनलाई गुमाएको केही पाए जस्तो लाग्यो। साथीहरूसँग हाँसीमजाक सुरु भयो। धेरै दिनपछि उनले क्रिकेटमा आएर हाँस्ने मौका पाए।
एकसमय नेपालका प्रमुख ब्याट्सम्यान र विकेटकिपर रहेका महेश एसिसी ट्वान्टी–२० कपको २० महिनाको अवधिमा क्रिकेटबाट बाहिरिने स्थितिमा पुगिसकेका थिए। पार्टटाइम जागिर खाँदै कम्तीमा घरमा व्यावहारिक हुन खोजिरहेका थिए। यस्तैमा कप्तान पारस खड्काको फोन आयो। महेश आफैले विश्वास गर्न सकेनन्। 'पहिलो चरणमा तिमीलाई बोलाउँछ होला, तयार भएर बस्नु, अभ्यास गर्दै गर्नु, टचमा रहनु' एक महिनाअघि पारसले भनेपछि महेशको क्रिकेट यात्राले रफ्तार लिन लाग्यो।
महेशले क्रिकेट छाडिसकेका थिएनन्। पारसले त्यति भनेपछि महेशभित्र क्रिकेट सलबलाउन थाल्यो। उनी छाती फुलाउँदै काठमाडौं क्लोज क्याम्पमा आए। काठमाडौं आउनुअघि नेपालगन्जस्थित महेन्द्रप्रसाद विद्यालयमा युवा खेलाडीको अभ्यासमा महेश पनि मिसिन्थे। स्थानीय युवा खेलाडी अफजल खानसँगै अभ्यास गर्थे। महेशलाई उनले राम्रो सघाउँथे अभ्यासमा। टिम बाहिर हुँदा महेश हतोत्साहित नभएका होइनन्। नवराज मैनालीसहितका साथीहरूले 'राम्रो खेलाडीको पालो अवस्य आउँछ' भनेर सम्झाएको पल महेश झल्झली सम्झन्छन्।
'राम्रो गर्दागर्दै नेपाली टोलीबाट बाहिरिएको थिएँ। मलाई थाहा थियो एकदिन मैले फेरि १ नम्बर जर्सी लगाएर नेपाली टोलीबाट खेल्ने छु भनेर,' आँटिला महेश भन्छन्। उनमा क्याम्पमै अवसर नै नपाई घर फर्किनुपर्ने त होइन भन्ने त्रास थियो, भयो पनि त्यही। एक हप्ता कम समय त्यो पनि मैदानमा अभ्याससमेत गर्न नपाई नेपाली टोली छानियो। महेश सिंगापुर जाने टोलीमा परेनन्। 'टोलीमा १४ खेलाडीबाहेक अरुलाई पनि अवसर हुनुपर्छ। अरुलाई पनि खेल्ने अवसर दिनुपर्छ। सानो जागिर भए पनि छाडेर नेपालगन्जमै म पछिल्लो एक महिनादेखि बिहान र बेलुकी अभ्यास गरिरहेको थिएँ। यहाँ वर्षाले हिलो मैदान भएका कारण हामीले अभ्यासका लागि अवसर नै नपाउने सम्भावना छ, अनि के गर्ने,' महेश प्रश्न गर्छन्।
२००२ मा युएईमा भएको यु–१५ एसिया कपदेखि महेशले अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका छन्। मलेसियामा २००६ मा एसिसी ट्रफीबाट महेशले राष्ट्रिय टोलीबाट 'डेब्यु' गरे। भुटानसँगको पहिलो खेलमै अर्धशतक बनाए। २०१० मा घरेलु भूमिमा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन ५ को फाइनलमा एकैपटक ओपनिङमा ब्याटिङ गरे। उनले अनिल मण्डलसँग पहिलो विकेटमा जोडेको ८५ रनले नेपाललाई पहिलोपल्ट आइसिसीको उपाधिमा बाटो देखायो। त्यसको एक महिनापछि कुवेतको एसिसी ट्रफी इलिटमा महेश र अनिल दुवै चम्किए। अनिलले २ सय ३६ र महेशले २ सय ३४ रन बनाए। पुबुदु दासानायके नयाँ प्रशिक्षक भएर आएसँगै नेपालको यु–२५ टोली सार्क प्रतियोगिता खेल्न माल्दिभ्स लाग्यो। नेपाली ब्याटिङले परम्परागत समस्या देखाइदियो। त्यसपछि दासानायकेले क्रिकेटको संरचनामा ठूलो परिवर्तन गरे। त्यसको घानमा महेश पनि पिसिए। हुन त एसिसी ट्वान्टी–२० कपका लागि छानिएको १८ सदस्यीय टोलीमा महेश एक्लो विकेटकिपर थिए। अन्तिम १४ को नाम आउँदा महेश थिएनन्। उनको स्थानमा सुवास खकुरेल ल्याइएको थियो।
महेशको विकेटकिपिङ र सुवासको ब्याटिङ राम्रो मान्ने धेरै थिए। ट्वान्टी–२० भएकाले सुवास किफायती हुने निचोड दासानायकेको थियो सायद। महेशले पनि आफूले ट्वान्टी–२० शैलीमा ब्याटिङ गर्न नसकेको बुझेका थिए। 'किपिङमा मलाई कुनै शंका लाग्दैन। मेरो ब्याटिङ अलि कमजोर थियो। मलाई कसैले सोधे म ओपनिङ ब्याटिङ गर्न चाहन्छु नै भन्छु,' महेश ब्याटिङबाट पनि आफ्नो महत्व दर्शाउन खोज्छन्, 'बल पछाडि आएपछि खेल्छु, सुरक्षित भएर खेल्छु। ट्वान्टी–२० मा अलि अगाडि बढेर खेल्नुपर्छ, सीधा खेलेर मात्र हुँदैन। त्यही भएर ट्वान्टी–२० मा मेरो ब्याटिङ अलि नमिलेजस्तो देखियो। अहिले मैले ट्वान्टी–२० र एकदिवसीय भनेर छुट््याएको छैन। तर सटमा राम्रो तयारी गरेको छु।'
जब डिभिजन ४ जाने टोलीको पहिलो चरण घोषणा भयो, महेश छानाबाट खसेजस्तै भए। उनी प्रारम्भिक टोलीमै थिएनन्। एकदिवसीयमा पनि महेशको ढोका बन्द हुँदै गयो। यसको एउटै कारण महेशलाई क्षेत्रकै टोलीमा नराख्नु पनि थियो। पहिला पुलिस क्लबबाट खेलेकाले पुलिसकै खेलाडी भनेर महेशलाई नेपालगन्ज क्षेत्रको टोलीमै राखिएन। क्षेत्रलाई कुनै मतलब नभएकाले राम्रा खेलाडी अवसर नै नपाई हराउँदै गएको महेशको आरोप छ। क्षेत्रमै खेलाडी छनोटमा हुने भेदभावको पछिल्लो शिकार उनी भए।
सुवासले एकदिवसीयमा पाएको मौकामा चौका हाने। डिभिजन ४ मा सुवासले नेपालबाट सबैभन्दा बढी २ सय ८ रन बनाए। सुवासले अमेरिकासँग समूह चरणमा बनाएको १ सय १५ रन राष्ट्रिय खेलाडीको व्यक्तिगत उच्च स्कोर हो। विकेटकिपरको विकल्पमा टोलीमा विनोद भण्डारी पनि छन्। महेश आफ्नो प्रतिस्पर्धा कसैसँग नभएको बताउँदै सुवासबारे भन्छन्, 'सुवास नेपालका राम्रा खेलाडी हुन्। उनले राम्रो खेल्नु नेपालकै लागि राम्रो हो। मैले आफ्नो अवसर खोजिरहेको छु। प्रतिस्पर्धा हुनु रामो हो। भोलि म विकेटकिपरको भूमिका र सुवास ब्याट्सम्यानको भूमिकामा वा म ब्याट्सम्यान र सुवास विकेटकिपर मात्र भएर पनि टोलीबाट खेल्न सक्छौं। भोलि के हुन्छ कसलाई के थाहा!'
टोलीमा नभए पनि महेश अपडेट भइरहन्थे। 'म मैदान बाहिर भए पनि नेपालले राम्रो खेलिरहेको थियो। यसले मलाई पुनरागमन गर्नुपर्छ भनेर हौसाइरहन्थ्यो। यो टोलीसँगै म पनि भएको भए कति खुसी हुन्थे होला? यसको सिमाना मैले नापेको पनि छैन। अहिलेको नतिजाले क्रिकेटमा पनि भविष्य छ भनेर देखाएको छ,' महेश २० महिनाको अन्तरमा गुमाएको पक्ष केलाउँदै भन्छन्, 'नेपालले जित्दा पहिलो पृष्ठमा ठूलो तस्बिर आउँथ्यो। त्यसमा म आफैलाई खोजिरहेको हुन्थें। त्यस्तो अवस्थामा अरुलाई आफ्नो परिचय दिन पर्दा निकै अप्ठेरो लाग्थ्यो।'
घुम्दैफिर्दै यसै वर्ष एसिसी ट्वान्टी–२० कप नेपालमा पुनः फर्केर आयो। उनको भागमा नेपालको खेल टेलिभिजनमै हेर्न मात्र जुर्‍यो। 'नेपालको खेल टिभीमा आउँदा खुसी भएर पनि हेर्थें, दुःख पनि लाग्थ्यो। दुःखी यसकारण म टोलीमा किन छैन भनेर आफैलाई प्रश्न गरिरहेको हुन्थें। त्यतिखेर मलाई जुत्तामा खुट्टा हालेर मैदानतिर दौडिहालूँ जस्तो लाग्थ्यो।'
शुक्रबार साप्ताहिकमा २०७० साउन १० गते

No comments:

Post a Comment