Saturday, July 20, 2013

विज्ञापन र पारसको ब्याट

माइकल चाङको स्टामिना यस्तो थियो कि इनर्जाइजर ब्याट्री जस्तो उनी लामो समयसम्म टिकिरहन्थे। अमेरिकी टेनिस खेलाडी चाङ बेसलाइनमा दौडेर होस् वा नेटमा गएर खेल्दा कहिल्यै थाकेजस्तो देखिँदैनथे। १७ वर्षमै युएस ओपन (सन् १९८९ ) को उपाधि जितेपछि चाङको यो पाटोलाई इनर्जाइजर ब्याट्रीले विज्ञापनमार्फत देखायो।
शक्ति, आत्मविश्वास, भरोसायोग्य प्रदर्शन र आक्रामक स्वभाव नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काका खुबी हुन्। यसै साता हंशराज हुलासचन्द एन्ड कम्पनीको बजाज पल्सर मोटरसाइकलसँग पारस तीन वर्षलाई अनुबन्धन भए। उनलाई 'ब्रान्ड भ्यालु' बनाउनुको मुख्य कारण पनि यही हुनसक्छ। ब्रान्ड एम्बेसडरका रूपमा उनले यो अवधिमा पल्सरको प्रवर्द्धन गर्नेछन्।

एकसमय यस्तो थियो, जब फुटबलर गणेश थापा लाइफब्वाय साबुनको विज्ञापनमा देखिन्थे नेपाली खेलुकदले नै त्यसमा नुहाएको महसुस गर्थ्यौं। ब्याडमिन्टन खेलाडी कल्पना राणाको गोगो वासिङ पाउडरको टिभी विज्ञापनमा सारा नेपाली खेलकुद चम्किलो भएको देखिन्थ्यो। विनोद दास, शक्ति गौचन, केशरी चौधरी वाइवाइको विज्ञापन सबै नेपाली एकजुट बनाउन हातेमालो गर्थे। तेक्वान्दो क्विन संगीना वैद्य, कीर्तिमानी पदकविजेता दीपक विष्ट, फुटबलर हरि खड्का, प्रदीप महर्जन, रितेश थापा, जुमानु राई, सागर थापाले पनि खेलाडीका रुपमा विभिन्न ब्रान्ड प्रबर्द्धन गरेका छन्।
अहिले धेरै ब्रान्डबाट पारस घेरिएका छन्। पारसले मोडलभन्दा त्यसलाई खेलाडीका रूपमा ट्याकल गरिरहेका छन्। भारतीय क्रिकेटर युवराज सिंहले क्यान्सर रोगलाई जितेर आएपछि खेलेको एउटा विज्ञापन पारसलाई खुबै मनपर्छ। जसमा भनिएको छ, 'जबसम्म ब्याट चल्छ, तबसम्म रवाफ छ।' पारसका प्रिय खेलाडीमा विनोद दास पनि पर्छन्। उनकै स्थानमा पारस २००९ मा नेपाली टोलीका कप्तान भएका थिए। 'विनोद दाइले जति राम्रो बलिङ नेपालबाट कसैले गरेका छैनन्, अघिल्लो वर्ष उहाँलाई खुट्टामा चोट लाग्यो, खेल्न सक्नुभएन। तर कसैले मतलब पनि गरेनन्,' युवराजको त्यो विज्ञापन विश्लेषण गर्दै पारस तर्क राख्छन्, 'सचिन तेन्दुलकरजस्ता खेलाडीले दुई खेल राम्रो खेल्न सकेन भने त आलोचना हुन्छ भने म त केही होइन, त्यसैले राम्रो खेलुन्जेल गर्ने हो।'

पारसले खेलेका विज्ञापन
पछिल्लो ७ वर्षमा पारसले ७ विज्ञापनमा खेलिसकेका छन्। प्रत्येक वर्ष एक विज्ञापन खेलिएजस्तो देखिए पनि तीन महिनाअघि बर्मुडामा विश्व क्रिकेट लिग डिभिजन ३ जितेपछि पल्सर र पेप्सी जस्तो ठूलो ब्रान्ड एडका लागि पारसको सम्पर्कमा पुगेका हुन्। पारस सन् २००७ मा पहिलोपल्ट युएफओको विज्ञापनमा झुल्किएका थिए। थप एक वर्ष त्यसमा नवीकरण भयो। मलेसियाको डिमार्क मोटरसाइकलमा पारसले दुई वर्ष ब्रान्ड एम्बेसडर बने। एनसेलको नेपालको फास्टेस्ट इन्टरनेट, क्लिनिक हेयर ओयल, पेप्सीको ट्वान्टी–२० पारसले छोटो सम्झौताका लागि खेलेका विज्ञापन हुन्। मोडल भिसा ग्लोबल कन्सलटेन्सीको विज्ञापनमा उनी अर्का लोकप्रिय क्रिकेटर शक्ति गौचनसँगै देखिन्छन्।

पहिलो एड
पहिलोपल्ट ६ वर्षअघि युएफओको एड खेले। एक खेलकुद पत्रकारले युएफओमा आबद्ध हुने अवसर मिलाइदिनुभयो। ब्रान्ड प्रवर्द्धन गर्न पाउनु अवसर हो जस्तो लाग्यो, व्यावसायिक पाटो त छँदै थियो। अन्य त्यस्तो केही फिल नै भएन। शरद भेषावकर एक वर्षअघि युएफओको ब्रान्ड एम्बेसडर बनिसकेका थिए।
गोदावरी पार्कमा फोटो सुट भएको थियो। ५ पटकसम्म लुगा फेरियो होला, ३–४ सय पटक क्यामारा क्लिक भए होला। राजभाइ सुवालले फोटो लिनुभएको हो। फेरि अर्को वर्ष नवीकरण भयो। यसपल्ट स्टुडियोमा सुट भयो। किशोर कायस्थले सुट गर्नुभएको थियो। सुरु सुरुमा सुट लगाएर कसरी उभिनुपर्ने जस्तो लाग्थ्यो। तर फोटो पत्रकार दाइहरूले सुटका लागि राम्रो वातावरण बनाइदिनुहुन्थ्यो, खासै नर्भस भइनँ।
पहिला विज्ञापनमा खेलेको खासै चर्चा हुँदैनथ्यो। नजिकका केहीले होडिङ बोर्ड र पत्रिकामा विज्ञापन देखेको थिएँ भनेर भन्थे। अहिले जुन एड खेल्यो त्यसैको मात्र उत्तर दिन भ्याईनभ्याई हुन्छ। नेपाली क्रिकेटले राम्रो गरेकाले होला, सबैले यससँग सम्बन्ध भएका गतिविधिहरू पछ्याइरहेका हुन्छन्। सोसल मिडियामा प्रशंसकहरूले गरिदिने प्रचारले पनि अहिले धेरै चर्चा हुने गरेको छ।
पारस डिमार्क मोटरसाइकल प्रबर्द्धनका क्रममा। तस्विरः विकास कार्की


आश्चर्यमा परिनँ
म क्रिकेट खेलाडी हुँ, खेलिरहने हुनाले समाचारमा धेरै आइरहने हुनाले मलाई आफ्नो पहिलो विज्ञापन होर्डिङ बोर्डमा आउँदा खासै आश्चर्य लागेन। मोडलले आफ्नो पहिलो एड देख्दा चिच्याएर त्यसको प्रतिक्रिया दिन्छन्। उनीहरूको काम नै एडमा खेल्नु जस्तै हो। हाम्रो काम मैदानमा खेल्नु हो। कीर्तिपुर मैदानमा झन्डै २५ हजार दर्शकमाझ खेल्नु तथा मिडियामा दिनहँु जस्तो कुरा गर्नुपरेकाले होला मलाई फोटोसुट सजिलै गर्न सकिन्छ जस्तो लाग्छ। एड भोलि खेल्नुछ भने म अघिल्लो दिन त्यसबारे केही सोच्दिन। जबकि भोलि नेपालले क्रिकेट खेल्दैछ भने म अघिल्लो दिन यो बारेमा मात्र सोचिरहेको हुन्छ। क्रिकेट नै मेरा लागि सबै हो।

टिभी एड मनपर्दैन
मलाई टिभी एड मनपर्दैन। २–३ प्रस्ताव मैले टिभीमा सुट गर्नुपर्छ भनेर छाडिदिएँ। त्यसमा दुई एडको प्रस्ताव मैले भर्खरमात्र छाडेको हुँ। टिभी एडमा म आफूलाई सहज महसुस गर्न सक्दिनँ। टिभी सुटमा अनुहारको भाव पनि देखाउनुपर्छ, म त्यो गर्नै सक्दिनँ। मलाई यथार्थमा सजिलो लाग्छ, फोटोसुट एड। यसमा त्यस्तो केही देखाउन पर्दैन।
राम्रो प्रस्ताव आयो भने नगर्ने होइन। बजाज पल्सरबाट मलाई राम्रो प्रस्ताव थियो। त्यसैले पल्सरको आगामी टिभी एडमा सुट गरिन्छ होला। मैले टिभी एडमा खेल्न पल्सरसँग स्वीकृति जनाएर आएको छु। त्यसै पनि पल्सर मेरो प्रिय मोटरसाइकल हो। पहिला म १५० सिसीको चलाउँथंे, अहिले २ सय सिसीको चलाउँछु। भर्खरै पेप्सीको टिभी एडमा खेलेको थिएँ, त्यसमा सजिलै भयो। क्रिकेटसँग पनि जोडिएकाले होला मलाई खासै अप्ठेरो लागेन। ट्वान्टी–२० (२० रुपैयाँमा २० लाख) स्लोगान थियो, मलाई यो मन पनि पर्‍यो।

विश्वकपको प्रभाव
व्यक्तिगत सम्बन्धले विज्ञापनको बजारमा ठूलो प्रभाव पर्ने रहेछ। त्यसपछि मात्र त्यो खेलाडीको प्रदर्शन, व्यक्तित्व र मिडिया प्रभाव गणना हुन्छ। २०१२–१३ विज्ञापनमा पाएको मौकाअनुसार मेरा लागि निकै फलदायी रह्यो। यसले मलाई नाम र दाम दुवै दिएको छ। जबकि नेपाली विज्ञापनको बजार खासै ठूलो रहेनछ। मैले क्रिकेट मैदानमा राम्रो नगर्ने हो भने कुनै महत्व हुँदैन। डिभिजन ३ जितेपछि अहिले मैले व्यक्तिगत रूपमा राम्रो प्रायोजक पाइरहेको छु। हामी एकदिवसीय अन्तर्राष्ट्रियदेखि विश्वकप नजिक पुगेका छौं। नेपालले विश्वकप खेल्ने हो भने यसले कति ठूलो भाग ओगट्छ मैले कल्पना पनि गरेको छैन। मलाई नेतृत्वकर्ताको हिसावले प्रस्ताव आइरहेको छ। मेरो चाहना नेपाली क्रिकेट टोलीका सबै सदस्य यसका भागिदार हुन् भन्ने हो।

1 comment:

  1. विज्ञापन कति रकमको हो भन्ने मुख्य कुरा हो, त्यो पैसा पर्याप्त छ त ? १०/२० हजारमा त हाम्रा नायकहरुलाई कर्पोरेट शोषण गरिएको छैन नि ?

    ReplyDelete