Saturday, October 5, 2013

पहिलोमै आर्मी च्याम्पियन

त्रिभुवन आर्मी क्लबले पहिलो सहभागितामै पेप्सी स्ट्यान्डर्ड चार्टर्ड ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता जितेको छ। शुक्रबार पाँचौं संस्करणको फाइनलमा आर्मीले साविक विजेता नेपाल एपिएफ क्लबलाई ५ विकेटले पराजित गर्‍यो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाका कारण १६ ओभरमा छोट्याइएको खेलमा टस जितेको एपिएफले ७ विकेट गुमाई १ सय १२ रन बनायो। कप्तान विनोद भण्डारीले अविजित ३० रन बनाएपछि आर्मीले ४ बलअघि लक्ष्य पूरा गर्‍यो। विनोदले वसन्त रेग्मीलाई स्ट्रेट चौका प्रहार गरेपछि आर्मीले १ सय १६ रन बनायो।
त्रिभुवन आर्मी क्लब उपाधि जितेपछि। तस्विरः विकास कार्की/नागरिक


२०६६ बाट सुरु ट्वान्टी–२० राष्ट्रियमा प्रत्येक वर्ष नयाँ विजेता बनेको छ। काठमाडौं पहिलो वर्ष विजेता भयो भने त्यसपछि विराटनगर, पुलिस क्लब र एपिएफले उपाधि जितेका थिए। एपिएफको ट्वान्टी–२० राष्ट्रियमा शुक्रबार यो दोस्रो हार हो। २०६८ मा पहिलोपल्ट सहभागिता हुँदा पुलिसले एपिएफलाई ४ विकेटले हराएको थियो।
अन्तिम ४ ओभरमा आर्मीलाई २४ बलमा ४० रन आवश्यक थियो। १३औं ओभरमा अनुभवी स्पिनर शक्ति गौचनको बलमा १९ रन बटुल्दै खेल आर्मीले आफ्नो पक्षमा तान्यो। त्यसमा विनोदले १ छक्का र राजेश पुलामीले १ छक्का र १ चौका प्रहार गरे। अर्को ओभरमा कप्तान पारस खड्काले ४ रनमात्र खर्चेर र राजेशको विकेट लिएर पुनः एपिएफलाई खेलमा फर्काए।
१५औं ओभरमा अमृत भट्टराईको बलमा वसन्तले मिडविकेटमा विनोदको क्याच छाड्नु एपिएफको दुर्भाग्य बन्यो। विनोदले १८ रनमा पाएको जीवनदानको फाइदा उठाउँदै थप १ छक्का र १ चौका प्रहार गरी खेल उल्टाइदिए। …मैले दुई वर्षअघि नै विनोद प्रतिभावान खेलाडी हुन भनेको थिएँ, त्यसैले मलाई उनको क्षमताबारे कुनै शंका छैन। अझ उनले यो भन्दा राम्रो खेल्न सक्थे,' म्यान अफ द फाइनल विनोदबारे पारसले भने।
पारसले एपिएफ हार्नुको कारण खोतल्दै भने, …हामीले १५ रनजति कम बनायौं। एपिएफले जितिरहँदा धेरैले राम्रा खेलाडी छन् जित्छन् भन्छन्। खेलाडी राम्रो तब हुन्छ, जब उसले प्रदर्शन गर्न सक्छ। हामीले नेपालगन्जसँग समूह चरणबाहेक राम्रै खेलेका हौं।' उनले शक्तिको ओभर र वसन्तले फुत्काएको क्याच खेलको एक हिस्सा भएको बताए।
विनोदले २२ बलमा २ चौका र २ छक्का प्रहार गरे। इन्द्रकमल मानन्धर ५ रनमा अविजित रहे। सागर पुन ११, अनिल मण्डल २१ बलमा २ चौका र १ छक्का प्रहार गरी २३, नरेश बुढाऐर १३, राहुल विक ७ र राजेश १२ रन बनाई आउट भए। एपिएफबाट पारस र शक्तिले २–२ तथा भुवन कार्कीले १ विकेट लिए।
एपिएफका प्रशिक्षक राजु बस्न्यातले फाइनलमा अनुभवी खेलाडी उतारे पनि उनीहरूले बलिङमा लय समात्न नसक्दा खेल हार्नुपरेको बताए। …लेग साइडको बाउन्ड्री सानो थियो, यसबारे हामीले बलरलाई पहिल्यै अवगत गराएका थियौं, तर अनुभवी बलरले सबै लेगसाइडमै बलिङ गरे,' उनले भने। आवश्यक रनअनुसार आर्मीले सुरुदेखि खेल्नाले विजयी भएको उनको भनाइ थियो।
यसअघि एपिएफबाट प्रदीप ऐरीले सर्वाधिक २७ रन बनाए। राजेशलाई पहिलो बलमा छक्का प्रहार गरेका प्रदीपले ३१ बल खेल्दै २ चौका र १ छक्का हाने। ओपनरद्वय परेश लोहनी ९ र सुवास खकुरेल १४ रनमा आउट भए। ज्ञानेन्द्र मल्ल १, पारसले १६, शरद भेषावकरले १२, वसन्तले १ रन बनाए। दीपेन्द्र चौधरी ११ बलमा १ चौका र १ छक्काबाट १९ रन बनाउँदा शक्ति २ रनमा अविजित रहे। आर्मीका चन्द्र साउद र राहुलले २–२ तथा अविनाश कर्ण, राजेश र सागरले १–१ विकेट लिए।
अप्रत्यासित होइन
आर्मीका प्रशिक्षक अरुण अर्यालले विजय अप्रत्यासित नभएको बताए। …एपिएफ राम्रो टोली हो, त्यसैले उनीहरूका लागि हामीले एउटा निश्चित योजना बनाएका थियौं, त्यो सफल भयो। विशषे गरी बलरहरूले राम्रो गरे। विनोदले पनि चाहेजस्तो इनिङ्स खेले,' उनले भने। आफूले जस्तो खेल्न खोजेको सोहीअनुरुप खेलेको विनोदले बताए। उनले भने, …वसन्त रेग्मीजस्ता अनुभवी खेलाडीले क्याच छाडेपछि नै मलाई खेल अब जितिन्छ जस्तो लाग्यो।'
महेश उत्कृष्ट खेलाडी
नेपालगन्जका ओपनिङ ब्याट्सम्यान महेश क्षेत्री म्यान अफ द सिरिजमा चुनिए। उनले ३ अर्धशतकसहित १ सय ७७ रन बनाए। दुईपल्ट म्यान अफ द म्याच चुनिएको र अर्को खेलमा दोस्रो उत्कृष्ट भएकाले उनको खातामा ८ अंक थियो। प्रत्येक खेलको म्यान अफ द म्याचलाई ३, दोस्रो उत्कृष्टलाई २ र तेस्रो उत्कृष्टलाई १ अंक दिने प्रावधानबाट उत्कृष्ट खेलाडी छानिएको थियो।
फाइनलमा उत्रिएका एपिएफका पारस र ज्ञानेन्द्र तथा आर्मीका राहुलको ६–६ अंक थियो। फाइनलमा उत्कृष्ट दोस्रो हुँदै पारसले ८ अंक पुर्‍याए। पारस प्रतियोगिताभर कुनै खेलमा पनि म्यान अफ द म्याच भएनन्। बढी म्यान अफ द म्याच भएको आधारमा महेशले म्यान अफ द सिरिजमा चुनिँदै १५ हजार नगद पाए।
उत्कृष्ट बलर र इमर्जिङ खेलाडीको उपाधि नेपालगन्जकै आकाश विष्टले पाए। उनले प्रतियोगितामा १५ विकेट लिए। एकै राष्ट्रिय प्रतियोगितामा धेरै विकेट लिने खेलाडी हुन्। आयोजक नेपाल क्रिकेट संघले उनलाई ट्रफी प्रदान गर्‍यो। नेपाल क्रिकेट फ्यान क्लबले उनलाई इमर्जिङ खेलाडीका लागि नगद २० हजार दियो। क्लबका महासचिव भोला न्यौपानेले उक्त रकम प्रदान गरे।
उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही १० हजार पाए। एपिएफका ज्ञानेन्द्र उत्कृष्ट ब्याट्सम्यानमा चुनिए। उनले समूह चरणका ५ खेलमा १८२.६१ को स्ट्राइक रेटमा २ सय १० रन बनाए, त्यसमा पोखराविरुद्धको ९० रन पनि समावेश छ। आर्मीले १ लाख २५ हजार र एपिएफले ७५ हजार रुपैयाँ पुरस्कार पाए।
नागरिक राष्ट्रिय दैनिकमा असोज १९ गते प्रकासित

No comments:

Post a Comment