Sunday, October 20, 2013

नेपाली क्रिकेट टोलीमा भारतीय एनालिस्ट

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा व्यावसायिक नयाँ टेक्निकल एनालिस्ट राखिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले भारतका श्रीराम सोमायाजुलालाई दुई महिनाका लागि टेक्निकल एनालिस्टमा नियुक्त गरेको हो।
नोभेम्बर १५ देखि युएईमा हुने विश्व ट्वान्टी–२० छनोट तयारीका लागि नेपाली टोली आइतबार दिल्ली जाँदैछ। दिल्ली डिस्ट्रिक क्रिकेट एसोसिएसनसँग दुईपक्षीय सम्बन्धअनुरुप नेपालले दिल्लीमा ७ अभ्यास खेल खेल्नेछ, त्यसमा चार खेल फिरोज शाह कोटला मैदानमा हुनेछ।


श्रीरामलाई दिल्ली भ्रमण र दुबईमा हुने प्रतियोगिताका लागि टोलीको टेक्निकल एनालिस्टमा नियुक्त गरेको हो। भारतमै रहेका श्रीराम दिल्लीमै टोलीसँग मिसिनेछन्। क्यानका कार्यालय सचिव छुम्बी लामाका अनुसार दिल्लीदेखि दुबईका लागि उनलाई २ हजार डलर पारिश्रमिक दिइने छ। नेपाली टोलीको फिजियो पनि विदेशी नै छन्। मलेसियाका एसबी सुभ्रा ६ महिनादेखि टोलीको फिजियोमा छन्।
दुई वर्षअघि रोय डायसको स्थानमा नेपाली टोलीको प्रशिक्षण सम्हाल्न आएका पुबुदु दासानायकेले रमन सिवाकोटीलाई टेक्निकल एनालिस्टमा राखेका थिए। मेमा नेपालले बर्मुडामा विश्व क्रिकेट लिग डिभिजन ३ लिगको उपाधि जित्दा सिवाकोटीले उक्त कार्यभार सम्हाले। सिवाकोटी अहिले दिल्लीमै छन्। जनवरीमा न्युजिल्यान्डमा एकदिवसीय विश्वकप छनोट खेल्न जानुपर्ने भएकाले नेपाली टोलीको भिसा लगायत अन्य प्राविधिक कार्यका लागि क्यानले सिवाकोटीलाई दिल्ली पठाएको नेपाली टोलीका व्यवस्थापक पूर्ण लामाले बताए। दिल्लीमा अभ्यास खेलक्रममा श्रीरामसँगै सिवाकोटीलाई केही अवसर दिइने लामाले जनाए।
छुम्बीका अनुसार प्रशिक्षक दासानायकेको सिफारिसमा श्रीरामलाई नेपाली टोली हेर्ने जिम्मा दिइएको हो। एसिसी इमर्जिङ टिम्स कप तयारीका लागि श्रीलंका जाँदा नेपाली टोलीको भेट श्रीरामसँग भएको थियो। त्यसपछि उनी नियमित नेपालको सम्पर्कमा थिए।
नेपालले गत वर्ष मलेसियामा भएको डिभिजन ४ को उपाधि जित्दा श्रीराम अमेरिकाको टेक्निकल एनालिस्ट थिए। उनी अमेरिका पूर्वप्रशिक्षक एवम् भारतका पूर्वअलराउन्डर रोबिन सिंह निकट छन्। 'डिभिजन ४ मा अमेरिकी टोलीमा रहँदा उनले सबै ६ टोलीको भिडियो विश्लेषण गरेका रहेछन्, जुन हाम्रा लागि निकै उपयोगी हो, अब हामी त्यसको प्रयोग गर्नेछौं,' लामाले नागरिकसँग भने, 'उनलाई दुबईमा हुने प्रतियोगितामा सहभागी हुने अन्य टोलीबारे पनि राम्रो ज्ञान रहेछ।'
दिल्लीमा हुँदा एक दिन भारतीय क्रिकेट बोर्डको कार्यक्रममा जानुपर्ने भएकाले श्रीरामले नेपाली टोलीसँग छुट्टी मागेको लामाले बताए। उनले  भने, 'हामी दिल्ली पुगेर यसबारे छलफल गर्नेछौं।' श्रीरामले बनाएको सफ्टवेयर इन्डियन प्रिमियर लिगका केही टोलीले प्रयोग गर्ने गरेको बताइएको छ।
नागरिक राष्ट्रिय दैनिकमा कात्तिक ३ गते प्रकाशित

1 comment: