Saturday, November 2, 2013

राष्ट्रिय टोली बाउन्ड्री बाहिर, क्षेत्रीय क्रिकेट भित्र

दसदिने दिल्ली भ्रमणमा सात अभ्यास खेल खेलेर काठमाडौं फर्केपछि नेपाली राष्ट्रिय टोलीको बाँकी प्रशिक्षण कीर्तिपुरस्थित त्रिवि मैदानमै तय थियो। विश्व ट्वान्टी–२० छनोट खेल्न नेपाली टोली नोभेम्बर १० मा युएई जाँदैछ। दिल्लीमा पूरा नभएका रणनीतिक पक्ष उनीहरूको स्वेदशको अभ्यासमा बनाउने योजना थियो।
सोहीअनुरुप शुक्रबार बिहान मैदान पुग्दा खेलाडीहरू एक्कासि झस्किन पुगे। मैदानमा काठमाडौं क्षेत्रीय यु–१९ प्रतियोगिता भइरहेको थियो। नेट्सको अभ्यास विकेट तयारी थिएन। प्रशिक्षक पुबुदु दासानायके राष्ट्रिय खेलाडीलाई खेलाउनभन्दा पनि ललितपुर र भक्तपुर जिल्लाको यु–१९ छनोट प्रतियोगिता हेर्नै बाध्य भए। उनीसँग वर्तमानभन्दा पनि भविष्यको खेलाडी हेर्नुको विकल्प थिएन।
सामन्य स्ट्रेचिङ गरेपछि खेलाडी बाउन्ड्री लाइन बाहिरबाटै ललितपुर र भक्तपुर खेल हेर्न बाध्य थिए। त्यसपछि राष्ट्रिय टोलीका कप्तान पारस खड्काले आफूलाई सम्हाल्न सकेनन्। अघिल्लो महिना अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले क्यानलाई ८४ हजार डलर जरिवाना गराउँदाको विषयमा नेपाली क्रिकेटको सर्वोच्च निकायका जिम्मेवार व्यक्तिहरूको नैतिकतामा समेत प्रश्न उठाएका उनले दिल्ली भ्रमणको कमजोरीदेखि अभ्यासका लागि मैदान र नेट्स नपाउँदा नेपाल क्रिकेट संघ (क्यान) को खुलेर आलोचना गरे। कप्तान पारसकै शब्दमा : 

कप्तान पारस खड्का मिडियासँग आलोचना पोख्दै
तयारी निराशाजनक भइरहेको छ, पछिल्लो दुई महिनादेखि खेलाडीको हिसाबमा हामीले निकै मेहनत गरेका छौं। क्यानबाट पनि समर्थन पाइरहेका छौं, तर जति समर्थन हुनुपर्ने त्यो भएको छैन। भारत भ्रमण पहिलाभन्दा राम्रो थियो, सोच जस्तो भने भएन। औपचारिक सहमति गरेपछि हामी दिल्ली भ्रमणमा गएका थियौं। पछिल्लो दुई खेल हाम्रो स्तरको थिएन।
युएई जान १० दिन बाँकी छ। अभ्यास गर्ने अब ४–५ दिनमात्र हो। यस्तो अवस्थामा हामीसँग अभ्यास गर्न मैदान छैन। मुख्य विकेट त पाएनौं, पाएनौं। अभ्यास गर्न नेटको प्राक्टिस विकेट पनि तयार छैन। दिल्लीबाट काठमाडौं आउनु दुई दिनअघि नै हामीले क्यानलाई जानकारी गराइसकेका थियौं। नोभेम्बर १ बाट हामीलाई मैदान चाहिन्छ भनेर। अहिले सायद यु–१९ को छनोट प्रतियोगिता भइरहेको हो जस्तो लाग्छ, हामीलाई भने मैदान छैन। एकदिवसीय र ट्वान्टी–२० विश्वकप छनोट खेल्न जाने टोलीले नै मैदान पाउँदैन भने के भन्ने। हामीसँग विकल्प नै भएन।
अभ्यास गर्न पनि पिच तयार छैन। हामीले आफ्नो हिसाबले सक्दो गरेका छौं। यस्तै तरिकाले गर्दा हाम्रो मनोबल झरेको अनुभव गरेका छौं। खेलाडीले हरेका कुरा माग गरेको जस्तो हुन्छ। केही सकारात्मक पक्ष पनि छन्। आधारभूत कुरा मै ध्यान नदिएसम्म ठूलो कुरा गर्नु बेकार छ। पहिला न्यूनतम कुरा पूरा गरौं अनि ठूलो कुरा गरौं। म सुन्छु, अब विदेशबाट खेलाडी ल्याएर हाम्रो घरेलु प्रतियोगितामा खेलाउने रे अनि अन्य प्रतियोगिता गर्ने रे। घरेलु क्रिकेटमा खेल्ने खेलाडीलाई न्यूनतम सुविधा दिन सकेका छैनौं, अनि किन ठूलो गफ गर्नुपर्‍यो।
क्यानमा समन्वयको अभाव छ जस्तो लाग्यो। अस्ति भर्खर क्यानले समयमै रिपोर्ट नबुझाएकोमा आइसिसीलाई ८३ लाख जरिवाना तिर्‍यो भन्ने समाचार मैले आफैले पढेको थिएँ। जसरी हामी खेलाडी राम्रो प्रदर्शन गर्न नसकेपछि टोलीबाट बाहिर हुन्छौं, त्यसै गरी क्यानका पदाधिकारीले पनि कि आफैले राजीनामा दिनुपर्‍यो। होइन भने काम गर्नुपर्‍यो। क्यानमा ३०–३२ जना सदस्य छन्, एउटा कप्तानका रूपमा मैले काम गर्ने ५–६ जनाभन्दा देखेको छैन। यसले काम गर्नेलाई पनि दोष लाग्छ। कोही मान्छे काम गर्न सक्दैन भने त्यो मान्छे त्यो ठाउँमा बस्न उचित छैन। चाहे जोसुकै होऊन्। क्यान सदस्यहरू पनि जिम्मेवार हुनुपर्‍यो। घरैमा बसेर केही नगर्ने हो भने जो पनि क्यान सदस्य हुन चाहन्छन्।
मैदान भित्र अभ्यास गर्न नपाएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरु बाउन्ड्री बाहिर बसेर क्षेत्रीय प्रतियोगिता हेर्दै ।          तस्विरः विकास कार्की/नागरिक

विश्वकपमा छनोट भइयो भने र डिभिजन १ मा पुगियो भने धेरै परिवर्तन हुन्छ होला। पहिला नेपाली टोली डिभिजन ५ मा थियो, अहिले डिभिजन २ मा आइसक्दा पनि खेलाडीका रूपमा मैले कुनै परिवर्तन पाएको छैन। चाहे त्यो खेलाडीको जीवनशैलीमा होस् या मैदानमा थपिएका सुविधामा। हामीले के मा क्रिकेट विकास गर्‍यौं भन्ने प्रश्नचाहि क्यानलाई सोध्नुहोला।
मैले प्रशिक्षकको अनुहारमा पनि निराशा देखेको छु। हामीबीचमा कुरा भइरहेको छ। एउटा प्रशिक्षकका रूपमा उहाँले हामीलाई जतिसक्दो उत्कृष्ट प्रशिक्षण गराइरहनुभएको छ। उहाँ करारमा हुनुहुन्छ, त्यसैले उहाँले सबै गर्न मिल्दैन। हामी त खेलाडी हौं, आफनो मेहनतले यहाँसम्म आएका हौं। हामी कुनै करारमा छैनौं। न्यूनतम पारिश्रमिकमात्र पाउँछौं। त्यसैले झुट बोलेका छैनौं, जे देखेका हौं त्यही बोलेका छौं। क्रिकेटलाई आफ्नो भविष्य बनाएर हामी यहाँ छौं। हामी अहिले यस्तो स्थितिमा पुगेका छौं, जहाँ हाम्रो भविष्य बन्न सक्छ। हामी यसैमा केन्द्रित छौं। तर यस्ता पक्षहरूले गर्दा खेलाडीका रूपमा हामी निकै निराश छौं।
हुन त हाम्रा लागि यस्तो केही नयाँ होइन, हामी यस्तैमा खेल्न अभ्यस्त भइसकेका छौं। अन्य खेलाडीले पनि यो सबै बुझेका छन्, मैले उनीहरूको भनाइ राखिदिएको हो। तर यो सबैले बुझ्नु जरुरी छु। क्रिकेट बुझेका मानिसलाई थाहा छ, आज खेलाडीले गर्दा नेपाली क्रिकेट यो अवस्थामा आइपुगेको हो भनेर।
सन्जिव पाण्डे, क्यान सदस्य एवम् हाइ पर्फमेन्स प्रोग्राम सदस्य
नेपालको दिल्ली भ्रमणलाई हामीले नोभेम्बर ५ सम्म लम्ब्याएका थियौं। प्राविधिक कारण जुन मिल्नुपर्ने थियो, त्यो नमिलेका कारण नेपाली टोली बाध्य भएर तोकिएको तालिकाभन्दा अगाडि नै आउनुपर्‍यो। हामीले यु–१९ प्रतियोगितालाई अगाडि लैजाने प्रयास गरेका थियौं। त्यसैअनुरुप क्षेत्रीय प्रतियोगिता भइरहेको छ। यही कारण नेपाली राष्ट्रिय टोलीले अभ्यास गर्न पाएन।  भोलिबाट उनीहरूले कीर्तिपुर मैदानमै अभ्यास गर्नेछन्। क्षेत्रीय प्रतियोगितालाई भोलिबाट भक्तपुर सार्दैछौं। प्राक्टिस विकेट साधरणयताः तयारी अवस्थामै हुनुपर्छ। विकेट तयारी गर्दा कम्तीमा तीन दिन चाहिन्छ भनेर क्युरेटरले भनेका छन्। हामीले अक्टोबर २९ राती खबर पाएका थियौं। शीतले केही प्रभावित गरे पनि हामीले पछिल्लो दुई दिनदेखि नेट्सको विकेट बनाइरहेका छौं। दिल्लीमा खेलिएका खेलबाट म पनि सतप्रतिशत सन्तुष्ट भने छैन। यसको मतलब हामीले कमजोर टोली पायौं भन्ने होइन। हरेक खेलमा जस्तो केही न केही प्रथम श्रेणी र केही आइपिएलका खेलाडीहरू खेलिरहेका थिए। पहिलो चार टोली राम्रा थिए। हामीले जित्यौं भनेर उनीहरू कमजोर होइन। हामी उनीहरूलाई सिकाउन गएको जस्तो टोली होइन। उनीहरूले हाम्रो टोलीको स्तर बढेको बताए। यो द्विपक्षीय सम्झौता हो, त्यसैले आगामी भ्रमणमा राम्रो टोली पाउने आशा गरेका छौं।
नागरिक राष्ट्रिय दैनिकमा २०७० कात्तिक १६ गते प्रकासित

No comments:

Post a Comment